January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

बाहुन पात्रो

दुई वर्ष पुग्न आँट्यो, संसारभरका मान्छे उकुसमुकुसिएको । मानिसले खुल्लमखुला घुमफिर र चाहेजसो गर्न नपाएको । अर्थात्, मान्छेले वास्तविक स्वतन्त्रताको पूर्ण उपभोग गर्न नपाई संकुचित घेरामा बस्नुपरेको । विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड–१९) यसको कारण ।

Advertisement

‘मै हुँ’ भन्ने यो प्राणी मनलागी गर्न र आफूखुसी हिँडडुल गर्न नपाएका कारण पखेटा काटिएको चराझैँ भएको छ । र, एक प्रकारले भन्नुपर्दा आफ्नो सेखी झरेको महसुस गरिरहेको छ ।

त्यसो त हिँड्ने, डुल्ने, खाने, पिउनेहरू हिँडेका, डुलेका र खाइपिई रमाएका नै छन् । तिनमा कुनै प्रभाव परेको छैन । देश–विदेश सयर पनि चलेकै छ । 

तर, डराउने डराएकै छन् । खुम्चिएकै छन् । गुम्सिएकै छन् !

मान्छेसँगै टाढा रहनुपर्ने र आफ्नो ज्यानको लागि आफूजस्तै मान्छेबाट पर रहनुपर्ने यस्तो दिन पनि आउला भन्ने कसले पो सोचेको थियो र ?

कोरोनाले धेरै ठूलो मानवीय क्षति गरेको छ । सम्भवतः कसैले कल्पना पनि गरेको थिएन । अभिभावक, आफन्त र अकल्पनीय संख्यामा आफूजस्तै मानव मात्रलाई गुमाउनु पर्दाको पीडा हामी सबैमा छ ।

तथापि, यसका केही सकारात्मक पक्ष पनि देखियो ! यसले हाम्रो जीवनशैलीमा ठूलो परिवर्तन ल्याएको छ । अनुशासन र मर्यादामा रहनुपर्छ, खानपानमा सजग हुनुपर्छ, प्रकृतिमाथि जथाभावी गर्नु हुँदैन र स्वस्थ जीवनशैली अपनाउनुपर्छ, सायद यही शिक्षा यसले दिएको छ ।

भाइरस संक्रमणबाट भएका पीडादायी मृत्युको आफ्नै पक्ष छ । संक्रमणबाट मुक्त हुनका लागि गर्नुपर्ने संघर्ष र भोग्नुपर्ने कष्ट मृत्युभन्दा कठिन भएको संक्रमण भोग्नेहरूको अनुभवबाट जानकारी भइरहेकै छ । यो अवस्था कहिलेसम्म रहने हो, यकिन गर्न कठिन छ ।

घुमफिरमा रुचि भएकालाई यसले निकै अप्ठ्यारोमा पारेको छ । मन नहुने त कहाँ हो र ? मन त हमेसा हिँडिरहेको, डुलिरहेको नै छ । तर, आफू भने घरभित्रै कैद हुनुपरेको छ ! यो हो आजको तितो यथार्थ । किनकि, कोरोनाकालमा जोखिमलाई दृष्टिगत गरेर हत्तपत्त बाहिर निस्कने आँट गरिँदैन, भिडभाडमा पस्ने त कुरै टाढा छ ।

यसो गर्दा कतिपय शुभेच्छुकहरू सोध्नुहुन्छ, “कत्ति डराएको ! खोप लगाइएन र ?”

लगाइयो । ज्यानले भेरोसेलका दुवै डोज पाइसकेको छ । तर, मैले पाएको  जानकारीअनुसार खोप भाइरसबाट शतप्रतिशत सुरक्षित गर्ने अचुक अस्त्र र रामबाण भने होइन । खोप व्यापक रूपमा लगाईंदै छ, तर यो अझै पनि परीक्षणकै क्रममा छ ।

खोपका बाबजुद पनि दुःखद घटना घटेकै छन् । अप्रिय समाचार सुन्नु परेको नै छ । अहिलेसम्मको अध्ययन र प्रयोगका परिणामअनुसार यसले शरीरलाई केही बलियो बनाउँछ र भाइरसको प्रभाव कम गर्नका लागि सहज हुन्छ भन्नेसम्म हो । यसैले खोप लगाएको छु भन्दैमा भिडभाडमा मिसिने र सुरक्षित भएँ भन्ने ठान्नु जोखिम निम्त्याउनु हो, सायद ।

