July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

जाँड र जाँडको कीरा

Advertisement

रघुलाई तपाईं चिन्नुहुन्छ ? रघु को थियो, कस्तो थियो- तपाईंलाई थाहा छ ? यदि यी कुरा तपाईंलाई थाहा छैन भने तपाईंले विष्णु दाइलाई पनि चिन्नुभएको छैन होला शायद । विष्णु दाइको कालिमाटीको मोडमै पान पसल छ, जहाँ म प्रायशः पान खान रोकिने गर्दछु । त्यहीं एक दिन मैले रघुलाई चिनें । रघु पनि दिनहुँ विष्णु दाइकोमा पान खान आउँदो रहेछ । पहिले देखेको थिइनँ । त्यो दिन देखें र कुराकानी पनि भयो । अनि त दिनहुँजसो हामी भेटिन थाल्यौं ।

Advertisement

भेट्नासाथ रघु मलाई दुई हात जोडेर नमस्ते गर्थ्यो । म भन्थें, “कस्तो छ, रघु ?” “प्रत्यक्ष छु । बिलाएको छैन ।” उसको जवाफ यस्तै पाराको हुन्थ्यो र यस्तै जवाफको निम्ति म ऊप्रति आकर्षित थिएँ ।

भन्ने गर्थ्यो, “संसारमा खानेकुरा भनेको यही पान मात्र छ जस्तो लाग्न थालिसक्यो मलाई त ।” “किन र रघु ?” “अरू कुरा खानै पाइँदैन । के गर्नु ?” ऊ पहेंलो आँखा पल्टाएर भन्थ्यो ।

एकदम फुस्रो अनुहार, रगत नभएको जस्तो फुङ्ग, दुब्लो अनुहार थियो रघुको । लगाएको लुगा पनि मैलो न मैलो, ठाउँठाउँमा मक्किएको एकदम निरीह आकार थियो रघुको । दिनदिनै ऊ झन्झन् मलिन हुँदै जाँदै थियो । यसर्थमा यस्तो निरीह आकारप्रति म आकर्षित नहुनुपर्ने हो । तर पहिलो भेटमै विष्णु दाइले भनेका थिए, “उहाँ काजीले एम्.ए. पढ्नुभएको छ ।”

सिलसिला न फिलसिला एक्कैचोटि विष्णु दाइले ‘वहाँले एम्.ए. पढ्नुभएको छ’ भन्दा किन भनियो भन्नेतिर एकछिन म अल्झिरहें ।

पछि विष्णु दाइले भने, “… जागीर नपाएर विचरा खत्तम हुनुभएको छ । तीन महिना भयो जागीर खोजेको, अझै भेट्‌नुभएको छैन ।…”

यतिखेर रघु कहिले विष्णु दाइतिर हेर्थ्यो, कहिले मतिर हेर्थ्यो । उसको हेराइमा एउटा बालसुलभ आकाङ्क्षा जस्तो पाएँ । विष्णु दाइले भन्दै गरेको कुरालाई बीचमा छेक्दै भन्यो, “विष्णु दाइ । वहाँ को ?”

यो उसलाई चिनेकै दिनको कुरो हो । त्यसभन्दा अघि त ऊ को हो, के हो केही थाहा पनि थिएन मलाई । पछि विष्णु दाइले नै उसको बारेमा सबै थोक बताइदिए र थाहा पाएँ- तीन महिनाअघि सम्म ऊ कलेजमा पढ्ने विद्यार्थी रहेछ । कलेजको निकै राम्रो, जेहनदार विद्यार्थी रहेछ । उसको घर आसाममा रहेछ र त्यहाँबाट ऊ छात्रवृत्तिमा पढ्न आएको रहेछ ।

“एक दिन त के पनि भन्थ्यो भने आसाममा छैन रे उसको घर ।” विष्णु दाइले भने ।

“कहाँ छ रे त ?”

