March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

दुई इन्च पराजय

सर्जिकल वार्डको एउटा बेडमा ऊ नम्बर एघार भएर सुतिरहेको छ । अस्पताल, बिरामी र अशक्त भएर डाक्टर, नर्सको इच्छामा उठ–बस गर्ने नियन्त्रित जीवन यहाँ मान्छेहरूले भोग्नुपर्छ । मर्न चाहनेहरूलाई पनि यस घेरोभित्र रहुन्जेल ‘इम्पोर्टेड’ इन्जेक्सन, मिक्स्चर र पिल्सहरूका दुखाइ आफ्नो पाखुरा र फिलामा र तीतो–टर्रोको स्वाद आफ्नो जिब्रोमा भोगी झ्यालमा जडेको सिसाका टुक्राबाट उज्यालोको लोभ देखाई बाँच्न बाध्य तुल्याइन्छ ।

Advertisement

बाहिरको उज्यालो जस्तोसुकै होस्, आँखा दुखाउने होस् वा कन्सिरी तताउने होस् वा मानिसको जीउभरिको घाउका टाटाहरूलाई देखाउने होस् वा एक बेकार स्नातकको प्यान्टको ‘हिप’मा च्यातिएको चारऔँले नग्नतालाई उद्भाषित गर्ने होस् र बाटोमा हिँड्ने क्यामरा भएको हरेक व्यक्तिलाई अर्थ व्यवस्थाको एक अतियथार्थ, अनुरञ्जित र सजीव ‘स्न्याप’ लिने मौका दिने होस् ।

Advertisement

कतिपटक उसले नर्सलाई भनिसक्यो— नर्स, त्यो ग्लास ‘प्यान’लाई पर्दाले छोपिदेऊ । कतिपटक उसले डाक्टरलाई भनिसक्यो— डाक्टर, मलाई मारिदेऊ ।

नर्सले एकपटक पनि उसले भनेको मानिन । ऊ भन्छे— त्यो प्रोस्टेटेड ग्लास हो, त्यसबाट कहाँ उतिसारो आँखामा लाग्नेजस्तो उज्यालो आउँछ र ?

डाक्टरले पनि उसको कुरा सुनेन । ऊ भन्छ— शंकर, डाक्टरको काम जीवन दिने हो, जीवन लिने होइन ।

आचारसंहिताका किताबमा कहिलेकहिले हो पढेर घोकेको कुरा । डाक्टर बूढो भइसक्यो, तर उसले बिर्सेको छैन ।

जीउभरि घाउ देखाएर बाँच्न, करङ देखाएर बाँच्न र च्यातिएको प्यान्टको ग्राफ देखाएर बाँच्न र नयाँ सडकको ‘इम्पोर्टेड’ सभ्यताको मर्करी लाइटमा देशी कार्टुन भएर बाँच्न अस्पतालबाहिर हुत्याइदिनुलाई डाक्टरले जीवनदान दिने सम्झिरहेको रहेछ ।

शंकर भन्न चाहन्छ— डाक्टर, घाउ चिर्ने चक्कुले, पट्टीले, सुईले र औषधिका चक्कीहरूले कसैलाई पनि जीवन दिन सक्तैनन् । फेनाइलको झोलले पुछेको अस्पतालको गनाउने र चिसो भुइँले जीवन उमार्न सक्तैन, स्प्रिट र इथरमा भिजेको हावाले जीवनतत्वलाई जोगाएर राख्न सक्तैन र दिनका दिन फेरिने यो सेतो तन्नामा पनि जीवन लुटपुटिएर बस्न सक्तैन ।

जीवन दिन सक्छ कलकारखाना, उद्योग र कामले र आत्मसम्मानलाई बचाउन सक्ने उन्मुक्त वातावरणले । जीवन खेतको हरियालीमा र खोलाको निर्बाध गतिमा हुन्छ, जीवन सूर्यबाट बेरोकटोक आउने उज्यालो र न्यानोमा बाँचेको हुन्छ ।

तर, कसैले उसलाई यो भन्ने मौकै दिँदैन । डाक्टर आउँछ, उन्माद भरिदिन्छ र नर्स आएर उसको पाखुरामा मर्फिन र पेथड्रिनको इन्जेक्सन घुसारिदिन्छे । अनि उसको जिब्रो नै लटपटिन थाल्दछ, उसका नसाहरू शिथिलताका आवेशमा अशक्त भइदिन्छन् र उसको चेतना कृत्रिम निद्रामा बेहोस भइदिन्छ ।

