September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

नमरी देखिने स्वर्ग !

मृत्युको अस्तित्व सर्वोच्च हुन्छ । मानिस नमरुन्जेल त हो अनेक सपनाहरू देख्ने ! अनि, तिनै सपनाहरूसँग एकाकार हुन यायावरझैँ देश–विदेश भौँतारिने ।

भगवान्ले पनि एउटै फिक्स्ड प्रोजेक्ट बनाएर हामीलाई धर्तीमा पठाएका हुन्छन् । जसले जति सक्छ, यो जिन्दगी उसले त्यति नै जिउँछ । क्रमशः अनेक कम्पन स्पन्दनहरू भर्दै मृत्युलाई पर धकेल्न पनि रोमाञ्चक  यात्राहरू आवश्यक छन् । हरेक घटनासँग तर्सिरहने जिन्दगी भन्दा पनि फिल्मी कथाजस्तो जादुमय जिन्दगी बाँच्न पनि घुम्नैपर्ने हुन्छ ।

यात्राको पूर्ण सौखिन मान्छे हुँ । चिकित्सा पेसाका कारण रोजेरै विकट जिल्ला बाजुरा आएको १० महिना भयो । धेरथोर घुमेकै छु कलाकारजस्तै भएर, नियतिले निर्देशित यो जिन्दगीमा ।

बडिमालिकाको बारेमा धेरै सुनियो । नजिकै भए पनि माथि बस्ने व्यवस्थापन नहुने । कहिले सिजन नमिल्ने र टिमको पनि आवश्यकता पर्ने हुनाले घुम्न जाने तिथिमिति थाती राख्दै गएँ ।

कामको सिलसिलामा काठमाडौंबाट रिसर्च टिम कोल्टी आएपछि रातारात बडिमालिका घुम्नजाने प्लान बन्यो । रवीन्द्र दाजु, जोतनारायण दाजु, अस्मिता र आरती बहिनीको बडिमालिका घुम्ने चाहनाले हामीलाई पनि एकचोटि नपुगी नछोड्ने आँट आयो ।

प्राथमिक स्वास्थ्य केन्द्रका हामी ओम सर, छत्र सर र म दीर्घ सरको अग्रसरतामा साउन २१ गते बिहीबार कोल्टीबाट बडिमालिकातिर लाग्यौँै । टेन्ट, ओढ्ने–ओछ्याउने, प्लास्टिक, न्यानो लुगा र खानेकुरा, सबैको जोहो गरेपछि हामीले बिहानको १० बजेतिर पाइला बढायौँ ।

बीचबीचमा बाटो बिग्रिएको हुनाले गाडीले पाण्डुशैनसम्म पुर्याउन पनि ३ बजायो । त्यहाँ अन्डा–चिउरा खाजा खाएर मात्रै हामीले उकालो उक्लिने जमर्को गर्यौँ । पानी एकदम दर्किरहेको थियो । सामान सबैका झोलामा भारी थिए । प्लास्टिक ओढेर पनि पानीले भिजाउन रोकेको थिएन ।

बाटो उस्तै चिप्लो । हिलैहिलो । जुत्ताभित्र पानी पसेर हिँड्न असजिलो हुँदै थियो । कविताजस्तै हुन्छ ठाडै उकालो यात्रा ! लेख्योलेख्यो अनि अन्तिममा खुसीका साथ पढ्यो ! अर्थात्, हिँड्योहिँड्यो अनि माथि पुगेर निचोडमा लामो सास फेर्दै आएका बाटाहरू हेर्यो ।

मनमोहक बडिमालिकाको प्यासी भएपछि पसिना काढेरै भए पनि उक्लिन मन लाग्दो रहेछ । हामी आठजना थियौँ । बाटोभरि फ्यान्टास्टिक कुराहरूमा रमाउँदै हिँड्यौँ, हामी ।

साँझ पर्यो । बाटाहरू देखिन छोडे । जसोतसो हिलोमा लड्बडिँदै गाई– भैँसी चराउन आएका गोठाला दाइहरू बस्ने गोठसम्म पुग्यौँ । आजको बास त्यहीँ हुने थियो । दीर्घ भाइको विशेष चिनजान थियो गोठाला दाइहरूसँग ।

