January 23, 2025, Thursday
२०८१ माघ १०

रसबरी

मेरो हातमा निउरोको मुठो थियो । म सुस्काउँदै थिए भञ्ज्याङको चौतारोमा । अर्थात्, भर्खरै उकालो चढेर थाकेकोले विश्राम गरिरहेको थिएँ । निलो आकाश, सुनसान उपवन, हरियो फाँट, भलामको गुजुमुज्ज बस्ती, निकै भिडभाड देखिने पोखराका घर । यताउता हेर्दै दृश्यहरूमा हराइरहेको थिएँ ।

अकस्मात् उनी मेरो सामु देखिइन् । “निरजला ! तिमी कताबाट ?,” मैले खुसी, आश्चर्य र अपत्यारको शृंखला पार गर्दै भनेंँ ।

Advertisement

अमेरिकामा भएकी निरजला न हिजो अस्ति गाउँमा देखेको थिएँ । न त आएको नै पत्तो थियो । निरजलासँगको अकल्पनीय भेटले मलाई चकित तुल्यायो !

उनी भने अति सामान्य भावमा प्र्रकट भइन्, “सामुन्ने देख्दा पनि कस्तो विश्वास नलागेझैँ गरेको ! सन्चै छौ ।” उनले मेरो वरिपरि चहकिलो आँखा अडाएर भनिन् । अनि, मुसुक्क हाँसिन् ।

यति लामो समयपछि भेट्दा पनि उस्तै हाँसो, उस्तै हाउभाउ, उस्तै आत्मीयता ! मैले बडो मुस्किलले आफुलाई छिचोलेर भनेँ, “सन्चै छु ।”

“अनि, यता कताबाट त नि ? हातमा केको घाँस झुन्ड्याएको ?” 
“निउरो टिपेर आएको । विदेशमा बसेर निउरोलाई पनि घाँस भन्ने भयौ ! बिर्सियौ हामी त्यही पारी घट्टको पाखोमा कति अउसेल, काफल, चुत्रो टिपेर खान्थ्यौँ । कति निउरो खोज्न जान्थ्यौँ ।” 
“ती सब कुरा पुनर्जन्मका जस्ता भए, अचेल !” 
“पुनर्जन्मको त हम्मेसी याद हुन्न क्यारे नि…! ती रमाइला बाल्यकालका दिन कहाँँ बिर्सन सकिन्छ र ।”

मेरो तर्कले उनलाई चुम्बकले झैँ तान्यो । एकनासले मलाई हेरिन् । हेरिरहिन् ! सायद, बालापन उनको मानसपटलमा पनि जिउँदै थियो ।

यद्यपि, कुरा मोड्दै–जोड्दै भनिन्, “कति मोटाएका हौ ! कति मिलेको शरीर थियो त । अहिले खानपानमा लापरबाही गरेर होला, यस्तो भद्दा देखियौ । अलि स्याहार गर आफूलाई पनि । जिम जाऊ । मर्निङ वाक गर ।”

उनको कुरा सही भएर पनि केही नभेटेर बोलेजस्तो लाग्यो । एकमनले मायाको नाटक गरेजस्तो पनि भयो ।

शरीर त हाड, छाला र मासुको गठजोड न हो । उनको र मेरो सम्बन्ध त भावनाहरूमा हुनुपर्थ्यो । जसले भित्री तहमा एउटा अस्तित्व निर्माण गरेको हुनुपर्दथ्यो । त्यस मानेमा मोटाउनु र दुब्लाउनुको के अर्थ छ र ! तैपनि, ती कुरा मेरो मनमा सकारात्मक हिसाबले सञ्चार भए । बिनाप्रतिउत्तर हाँसेर टारिदिएँ ।

उनी पनि मेरो हाँसो पछ्याउँदै मुस्काइन् । मुस्काउँदा उनको शरीर धपक्क बलेको दियोजस्तो देखियो ! हिँडेर आएकोले होला, रक्तिम मुहारको व्याख्या गरिसाध्य थिएन । मैले झिनो समालोचन गरेँ, “यो उमेरमा यति सुन्दर देखिन्छेउ । यसको रहस्य थाहा पाउन पाए हाम्लाई पनि काम लाग्थ्यो कि ।”

मेरो प्रशंसा उनले मुस्कानबाटै ग्रहण गरिन् र भनिन्, “बसेर गफ गरौँ न !  डाडागाउँ गएर आएको थाकियो ।”

उनको विचार समायानुकूल थियो । म पनि पर्यावरणीय एकान्तसँगै उनका साथमा एकाकार हुन चाहन्थेँ । पुराना सम्झनाहरूलाई बिउँझाउन चाहन्थँे । उनको आँखामा आँखा मिलाएर गफ गर्दाको आनन्द पुरापुर आत्मसात् गर्न चाहन्थेँ ।

