March 22, 2025, Saturday
२०८१ चैत्र १०

कथा : रमिता

आज त्यो घरमा एक प्रकारको खुसी र उल्लासको वातावरण व्याप्त छ । निकै हलचल देखिन्छ । भित्र कोठाबाट ग्रामोफोन घ…न…न घन्किरहेछ– घरै थर्काएर, सधैँभन्दा धेरै रमाइलो लाग्दै छ ।

नयाँ बुट्टादार फरिया लगाएर साइँली घरी बाहिर सिकुवामा आउँदै घरी उड्न खोजेझैँ भित्र पस्छे । उसको हर्षको त झन् सीमै छैन । बल्लबल्ल एक सालपछि पति घर आउँदा कुन पत्नी होली र खुसी नहुने । ज्ञानबहादुरले यो पालि पनि त बिदामा आउँदा थुप्रै दामी–दामी चिजहरू ल्याएको होला उतैबाट ।

Advertisement

दश वर्षको छोरो रामु, सातबाट आठमा टेकेकी सानी छोरी बन्दना बाहिर र भित्र गर्दै कुद्दै छन्, मिठाईको ल्याप्ल्याप्ती रस लागेको हात हल्लाउँदै । आँगनमा नयाँ गाडी उत्तानो पारिराखेको छ । बाबाले खेलाउनलाई ल्याइदिएको तिनीहरूलाई । ती कलिला केटाकेटी आफ्नो माया गर्ने बाबा घर आउँदा कति खुसी भएका होलान् भनिसाध्य छैन । उनीहरूको पनि त वर्ष दिनको सपना पूरा भएको छ– नयाँ गाडी र नयाँ–नयाँ लुगाहरू पाएर ।

ज्ञानबहादुर पनि त कम्ती माया गर्दैनन् नि उनीहरूलाई ‘मिठाई त जति खायो मनग्गे’ भनेर पोकै जिम्मा लाइदिन्छन् ।

नारीमा राम्रा चुरा टल्काएर, नयाँ–नयाँ रंगीन बाइहरू छिन्द्रिङ–छिद्रिङ पार्दै साइँली वल्लो घर, पल्लो घर गर्छे– हातभरि मिठाईका थुँगा र फलफूलका दानाहरू बोकेर ।  छरछिमेकमा बाँड्दै हिँडेकी, यस्तो लाग्छ– मानो ऊ मिठाई होइन, उसको खुसी बाँडदै हिँड्दै छे– भुइँमा खुट्टै छैन उसको आज !

“भाउज्यू, नयाँ फरिया लगाएर, दुलहीजस्ती भई कता हिँडेकी नि ?” पल्ला घरकी ठिटीले जिस्क्याइहाली ।
“…नजिस्क्या मोरी, हिजो उहाँले ल्याइदिनुभएछ र यसो लाइहेरेकी नि… दुई सय तीस परेको रे, राम्रो छ ?”
“ए… दाइ कतिखेर आइपुग्नुभयो ? हामीले त केही थाहै पाएनौँ ।” ठिटी प्रश्नको उत्तर दिन्न बरु प्रश्नै थपिदिन्छे ।
“अनि थाहा पनि कसरी पाउँथ्यौ त, हिजो बेलुकीको गाडीमा आउनुभएछ, घर आइपुग्दा त रातिको नौ बजेको थियो । सामानहरू बजारमै राखेर आउनुभएछ । भरिया त आज बिहान पो आइपुग्यो ।” ऊ खुसी छरिदिन्छे प्रत्युत्तरसँगै ।

