July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

सालिक

Advertisement

“तिमी पनि गोर्खाको, म पनि गोर्खाको है,” उनले भने ।

Advertisement

“हो त, कालखण्ड फरक भए पनि यौटै धरतीका पुत्र थियौँ,” अर्काले पनि सही थपे ।

नमिलेका र नबुझेकालाई फकाउँदै र थर्काउँदै, एकाकार गर्दै हिमालमुनि एकीकृत शक्ति निर्माण गर्ने अभियानमा थिए उनी, इतिहासको एक कालखण्डमा ।

अर्कोले पनि निरंकुशताविरुद्ध पहिलो बिगुल फुकेको थियो, आफ्नो समयमा । एकीकृत राज्य निर्माणबाट थकाइ मार्दैमार्दै देवीघाटमा मृत्युवरण गरेका र निरंकुश दासताको विरोध गर्दा गोर्खा दरबारमा झुन्ड्याइका उनीहरू आज एकापसमा कुरा गर्दै थिए ।

“मैले त दरबार बलियो बनाउन जनता शक्तिशाली हुनुपर्छ भनेकै थिएँ,” उनले भने ।

“जनताको अधिकार प्राप्तिकै लागि त मैले ज्यान गुमाउनुपर्‍यो,” अर्कोले भने ।

“म त एकीकरणको अभियानमा लागेको थिएँ,” उनले भने ।

अर्कोले थपे, “तपाईंले रोपेको फूलबारीको एउटा फूल त थिएँ नि म पनि ।”

फेरि उनले भने, “हाम्रो अभियान एउटै, हाम्रो सोच एउटै तर हामीलाई एकार्कालाई शत्रुजस्तै बनाए है कस्केलीले ?”

“हो त, कहिले तपाईंलाई उखेलेर मलाई राख्छन्, कहिले मलाई फालेर हजुरलाई राख्न खोज्दछन्,” अर्कोले फेरि भने ।

केही दिनपछि पोखरामा हल्ला सुनियो, ‘पृथ्वीनारायणको सालिक र लखन थापाको सालिक दुवै विरक्तिएर हरिद्वारतर्फ लागे रे !’ –baahrakhari