उनले भने एक छिन बसेपछि कुरा फेरिन्, “कहाँ धेरै बेर बस्न पाउनु । छोरा आत्तिन्छ । घरमा अरू कसैसँग मान्दैन । गफ गर्दै जाऊँ ।”

सँगसँगै हिँड्दा उनको शरीरमा छर्किएको अत्तरले मेरो नाकलाई नौलो स्वादपान गरायो । घरीघरी आङमा ढेस्सिँदा आउने अर्काे थरी महिला गन्धले झनै आकर्षित गरेको थियो ।

टक्क उभिएर उनलाई हेरेँ । उनी बाटो लम्किरहेकी थिइन् । फेरि हेरेँ । अनि, उनीलाई भेट्ट्याउन म अगाडि बढेँ । लामो पाइला चालेर हो या हतारले, खुट्टामा ठेस लाग्यो । 

तत्क्षण म निद्राबाट बिउँझिएँ । वरिपरि हेरेँ । अटमस्स अन्धकार थियो । बती बालेँ । साढे दुई बजेको रहेछ । यताउता हेरेँ– किताब, कपडा, कापी, पत्रिका जथाभावी पल्लो खाटमा छिरल्लिएका !

कपडाजस्तै भित्ताहरू पनि मैलिएका । यत्तिकै छोडेको घर माकुराको जालोले कब्जा गरेझैँ ! जुत्ता पनि खाटमुनि छरिएका । झ्याल–ढोकाको पर्दाले पानीको मुखै नदेखेजस्तो ! कोठाले एउटी नारीको अभावमा दुःखमनाउ गरेजस्तो ।

वास्तवमा सुशीलाले छोडेपछि म अनियमित, असम्बन्धित र अव्यावहारिक भएको थिएँ । केवल बाँच्नका लागि बाँचेको थिएँ । शरीरको कुनै हेरचाह थिएन । खानु, सुत्नु र घरमै बस्नुबाहेक अरू कुनै पाइलामा उत्साह र जाँगर थिएन ।

मन उद्विग्न बन्दथ्यो । काम गर्न नपर्दै थाकेजस्तो ! भद्दा शरीर आफैँलाई भारी लाग्दथ्यो । हिँडेर बाँचेको भन्दा लत्रिएर बाँचेजस्तो । बिरसिलो समय बाँचेको थिएँ ।

हुन त ‘दोस्रो बिहे गर्नुपर्छ । एक्लै बसेर जीवनको पहाड काट्न गाह्रो हुन्छ, सकिन्न । समय सधैँ एकनास हँुदैन । चिसो–तातो बनाएर दिने मान्छेको पनि खाँचो पर्ने बेला आउँछ’ जस्ता सल्लाह दिने धेरै थिए ।

तर, कस्तोसँग बिहे गर्ने ? अब गर्ने बिहे भनेको सहाराका लागि बनाउने समझदारीजस्तो मात्रै त हो ।

म यो चैतबाट सतचालिस वर्षमा पुगँे । छोराहरूकै पनि बिहे गर्ने बेला भएको छ । यस्तो असजिलो समयमा कन्या केटीसँग बिहे गर्दा उसका महत्वाकांक्षा पनि कन्याखाले नै होलान् । जुन मैले चाहेर पनि पूरा गर्न नसकुँला । विधवा र पारपाचुके महिला बिहे गर्दा भोलि हुन सक्ने खतरा पृथकखाले हुन सक्लान् । त्यस्तैत्यस्तै तर्कनाले मलाई अनिर्णयको बन्दी बनाएको थियो ।

आज निरजलासँग भेट भयो । सपनामा भएको भेटले पनि यति धेरै मिठास दिलायो, त्यति धेरै विगतको सम्झनालाई आयात गर्यो । म बिउँझिदासमेत सपनाले यथार्थसँग छुट्टिन मानेन !

अर्थात्, यो सपना विपना हुँदो हो भने ! अर्थात्, विपनामा निरजला भेट्ने हो भने ! म त्यत्ति नै खुसी हुन्थेँ, जति खुसी बाल्यकालमा आपसमा भेट्दा हुन्थ्यौँ ।

निरजलाको र मेरो घर अलि टाढा थियो । तर पनि हाम्रो एकै सालको जन्म हुनाले दामली थियौँ । अनि, मिल्ने साथी पनि ।

एउटै स्कुलमा पढ्थ्यौँ । म पहिला घरबाट निस्किएँ भने म उसलाई देउजाको चौतारामा कुरेर बस्थे । ऊ पहिला निस्किई भने ऊ त्यही चौतारामा कुरेर बस्थी । जब उसलाई मैले भेट्थेँ, अरू केटा साथीहरूलाई समेत छोडिदिन्थेँ । उसकी साथी मीना पनि हामी भेट भएपछि एक्लै हिँड्थी । कि त हामीभन्दा पछिपछि हिँड्थी ।