“कहीँ पनि छैन रे । आसाममा त ऊ टुहुरा स्कूलमा पालिएको रे ।”

त्यसो भए उसका बाबुआमा पनि रहेनछन् र ऊ एक्लो रहेछ यो संसारमा । छात्रवृत्तिमा पढ्न भनी काठमाडौं आयो, पढी सिद्धयायो अनि जागीरको खोजमा लाग्यो । तर तीन महिना भइसक्यो उसले जागीर भेट्टाएको रहेनछ । मैले जागीरमा लगाइदिनू भन्ने किसिमको आशय रहेछ विष्णु दाइको ।

मान्छेहरू अरू मान्छेलाई समस्या समाधानको बाटो भन्ने सोचिरहेका हुन्छन् सजिलैसँग । त्यति सजिलोसँग जति कि मलाई सोचियो जागीर मिलाउन सक्ने भनेर । तर म आफैं समस्याको भण्डार थिएँ ।

मैले भनें पनि विष्णु दाइलाई, “मैले रघुजीलाई कसरी जागीरमा मिलाइदिने विष्णु दाइ ? मलाई मेरो अफिसमा मेरो मुनिका कर्मचारीले नै टेर्दैनन् । जागीर मिलाइदिन त झन् माथिका कर्मचारीले टेर्नुपर्यो । … टेर्दैनन् विष्णु दाइ, टेर्दैनन् ।”

“म मुखिया, खरदारमा भए पनि जागीर खान्छु, सर ।” यतिखेर रघुले सीधै मसित बोल्यो ।

सम्बोधनमा उसले प्रयोग गरेको ‘सर’ शब्द मलाई मन परेन । भनें, “रघुजी, हेर्नोस्, एक त मलाई तपाईंको सम्बोधन मन परेन । मलाई किन सर भन्नुभएको ?”

“विद्यार्थी जीवनदेखिको बानी हो, सर ! आफूभन्दा ठूलोलाई सर भन्ने । जागीरे भएपछि सायद आफै छुट्छ ।”

“छुट्दैन रघुजी, छुट्दैन । झन् बढ्छ भन्नोस्, जागीर खाएपछि सर, हजुर, हस् – जस्ता शब्द भन्ने बानी त झन् लाग्छ पो । छुट्दैन ।”

ऊ टुलुटुलु मलाई हेर्न थाल्यो । त्यस हेराइमा पनि बालसुलभ उत्सुकता प्रष्ट थियो, हो र ? भन्ने खालको ।

“अँ, अनि अर्को कुरा – तपाईंले जुन यो अहिले भर्खर खरदार, मुखियामा जागीर खान्छु भन्नुभयो, त्यो पनि मिलेन । तपाईं एम्.ए. पढेको मान्छेले खरदार, मुखियामा जागीर खाने ?”

“माथिल्लो पोस्टमा नपाएपछि के गर्ने त ?”

“यसो भनेर हुन्न रघुजी । तपाईंले मुखिया, खरदारमा जागीर खाए मुखिया, खरदारको योग्यता पुगेकाहरूले केमा खाने नि ? त्यो त उनीहरूको भाग खोसे जस्तो भयो ।”

यी सब चिनजानको पहिलो दिनमै भएका कुराकानीहरू हुन् । त्यसपछि मैले रघुलाई ‘रघुजी’बाट ‘रघु’मा र ‘तपाईं’ बाट ‘तिमी’ मा ओह्रालेर आफ्नो नजिकै पारें । उसले पनि मलाई ‘सर’ बाट ‘दाइ’ मा परिणत गरेर नजिकै पार्यो र उसमा पहिलो दिनमा भएका सङ्कोच र… बालसुलभ उत्सुकताहरू दोस्रो दिनमा कता पुगे कता, भेट्दै भेटिएनन् ।

दोस्रो दिनमा त उसले मेरो ‘कस्तो छ रघु ?’ को जवाफमा ‘प्रत्यक्ष छु, बिलाएको छैन’ भन्ने किसिमको बेग्लै पारा लेराइहाल्यो, जुन पारा उसको अस्तव्यस्त आकारले गर्दा सुहाउँथ्यो पनि । … सुहाउनु-नसुहाउनु अर्कै कुरा, तर त्यतिखेर यो कुरा चिताउन सकिएको थिएन कि एक दिन त्यही व्यक्तिले मेरो घाँटी अँठ्याउनेछ । तर जे चिताउन सकिन्न, त्यही घट्ने गर्छ ।

