कथा : घर
दिउँसोको तीन बजेको छ । आकाश सफा छ । पशुपति तथा गुह्येश्वरीबाट बेलाबेलामा आउने शंख–घण्टको आवाजले तन्द्रा भंग गराउँछन् । सूर्य औकात देखाइरहेछ । विपक्षमा उभिने तागत कसैमा छैन ।
घाम ताप्दाताप्दै एक घण्टा बितिसकेको छ । मन घाम, बदाम, पानी र लप्सीमा भुलिरहेछ । टाढाटाढा हरियालीयुक्त डाँडाका आकृति देख्न सकिए पनि वरिपरिको परिवेशलाई सिमेन्ट–कंक्रिटले ढाकिसकेको छ । प्रकृति भताभुंग अर्थात् क्षतविक्षत छ । विश्वास वाग्मतीमा बगाएर पनि सहर हाँसिरहेछ ।
कैलाश चौरको आतिथ्यतामा छौँ । हामीजस्ताका संख्या बाक्लो छ । रमाइरहेछ मन । चन्द्र अझै चंगा भइसकेको छैन । विचार, विश्वास र आस्थामा हराइरहेछ । खुसी, इच्छा र दृष्टिकोणमा रमिरहेछ । स्वतन्त्रता मान्छेको खोजी । त्यसैमा लागिरहेछ लाखौँ वर्षदेखि । तर, अझै फेला परिसकेको छैन ।
केटी–केटी, केटा–केटा, केटा–केटी, युवा–युवती र वृद्ध–वृद्धाहरूका झुन्डहरू छन् । सबका अलगअलग तालसुर छन् । कोही गफिइरहेछन् । कोही छलफलरत छन् । कोही विचारविमर्शमा छन् । कोही आस्थामा पोखिइरहेछन् ।
मन्दिरमा दर्शन गर्न आउनेहरू यतिखेर समेत छन् । समयले अवरोध गरिरहेको छैन । ती विचार बोकेर आउँछन् । गन्तव्य खोजीको विषय हुन्छ । विश्वासमा छहारी बनाउँछन् । अठोटको पहाड उक्लन्छन् । विचारको शृंखलामा मन तरंगित बनाउँछन् । तर, पाइला रोकिँदैनन् ।
आँखा वरिपरि दौडन्छन् । कानमा प्रतिध्वनि ठोक्किन आइपुग्छन् । चौर मानिसलाई बसाइरहेछ, उठाइरहेछ र हिँडाइरहेछ । वर्षदेखि चलिरहेछ क्रम । चन्द्र झकाएको छ अल्लिअघिदेखि । अनुहार घरीघरी हेर्छु । घाँटीको घुँक्का रोकिएको छैन । ऊ बुझिरहेको र जानिरहेको छैन । आफैँलाई सम्झाउँछु ।
हामी तीन वर्षदेखि सम्पर्कमा छौँ । उपत्यकाबाहिर हो दुवैको स्थायी बसोबास तर यतिखेर गौशालास्थित बराल कोलोनी आसपास बसिरहेछौँ । कुनै बेला अजंगका सपना थिए । यतिखेर ती टाढा छन् । विपनामा परिणत हुनसकेका छैनन् । पहाड सम्याउने अनि हिमाल अग्ल्याउने आकांक्षा थियो । अनि, छिरिएको थियो काठमाडौं ।
सैनिक सेवामा बीस वर्ष बिताएको व्यक्ति हो ऊ । त्यत्ति नै समय प्रहरीमा बित्यो मेरो । दुवै सेवानिवृत्त हौँ । भाडाको कोठामा छु । पत्नी निजी विद्यालयमा पढाउँछिन् । छोराछोरी कलेज पढ्दै छन् । उनीहरूको दायित्व पूरा गरेपछि गाउँमा बस्ने उद्देश्य छ । काठमाडौंमा घरघडेरी जोड्नेतिर ध्यानै गएन ।