हामी आफ्ना भिजेका लुगाहरू सुकाउन आगोमाथि झुन्ड्याउन थाल्यौँ । त्यो गोठ धेरै नै सुन्दर थियो । सानो, साँघुरो तर बटुवाहरूका लागि आस बनेर आउने सम्भावना थियो । हामी धन्यधन्य थियौँ । त्यहाँ रहनुभएका दाजुहरूले रोटी पकाउनुभयो । दूध उमाल्नुभयो । अनि, अचारको स्वादमा हामीले टन्न दूधमा रोटी डुबाउँदै खायौँ ।

बिहान उठेर धन्यवाद दियौँ । सम्झनाका लागि एउटा फोटो खिच्दै अगाडिको बाटो लाग्यौँ । धन्न, त्यो दिन पानी परेन ।

बडिमालिकाको सुन्दर परिकल्पनाले बिस्तारै चुम्बकले झैँ माथितिर हामीलाई तानिरहेथ्यो । ब्यागमा रहेका जीवनजल, ग्लुकोज तथा मिस्री, नरिवल र अन्य खानेकुरा खाँदै खोलाको तिरतिरै माथि लाग्यौँ ।

चट्टानहरूमा बज्रिँदै खोला तल पुग्न आतुर देखिन्थ्यो । ‘प्लीज गो अहेड’ भन्दै समयको रफ्तारले हामीलाई धकेल्दै थियो । जसोतसो उकालो उक्लिएर हामी पाटन पुग्यौँ ।

‘अ फेयरी इम्याजिनेसन’ भन्दा कत्ति पनि फरक थिएन । हाउ स्वीट, हाउ नाइस् । एक छिन मन्त्रमुग्ध भयौँ । प्रकृतिले नेपाललाई बक्सिस दिएजस्तो एउटा अनुपम उपहार हो, बडिमालिका । हामीलाई त्यहीँ रोकिनु थिएन, त्यसैले हिँडिरह्यौँ लगातार पाटनका उकालोहरू !

विभिन्न फूलहरू, ढुंगा, पुराना भेडीगोठहरू, चर्न आएका भेडाहरू, भैँसीहरू, दलदले जमिन, २२ पाटन, सिमसार क्षेत्र आदि दृश्यहरू अलौकिक थिए । एकटकले त्यहीँ भुईँमा सम्भोग गरिरहेका जस्ता देखिने फूलका जोडीहरूलाई हरिरहेँ ।

म आफैँ आनन्दले सर्वांग नांगो हुन्थेँ । स्वप्निल भ्यालीको त्यो बिछट्टै संसारमा फूलहरू जम्मा भएर हार्दिकताको कखरा पढिरहेका जस्ता देखिन्थे ।

मनले छोड्नै मान्थेन । स–साना गोरेटो बाटो वरिपरि त्यो सिंगो फूलबारीको उपस्थिति रियालिटी थियो वा काल्पनिक ! अझै सोचमग्न छु ।

कुहिरोका अनेक च्याप्टरहरूले छपक्क छोपेको थियो घाँसे मैदान । आफूले आफैँलाई भेट्टाउन पनि साह्रो गाह्रो पर्ने । बाटो छेक्ने एक मुट्ठी कुहिरोलाई सबैले गोजीभित्र हालेर घर लैजान पनि नमिल्ने ! कुहिरोसँग ठोक्किँदै हिँड्नुपर्ने दिव्यता हामीलाई प्रदान भएको थियो ।

कुहिरोका सिँढीहरू चढ्दै हामी उक्लिरह्यौँ । कुहिरोको बाक्लो कम्बलभित्र हामी अदृश्य थियौँ । तर, आवाजले जसोतसो एकार्कालाई समाइरहेको थियो ।

शुक्रबारको दिन दिउँसोको २ बजे हामी दीर्घ सरको भेडीगोठमा पुग्यौँ । टाँसिएका कुहिरोहरू टक्टक्याएर भित्र छिर्यौँ र भट्टको झोल अनि अचारसँग भात खायौँ । भातसँगको साइनो घनीभूत थियो । किनकि, योबिना पाइला चाल्नै मुस्किल हुन्थ्यो । साँझ नपर्दै त्रिवेणी पुग्ने अठोट जो हामीमा थियो ।