रघुले एक दिन मेरो घाँटी अँठ्यायो र भन्यो, “म तँलाई नमारी छोड्दिनँ ।”

यो धेरै पछिको घटना हो । यसभन्दा अघि त कहिल्यै यस्तो भएको थिएन र त्यसपछि कहिल्यै हुँदा पनि भएन । किनभने रघु त्यस्तो खतरनाक मान्छे थिएन । परिस्थितिले उसलाई चिथर्थ्यो र ऊ पीडाले चिच्च्याउँथ्यो । पीडा प्रयोग गर्न हुने खालको मान्छे मलाई भेट्टाएछ । मेरो घाँटी अँठ्यायो । त्यत्ति हो । रघु बदमास थिएन ।

एक दिन सोधें रघुलाई, “रघु, खाना खाइसक्या ?”

“दुई दिनअघि नै खाइसकें, दाइ !”

“भनाइको अर्थ ?”

“दुई दिनअघि एक जना साथी भेटेको थिएँ । उसले खुवाएको थियो । त्यसपछि यही पान खान्छु । पानलाई त खाना भनिंदैन क्यार, दाइ ।”

“अनि यो दुई दिन केही खाएका छैनौ त ?”

“भनें नि- पान खाएको छु ।”

“पान मात्रै ?”

“हो ।”

“किन त ?”

“पैसा छैन ।”

मैले आफ्नो खल्तीभित्र हात हालें । केही रेच्की र केही नोटहरू असरल्ल पल्टिरहेका थिए । त्यो भीडबाट मैले दशको नोट झिकें र रघुतिर तेर्स्याउँदै भनें, “ल, यो लेऊ र गएर टन्न मासुभात खाऊ ।”

मैले किताबहरूमा पढेअनुसार यस्तो खालका मानिसहरू स्वाभिमानी हुन्छन् । यसरी दिएको पैसा हतपती लिंदैनन् । तर रघुले हत्तपत्त त्यो पैसा लियो । एम्.ए. पढ्ने मानिस मूर्ख हुँदैनन् । मलाई खुशी लाग्यो । किनभने मेरो धेरै अघिदेखिको विचार थियो- आदर्शताको पर्खाल भत्काउनुपर्छ र रघु यस काममा मेरो सहभागी बन्न लायकको रहेछ ।

पैसा लिंदै रघुले भन्यो, “तर म मासुभात खान्नँ, दाइ !”

“के खान्छौ त ?”

“चनाचिउरा खान्छु पाँच मोहरको ।”

“अनि अरू पैसा के गर्छौ नि ?”

“अरू पैसा पनि चनाचिउरा नै खान्छु । तर आज हैन भोलि बिहान र बेलुकी ।”

“अनि पर्सि नि ?”

तर उसले त्यसको जवाफ दिएन र सरासर गएर एउटा पसलभित्र छिर्यो । म पान चपाउँदै बसबिसौनीतिर लागें । बस चढेर मलाई आफ्नो अफिस जानु थियो ।

* * * *

मानिसले पैसा भन्ने चीजको निर्माण किन गर्यो ? आफ्नै सत्यनाश गर्न, आफैलाई दुःख दिन । पैसाको निर्माण हुन थालेदेखि मानिस अवनतितिर धकेलिंदै गएको छ । मानिस स्वयं निर्माता पैसाको र स्वयं नै मूल्यहीन भएको छ केवल पैसाको मूल्य रहन आएको छ । बाबु, आमा, दाइ, भाइ, स्वास्नी सबै किसिमका नाताहरू पैसाकै तराजुमा तौलिंदै बेच्न थालिएको छ । मानिसले नाता जोडेको छ-पैसैसँग । तर यस्तो समयमा पनि आसामको कुनै गाउँमा रघुनाथ रावत भन्ने एक केटाले आफ्नी आमा स्वर्गे भएको दिन भनेको थियो, “आमा मरेपछि त केही पनि बाँकी नरहँदो रहेछ ।”

यो कुरो मलाई एक दिन रघु आफैले भन्यो ।

त्यो दिन मैले रघुलाई विष्णु दाइको पसलमा भेटिनँ । कहिलेकाहीँ भेट नहुने पनि गर्दथ्यो । त्यसैले म मुखमा पान राखेर बस कुर्न बसबिसौनीतिर लागेको मात्र थिएँ कि एकातिरबाट रघु फटाफट आयो, मलाई बोलाउँदै, “दाइ !”