अर्थात्, शाकाहारी खानपान अनि स्वास्थ्य अवस्था र स्वास्थ्यप्रति उमेरका कारण सजग रहनैपर्ने अवस्था छ । यसैले पनि म अत्यावश्यक काम नपरी घरबाट बाहिर निस्कने गरेको छैन । घुमफिर गर्ने कुरा ‘दिल्ली दूर है’ भनेजस्तै छ ।

भदौ १५ गतेका दिनचाहिँ बाहिर निस्कनै पर्यो । कारण थियो, पाँच वर्षपछि विदेशबाट आएको छोरा सुविनले केही किनमेल गर्ने इच्छा गर्नु । केही दिनको बसाइका लागि आएको ऊ फर्कने दिन नजिकिँदै गर्दा उसको चाहनाअनुसार पनि बजार जानैपर्ने भयो ।

छोरालाई लिएर विशालबजारअगाडिको पार्किंङमा मोटरसाइकल राखी सर्वप्रथम लागियो वसन्तपुरतर्फ । भूकम्पले क्षति पुर्याएका सम्पदाहरूको अवस्था के कस्तो रहेछ, कुन–कुन सम्पदाको पुनर्निर्माण सम्पन्न भएछ र निर्माणाधीन सम्पदाहरूको अवस्था के कस्तो रहेछ भन्ने छोराको कुतूहलले हामीलाई त्यसतर्फ डोर्याएको थियो ।

काठमाडौंको केन्द्र वसन्तपुर ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण सम्पदा क्षेत्र हो । यो विश्वसम्पदा सूचीमा समाविष्ट विश्वकै आकर्षक केन्द्र पनि हो । २०७२ सालको विनाशकारी भूकम्पले यहाँका अधिकांश संरचना ध्वस्त भएका थिए । हाल तीमध्ये कतिपयको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने केही अझै निर्माणधीन अवस्थामा नै छन् ।

यो क्षेत्र घुमफिर र अवलोकन गरेपछि छोराले खुकुरी किन्ने चाहना व्यक्त गर्यो । वसन्तपुर दरबारको आँगनमा पर्यटकलक्षित व्यवसाय गरेर बसेका एक व्यापारीबाट एकथान नेपाली खुकुरी किनियो । ‘भोजपुरे खुकुरी हो, नाम चलेको’ भन्दै थिए विक्रेता । हाम्रा व्यापारीको बोलीमा विश्वस्त हुन सकिने अवस्था छैन । अधिकांश व्यापार ठगीका रूपमा मौलाएको हो कि भन्ने लाग्छ ।

यहाँ बेथिति र विसंगति छ । नियमन र नियन्त्रण गर्ने निकाय लाचार छन् । यसैले गुणस्तरीय वस्तुको उपभोग गर्ने अधिकारबाट उपभोक्ता वञ्चित हुनुपरेको छ ! बजारप्रतिको विश्वसनीयता पनि हराएको छ । त्यसैले ‘जहाँसुकै बनेको होस्, नेपालीको पहिचान हो किनौँ’ भन्ने निर्णयमा पुगियो । यसरी व्यापारीले भनेको मूल्यमा केही मोलमोलाई गरी एकथान खुकुरी किनियो ।

केही बेरको अवलोकनपश्चात् फर्किंदा जुद्ध सालिक वरपरको चहलपहल हेर्न लायकको थियो । भिडभाड बढ्दै थियो । कोरोना छ र ? जस्तो लाग्ने दृश्य ! यद्यपि, संक्रमित हुने क्रम जारी छ । दैनिक मृत्युको संख्या पनि दुई अंकबाट घट्न सकेको छैन । तर, काठमाडांै भित्री सहरका दृश्य हेर्दा लाग्छ— कोरोना छैन । शून्य भक्ष्सकेको छ र मान्छेले जितिसकेको छ कोरोनालाई ! 
त्यसपछि हाम्रा पाइला सोझिए नयाँसडकतर्फ ।

नयाँसडकको केन्द्र पीपलबोट कुनै समय साहित्यकारहरूको भेटघाटको थलो थियो । यो नयाँसडकको पहिचान हो । पीपलको त्यो ऐतिहासिक बोटमुनि थुप्रै पुस्तक पसलहरू हुन्थे एकताका । अचेल प्रायः एउटा मात्र देखिन्छ ।

पीपलबोटछेउ पुग्दा झलक्क सम्झेँ– यस वर्षको पात्रो पो किनेको छैन । बाबु–बाजेको पालादेखि किन्ने र राख्ने गरेको पात्रो किन्ने चलन किन छाड्नु ? किन्नुपर्यो ।

यही सोच्दै तिनै पसले, जसकहाँ पहिलेपहिले पनि बेलाबेला पुस्तक–पत्रिका किन्ने गर्थेँ— छेउ पुगेर सोधेँ, “ए साहुजी, पात्रो होला ?”
“छ, कस्तो खोज्नु’भो ?,” उनले सोधे ।
“पात्रो क्या ! पात्रो ! पात्रो पनि कस्तो हुन्छ र ?,” मैले भनेँ ।
मेरो प्रश्नमा उनले भने, “भित्तामा झुन्ड्याउने कि बाहुन पात्रो ?”
म अचम्मित भएँ !