“अनि दाइले यो पालि त ग्रामोफोन ल्याउने कुरा थियो, ल्याउनुभयो ?” ठिटी अर्को प्रश्न गर्छे ।
“किन नल्याउने त, उहाँजस्तो पक्का वचनको मान्छेले । त्यसमा भएको एउटा गीत मलाई साह्रै मनपरेको छ, भरे बेलुका यसो सुन्न आउने ?”
“गीत त सुन्दै गरौँला नि भरे–भोलि, पहिला मुखचाहिँ मिठ्याइहालौँ न” भन्दै ठिटीले साइँलीको हातबाट एउट मिठाई टिपेर मुखमा क्वाप्प हाल्छे ।
“साइँली ! ए साइँली, हन कहाँ गइछ यो ।” साइँली एक छिन बाहिर कतै अल्मलिन थाली भने ऊ बोलाइहाल्छ । हुन पनि यो दुई महिना त हो बस्नु आफ्नी साइँलीसित, छोरा–छोरीसित हाँस्नु, माया गर्नु । उता, छाउनी फर्केपछि त फेरि उही हो, फालिन र हाजिर, उस्ताद र प्लाटुन । अब त वाक्क लाग्न थाल्यो, सैनिक जीवनदेखि । साइँलीलाई ऊ एकै छिन छोड्न मन गर्दैन, कति गहिरो प्रेम ती दुईको, कठैबरा…।

छाडेर नजावस् पनि कसरी, फेरि मातृभूमि रक्षा गर्ने भारा उसैलाई छ, अर्कोतिर पेटको समस्या । पोहोर हो कि परार, एकपल्ट उसले जहानै उतै लाने विचार पनि गरेको थियो, फेरि सम्झ्यो… भन्या ठाउँमा बस्न पाइँदैन । साथीहरू उस्तै जिस्काउँदै छन् । पल्टने मोराहरू त हुन् । छुट्टी बिताएर फर्किंदा त ‘हन ज्ञाने किन धेरै खस्केछ’ भन्छन् । आफू त यात्राको थकानले हत्तु भइएको होइन्छ, अर्कोतिर केटा–केटीहरूको पढाइको जग पनि नबस्ने भो– आफूसँग हिँडाइरहँदा ! आ, नलानु पर्यो । उसले त्यो विचार त्यतिकै भुलिदिएको थियो ।

“अब भान्सा गरौँ है !” साइँली कोठामा पस्दै हिजो उसले ल्याइदिएको देवाल घडी हेरेर भन्छे, “सात बजेछ ।” 
“छोरा–छोरीले खाए के त ?” ज्ञानबहादुरको सोधाइ ।
“अघि नै खाएर सुतिसके ।” दुईवटा सन्तान भएर पनि उनीहरूको प्रीति यस्तै छ पहिला–पहिलाकै जस्तो । साइँलीले दुईवटा थालमा भात पस्केर एउटा ज्ञानबहादुरलाई अघि सारिदिई ठूलो झर्के थालमा । यो थाल उसको पैतृक सम्पत्ति । छुट्टीमा आउँदा सधैँ यही थालमा खाने गर्छ ।

बाजेको पालादेखि नै यो थाल जेठाको हिस्सामा पर्दै आएको । उसका बाजेले पहाडबाट यता बसाइँ सर्दा कोक्रामा उसको बाबु, थुन्सेमा दुई–चार भाँडा बटुका र यही थाल लिएर बज्यूलाई अघि लाएर आएका रे, अरू सम्पत्ति यहीँ बसेर जोडेका रे ।

साइँली र छोरा–छोरीको जति माया उसलाई लाग्छ, त्यति नै श्रद्धा उसलाई थालप्रति छ । पिता–पुर्खाको प्रतीकजस्तो पुर्ख्यौली इतिहास बोकेको थाल । साइँलीलाई बिहे गरेर ल्याएपछि बहुभतेरको दिनदेखि नै उसलाई त्यही थालमा भात पस्केर दिन थालेकी थिई, साइँलीले दुलहीकै पोसाकमा ।

अहो ! कत्ति स्वर्णिम दिन थियो त्यो । बिहा पनि कस्तो धुमधामसित भएको थियो नौमतिबाजा बजाएर । साइँलीका साथीसंगीहरूले ज्ञानबहादुरजस्तो योग्यको बेहुला देखेर आह्रिस गरुँलाजस्तै गरेका थिए, साइँलीको भाग्यमाथि ।

दौरा–सुरुवाल र ढाकाटोपीमा सजिएर, राजाजस्तो भएर गमक्क परेर जग्गेको छेउमा बसेको ज्ञानबहादुरलाई हेर्न ठिटीहरूको त्यहाँ सानोतिनो भिडै लागेको थियो, मानो ऊ रमिता हो । साइँलीको लोकन्ती बस्न कम्ती तम्सेका थिए र ठिटीहरू ? बेहुलीको आडमा बेहुला नियाल्न ।