हाम्रो भेट ललनको चिया पसल गराउँछ । यसो भनौँ, धेरै बुढापाकाहरूको सम्पर्क सेतु बनेको छ । हाँसेर बोल्ने र छिट्टै नरिसाउने स्वभावले प्रभावित तुल्याएको छ । बालबालिकादेखि वृद्धवृद्धासँग समेत उस्तै व्यवहार गर्छ । अझै हिन्दी–भोजपुरी मिश्रित नेपाली बोलीले झनै लठ्याउँछ ।
राम्रो चलेको छ पसल । बिहान–बेलुका त थामी नसक्नुकै भिड लाग्छ । चियाकै कारण परका समेत धाएर आउँछन् । वृद्धवृद्धा र खाडी मुलुकमा काम गर्न जाने तयारी गरिरहेका युवा मुख्य ग्राहक हुन् । नजिकका वर्कसप, बसका काउन्टर र कारखाना मजदुरहरूको उपस्थिति पनि बाक्लै हुन्छ ।
विदेशिने युवायुवतीलाई नजाने सल्लाह दिन हिचकिचाउँदैन ललन । ती निरुत्तर बन्छन् । मुखामुख गर्दै अनुहार निन्याउरो बनाउँछन् । “कामै नगरी खान त कतै पाइन्न हजुर, यतै गर्नोस्, त्यताको भन्दा बढी आम्दानी हुन्छ,” हाँसेर भनिदिन्छ ।
“यो न सोच्नोस् त्यता सुखैसुख र यता दुःखैदुःख छ,” थप्छ ।
पसलले नै चिनारी गराएको हो हामीलाई पनि । निस्कने क्रम चल्यो । धेरै पुगियो पशुपति, गुह्वेश्वरी, बौद्ध, गोकर्ण, स्वयम्भू, त्रिभुवनपार्क र कृष्ण मन्दिर । घरपरिवार, आफन्त, छरछिमेकले स्थान पाए ।
छोराछोरी र श्रीमतीको प्रसंग आउँदा चन्द्र बद्लिन्छ । बोलीमा खस्रोपना देखापर्छ । गला अवरुद्ध बन्छ । आँखा रसाउँछन् । घोसे मुन्टो लगाएर आँखा चिम्म पार्छ ।
एक अर्कोकोमा जाने र चिनजान सुमधुर बनाउने सोचमा केही बोल्दैन र सहमतिमा साथ पनि दिँदैन । यस्तै चक्रमा पर्यो होला– सोच्छ मन । तथापि, भेटघाट, कुराकानी र विचारविमर्श निरन्तर चलिरहन्छन् ।
मैले निम्त्याएदेखि एकाएक भेटघाट हुन छाड्छ । चिया पसलमा पनि आउँदैन । “कता गयो होला त ? बिरामी पो पर्यो कि !” मिहिन ढंगले खोज्छन् आँखा । अहँ, पत्ता लाग्दैन ।
एक दिन बाटोमा भेटिन्छ । आफैँ मुख खोल्छ, “माफ गर्नुहोला, हतारमा मैले जन्मघर जानुपर्ने भो ।”
मेरो टाउको हल्लिन्छ । खिस्स हाँस्छ । “हो त, अनायास घर जानुपरेछ,” मन मुस्कुराउँदै भन्छ ।
भेटघाटले निरन्तरता पाउँछ । आफ्नै तालतौरमा हिँडिरहन्छौँ । दिन बिराएर भेटघाट भइरहन्छ । एउटा सहकारीमा सुरक्षकको काम भेटिन्छ । त्यसपछि सार्वजनिक बिदा र विशेष अवस्थाबाहेक दिउँसोको भेटघाट बन्द हुन्छ । तर पनि भेटिन्थ्यौँ, गफिन्थ्यौँ, कुराकानीमा हराउँथ्यौँ ।
अर्कोपटकको निम्तामा समेत अनुपस्थित रह्यो । कोठामा एक्लै भेटिन्छ । खाना आफैँ बनाउँछ ।
“खोइ त चार सन्तान ?,” प्रश्न फुत्किन्छ मेरो मुखबाट ।
अकमकिँदै भन्छ, “माइती–मावली ।” मलाई शंका लाग्छ ।
“यति सानो कोठामा कसरी अट्छन् ?,” मनमा प्रश्न जन्मन्छ ।
“सबैलाई एकैपटक पठाएको ?,” म नसोधी रहन सक्दिनँ ।