मैले ऊतिर पुलुक्क हेरें ।

“केही ख्वाउनोस् न दाइ ! एकदम भोक लागिरहेछ ।”

मैले उसलाई पैसा दिन खल्तीमा हात घुसारें ।

“होइन, दाइ ! आज तपाईं आफैं जाऊँ ।”

“किन र ? म त अफिस जान लागेको ।”

“मेरो लागि आज एक दिन अफिस छोड्न हुँदैन ?”

यो दुब्ले, कङ्काल, मैलो लुगा लगाउने रघुनाथ रावत भन्ने केटो जसलाई मैले एक हप्ताअघिसम्म चिनेको पनि थिइनँ, को कुरालाई मैले कहिल्यै भाँच्न सकिनँ । कुन्नि कुन किसिमको आकर्षण थियो उसमा, बुझ्न सकिरहेको छैन । अहिले म यो उसको बारेमा कथा किन लेखिरहेछु, त्यो पनि बुझ्न सकिरहेको छैन । र हामी लेखकहरू, आफूले जे कुरा बुझेका हुँदैनौं, त्यही कुरा अरूलाई बुझाउन लेख्ने गर्छौं । जस्तो कि म ।

मैले होटलभित्र बसिसकेपछि रघुलाई सोधें, “के खान्छौ ? चनाचिउरा ?”

“होइन, आज अर्कै थोक खान्छु ।” रघुले मुसुमुसु हाँस्दै भन्यो ।

“के ? मासुभात ?”

“होइन, आज म जाँड खान्छु । मलाई जाँड ख्वाउनोस्, दाइ !”

“जाँड तिमी-हामीले खाने वस्तु होइन, भाइ !”

“किन होइन ?” रघुले निकै निरीह स्वर लिएर भन्यो, “एक दिन मैले यसलाई खाएँ र त्यसपछि मैले थाहा पाएँ कि यो मद्वारा खाइनुपर्ने वस्तु नै रहेछ …।”

रघुप्रतिका जुन धारणाहरू थिए, ती सब भास्सिएजस्तो लाग्यो मलाई । मेरो जीवनमा किन सधैंजसो यस्तै अप्रिय घटनाहरू हुने गर्छन् ? थाहा छैन ।

निकैबेरसम्म वार्तालाप चलिरह्यो हाम्रो र जीत रघुकै भयो । अनि मैले रघु‌को निम्ति जाँडको अर्डर दिएँ ।

“छोयला एक प्लेट ।” उसले थप माग राख्यो ।

“तपाईं पनि खानोस् न ।” उसले यस्तो भन्ला जस्तो लागेको थियो र लागेको थियो, यसको जवाफमा म निकै व्यङ्ग्यपूर्ण शब्दहरू प्रयोग गरुँला । तर उसले त्यस्तो भनेन । पूरा खाउन्जेल नै त्यस्तो किसिमको औपचारिकता प्रयोग गरेन ।

जाँड एक सिसी र छोयला एक प्लेट ल्याएर होटेलको कान्छाले ठ्याक्ऱ्याक्क टेबुलमा बजारिदियो र रघुले केही नभनी छोय्ला चपाउन थाल्यो । जाँड गिलासमा खन्यायो । म ट्वालट्वालती जोकरफाल्टो भएर हेरिरहें ।

उसले आधा सिसी जाँड र छोय्ला सिद्धयाउन्जेल हामी दुवै बोलेनौं । त्यसपछि उसले भन्यो, “मैले जीवनभरि दुःख पाइरहें, दाइ ! … गरीब कुलमा जन्में । म जन्मेको केही वर्षमा बाबुको मृत्यु भयो । आमा हुनुहुन्थ्यो, एकदम असल । असाध्य माया गर्नुहुन्थ्यो मलाई । उहाँ पनि केही वर्षपछि खस्नुभो । त्यसपछि एकदमै दिक्क भएँ । लाग्यो, आमा नरहेपछि संसारमा केही पनि बाँकी हुँदैन रहेछ …”