एकापट्टि बूढापाकाहरू श्लोकको वाण हानाहान गर्थे भने अर्कोपट्टि बाजागाजामा मस्त भएर युवाहरू लोकगीतको जुवारी खेल्थे । बीचबाट हवनकुण्डको आगो दुलहा–दुलहीको पवित्र मिलनको साक्षी दिइरहेको थियो ।

पुरोहित कन्यादान, पद–ध्वनी पढिरहेको थियो अनि गहभरि आँसु पारेर कारबारी हर्कसिंह बस्नेत र उनकी पत्नीले ज्ञानबहादुरको हातमा आफ्नी छोरीको हात राखिदिएका थिए । खुसी र विषादको कस्तो संगम थियो त्यो ।

“ल है ज्वाइँ साहेब, हाम्रो बगैँचाको एउटा अति नै सुन्दर पुष्प टिपेर हजुरको शोभा बढाइदिँदै छौँ, राम्रो देखरेख गरे । जोरीपारीले औँला उठाएको देख्न नपरोस् । हाँसी–खुसी जीवन बिताए है ।” बेहुली अन्माउने बेलामा ससुराले भनेका थिए ।

त्यस बेला साइँली कति रोएकी थिई आमाको काखमा घोप्टो परेर । जन्तिपट्टिको एउट ठिटोले भनिहालेको थियो, “भाउज्यूलाई भेट्न त जसरी भए पनि वर्षमा एकपल्ट त आउनुहुन्छ नि हाम्रो दाज्यू । चन्द्रमामा गएको होइन, हाम्रै देशको पल्टनमा त हो नि ।” सबै हाँसेका थिए, आफूलाई बिर्सिएर ।

ज्ञानबहादुर पनि अरूले नदेखी अलिकति हाँसेको थियो । अनि आफू हुर्केको, खेलेको रमाइलो गाउँ घर छोडेर, सबसँग बिदा भएर आएकी थिई उसकी साइँली त्यो गाउँमा ।

सत्रह वसन्त बोकेकी कलिलो गोरो अनुहार, लाम्चिला आँखा, त्यसै–त्यसै फुट्लाझैँ हातपाउ, मोटो तर कोमल अंंगप्रत्यंग, कम्ती राम्री त कहाँ थिई र साइँली उस बेला । तर…तर…अब…त…

“हन तपार्इं के सोच्न लाग्नु भो ?” साइँलीको हात उसको चिउँडो सुम्सुम्याउन पुग्दा पो ऊ झसँग भएछ ।
“ए…म त हाम्रै बिहेको कुराहरू पो सम्झन लागेको रहेछु ।” ऊ भान्सा कोठाबाट आएर बिछ्यौनामा ढल्कन्छ अनि ग्रामोफोनमा साइँलीको मनपर्दो गीत बजाउन थाल्छ–
मानिसको जिन्दगी साइँली आज हो कि भोलि हो थाहा छैन ।
चोखो माया गरेर बसे है तिम्रो हातको त्यो चुरा फुट्दैन ।।

ऊ छेउमै ढल्केकी साइँलीलाई तृषित आँखाले हेर्छ । साइँली लाजले भुतुक्क भई उता फर्किदिन्छे । रामु र बन्दना अघि निदाइसकेका हुन्छन् ।
०००
दसैँ पनि आउँछ । कतिलाई आफन्तको सम्झनाले रुवाउँछ, कतिका परदेशी छोराहरू आएनन्, कतिका आउँछन् आमा–बाको हातको टीका लगाउन, आशिष थाप्न । गरिबहरू ऋणमा चुर्लुम्म डुबे अनि लगत्तै तिहार पनि आउँछ ।

साइँलीको भाइ पनि आयो, चेलीको हातको भाइटीका लगाउन । भाइटीकाको दिनभरि सालो–भेना प्रायः खाँदै घरमै बसिरहे– तास खेल्दै, देउसेहरूसँग ठट्टा गर्दै । साइँली घरी–घरी भुटेको मासु र विभिन्न अचारहरू लिएर आउँछे, थप्छे । मादलेहरू आउँछन् र हातमा सेलरोटी लिएर नाच्छन् । नानीहरू पनि सेलरोटी र मासुको तरकारी खान्छन् अनि बेलुका हुन्छ ।