“सजिलो नि,” सजिलो नि ऊ सहज भावमा भन्छ । पुष्टि कोठाले गर्छ ।
“छ प्राणी अटाउने कोठै होइन,” मन भन्छ ।
सोचाइका गन्तव्य फरकफरक छन् । भोगाइ र आदर्श अर्को प्रसंग । यी बाटोबाट खुरुखुरु हिँड्दैनन् । आफैँ खोज्छन् । घर भत्कियोस् वा बिग्रियोस् केही सोच्दैनन् ।
घर भत्किएका छन् र क्रम रोकिएको छैन । विश्वासमा आगो लागेपछि हुने गर्छ त्यस्तो । यो कसैको चाहनाभित्र पर्दैन । “सम्भवतः त्यस्तै नियति भोगिरहेको होला,” मन खुसुक्क भन्छ ।
साइले पूर्वस्मृतिमा पुर्याउँछ । एकपटक कोठा पुगेको थिएँ । बिरामी रहेछ । सिरानीमा औषधि थियो । अधबैँसे महिला कोठाको सफाइ र युवती लुगा व्यवस्थापनमा तल्लीन थिए । निस्लोट रहेछ । धेरै बोलेन । महिलासँग जानकारी बटुलेँ । हिँड्ने बेलामा कानमा भनिन्, “म पत्नी र ऊ छोरी ।”
अर्को भेटमा तंग्रिँदै गरेको बतायो । आरामभन्दा बढी भन्न सकिनँ । बोल्ने मुडमा नरहेको हतारोले बताइरहेको थियो । त्यो दिन अल्लि छिट्टै हिँड्यो ।
“समस्या के होला त ?” अलि पाकै उमेरको छ ऊ पाँच–सात वर्ष । अनुभव समेत त्यस्तै होला । हाजिरजवाफी शैलीमा वार्तालाप भएको छैन । सन्देह राख्छु । चाह नहुँदानहुँदै पनि स्थिति आत्मसा्त गर्छु । समस्या राखोस् र समाधानका निम्ति पहल गर्न आग्रह गरोस् म चाहन्छु । ऊ थाहा नपाओस् भन्ने सोच राख्छ ।
असनमा एक दिन पत्नी भेटिइन् । दोधारमा परेँ । छोरी पनि थिइन् । नमस्कार स्वीकार्दै फिस्स हाँसेँ । दोस्रो भेट थियो । “केन्द्रीय क्याम्पसमा एमएस्सी पढिरहेकी छे,” छोरी देखाउँदै भनिन् । आँखा जुधे ।
“सानोतिनो जागिर पनि गर्छे । आमाछोरीको जीविका चलेको छ । उहाँलाई पनि विगत भुलेर सँगै बसौँ भनेका छौँ । तर, मानिरहनुभएको छैन,” टक्क अडिइन् ।
मनभित्रको संशय अझै बढ्छ ।
“कुरो के हो ?” प्रश्नले बारम्बार घोच्छन् ।
“किन त ?,” प्रश्न जन्मन्छ र असावधानीका कारण फुत्किन्छ । सचेत हुन्छु । दुवैका आँखाबाट आँसुका धारा बग्न थाल्छन् । अव्यक्त पीडा छ भन्ने कुराको महसुस गराउँछ । बिदा माग्छु । पर पुगेर पछाडि फर्कन्छु । तिनीहरूका आँखा मैतिर हुन्छन् ।
बाटोभरि कस्तोकस्तो लागिरहन्छ । चन्द खुलस्त बन्न सकिरहेको छैन ।
“नाजायज प्रश्न पो गरेँ कि ?,” मनमा लागिरहन्छ । उत्तरको खोजीमा भौँतारिन्छु । हुन्छ वा हुँदैन, हो वा होइन र राम्रो वा नराम्रोको बीचमा विचार उडिसकेको तथा अझै उडिरहेछ । कहिले कता त कहिले कता पुग्छ । सोच्दै र विचारमा पग्लँदै अलमलिइरहन्छु ।