एक घण्टा वा दुई घण्टा यस बेहोसीमा हराएपछि जब फेरि ऊ आँखा खोल्छ, सबभन्दा पहिले उसले त्यही उज्यालोलाई देख्छ– झ्यालको काँचबाट छिरेर आएको उज्यालो अनि मर्फियाको चक्रव्यूह तोडी दुखाइको तीव्र अनुभूतिले उसको टाउको, छाती र ढाडमा सुइरो रोप्न थाल्दछ ।

उज्यालोले बाहिरको संसारबाट बेकारी, लाञ्छना र अनेक व्यवधानहरू बोकेर ल्याएको हुन्छ र यी घटनाको सम्झना जसले उसको अस्तित्वलाई अहिले एघार नम्बरको बेडसँग गाँसिदिएको छ…!

घण्टौँदेखि उमालिराखेको चियाको तीतो र टर्रो पानीलाई दश पैसामा किनी आँखाभरि धुवाँको पिरो पसाउँदै बिहानबिहानै होटेल भनाउने एउटा खोरबाट बाहिर निस्कन्छ र मोटरले किच्ला भन्ने सम्भावनालाई आफ्नो मुटुभित्र पलाउन दिई सशंकित पाइलाले सडक काटी किनारामा उभिन पुग्छ ।

त्यहाँ उभिएर कहाँकहाँ जाने, एउटा भीआईपीजस्तै कार्यक्रम बनाउन थाल्दछ । अनि दिनभरिको ‘एन्गेजमेन्ट’ बनाई एक पाइला बडो आत्मविश्वासका साथ ऊ चालिदिन्छ ।

पाइलाहरू चल्दै जान्छन्, एक अफिसदेखि अर्को अफिस, सिंहदरबारका एक मन्त्रालयदेखि अर्को मन्त्रालय र काठमाडौंका एक गल्लीदेखि लिएर अर्को गल्लीसम्म सचिव र म्यानेजरका बंगलाहरू खोज्दै । तर, मुखभरि किचिरकिचिर सुपारी चपाउँदै चुरोटको धुवाँको कवचमा आफूलाई सुरक्षित महसुस गर्दै झिँजो पन्छाउन भनिएका शब्दहरू ‘दसैँपछि’, ‘भोलि’, ‘ठाउँ छैन’ले क्रमशः उसका पाइलाबाट आत्मविश्वासको दरो भावलाई खोस्दै लान्छन् ।

बेलुकीसम्म भोक, निराशा र लज्जाका भावनाहरूले उसका पाइलालाई लुलो बनाइसक्छन् । सकिनसकी पाइला चाल्दै साँझमा ऊ फेरि त्यही होटेलको खोरमा आइपुग्छ र बेन्चको एक छेउतिर आफूलाई राखिदिन्छ ।

त्यस बेलासम्म त्यहाँबाट चिया र दूधका केत्लीहरू हटिसकेका हुन्छन् । त्यो ठाउँ चिया पसलबाट भट्टीमा बदलिसकेको हुन्छ । केत्लीको ठाउँ जाँड–रक्सीले भरेका घ्याम्पाहरूले लिइसकेका हुन्छन् र पसलनी बूढीको ठाउँ उसकी तरुनी छोरी मनमायाले लिइसकेकी हुन्छे ।

होटेल हरेक दिन दाउराको पिरो धुवाँ र चियाको तीतो पानी र पसलनी बूढीका लुला नसाहरूको काम्दो ‘सर्भिस’बाट सुरु हुन्छ र छ्याङ, रक्सीको मातको उत्तेजना र मनमायाको तरुनो शरीरका गर्मी र पसिनामा लुटपुटिएर टुंगिन्छ ।

बेकारी र चिन्ताका हरेक आक्रमणबाट मुक्त यहाँको परिवेशमा शंकर पनि केही छिनका लागि बाँच्न चाहन्छ । दिनभरिको पेटको भोकलाई ममका गोलाहरू पड्काएर धपाइदिन चाहन्छ, नसाहरूको थकाइलाई एक–दुई पेग रक्सीको तनाउमा मेटिदिन चाहन्छ र हलौँ भएर मनमायाको भरिलो जीउमा एक–एक म्वाइँ खाएर थपक्क उसका बगलमा सुतिदिन चाहन्छ ।