यो पालिको चाडबाड बिदा भएर जान्छ, एक वर्षको लागि । आगौँ त के हुन्छ हुन्छ ? कतिले यो प्यारो संसारबाटै बिदा भएर जानुपर्छ, कति नयाँ अनुहार आउँछन् यो संसारमा । विधिको विधान नै यस्तै हो, थाहा कसलाई हुन्छ र ? भोलि के हुने हो ?

समय बित्न पनि कति बेर लाग्दो रहेछ र ? आज भन्दै भोलि भन्दै ज्ञानबहादुर छाउनी फर्कने दिन आइपुग्छ । साइँलीलाई ऊ आएको हिजो–अस्तिजस्तो लाग्छ । तर, हेर ! दुई महिना कति छिटो बितेर अतीतको गर्भमा विलीन भइसकेछ, सपनाजस्तो । यी दिनहरू पनि कति छिटो मिलिक्क बितिहाल्ने्, चालै नपाइकन ।

आज ऊ फर्किंदै छ, छाउनीमा सिपाही भएर मातृभूमिको रक्षा गर्न । अब अर्को साल दसैँको बिदामा मात्र आउने रे । साइँली गहभरि आँसु पारेर पतिको पाउमा निहुरेर ढोक्छे । नचाहँदै बिदा दिन्छे ।

ज्ञानबहादुरले पहिला छोरोको टाउकोमा हात राख्छ अनि सानी छोरीको हत्केलामा थुकेर भन्छ, “राम्रो पढ्नु है बाबू हो ! पछि डाक्टरी पढाउँला ।” कठै परदेशीको सपना चः चः ।

ज्ञानबहादुर र भरियाले माथिल्लो गाउँको वरपीपल डाँडा नकाटेसम्म ऊ एकटक हेरिबस्छे हेरिबस्छे । छोरा–छोरीहरु स्कुल गइसकेछन् । अनि भित्र पसेर ऊ सुँक–सुँक रुन थाल्छे ।

पृथ्वी आफ्नो चक्रमा घुम्न बिर्सेको छैन । हिउँदपछि बर्खा आउँछ, बर्खापछि हिउँद । ज्ञानबहादुर गएको पनि अब त वर्ष दिन हुन लाग्यो । पोहोर चार क्लासमा पढ्ने छोरा अहिले पाँच क्लासमा पुगिसक्यो र सानी छोरी बन्दना पनि ठूली र बाठी भइसकी ।

साइँली सधैँझैँ घरको दैनिक कार्य सिध्याएर सिकुवामा निस्कन्छे, एक छिन घोरिन्छे, माथिल्लो गाउँतिर हेर्छे अनि के सोचेर हो आफूसितै मुसुक्क हाँस्छे । सायद ज्ञानबहादुर आउने समय हुन लाग्यो भनेर होला र फेरि ती लुगाहरू तह मिलाएर राख्छे ।

छिः यो दिन पनि समुदै्र छ । बित्दै बित्दैन भनेझैँ गरेर अनि फेरि जुरुक्क उठेर बिछ्यौनामा गई ज्ञानबहादुरको उर्दी–पेटीमा खिचेको तस्बिर छेउमा राखेर त्यही मनपर्दो गीत लाउँछे र च्याप्प तस्बिर टिपेर छातीमा राख्छे ।
बेलुका छोरा–छोरीको पढने समय भएपछि ऊ पनि मुनामदन झिकेर पढ्न थाल्छे, भाव विभोर भएर–
नछोडी जानोस् हे मेरा प्राण अकेली मलाई,
मनको वनमा ननिभ्ने गरी विरह जलाई ।।

यसरी नै साइँली आफ्नो जीवन बिताउँदै छे प्रतीक्षै–प्रतीक्षामा । 
पर्खंदा–पर्खंदा बल्ल आजको दिन आइपुग्यो । आज ज्ञानबहादुर घर आइपुग्ने दिन, उसका चिठीअनुसार । पोहोर पनि यही बेला आएको । आउँछु भनेर उसको चिठी आएको पनि पन्ध्र दिन भइसक्यो ।