ऊ जाँड खाँदै धाराप्रवाह बोल्दै गयो । म चाहिं मरङमरङ पान चपाइरहें ।

“… सानो छाप्रो थियो । गाउँकै कुन चाहिं गिद्धले गाँज्यो कुन्नि ! पुरानो हिसाब बाँकी थियो रे । अनि म अनायासै अर्थात् सोसाइटीमा पालिन पुगेछु । …”

म आनन्दसाथ पान चपाइरहें । उसले जाँडको सिसी रित्त्याउँदै करायो, “कान्छा ! अर्को एक सिसी पनि ले ।”

कान्छा दगुर्दै अगाडि आयो । “के हजुर ?”

“छ्याङ अर्को एक सिसी पनि ले । अनि फोक्सो भुट्या छैन ? त्यो पनि ले एक प्लेट ।” आज्ञा दिनु मात्र थियो एकैछिनमा छ्याङ र भुटेको फोक्सो टेबलमा थचारिन आइपुग्यो ।

“एकदम दुःखैदुःख पाएँ दाइ मैले । जीवनभरि दुःख पाएँ । त्यहाँ रहँदा पनि दुःख । यहाँ आउँदा पनि दुःख ।”

घडी हेरें, उहिल्यै दश बजिसकेको रहेछ । आज अफिस गइएन । रघु भन्दै थियो.., “मेरो विद्यार्थी जीवनकालमा शैक्षिक स्थिति एकदम भताभुङ्ग थियो । महिनैपिच्छे हडताल भइरहन्थ्यो । यही हडतालैहडतालले मेरो कोर्स लम्बिंदै गयो र एक दिन यस्तो पनि आयो कि मेरो छात्रवृत्ति पाउने म्याद सिद्धियो । तर पढाइ भने कम्प्लिट भएको थिएन । त्यतिखेर कम दुःख पाइयो ? कोही चिनेको छैन । अफिसअफिस धाउनुपर्यो, कराउनुपर्यो…।”

यसपल्ट अलि छिटै नै सिद्धयायो उसले जाँड र यतिखेरसम्म उसका आँखा सानोसानो हुँदै गएको र बोली लरबरिएको कुरा महसूस गरें । भन्यो, “जाँड गुलियो रहेछ । अर्को एक सिसी पनि ।”

मानवताको नाताले मैले “नखाऊ” भन्नुपर्थ्यो क्यार । तर भनिनँ । ऊ खान चाहन्थ्यो । मैले पैसा तिर्ने अभिभारा बोकेको थिएँ । त्यत्ति हो । नखाऊ किन भन्ने ? तर पनि यस्तो चाहिं भनें, “तिमीले निकै नराम्रो बानी बोकेका रहेछौ ।”

उसले केही बोलेन । किनभने ऊ बोल्न नसक्ने स्थितिमै पुगिसकेको थियो । यतिखेर तेस्रो सिसी पनि रित्तिने अवस्थामा पुगिसकेको थियो । नशाले रघु लट्ठ थियो । नशा लागेपछि जाँडको निम्ति सितन पनि चाहिँदो रहेनछ । फोक्सो प्लेटमा अझै बाँकी थियो । तर उसले त्यो हुँदै छोएको थिएन ।

“कहिलेदेखि लागेको तिमीलाई यो बानी, रघु ?”

ढ्याउउ … गरेर डकार्यो उसले जाँडको डकार । र अलिकति नाकमुख खुम्च्याएर मुख बिगार्यो । जाँड जति मीठो हुन्छ, डकार्दा त्यो त्यत्तिकै नमीठो हुन्छ ।

“तपाईंलाई थाहा छ, दाइ ?” लरबरिएको स्वरमा रघु बोल्यो, “हिजोअस्ति तपाईंले दिने पैसाको पनि मैले चनाचिउरा कहिल्यै खाइनँ । छोय्‌ला र जाँड खाएँ ।”

म झसङ्ग भएँ ।

“त्यसो भए म तिमीलाई पतनतिर धकेल्दै रहेछु हगि ?” यतिखेरै मेरो आँखा जाँडले भरिएको गिलासमा पर्यो । त्यहाँ जाँडमाथि स्याउँस्याउँती चामलमा पाइनेजस्तो किसिमका सेता कीराहरू पौडी खेलिरहेका थिए ।

“यो के रघु ? तिम्रो जाँडमा त कीरा पो रहेछ ।”

“के रे ? कीरा रे ?” एक्कासि रघु बम्क्यो पो, “कसरी कीरा भन्ने साहस गरेको ? यो त जाँड हो जाँड । जीवित जाँड । यस्तै जाँड खाएर त बढी नशा हुन्छ ।”

“यस्तो कीरा खाएर नशा हुन्छ ?”

