एक पतिकी द्रौपदी


अस्ति मात्रको कुरा हो । शयनकक्षमा उनले मलाई आफ्नो मन खोलेर देखाएका थिए ।
“पिताको अवसानपछि भाइहरूका लागि बाउको जिम्मेवारी बोकेर हिँड्दाहिँड्दा थाकेको छु । अब तिमीलाई जिम्मा लगाएँ । मलाई खुसी देख्न चाहने हो भने मेरी आमा र भाइहरूलाई खुसी पार ।”
तकियामुनिबाट केही वस्तु निकालेर हातले माड्दै उनी पलेँटी कसेर बसे । मध्यरातमा उनको यो लीला देखेर अल्मलिएँ ! सोधेँ, “के हो यो ?”
उनले भने, “यो मेरो खेलौना हो पासा । जीवनको खेलमा म सधैँ हारेको छु । त्यो पराजयको सियो मभित्र गडेर बसेको छ । आऊ प्रिय, मभित्रको हीनताभाव मेटाउन मलाई मद्दत गर ।”
इच्छा नहुँदानहुँदै मैले उनीसँग द्यूतक्रीडामा रात बिताएँ ।
०००
हिजो त म निकै थाकेकी थिएँ । रातभर मलाई सुत्नै दिइएन । सखी नितम्बिनी हस्याङफस्याङ गर्दै आई र एउटा बन्द खाम मेरो हातमा थमाएर गई ।
खोलेर पढेँ । लेखिएको थियो, “आज मलाई विदुषी नारी होइन, खाटमा एउटी सुन्दरी चाहिन्छ । तयार भएर बस । नत्र म हिडिम्बाकहाँ गइदिन्छु । रिझाउन नसकेर असुरपुत्रीकहाँ गएको भन्ने दोष तिमीलाई नै लाग्ला है ।”
म हतारहतार तयार हुन थाल्छु । आफ्नो वक्षलाई सकेसम्म आकर्षक देखिने वस्त्रले ढाक्दछु ।
०००
मैले नाप्दै अड्कलेर उनका अगाडि आफ्ना कुरा राख्नुपर्छ । भित्रै राखुँ आफैँलाई गाह्रो । ओकलुँ रात अनि पल व्यर्थै खेर पो जाने हो कि भन्ने डर । कति बेला उनी झनक्क झन्किएर फरक्क फर्किन्छन्, थाहा हुन्न ।
“आफूले विजय गरी पाएको नारीलाई बाँड्ने कुरा गर्दा बोल्नु पर्दैन ?” रिसलाई मनभित्रै दबाएर मुहारमा सकेसम्म उज्यालोपन ल्याउँदै म भन्छु ।
“मैले बोलेर आमा अनि दाजुको मर्यादा भंग गर्न सकिनँ । तिमीले आफ्नो असहमति जनाउनुपर्थ्यो नि त !”
निक्कै सन्तुलनमा राख्न खोज्दाखोज्दै पनि यसो भनिरहँदा उनको भनाइमा एउटा पश्चातापको भाव झल्किरहेको थियो । थोरै आक्रोशमिश्रित स्वरमा म भन्छु, “अहिले यसो भन्दै छौ । यदि, मैले साँच्चै भनेकी भए, भित्रिन नपाउँदै स्वास्नीले लोग्नेलाई कब्जामा लिई भन्ने आरोप लाग्न के बेर ?”
“ल ल, छोड ती कुरा । जे भयो भयो । तिमी परिवारलाई मिलाउँदै लैजाऊ । दिनभरिको दौड्धुपले थाकेको छु । अहिले यो कुरा म सुन्न चाहन्नँ प्रिय ।”
मनमनै सोच्छु म, ‘हेर न यो लोग्नेमान्छे । आफ्नो पुरुषत्वको कुरा आएपछि कति छिटो पूर्णविराम लगाउँछन् संवादमा ।
०००
आज ज्यान साह्रै दुखिरहेछ । म धान्नै नसक्ने भइसकेकी छु । थाकेर चूर भएकी म पल्टिँदा यस्सो आँखा लागेछ । अहिले मेरा अगाडि एउटा सुन्दर पुरुष चौडा छाती लिएर उभिएका छन् । मेरा सप्पै पीडा ओझेलमा परे । मैले हिजो अनि भोलि बिर्सेँ । मेरा सबै गुनासा हराए । अनि, खुसी पग्लिएर औँलाको कापबाट बगेर कुहिनोमा पुग्ने गुलियो बरफझैँ बग्न थाले । मन त्यही पलमा टक्क अड्यो ।
…मधुर ध्वनिमा एउटा गीत गुन्जिन्छ, ‘केही मिठो बात गर रात त्यसै ढल्किँदै छ, भरे फेरि एकान्तमा रुनु त छँदै छ ।’
“के सोचिरहेकी ?”
यो आवाजले झस्किन्छु । यसो हात हेर्छु, सुक्खासुक्खा पाउँछु । अचानक हिजोबाट आज अनि अहिलेमा फर्किन्छु । शय्याबाट जुरुक्क उठेर एउटी आज्ञाकारी ‘बेटर हाफ (?)’ सरह म उनका आभूषण खोल्नमा उनलाई मद्दत गर्न थाल्छु ।
“हेर, म केही भन्दिनँ । तर, तिमीले मेरो सबै इच्छा बुझ्नुपर्छ । अलि कम बोल्ने बानी छ मेरो ।”
जवाफमा केवल टाउको हल्लाउँछु र मनमनै भन्छु, ‘थाहा छ, तिमी कम बोल्छौ अनि बोल्नलाई पिउने गर्छौ ।’ नशाको सुरमा मात्र पुरुषार्थ देखाउन सक्ने उनले केटाकेटीमा घरमा पाएको पक्षपातपूर्ण हुर्काइ अनि व्यवहारले मनमा जरो गाडिएको आफैँले भनेको कुरो अहिले बिर्सिसके ।
हाय ! मेरा बहुरूप पति, म द्रौपदी । हरेक दिन कोठा फेरिन मैले । बरु, एउटै पुरुषका फेरिएका अनुहारहरू भोगेँ । म द्रौपदी पाँच पतिकी होइन । म एक पुरुषकी द्रौपदी जसभित्र पाँच पाण्डव मात्र नभई सिंगो कौरव वंश छ । प्रत्येक दिन उनका व्यवहार फेरिन्छन् । रातो, तातो, कालो, नीलो उनका अनुहार देखिन्छन् ! म चुपचाप प्रस्तुत भइदिन्छु एउटा आदर्श पत्नी बनेर ।
हो म एक पतिकी द्रौपदी । मैले पनि बाँच्न सिकेकी छु । त्यसैले त मभित्र एउटै रूप छ मेरो पतिको, मेरो मानस पति श्रीकृष्ण । म उनैलाई हृदयमा राखेर हर दिन बन्द आँखाले त्यो रूप देख्छु ।
आफूले सुम्सुम्याउने फरक रूपका एउटै शरीरमा उनै मानस पति श्रीकृष्णलाई छामेकी हुन्छु । युधिष्ठिर, भीमसेन, अर्जुन, सहदेव, नकुल या कौरव वंशको जोसुकै रूपमा आओस्, त्यो एउटा शरीर जसभित्रको कृष्ण मेरो मानस पति ।
हो म द्रौपदी, आजको नारी, म एउटै पतिकी द्रौपदी । Baarakhari








प्रतिकृया दिनुहोस्