एक महिनाअघि रहस्य कोट्ट्याएको थियो । त्यो मनमा अहिले पनि ताजै छ । हिजो मात्र होझैँ लागिरहेछ । त्यसपछि ममा परिवर्तन आइरहेछ । संशय क्रमशः घटिरहेछ । कुरा सुनाइसकेपछि आङ तान्दै भनेको थियो, “निकै हलुंगो महसुस गरिरहेछु ।” लामो सास तान्दै आकाशतिर फर्किएको थियो ।
शनिबार बज्रयोगिनी घुम्न जाने प्रस्ताव राख्यो । असहमतिको कुरै थिएन । मन्दिरछेवैको खुला ठाउँमा बित्यो समय । असामान्य थियो मुखाकृति । छातीका असहजताले घुमाइरहेको जस्तो देखिन्थ्यो । कम बोलिरहेको थियो । सोध्ने बहाना खोजिरहे पनि जान सकिरहेको थिइनँ । आवेगात्मक छ भन्ने कुराले मनमा आसन जमाइरहेछ । घरीघरी मौनता तोडियोस् भन्ने सोच्दै थिएँ ।
रुखमुनि थियौँ । अन्य कोही थिएनन् । आँखा आँसुले भरिएका थिए । मेरो हात च्याप्प समात्यो । केही भन्न खोजे पनि सकिरहेको थिएन । मन मडारिइरहेछ भन्ने अनुमान गर्न सकिन्थ्यो ।
पछि नदीजस्तै बग्न थाल्यो । छोरी जन्मिएपछि दोस्री भित्र्याएछ । सैनिक सहकर्मीको विधवा बहिनी दाजुको आग्रहमा स्वीकारेछ । पहिलोबाट एक छोरी रहिछिन् । कष्टकर रहेछ जीवन । २२ वर्षमा पति बितेका रहेछन् ।
मन पग्लेछ र बगेछ मज्जैले । छमहिने दूधे बालक छोरी र सुत्केरी पत्नी भुलेछ । त्यही कुरा उठाएको हो मसँग एक महिनाअघि ।
दोस्रीबाट दुई छोरा जन्मिएछन् । शान्ति सेनाबाट फर्केर घडेरी किनेछ । सञ्चयकोष सापटी समेत थपेर घर बनाएछ । पहिलो पत्नीलाई पनि कोठा दिएर बोलाउने सोच बनेछ । प्रस्ताव राखेछ । अनि सुरु भएछ खटपट । १२ कोठे घर निर्माणपछि परिस्थितिले कोल्टो फेरेछ र मनोमालिन्यता फराकिलो बन्दै गएछ ।
स्नातकपछि छोरीको विवाह गरिदिएछ । सेवानिवृत्त हुँदा प्राप्त पैसामा सापटी गरी पत्नीकै नाममा पसल खोलेछ । यता, असहजता बढ्दै गएछ । केही समय बाहिर बस्दा समाधान हुन्छ कि भन्ने विचार खेलेछ । तर, मनको दूरी उकालो लागेछ ।
आत्महत्यादेखि आमहत्यासम्मका विचार खेलेछन् आँखामा । म स्वीकार्छुु र आत्मआलोचना पनि गर्छु । तर, त्यतिले पुग्दैन भन्दै भौँतारिएछ । समाधानको पाटो पत्ता लागेनछ । पलायनता पनि उत्पन्न भएछ । तर, जीवनभरको कमाइ छोडेर रित्तो हात कता जानु ? पोलाइले डामेछ मन ।
जेठी पत्नी र छोरीप्रतिको व्यवहारले चहर्याएछ । दोस्री अपनाउँदा सहनुपरेका चोट आँखाअगाडि डंगुर लागेछन् । कति गर्दा पनि पन्छाउन सकेनछ ।
आफन्ती गुहारेछ । तर, कोही पनि चुरो खोज्नतिर लागेनछन् । घरायसी मामिलामा बाहिर जानु आवश्यक होइन भन्ने धारणा बनेपछि आफन्त गुहार्ने क्रम चलेछ । मनले जो जसकोमा पुगे पनि समाधानतिर नगएको आभास गरेछ ।