बिहान सबेरै उठी स्नान, पूजादि गरीवरी रामु र बन्दना उठेपछि ख्वाई–पियाई गराएर “भरे तिमीहरू आउँदा त बाबाले थुप्रै मिठाई लिएर आइपुग्नुभाको हुन्छ है” भन्दै स्कुल पठाएर ऊ सिकुवाको डिलमा बसेर माथिल्लो गाउँको डाँडाबाट उसको गाउँतिर झर्ने घुमाउरो बाटोतिर हेर्न थाल्छे– सायद आज त दिउँसोकै गाडीमा आउनुहुन्छ होला भनेर ।

अहँ…! उसको ज्ञानबहादुर अझ आएन, तैपनि ऊ हेरेको हेरेकै छे, टाढाको बाटो गाडी ढिलोछिटो पनि हुनसक्छ ।

हेर्दाहेर्दै थकित भई ऊ । भान्साकोठामा पसेर अघि नै बनाइराखेको मिठो खानेकुरा फेरि एकपल्ट तताएर राखी– उहाँ आएपछि भरे सँगै खाउँला भनेर । ऊ उतापट्टि बिछ्यौनामा गई सानो गरेर ग्रामोफोन खोलेर के ढल्केकी थिई, हिजो–अस्तिदेखि नै प्रतीक्षामा तडपिरहेको आँखा, ऊ भुसुक्क निदाउँछे ।

दिउँसो तीन बजेतिर जोरले ढोका ढक्ढकिन्छ । ऊ अचानक ब्युँझन्छे ।
“घरमा कोही छ ?” सुनेर ऊ जुरुक्क उठी ।
“ज्यू, म छु घरमा, किन होला ?”
“श्री ज्ञानबहादुर थापाको घर यही हो कि ?”
पतिको नाउँ सुन्नेबित्तिक्कै हस्याङ र फस्याङ गर्दै बाहिर निस्कन्छे, भरियालाई चाहिँ अघि पठाएर आफू बजारमा साथीभाइसँग अल्मलिनुभएछ भन्ठानेर ।

“यहाँ सही गर्नुहोस्, तपाईंको नाममा एउटा तार छ ।” आगन्तुक हुलाकी रहेछ ।
“तार…कस्तो तार ?” हतारहतार ऊ तार पढ्छे— सिपाही ज्ञानबहादुर थापा गत १५ गते सितम्बरको दिन विद्रोही नागाहरूसितको गोरिल्ला भिडन्तमा मारिए ।

उसको सारा पृथ्वी अँध्यारो लागेर आयो । आफू जमिनमा भासिएको अनुभव भयो । ऊ न रुनै सकी न चिच्याउनै । ऊ डंग भुइँमा पछारिई, उसका हातहरू संघारमा बजारिन पुगे । घरको उदांगो झ्यालढोका हावाले घरी ड्याम्म बन्द हुन्थे, घरी आफै खोलिन्थे ।

आधा शरीर घरभित्र, आधा बाहिर, साइँली यसरी लडेकी थिई । टेबलमा सिपाही ज्ञानबहादुर थापाको उर्दी पेटीसितको तस्बिर हाँसिरहेको थियो, मानो ऊ रमिता हेर्दै छ अनि साइँलीले अघि खोलेको ग्रामोफोन आफ्नै सुरमा बज्दै थियो–
मानिसको जिन्दगी साइँली आज हो कि भोलि हो थाहा छैन ।
चोखो माया गरेर बसे है तिम्रो हातको त्यो चुरा फुट्दैन ।।

तर, संघारमा ठोक्किएर छर्ल्यामछुर्लुम भइसकेका चुराका टुक्राहरूसँगै साइँलीको प्राणपखेरुले संसारबाट बिदा पाइसकेको थियो, सदासदाको लागि ।

(आसामेली साहित्यकार थीरुप्रसाद नेपालको कथा ‘कथा बिम्ब’बाट ।)
फोटो सौजन्य: साहित्यकार अविनाश श्रेष्ठ । baahrakhari