म ब्राह्मण, त्यसमा पनि पण्डित परिवारमा जन्मेको बाल्यकालदेखि नै पात्रोको सामीप्यमा रहेको असली बाहुन । वर्ष सकिँदै जाँदा र नयाँ वर्ष लाग्दै गर्दा तानसेन जाँदैपिच्छे हजुरबाले ‘पात्रो आयोे होला, ल्याउनू’ भन्नुहुन्थ्यो । ल्याइन्थ्यो । तानसेनमा पढ्न बस्दा आफै पात्रो सोधिन्थ्यो । किनेर गाउँ लगिन्थ्यो । हजुरबाले भन्नै पर्दैनथ्यो ।

घरमा पात्रो राख्ने चलन थियो । पात्रो हात पर्नासाथ हजुरबाले त्यसमा गाता हाली एकापट्टि दुईवटा प्वाल पारेर धागोले सिउनुहुन्थ्यो । अनि, त्यही धागो दलानको भित्तामा झुन्ड्याउनुहुन्थ्यो । पात्रो झुन्ड्याउने किला पनि प्रायः एउटै हुन्थ्यो ।

पात्रोमा तिथि–मिति, चाडपर्व आदि हेर्ने तथा ग्रहदशा हेरेर कटाउने चलन थियो । अहिलेजस्तो अनेक माध्यमबाट हेर्न पाइँदैनथ्यो । तिथि–मितिका लागि पात्रोकै भर हुन्थ्यो, त्यसताका ।

बा, हजुरबाले पात्रो हेरी साइत र समय निर्धारण गर्नुहुन्थ्यो । धार्मिक कार्य त भई नै हाले, धानको ब्याड राख्नेदेखि रोपाइँ, धान काट्ने र दाइँ हाल्नेसम्म मात्र होइन, वस्तुभाउ किनबेचदेखि अन्य बाली लगाउने र स्याहार्नेसम्मको काम पनि पात्रो हेरी साइतमा गर्ने प्रचलन थियो ।

हजुरबा, बालाई ती कुराप्रति चासो भए पनि आफूलाई चाहिँ जागिरे जीवनमा समेत लामो बिदा हुने दसैँ, तिहार कहिलेकहिले पर्छ ? अरू चाडपर्व कहिलेकहिले र खासगरी कुन बार परेछन् ? त्यसमा चासो हुन्थ्यो ।

शनिबार यसै पनि सार्वजनिक बिदा हुने भएकाले कुनै पनि पर्व त्यस दिन नपरे हुन्थ्यो भन्ने लाग्थ्यो । तर, हरेक वर्ष केही दिन शनिबार नै चाडपर्व परेका हुन्थे । यसैले बाल्यकालदेखि नै घरमा पुगेका प्रायः सबै पात्रोका पानामा मेरा औँलाका स्पर्श परेका छन् ।

त्यसताका अहिलेजस्तो धेरै पात्रो निस्किँदैनथ्यो । खासगरी प्राणनाथको पात्रो चलनचल्तीमा थियो । शुद्धता र विश्वसनीयताका दृष्टिले त्यही नै लोकप्रिय पनि थियो । अहिले बजारमा पात्रोको व्यवसाय चलेको छ । शुद्धाशुद्धीभन्दा पनि छिटो गर्ने चलन छ । यसैले अशुद्ध पात्रोहरू पनि निस्केका हुन्छन् । यसरी पनि पात्रोको व्यापार चलेको छ ।

मलाई थाहा थिएन, बाल्यकालदेखि देखेको र हेर्दै आएको तथा २०४५ सालयता निरन्तर स्वयंका लागि खरिद गरिरहेको र यति बेला पनि आफूसँग रहेको यस्तो पात्रोलाई ‘बाहुन पात्रो’ भनिन्छ भन्ने ! कहिल्यै नसुनेको कुरो यसै दिन सुनेँ ।

लामो पाना भएको तिथि–मिति, घडी–पला, तारिख, लगन, साइतसहितको परम्परागत पात्रोलाई ‘बाहुन पात्रो’ भनिँदोरहेछ ! यो सुनेर आफूप्रति गर्व गर्न मन लाग्यो ! baahrakhari