तर, यहाँ न रक्सीको नशामा कोही नाच्छ, न मनमायाको चोलोको गलाबाट चियाएर हेर्ने स्तनको तिरिमिरीमा अन्धो हुन्छ । न मनमायाको नांगो जीउसँग खेल्दाखेल्दा शिथिल भएर बाहिर निस्कन्छ ।

रक्सी र मनमायाको जोवन सब निमित्त हो जस्तो लाग्छ शंकरलाई । मुख्य पैसा हो, जसलाई आफ्नाआफ्ना खल्तीमा लिएर मानिसहरू यहाँभित्र पस्छन् र त्यस खँदिलो खल्तीको मोहनीमा सब नाच्छन्, उत्तेजित हुन्छन् ।

मनमायाको चोलो च्यात्ने र पेटीकोटको इँजार तोड्ने अधैर्य उत्तेजनाका सिकार त्यस बेलासम्म उनीहरू भइसक्छन्, जबसम्म उनीहरूको खल्तीको बन्दुकमा पैसाका कार्तुसहरू छन् । कार्तुस सकियो, बन्दुक चिसो भयो र सब शिथिल भएर सस्तो खालको एउटा चुरोट मुखमा च्याप्दै मुन्टो निहुराएर होचो ढोकाबाट बाहिर निस्कन्छन् ।

शंकरको खल्तीमा जम्मा बीस पैसा छ । दश–दश पैसाका गौ छाप भएका दुई पहेँला ढ्याक र ती बीस पैसामा सुक्खा चाउरिएको पाउरोटीका दुई टुक्राहरू मात्र किन्न सक्ने सामर्थ्य छ । दुइटा ‘कामधेनु’हरूले दुई टुक्रा पाउरोटी मात्र उसलाई दिलाउन सक्छन् ।

उसको अघिका बेन्चहरूमा मनमायालाई घेरेर मानिसहरू बसेका छन् र प्लेटका प्लेट मम, छोइला, भुटन र गिलासका गिलास छ्याङ–रक्सी रित्याइराखेका छन् र मनमाया उनीहरूलाई ‘सर्भ’ गर्न व्यस्त छे । अहिले यी सबको पहिलो दौर हो, जसमा ठट्टा गर्ने, जिस्कने र फिलामा चिमोट्ने क्रियाहरू मात्र भइराखेका छन् ।

शंकर सबभन्दा पछि छ र बीस पैसाको पाउरोटी किन्ने सुरले मनमायाको ध्यान कहिले यता जाला भन्ने संयोगलाई पर्खिराखेको छ । होहल्लाका माझमा उसको सुकेको भोको स्वर मनमायाका कानमा पस्न पाउँदैनन् । एक–दुईपल्ट उसले भनिरहेको थियो, ‘दुइटा पाउरोटी ।’ तर, मनमायाले सुनिन । अरू कसैले पनि सुनेन ।

सायद यस परिवेशमा अहिले पाउरोटीको कल्पना पनि कसैको मगजमा उम्रन सक्तैन । सुन्नेले सोच्यो होला– बाहिर कुनै भोकाएको बच्चोले आमासँग पाउरोटी माग्यो होला वा किनिदिने जिद्दी गर्यो होला ।

शंकर बसिराख्छ । उसको खाली पेटमा भोकको भकुन्डो उफ्रिरहेछ र ऊ भकुन्डोका ती मारहरूले आफूलाई खुब कमजोर अनुभव गर्छ । अशक्तताको त्यस दौरमा ऊ सम्भावनाहरूलाई पर्खन मात्र सक्छ र यस पर्खाइको क्रममा ऊ अनायास मनमायातिर एकटक हेरिराखेको हुन्छ ।

मनमाया राम्री छे । उमेरले पनि जवान छे । नोकरी पाए शंकर उससँग बिहे गर्न सक्छ । अनि मनमाया उसका लागि मात्र मम पकाउनेछे, उसका लागि मात्र एउटा सानो गिलासमा अलिकति रक्सी हातमा लिई लाज मान्दै उसका नजिक आउनेछे र उसका लागि मात्र लाज मानीमानी भित्री लुगाहरू फुकालिदिनेछे ।