“जेठी पत्नीका साथ बसे भइहाल्यो नि,” मेरो सल्लाह थियो । “सकारात्मक व्यवहार गरेको छैन । त्यसले आत्मग्लानि गराइरहेछ । आफैँदेखि लज्जित छु । कुनै पारिवारिक दायित्व वहन गर्न सकेको छैन । यति हुँदाहुँदै पनि ती सघाइरहेछन् । विगत सम्झँदा छाती नराम्रोसँग दुःख्छ । तिम्रो कुरा मान्न समेत सक्दिनँ ।
अस्तिकी पहिली पत्नी हो र छोरी साथमा थिई । ती बेलाबेलामा आउँछन् र सघाएर फर्कन्छन् । मकहाँ नआऊन् भन्ने मेरो इच्छा छ । तर, आइदिन्छन् । मुटु छियाछिया हुन्छ । भुलले पोल्न थाल्छ । सच्याउने ठाउँ खोज्छु, तर देख्दिनँ ।
यतिखेर दिने माया, ममता र सद्भाव केवल आडम्बर लाग्छ । आवश्यकतामा कहिल्यै उपस्थित हुन सकिनँ । आँसुमा पौडन्छु र पीडाको सागरमा चुर्लुम्म डुब्छु ।
जसका निम्ति वा जसलाई गरेँ ती विमुख हुन खोजिरहेछन् । सम्पूर्ण कमाइ त्यहीँ छ, बिर्सेर कता जानु ? हुँदाखाँदाको पत्नी र छोरी तिरस्कारेर बनाएको हुँ दोस्रो घरबार । यतिखेर स्वीकृतबाट अस्वीकृत र अस्वीकृतबाट स्वीकृत भइरहेछु । बेलाबेलामा आफूले आफैँलाई लोप्पा खुवाउन मन लाग्छ ।
यो तेस्रो विकल्प हो । पेन्सन समेत दुई भागमा विभाजित छ । आधाले गुजारा चलाइरहेछु । हेरौँ, पछि जे त होला,” खुइय गर्दै मसँग आँखा जुधाउन खोज्छ । म उसैलाई हेरिरहेको छु ।
“सबै समस्या उछाल्छन् मात्र, समाधानतिर कोही लाग्दैनन्,” आँखाभरि आँसु बनाउँदै भन्छ, “कारक मै हुँ । जानाजान गरेको थिएँ । सहारा बनिरहेछु भन्ने विचारमा उद्वेलित थियो मस्तिष्क । उद्दार नै जीवनको वास्तविक अर्थ हो भन्ने सोचले घर गरेको थियो । सुनेको पनि थिएँ । त्यो भावना मात्र रहेछ ।
सुनाइ, देखाइ र कल्पना यथार्थमा परिणत हुन कठिन छ । नियति भोगिरहेछु । छोराहरू समेत पक्षमा उभिन सकिरहेका छैनन् । कान्छो त पछिसम्म थियो, तर आमाको वाक्यले मुख बुझो लाग्यो ।
लोकलाज कठिन रहेछ । भासियो छोरो । मुख बन्द भयो । घर छाड्न बाध्य भएँ । अत्यन्त कठिन थियो त्यो क्षण । कसैले कल्पना गर्दैनन् । मनभित्रका काला बादल मडारिए । सहनु आफूलाई नपुंसक साबित गर्नुहुन्थ्यो । आफन्त पीडा पचाउन सकिनँ ।
भेलामा छिमेकी समेत थिए । कान्छो सघाइरहेको थियो । अन्तिम प्रयासमा थिएँ । निकास पाउनेमा ढुक्क थियो मन । तर, भएन । फरक बाटोमा हिँड्यो । धमिलोको भाष पहिल्यैदेखि थिए ।
अशोभनीय लाग्यो । अधिकांशले जिब्रो काढे । कतिपय त उठेर पनि हिँडे । सासूससुरा दुवैको उपस्थिति थियो । ती कालानिला बने । जेठान समेत औँला ठड्याइमा परे । कसैले प्रतिकार गरेन ।