त्यसपछि हामी ढिलो नगरी बाटो लाग्यौँ । बाजुराबाट हिँडेर आउँदा करिब ३ हजार ५ सय मिटरको उचाइ चढिसकेपछि देखिने समथर फाँटहरू जता हेर्यो उतै हरिया थिए । आँखाले भ्याइन्जेल हेर्न मिल्ने पहेँलो, निलो, बैजनी, सुन्तले, रातो आदि रङका फूलहरूमा इन्द्रेणीयुक्त वातावरण देख्दा हामी प्रफुल्ल भएका थियौँ ।

टाढाटाढासम्म केही नदेखिने । न घर, न बस्ती । कतैकतै भेडीगोठ । त्यो पनि कुकुर भुकेपछि मात्र पत्तो लाग्ने । जसोतसो हराउँदै–हराउँदै सिमसिमे पानीमा भिज्दै हामी साँझपख त्रिवेणी पुग्यौँ ।

त्रिवेणीको फाँटबाट दुईतिरबाट बग्दै आएका नदी गंगा र जमुना मिसिइरहेको देखियो । खप्तडको त्रिवेणीमा जस्तै यहाँ पनि सरस्वती विलुप्त भएको मानिँदो रहेछ । फाँटैभरि स–साना पोखरी थिए । अनि, एउटा धर्मशाला । त्यहीँभित्र हामीले टेन्ट हालेर नजिकै आगो बाल्यौँ र राति बसोबासको जोहो गर्यौँ । के–के मिल्छ त्यही खाएर आठजना टेन्टभित्र गुटमुटियौँ ।

सुदूर र मध्यपश्चिममा ग्रामीण देवताहरू बाह्र भाइ मष्टा र नौ भवानीका कथा निकै प्रसिद्ध छन् । तीमध्ये बाजुरामा अवस्थित बडिमालिका कान्छी मानिन्छिन् । मानव बस्तीभन्दा धेरै टाढा पहाडमाथि (४ हजार २०० मिटर उचाइमा) बस्ने भएकाले पनि बर्सेनि जनै पूर्णिमाका दिन उनलाई पूजा पुर्याइन्छ ।

जनै पूर्णिमाको एक दिनअघि तीर्थयात्रीहरू बडिमालिका पुग्छन् र हरेक यात्राका चरणमा देवीको वर्णनयुक्त गीतहरू गाउँदै हिँड्छन् । वरिपरिका सातै जिल्लाबाट मानिसहरू त्रिवेणी हुँदै बडिमालिका मन्दिर पुगिरहेका हुन्छन् ।

हामी भने जन ैपूर्णिमाभन्दा धेरैअघि गएका थियौँ र गएका साथीहरूको कार्यव्यस्तता र अहिले मन्दिर नखुल्ने कुरो सुनेपछि त्यहीँ त्रिवेणीबाट नै नुहाइधुवाइ पूजापाठ गरी फर्किने निधो गर्यौँ ।

बडिमालिकाले मागेको कुरा दिन्छिन् भन्ने विश्वासका साथ मानिस मन्दिरमा अन्न, गाईवस्तु, सन्तान आदि माग्ने गर्छन् । कतै तेर्सो त कतै ठाडै उकालो त्रिवेणीबाट ३÷४ घण्टा हिँडेर मन्दिर पुग्छन् । हामी भने त्यहीँबाट आफ्नो कामना सुनिदिन भगवान्सँग अनुरोध गर्दै फर्कियौँ ।

धार्मिक दृष्टिकोणले जति महत्वपूर्ण छ बडिमालिका, त्यति नै पर्यटकीय दृष्टिकोणले पनि अलौकिक छ । वर्षको एकचोटि मेला लाग्दा मात्र तीर्थालुहरू आउने भएर होला बाटो, होटेलजस्ता पूर्वाधारहरूको त्यति व्यवस्था भएको छैन ।

तर, हरेक मौसममा यो स्वर्गलाई मानिससँग जोड्न पदमार्गको निर्माण नै उचित हुने देखिन्छ । ठाउँठाउँमा बाटो नचिनेर हराउन सक्ने पर्यटकलाई सही सूचना दिने सूचना बोर्डहरू राखेर दिशानिर्देश गर्न सकिन्छ । सहज यात्राका लागि सडकमार्ग पनि विकल्प त हुनसक्छ, तर प्रदूषण र पहिरो निम्त्याउने सडकमार्गभन्दा जलवायुमैत्री केबलकार धेरै ठिक हुनसक्छ ।