नोकरी, बिहे र सम्भोगको कल्पनाले शंकरमा एक्कासि कतैबाट बल आउँछ । ऊ जरुक्क उठ्छ र सब बेन्चहरूलाई नाघ्दै, बसेकाहरूलाई लात्तीले छुँदै मनमायाका सामुन्नेमा उभिन पुग्छ र जोरसोरले भन्न थाल्दछ— माया ! अघिदेखि कराउँदाकराउँदा घोक्रो सुकिसक्यो…।

हिजोअस्तिका सब सीमाहरू नाघेर आएको शंकरको यस व्यवहारले मनमाया छक्क पर्छे । ‘क्या हो ? आज दुइटा पाउरोटी मात्र चाहिन्नजस्तो छ नि !’ कर्के आँखाले शंकरतिर हेर्छे ।

दुइटा पाउरोटीको सम्झना र उसको मुठीमा कैद दुइटा दशपैसे ढ्याकहरूले उसको सब जोसलाई पानीपानी पारिदिन्छ । उसका नसाहरूबाट बल हराएर जान्छ र उसको जीउ फत्रक्क गलेर आउँछ ।

‘के चाहियो भन । नयाँ सडकमा आज खुब दाताहरू फेला परेछन् । साइत बनाएर निस्केका रहेछौ ।’ मनमाया आफ्ना आँखामा विचित्र व्यंग्य लिई उसका मुखमा हेर्छे ।
‘मगन्तेले पनि रक्सी खान पाउनु साइत त हो नि !’ एकजना कोही पछिबाट भन्छ ।
ऊ केही बोल्न सक्तैन ।

‘रक्सी मात्र होइन, आज मगन्तेले मनमायालाई पनि ताकेको छ । खुब मायालु पारामा भनेको थियो नि— माया !’ अर्कोले त्यही बीचमा बोल्छ ।
‘हामी सब छौँ । लाज लाग्दो होला !’ अनि अर्कोले भन्छ ।
‘ए, ए ! केको लाज ? खा रक्सी, कति खान्छस् र लग् आफ्नी मायालाई त्यो कुनामा र आफ्नो जुनी फेर् आजको राम्रो साइतमा !’ पहिलो मान्छेले आफ्नो गिलास रित्याउँदै भन्छ ।

‘आज उसले नयाँ सडकतिर कुनै टुरिस्टलाई मुडेजस्तो छ !’ एउटा अर्को आवाज पनि त्यहाँ थपिन्छ । अड्कल र निष्कर्षको अन्योलमा झुन्डिएको आवाज ।

शंकर बडो विचित्र स्थितिमा पर्छ । न ऊ पाउरोटीको माग गर्न सक्छ, न त्यहाँ धेरै बेर उभिन सक्छ । केही नबोलेर उसले फर्कनै बेस ठान्यो । ऊ जानलाई यसो फर्कन थाल्दछ ।

किन फर्केको ? कहाँ जाने ? प्रश्नहरू उसमाथि ओइरिन थाल्दछन् । ‘पैसा नभएको बेलाचाहिँ घण्टौँ यहाँ बसेर ठाउँ ओगटिराख्ने र आज पैसा भएको दिनचाहिँ अर्को पसलमा जाने होला !’ माया भन्छे ।

‘ए तँ अर्को कहाँ जाने ? जान पाउँदैनस् !’ सब उसमाथि जाइलाग्छन् । कसैले उसलाई पछिल्तिरबाट धकेल्छ । कसैले उसको कमिजको कलर समाउँछ । कसैले एक मुक्का उसको पेटमा हानी नै हाल्छ । एक मुक्कापछि अनेकौँ मुक्काहरू बर्सन थाल्दछन् ।

(सिरहाको पदमपुर गाउँका कथाकार मुरारि अधिकारीको ‘प्रतीक’ पत्रिकामा २०२८ मंसिर–पुसको अंकमा प्रकाशित कथा । हामीले ‘उपलब्धि’ २०७६ कात्तिक–पुस : पूर्णांक २४ बाट साभार गरेका हौँ ।)