June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

भन्-भन्-भनन्न

इन्टरभ्यु स्पेसलिस्ट मि. झप्पु सिं, डबल एम्.ए.ले बल्छी थापेका थिए । चिनीको बल्छी, कोठाभरि छरिएको थियो । उनलाई माछो होइन, जम्मा एउटा माखो समाउनु थियो । छरिएको चिनीलाई हूलका हूल झिँगाले छोपेको हुँदा भुइँभरि कालो र सेतो रङको विचित्र विरोधाभास कोरिएको थियो ।

Advertisement

झप्पु सिं लखतरान परेर बसेका थिए, एउटासम्म झिँगा समाउन नसकेर । उनले कति खेप कोठाभरि झिँगासमाउ–ताण्डव त गरे, तर एउटै पनि मुठीको माखो भइदिएको थिएन । कोठाको दुर्लभ चिनी पनि मासिनु, झिँगासम्म पनि हात नपर्नु, अनि त मान्छे फत्रक्क गल्दैन ?

Advertisement

निराशाको अजंग खाडलमा जाकिएर झप्पु सिं केही छिन् आत्तिए अवश्यै, तर उनले कुर्चा भने खानु परेन । लखतरान परेर खाटमा बस्नेबित्तिकै उनका कानैमा आएर झिँगा करायो, “भन्—भन्—भनन्न”… अर्थात् जदौ हजुर ! हामीलाई पक्रन किन यसरी टाउको फोर्नुभएको ?”
झ.— इन्टरभ्यु लिन, अरू किन ?
झिँ— भन्—भनन्न—भन्…अर्थात् हामी छुसीको इन्टरभ्यु ! टाउकेहरूले इन्टरभ्यु दिन छाडे र ?
झ.— के को छाड्नु, मौका पाए त हातखुट्टा टेकेर आइपुग्छन् ! मैले त तिमीहरूजस्ताको मात्रै इन्टरभ्यु लिने अठोट गरेको छु !
झिँ— भनन्न—भन्न—भन्…अर्थात् ए त्यसो हो ? सोध्नोस्, आफूले जानेबुझेको बताउँला !
झ.— तिमीहरूलाई सबभन्दा बढी मन पर्ने कुरा के हो ?
झिँ.— भन्—भन्…अर्थात् फोहरमैला !
झ.— फोहरमै किन यसरी मन रमाएको ?
झिँ.— भनन्न—नन्न—नन्…अर्थात् किनभने संसारमा यो मात्रै त्यो वस्तु हो जो शतप्रतिशत चोखो छ !
झ.— फोहोर पनि चोखो हुन्छ र ?
झिँ.— भन्—भन्न—नन्न—नन्न—नन्…अर्थात् आजको मिस्कट जुगमा यो जति चोखो अरू के छ र ? दूधमा पानी पसेको छ, टङरङ ! घिउमा पिँडालु बसेको छ, लटक्क ! पीठोमा खोयो पिँधिएको छ, भसक्क । पूजाआजामा स्वार्थ टाँसिएको छ, लिपिस्स । अरू त के भन्नु, मायापिर्तीमा पनि नाफा झुन्डिएको छ, तुर्लुङ । मैले भनेँ नि, यस संसारमा फोहरबाहेक अरू कुनै यस्तो थोक नै छैन जसको ‘शुद्धता’को ठ्याम्मै १०० प्रतिशत ग्यारेन्टी होस् ।

