कथाः मेरी अर्की श्रीमती


आफूले चिन्ने, आफ्ना नजीकका, आफन्तबाहेक फेसबूके साथीहरू थिएनन् । जब सामाजिक सञ्जाललाई अलि विस्तृत रूपमा बुझ्न थालेँ । त्यो बाउन्ड्री तोडियो । फेक आइडी होइन भन्ने लागेका सबैलाई फेसबूके साथी स्वीकार्न थाले ।
जागीरको यता र उताको बसाइँले काठमाडौं ल्याइपुर्यायो । काठमाडौंका साथीहरूसँग घुलमिल गर्न थालियो । कामको ओभरलोडले फेसबूक खोल्न पाएको थिएन । लामो समयपछि फेसबूक खोल्दै थिएँ ।
एउटा म्यासेज रिस्वेस्ट देखेँ, “हेल्लो !”
मैले रिक्वेस्टलाई एसेप्ट गर्दै जवाफ फर्काएँ, “हजूर !”
त्यो दिन हेलो- हाइ मै कुराकानी टुङ्गियो ।
केही दिनको हेलो, हाइ, गुडमर्निङ, बाई, गुडनाइटले बिस्तारै हामीलाई नजिकाइदियो । फोन नम्बर साटसाट भयो । भेटघाट हुन थाल्यो ।
उनले एकदिनको चिया गफमा मेरो पारिवारिक पृष्ठभुमी सोधिन् ।
मैले सबै सबिस्तार बताइदिएँ, “घरमा बुवा-आमा हुनुहुन्छ । श्रीमती छिन् । दुई वर्षको छोरो छ ।”
मेलै पनि उनलाई उही प्रकृतिको प्रश्न गरेँ ।
उनी केहीबेर टोलाउँदै जवाफ फर्काइन्, “मेरो पारिवारिक स्थिति राम्रो छ । तर व्यैयक्तिक जिन्दगी सुन्न लायक छैन । सात वर्षको रिलेशनलाई मैले नै ब्रेकअप दिएको हुँ । केटोले मलाई बेस्सरी माया गर्थ्यो । आमाले थाहा पाएपछि आत्महत्या गर्ने कोशिश गर्नुभयो । त्यसपछि छोडिदिएको हुँ । केटाको अहिले बिहे भइसक्यो ।”
हामी बिस्तारै नजीक हुन थाल्यौँ । भेटघाट बढ्दै गयो । एकदिन उनले मलाई आफ्नो कोठामा बोलाइन् । मैले इन्कार गरेँ ।
उनले अप्ठ्यारो नमान्न आग्रह गर्दै भनिन्, “हजुरको श्रीमती छ । सौता बन्न जाँदिन । किन डरा’को ?”
उनले मलाई कन्भिस गराउने हर प्रयत्न गरिन् । सम्झाइन् । भोलिपल्ट उनको कोठामा गएँ । मलाई मनपर्ने खानाका परिकार बनेका थिए । मैले मीठो मान्दै खाएँ ।
खानपिनको समाप्तीसँगै हामी कुराकानीमा भुल्न थाल्यौँ । बेला बेलामा उनले मनमा काउकुती लाग्ने कुराहरू गर्थिन् । मलाई लाज लागेर आउँथ्यो । समय-समयमा उनी जिस्किन्थिन् । मलाई अप्ठ्यारो लाग्थ्यो ।
बिस्तारै हामीले मर्यादा भुल्न थाल्यौँ । उसले मेरो हातमा समाउँदा मैले मेरी श्रीमतीलाई सम्झिन्थेँ । उनका प्रत्येक गतिविधिले मैले मेरी श्रीमतीलाई धोका दिँदैछु भन्ने आभाष दिन्थ्यो । उनले जबरजस्ती गर्न खोज्दा मैले मेरो दूधे बालकलाई सम्झिन्थेँ । मैले उनका प्रत्येक गतिविधिलाई इन्कार गरिरहेँ ।
मैले धेरै इन्कार गरेपछि उनले मुखबाट बम पड्काइन्, “म डराएको छैन । तपाईं भने मुटु काँप्नुपर्ने ? नामर्द हो ?”
उनको रीस र गुनासोले म उन्मुक्त हुन थालेँ । त्यसपछि सबै कार्यहरू भए, जो नहुनु पर्ने थियो । श्रीमान्-श्रीमतीका बीच जे हुन्छ, त्यो सबै भयो । त्यो दिन उनी मेरो अँगालोमा मीठो निद्रामा सुतिन् ।
बिहान ब्यूँझेपछि मैले प्रश्न गरेँ, “यो सम्बन्धलाई के नाम दिऊँ ?”
उनले लजाउँदै भनिन्, “एक दिन नै सही । स्वास्नीले लोग्नेबाट प्राप्त गर्ने एउटा सुख प्राप्त गरेको छु । मलाई श्रीमती नै भनिदिनू ।”
यो जवाफको के प्रतिक्रिया दिने सोच्नै सकिनँ । शायद लोग्ने मानिसको मायाको भोको थिइन्, जुन कसैले बुझ्न सकेनन् । केहीबेर उनलाई अँगालोमा लिएँ । निधारमा चुम्बन गरेँ । छातीमा टाँसेँ । र मधुर स्वरमा बोलेँ, “मेरी अर्की श्रीमती !”
“के ?”, उनले आश्चर्य मानिन् ।
केहीबेर मौन बसेँ । र बिस्तारै जवाफ फर्काएँ, “मेरी एउटी श्रीमती । जसलाई खुलेर स्वीकार्न सक्दिनँ । एउटी गुप्त श्रीमती । मेरी प्यारी अघोषित श्रीमती ।” -sahityapost








प्रतिकृया दिनुहोस्