बडिमालिकाको यात्रा जो कोहीलाई साहसिक लाग्न सक्छ । एकै छिनमा पानी र हावा अनि चिसो सिरेटोले मुटुमा हान्छ । त्यसमाथि न बासको टुंगो, न खाने टुंगो ! ठाउँठाउँमा होटेल र लज हुने अन्य पदयात्राभन्दा बिलकुल फरक किसिमको स्वाद बडिमालिकाको यात्राबाट प्राप्त हुन्छ ।

त्यसैले आफ्नो साथमा टेन्ट, स्लिपिङ ब्याग र म्याट अनिवार्य लानैपर्छ । अचेल त हेलिकोप्टरबाट समेत बडिमालिका भ्रमण गर्न पाइने अवसर मिल्छ । तथापि, त्यो फरक रमाइलो गर्न चाहनेलाई त्यति फलदायी हुँदैन । रात राम्ररी कटेन भने लेक लाग्ने, बिरामी हुने समस्या आउन सक्छ । त्यसैले आवश्यक औषधिको प्रबन्धसमेत आफैँले गर्नुपर्ने हुन्छ ।

शनिबारको दिन, बिहान अलिकति घाम झुल्कियो । त्यसैले फोटोहरू खिच्न पायौँ, सैपाल हिमाललाई पृष्ठभूमिमा पारेर । उप्रान्त, कुनै अबेर नगरिकनै हामी ओर्लिरह्यौँ । देखिँदै थिए, गलैँचा ओछ्याएजस्ता कैयौँ पाटनहरू ।

पानीका छहरासँगै चिप्लिँदै–चिप्लिँदै ओर्लिने माछाहरूजस्तै हामी तलतिर ओर्लियौँ । प्रकृतिको टुप्पोमा पुगेर हराएका हामीलाई तल आफ्नो हविगतका  सोचमा ओर्लिनु थियो, वृक्षका लता, लहरामा बेरिँदै–बेरिँदै ।

आरती नानीको मोबाइलमा गीतहरू घन्किँदै थिए । ‘खान्न म त लामपाते सुरती…’, ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले…’ । हामीले गीत सुन्दै गति बढाएका थियौँ र त समयमा नै पाण्डुशैन पुग्यौँ ।

बाटोमा भेडीगोठका एकजना दाजुको लास पनि हामीसँगसँगै ओर्लियो । भिरमा लडेर बितेका ती दाजुको लासले बताउँछ, दुई दिन गएर रमाइलो गर्नेलाई खुसी छ । तर, भेडा चराउन जानेहरूलाई कष्टपूर्ण छ बडिमालिका !

पाण्डुशैनबाट हामी चारजना कोल्टी आयौँ भने रिसर्च टिम मार्तडी लाग्यो ।

गएको वैशाखमा खप्तड पुगेर आएको थिएँ म । तर, बडिमालिका खप्तडभन्दा बढी माधुर्ययुक्त लाग्यो । बडिमालिकाका बनोटहरू प्रकृतिले कुन रहर लागेर कुँदेकी होलिन् ! म छक्क परिरहेछु । गुडुँल्किँदै तप्पतप्प झरिरहेका रहस्यमय प्रकृतिका वरदान कसरी संगालिए होलान् बडिमालिकामा ! म सोचमग्न छु ।

रिदम बिग्रेर गएको मानिसलाई पनि मुसुमुसु हँसाउन सक्ने खै ! कुन सूत्रमा बाँधिएको छ बडिमालिका ? आफैँ अनुत्तरित छु । यी मेरा वाक्यहरू पढेर मात्र वा एकोचोटि गएर मात्र बडिमालिकाको लाली बुझिँदैन । तात्तो न छारोको यन्त्रपूर्ण जिन्दगीबाट उफ्रिएर पटक–पटक पुग्नैपर्छ ।

अझै, नमरी स्वर्ग देख्ने इच्छा छ भने त यही जुनीमा बडिमालिका पुग्नुस् पुग्नुस् । तपाईंको इन्ट्री हुँदा प्रकृति स्वयम्ले तपाईंलाई एकदमै इम्प्रेस्ड गर्नेछिन् । baahrakhari