केन्द्रविन्दुमा थिएँ । आङ जिरिंग बन्यो । के गरौँ, कसो गरौँ भयो । अगाडिको संसार कालाम्मे लाग्यो । को के बोलिरहेको छ ठम्याउन असहज भयो । माइती पक्षको विशेष उपस्थिति थियो । अघिसम्मका सकारात्मक विचारकाहरू कि चुपचाप लागे कि त बोली फेरे । झिनो आशा पनि बिजुलीको तारमा झुन्डियो । मसँग दुख्नुभन्दा बढी विकल्प रहेन ।
म लोग्ने नै नभएको जिकिर गरी । सबै स्तब्ध भए । प्याकप्याकती बन्यो मुख । कसो गरौँ र कता जाउँजस्तो लाग्यो । टाउको उठाएँ । मुखामुखमा रहेछन् सबै । ऊ बोलिइरहेकी थिई । रोक्ने क्षमता थिएन । विचार न सुनिसक्नु न त बुझिसक्नुका थिए । शौचालय पुगेर फर्केँ ।
उपस्थितहरूको संख्या अझै गणनीय थियो । अर्थ थिएन । तथापि, सानो छोरो, विवाह गराइदिने दाजु, सासू र केही छिमेकी बोले । दमदार ऊ मात्र थिई । चर्को बोली । सशक्त प्रतिकार नहुनुको अर्थ समर्थन हो । त्यस्तै भयो । मेलमिलाप र एकताका कुरा गर्नेहरूले कुरा चपाए ।
मेरा नाममा जग्गा नै नभएपछि घर हुने कुरै थिएन । जागिरको कारण अधिकांश समय ब्यारेकतिरै बस्ने हुँदा छिमेकीहरूसँग खासै उठबस हुँदैनथ्यो । सामान्य भेटघाट र भलाकुसारीले परिपक्व चिनारी दिँदैनथ्यो । म पाहुना हुँ वा घरवाला, मतलबको कुरो थिएन । व्यस्त सहर कसैको खासै चियोचर्चो पनि गर्दैन । आफू बाँच्न नै धौधौ हुन्छ । त्यसैले छिमेकीको पछि लागि रहँदैन । व्यस्तताले को, किन र के, कसरीमा पुग्न दिँदैन ।
उसले ठाडै भनी, ‘यी छोराहरूको बाबु ऊ होइन । अनौठो लाग्ला, तर वास्तविकता त्यही हो ।’ त्यसपछि उतै सोझिएका थिए सबै । कान ठाडो–ठाडो थियो ।
‘ऊ केवल नाठो मात्र हो । त्यही पनि अशक्त छ । उसको सहाराले म होइन, मेरो सहाराले ऊ बाँचेको हो । उसमा बाबु बन्ने सामर्थ्य छैन,’ आमालाई यसो पनि भनेकी थिई ।
‘सन्तान जन्माउन लोग्ने नै चाहिन्छ भन्ने कुरा पनि मिथ्या हो,’ उसले यसो पनि भनेपछि मजेत्रोले अनुहार ढाक्दै आमा थुचुक्क बसेकी थिइन् ।
‘घर निर्माणमा पनि कुनै भूमिका छैन । यो त मेरो पूर्वपतिको कमाइ हो । केवल सम्पत्तिका लागि जालझेल गरिरहेछ । मानसिक पीडा देखाउनै नसकिने छ । मलाई सहयोग गरिदिन पर्यो, आइन्दा मेरो नजरमा देखा नपरोस्,’ सबैसँग हात जोडी ।
परिस्थितिले अर्को मोड लियो । म अवाक बनेँ । आडैमा उभिइरहेको कान्छो छोरोलाई तान्दै भनी, ‘सन्तानलाई के थाहा बाबु को हो भन्ने कुरा । त्यो मलाई मात्र थाहा छ र निर्क्योल गर्न सक्छु । मैले संकेत गरेको कुरा तिमीहरूले मान्ने हो । यताउति गर्ने कुनै अधिकार छैन ।’