“कीरा नभन भनेको होइन ? बढ्ता कराउँछ । ई, हेर ।” त्यो जिउँदा कीराहरू भएको जाँड घुटुघुटु पिउँदै बम्क्यो ऊ ।

मलाई झन्डैले बान्ता नभएको । वाकवाकी लाग्यो । कस्तो निरर्थक जिन्दगी । छ्याः ।

रघु जुरुक्क उठ्यो पाखुरा सुर्कंदै, “कीरा रे ? ल, आइज लड्ने भए । झगडा पो गर्न खोज्दो रहेछ ।”

किताबहरूमा पढेको थिएँ जाँडरक्सी खायो भने मान्छे राक्षस हुन्छ भनेर । तर यति अस्वाभाविक किसिमले हुन्छ भन्ने चाहिं थाहा थिएन । सानो कुरामै ‘तपाईं’ को तगारो भत्काउँदै ‘तँ, तिमी’ भन्नु, केही गम्भीर कुरै नभई पाखुरा सुक्दै उठ्नुले मलाई रघुप्रति घिन उब्जाइदियो ।

“रघु, चूपचाप बस यहाँ । बढी पियौ तिमीले ।”

“के रे ? अझ भन् त । म तँलाई मारिदिन्छु ।” उसले मेरो घाँटी ट्याप्पै समायो । आँखा रातो भएको थियो । आँखा पल्टाएर हेर्यो । ओहो ! जाँड खाएपछि मानिसभित्र ‘मानिस’ नै बाँकी नरहँदो रहेछ । उसको बेफ्वाँकको क्रूरपनले गर्दा मैले चड्याम्म उसको गाला चड्‌काइदिएँ ।

त्यस चड्कनले गर्दा ऊ थचक्क भुइँमा बस्यो र रुन थाल्यो, रुँदै भन्यो, “मैले जीवनभरि दुःख पाएँ, दाइ । मैले जागीर पाइनँ । अब म आसाम नै फर्कन्छु दाइ । आसाम नै फर्कन्छु …।” कुन्नि । अरू पनि केके भन्यो ।

मलाई अलिअलि उसको माया लाग्यो । तर यहाँ उसलाई माया गरिबस्ने वेला थिएन । बरु घृणा गर्नुपर्ने वेला थियो । किनभने ऊ रघुनाथ रावत हैन, एक दानव भएको थियो । त्यसैले त्यस भट्टीमा उसले खाएको पैसा तिरिदिएर म बाहिर लागें । उसलाई त्यत्तिकै छोडिदिएँ । सँगसँगै लग्ने कुरा भएन, आफ्नै बेइज्जती हुने ।

मेरो जीवनमा मात्र किन यस्ता नराम्रा घटनाहरू घटिरहन्छन् ? किन मेरो यस्ता अप्रिय पात्रहरूसँग मात्र भेट हुन्छ ? बुझ्न सकिरहेको छैन र त म यी सब लेख्दैछु । मैले माथि नै उल्लेख गरिसकें पनि कि हामी लेखकहरू- आफूले नबुझेको कुरा अरूलाई बुझाउन लेख्ने गर्छौं । अरू चाहिं बुझें भनी भ्रममा पर्छन् ।

भोलिपल्ट विष्णु दाइको पसलमा पुग्दा रघु थिएन । मलाई देख्नासाथ सधैं पान बनाउनतिर लाग्ने विष्णु दाइले त्यो दिन पुलुपुलु मलाई हेरिरहे मात्र । म नजिकै पुगेपछि उनले अड्कीअड्की भने, “काजीले आत्महत्या गर्नुभएछ ।”

मेरो छातीमा आशङ्काको काँडा रोपिए जस्तो भयो । सोधें, “को काजी भनेको ?”