झ.— तिम्रो ‘शुद्ध भिटामिन’ तिम्रै पेवा भयो ! भन त, यस शुद्ध पदार्थको नयाँ रास देख्न पाउँदा तिम्रो मन कस्तो हुन्छ ?
झिँ.— भननन—भन्—भनन्न…अर्थात् फुरुंग पर्छ, जसरी चामलको नयाँ बोरा फेला पार्दा तपाईंको मन फुरुंग पर्छ ।
झ.— जताततै फोहरैफोहरको अटल साम्राज्य छ, तैपनि तिमीहरू एकै ठाउँ हूलका हूल भन्केर तँछाड र मछाड किन गर्छौ ?
झिँ.— भनभन—भन्—नननन्न…अर्थात् यो त हाम्रो आफ्नो बानी हो । तपाईंहरूको बानी पनि त यस्तै छ नि !
झ.— हाम्रो कुन बानी यस्तो छ र !
झिँ.— भन्—भनन्न—भन्—भनन्न…अर्थात् धरतीभरि धानको बाला लटरम्म झुलेको छ, तर सुपथ मोलको चामलका लागि दोकानमै तँछाड र मछाड गर्नुहुन्छ ! तपाईंहरू यसरी हुरुक्क हुने कारण हो असन्तोकी भुँडी र त्यसको उग्र खैलाबैला !
झ.— तिम्रा भुँडीचाहिँ सन्तोकी छन् त ?
झिँ.— भनन्न—भनन्न—भनन्न—भन्न…अर्थात् त्यसो त किन हुन्थ्यो र, तर हामी हुरुक्क हुने कारण सेवा र कर्तव्य हो ।
झ.— के सेवा ? कस्तो कर्तव्य ?
झिँ— भन्न—भनन्न—भन्न—भन्…अर्थात् संसारलाई सुग्घर पार्नु हाम्रो कर्तव्य हो । फोहर मासेर हामी मानिसको सेवा गर्छौँ ।
झ.— ए फोहर फिँजाउने नाथे कीरा, तँ कति मात्तिएर भन्केको ?
झिँ.— भन्न—नन्न—भन्…अर्थात् झुटो बोलेको भए अहिल्यै मेरा दुवै प्वाँख झरिजाऊन् !
झ.— होइन, के भन्न खोजेको ?
झिँ.— भन्—भन्—भनन्न—भन्…अर्थात् सुन्नोस् ! सृष्टिको आदिमा ब्रह्माले मानिसजात र झिँगाजात सँगसँगै बनाएका हुन् । मानिसतर्फ फर्केको ब्रह्माको मुखबाट निस्कियो, ‘धर्म चर’ । त्यतिखेरै झिँगातर्फ फर्केको उनको अर्को मुखबाट निस्कियो, ‘मलं चर’ । मानिसले आज धर्मलाई चरेर सखाप पारिसकेको छ, तर हामीले भने फोहरलाई चरेर सखाप पार्न सकेका छैनौँ । यसैले हामी फोहर देख्नेबित्तिकै त्यसलाई नामेट पार्ने उद्देश्यले आफ्नो कर्तव्य गर्न हुरुक्क हुन्छौँ ।
झ.— हामीले खानेकुराबाट हात हल्लाएर धपाउँदा तिमीहरूलाई कस्तो लाग्छ ?
झिँ.— भन्—नन्—भन्न…अर्थात् असाध्यै नरमाइलो ! 
झ.— किन ?
झिँ.— भन्—भनन्न…अर्थात् यसको कारण… भनन्न—भनन्न—भन्…अर्थात् एक छिन पर्खनोस् है ! बाहिर कसैले फ्वात्त फोहर फाल्यो, म आफ्नो कर्तव्य पूरा गरेर अहिल्यै आइहाल्छु ।

उनी बाहिर निस्केको त्यस झिँगालाई कुरेर बसेका थिए, म ठूलो झिँगाझैँ त्यहाँ पुगेँ । मलाई देखेर उनी खुसीले चिच्च्याए, “भन्—भन्—भनन्न…अर्थात् आऊ मोराश ! भन्—नन्—नन्न…अर्थात् बस मोराश ! भननन्न—नन्न—नन्…!”
उनी धेरै बेरसम्म यसैगरी भन्किरहे र मैले धेरै बेरसम्म उनको भन्काइ जिल्ल परेर सुनिरहेँ । (प्रा. मोहनराज शर्माको ‘इन्टरभ्यु स्पेसलिस्ट मि.झप्पु सिं, डबल एम्.ए’.बाट)