बिचेत भएछु । अस्पताल पुर्याइएछ । होसमा आउँदा कान्छो सालो अगाडि थियो । सलाइन चढाइएको रहेछ । जिउ मात्र हैन टाउको समेत दुखिरहेको थियो । बोल्न सकिरहेको थिइनँ । ओठ खोल्ने प्रयास विफल बनिरहेको थियो । पानी मागेँ । इसाराले नै नबोल्ने आग्रह गर्दै मेरो अनुहार विस्तारै सुमसुम्याएर तुरुक्क आँसु झार्यो ।
डिस्चार्जपछि अन्योलमा परेँ । उसले आफैँसँग जान अनुरोध गर्यो । जेठानले पनि त्यसै भनेका थिए । अलि दिन घरमा बसेर तंग्रने अनुरोध आयो । दिदीका कुरा बिर्सिदिन भन्यो ।
घर जिन्दगीभरिको कमाइ थियो । पेन्सन आधा छोराका पढाइका निम्ति थियो । विमति जनाएँ । दुवैका आँखामा आँसु टिलपिलाए । काठमाडौंको बस चढेँ । बस निकै अगाडि पुगेपछि पछाडि फर्केर हेरेँ, त्यतिखेरसम्म पनि उसका आँखा बसतिरै थिए ।
गाउँले भाइको सहारामा कोठा लिएको हुँ । ठ्याक्कै तीन वर्ष भयो । पहिला चाबहिलमा थिएँ । एक वर्षपछि जोरपाटी सरेँ ।”
यसरी देखायो विगत । नमिठो लाग्यो । टोल्लिए मेरा आँखा पनि । उसका आँखा पुछिदिएँ । गज्जबको संयोग, उसको कथामा मेरा आँखा पनि रसाए । अविश्वास विस्तारै उडेर धारणामा बदलियो ।
केहीपछि सुनायो– हरेक आइबार घर हेर्न जान्छ । तर, छेउछाउमा पुग्दैन । टाढैबाट हेर्छ र फर्कन्छ । चिनेका नै भेटिए पनि बोलचाल गर्दैन । छिमेकीसँग पनि सम्पर्क गर्दैन । अलि परै घर देखिने स्थानमा बसेर चिया पिउँछ ।
उत्सर्ग सम्झन्छ । कृतघ्नता आँखाभरि छताछुल्ल पोखिन्छन् । अलिकति दुख्छ, खुम्चन्छ र विगतमा हराउँछ । भावनामा पौडन्छ अनि उद्धारको बदलामा पाएको नपुंसकताको उपहार बोक्छ ।
आँखामा हिजोका दृश्य उपस्थित बन्दै जान्छन् ।
आइतबार जानुको सन्दर्भ सुनाउँछ । सबै काममा हुन्छन् । परिचित कोही भेटिँदैनन् । को आए र को गएको मतलब हुँदैन । घर पसिनाको थुप्र्रो हो । त्यसमा रगत, श्रम, सिर्जना र जीवन सबै जोडिएको छ । मेरो मानेमा शतप्रतिशत त्यही हो ।
लोग्ने नभई नाठो र त्यसमा पनि अशक्त वा नपुंसकसम्मको आरोपको साक्षी बस्ने छिमेकी र आफन्तसँग प्रतिवादन गर्न नपारोस् भन्ने अभिप्राय छ । त्यसैले त्यस्तो समय रोजेको हुँ ।
आँखा अझै ओभाएका छैनन् । रसाएको रसायै छन् । सुँक्कसुँक्क गरिरहेछ । सारा अनुरोध, सुझाउ, सल्लाह र आग्रहले आंशिक काम गरिरहेछ । पूर्ण इन्कारेको पनि छैन । पहिला स्वीकार्छ, टाउको हल्लाउँछ र सहमतिमा जाने प्रतिबद्धता जनाउँछ । तर, अल्लिपछि ती क्रमशः भुल्दै जान्छ । सम्भवतः टाउको हल्लिए पनि छाती ती कुरा स्वीकार्न सक्दैन । अनि, ऊभित्रको धैर्यताको बाँध फुट्छ र गडगडाएर बग्न थाल्छ ।