“रघु काजीले, हजुर । रघु काजीले रानीपोखरीमा डुबेर आत्महत्या गर्नुभएछ ।”

अब भने मेरो छातीमा काँढा हैन मोटो भाला नै रोपिए जस्तो भयो । म ट्वालट्वालती हेरिरहें । कहाँ हेरेको थाहा पनि छैन । टक्क एकै ठाउँमा कताकता ।

“हिजो बेलुकातिर आउनुभएको थियो यहाँ । भन्नुहुन्थ्यो, ‘मैले आफ्नो घडी बेचें, विष्णु दाइ । तपाईंलाई र श्रेष्ठ दाइलाई पैसा तिर्नु छ । मैले हिजो श्रेष्ठ दाइमाथि हात उजाएँ । म जीवनभरि दुःख पाइरहने टुहुरो, जाँडको कीरो हुँ । मेरो तपाईंलाई कति पैसा तिर्नु छ ?’ उधारो खाएको पैसा तिरिदिनुभयो । हजुरलाई भनेर यो एक सय सतासी रुपैयाँ पनि छोड्नु‌भयो । हजुरसित सापट लिएको पैसा रे । ‘श्रेष्ठ दाइलाई मलाई माफ गर्दिनोस् भनेर भन्नू है’ भन्नुभएथ्यो । ‘काठमाडौँमा म बिकिन । अब आसामै फर्किन्छु । जीवनभर दुःख पाएँ मैले,’ भन्नुभएथ्यो । यसरी नकाम गर्ने थाहा पाएको भए छोड्‌ने थिइनँ होला । तर जानुभयो चटक्कै छोडेर । बिहानै उहांको लास हेरेर आएँ । रानीपोखरीको डीलैमा एउटा कागत छोड्नुभएछ, ‘मैले जीवनभरि दुःख पाएँ । म टुहुरो । म जाँडको कीरो ।…’ यस्तै कुन्नि केके जाति हो लेख्नुभएको रहेछ । हेर्ने भए हजुर पनि जानोस् । लास अझै त्यहीं नै होला ।” यति थोरै कुरा भन्न विष्णु दाइलाई धेरैबेर लाग्यो । भन्नै सकेनन् । हिक्का छाडीछाडी भने ।

मेरो आँखा पनि भिजेर निचोर्न हुने भइसकेको रहेछ । हिजो अप्रिय लागेको पात्र- रघु, अहिले धेरै प्रिय लाग्यो । त्यसैले पनि होला शायद कि रानीपोखरी गएर उसको लास हेर्ने किसिमको साहस मैले गर्न सकिनँ । सोचें, आत्महत्या गर्नुपर्ने के त्यस्तो घटना परेको थियो ? किन आत्महत्या गरेको रघुले ? तर लाग्यो, घटना हैन, दुर्घटना परेको थियो । ऊ जन्मनु दुर्घटना थियो । त्यसपछि बाँच्नु दुर्घटना भयो, अनि पढ्नु दुर्घटना, जागीर खोजेर नपाउनु दुर्घटना … दुर्घटनैदुर्घटना । यस्तो मान्छेले जाँड खानु र आत्महत्या गर्नुबाहेक के नै गरोस् त ?

ठीकै गर्यो आत्महत्या गरेर । जाँड खाएर ह्वाँ… ह्वाँ… रुनुभन्दा त आत्महत्या गर्नु नै राम्रो हो । होइन र ? यस्तो विचारले चाहिं मेरो आँसुलाई अलि निचोरिदियो ।

तर त्यसको ठीक सात दिनपछि, आज विष्णु दाइले फेरि एक जना अर्को रघुसँग परिचय गराइदिएका छन्- रघुवीर सुब्बासँग । ऊ पनि एम्.ए. पास गरेको युवक हो र जागीरको खोजमा छ ।

मेरो ऊमाथि ठूलो सहानुभूति छ । तर म उसको निम्ति पनि केही गर्न सक्दिनँ किनभने म कसैद्वारा पनि नटेरिने जनावर हुँ- रघुजस्तै, विष्णु दाइजस्तै ।

(किशोर पहाडीको कथासंग्रह ‘विशुदाइ’बाट) -sahityapost