विचरा चन्द ! नपुंसकताको कसरी प्रतिवाद गरोस् ! धनसम्पत्ति र गुमेको ऐश्वर्य फेरि प्राप्त गरेको उदाहरण धेरै छन् । तर, नैतिकता, नपुंसकता र अयोग्यता गुमे ? त्यही पनि श्रीमतीबाट । पुष्टिको निम्ति केही बोल्न सकेन वा हास्यमा उड्यो त्यो प्रसंग । उसको आत्मसम्मानको चोट कसरी निको होला ? मनमा घुमिरहेछ यो प्रश्न ।
हरेक साताको आइतबार उसका आँखा रसाएकै हुन्थे । म मौन रूपमै उत्तर खोज्थेँ । किन ? तर, उत्तर भेटिदैनथ्यो । र, ऊ पनि भन्दैनथ्यो ।
ऊ जबजब घर भएको टोलमा पुग्थ्यो, तबतब आफू उभिएको जमिन भासिएझैँ लाग्थ्यो । वरिपरिका परिवेश पूर्ण रूपमा निर्जन लाग्थे । बाँचेको संसार निस्सार लाग्थ्यो । समाधान थिएन । त्यसैले यदाकदा भौँतारिएरै बिताउँथ्यो आइतबारको रात । हो, हरेक आइतबार बल्झन्थ्यो घाउ र शनिबारसम्म त्यसमा खत बस्थ्यो ।
बनेपाको रिया होटेलमा हिजो डाँकै छाड्यो । “पेटभरि रुन दिऊँ,” एक मनले भन्यो ।
“हुँदैन,” अर्को मन मानेन ।
हेर्नेहरूको कोहेरले घेर्यो । ती मसँग कारण सोध्ने सोचमा थिए सायद, तर सकिरहेका थिएनन् । तर, म त्यो सार्वजनिकीकरण गर्न सक्ने पक्षमा थिइनँ । सबै प्रश्नका उत्तर हुँदैनन् र भए पनि दिन सकिन्न ।
सोध्ने अधिकार थियो । त्यसैले सोध्न खोजिरहेका थिएँ । हिजो बेलुका गएका हौँ बनेपा । एक रात होटेलमा बित्यो । विभिन्न स्थानहरू घुम्यौँ, डुल्यौँ र हिँड्यौँ । कसैका प्रश्न मेराअगाडि आउन सकेनन् । खुसी थिएँ । एकातिर कसैले चिन्ला र बोलाउला भन्ने पिर अनि अर्कोतिर उसको वर्तमान ।
बेसमयको बुढो रुवाइ, यथार्थ छोप्न विवश थिएँ । त्यसो त मेरो परिचय नजाने पनि उसको लुकाउन सकिने अवस्था थिएन ।
घुम्ने प्रस्ताव उसैको थियो । सार्वजनिक बिदा नपरेको दिनमा भन्ने थियो टुंगो । मैले समय व्यवस्थापन गर्न नसकेकै कारण भइरहेको थियो विलम्ब । यसपटक सार्वजनिक बिदा नभएकै दिन जाने प्रस्तावमा म सहमत बनेँ ।
आउनुको मूल लक्ष्य उसकै घर हेर्नु हो । ऊ मलाई घर देखाउन चाहन्थ्यो । मेरो मनमा पनि थियो जिज्ञासा । उत्पन्न संशय हटाउन पनि हेर्नु थियो घर ।
टाढा बसेर चिया पिउँदै घर हेर्यौँ । आँखाबाट बलिन्द्र धारा आँसु झर्न थाले । रोक्न सकेन । थुचुक्क बस्यो । रोइकराइ गर्न थाल्यो । बल्लबल्ल सम्झाएँ । फर्कँदा पनि आँखा चुहिन रोकिएन ।
गौशाला ओर्लिएर यहाँ आएको पनि झन्डै दुई घण्टा बितिसकेको छ । यतिखेर मज्जाले निदाइरहेछ । म आरोपबारे सोचिरहेछु । उसको घर, सपना, जिन्दगीको कमाइ, पारिवारिक सदस्यहरू र आफन्त आँखामा घरीघरी आइरहेछन् । अगाडिको उज्यालोमा मेरो मन हिँडिरहेछ । baahrakhari
प्रतिकृया दिनुहोस्