एउटै स्कुल, एउटै कक्षा, एउटै बाटो अनि खेल्ने चौर एउटै । पानी पँधेरो एउटै, घाँस काट्ने खरबारी एउटै, बाख्रा चराउने चरन पनि एउटै । सबै प्रकारका दैनिकीले हाम्रो मित्रतामा सघाएजस्तो लाग्दथ्यो । बिहान केही समय र राति मात्र हामी छुट्टीभिन्नी हुन्थ्यौँ ।

पछि त हाम्रो मित्रतामा एउटा सिँढी थपियो । हाम्रो र उसको घर परेली घर बन्यो । यस्तो लाग्यो– परिवारसमेत हाम्रो मित्रतामा सामेल भयो ।

घरमा आउन जान निस्फिक्री भयो । कहिले गोरु लिन त, कहिले केही पँैचो माग्न । त्यसरी एकार्काको घर आउने–जाने क्रम ह्वात्तै बढ्न थाल्यो ।

सँगसँगै स्कुल गयो । सँगसँगै आयो । कपडा फेर्यो । खाजा खायो । घाँस काट्न गयो । यो रुटिनजस्तै हुन्थ्यो । बिदाको दिन बाख्रा चराउन पाखामा जान्थ्यौँ । म अरूभन्दा छिटो घाँस काट्थे । अनि, उसलाई सघाउँथे । ऊ मक्ख पर्दथी । कहिले घाँस काट्न आउँदा मकै भट्ट लिएर आउँथी ।
“तिम्ले खाइनौ ?” 
“अलिकति खाएँ । अनि, तिम्लाई ल्याई दिएकी ।”

कुनै पनि खेल खेल्दा हामी एउटै टिममा हुन्थ्यौँ । एक्लाएक्लै खेल्ने खेलमा पनि एकार्काको भलो चिताउँथ्यौँ !

एक दिन भाँडाकुटी खेल्दा खेल्दै, “बिहे बनी खेलौँ,” गणेशले प्रस्ताव राख्यो ।
दुलहा–दुलही कसलाई बनाउने त ? छोटो छलफलमा नै कुरो टुंगियो । सबैको निर्णय म र निरजला दुलही–दुलहा भन्ने भयौँ । हामी दुई असाध्यै मिल्ने हुनाले दुलहा–दुलहीमा हामी नियुक्त भएका थियौँ ।

मैले दुलहा बन्न आलटाल गरेको थिएँ । ‘बनी दिऊँ न त ! ख्यालख्यालको त हो नि…,’ निरजलाले भनेपछि तयार भएँ ।

सायद, उसैको मन राख्न म मानेँ । ख्यालख्यालले बिहेको माहोल रमझमपूर्ण भयो । कोही रोटी हाल्न लागे । कसैले जग्गिया सजाउन लागे । कोही खसी काट्न तम्तयार भए । कोही कसार बटार्न लागे । 
बिहे सोचेभन्दा धुमधाम होलाजस्तो भयो !

गणेश मलाई दुलहा बनाउन अघि सर्यो । अनुहारमा मैदा दलिदियो । मकैका जुँगा, नाक र ओठको बीचमा टाँसिदिएर जुँगा बनाइदियो । कटुसका पातको टोपी बनाएर लाइदियो । साधन र स्रोतले भ्याएसम्म सिंगार्यो ।

केही बेरमा जग्गियाको काम अघि बढ्यो । मैले निरजलालाई माटाको सिन्दुर हालिदिएँ । निरजला रोएजस्तो गरिन् । मेरो जुठो पनि खाइन् । डोली दिने बेला भयो । शुक्र, गणेश र पुकार जन्ती बने । तिनले नै हामीलाई अर्काे घरसम्म लगे ।

गणेशले भन्यो, “दुलहा–दुलहीको मुख्य खेल त बाँकी नै छ ।” 
“कस्तो खेल ? सकिएन र अब !,” मैले नादान तर्क गरेँ । 
“कहाँ सकिनु । सुहागरात भन्ने सुनेका छैनौ ? त्यही खेल त हो नि, मुख्य खेल !” उमेरले अलि पाको शुक्रले भन्यो ।

“उसो भए अब के गर्नुपर्छ त हाम्ले ?,” मैले नर्भस भएर भनेंँ । 
“केही गर्नु पर्दैैन । स्याउलाले बारेको कोठा बनाइदिएका छौँ । ओछ्यान पनि ठिक्क छ । तिमरू मिलेर सुत्नुपर्छ । एकार्कालाई माया गर्नुपर्छ । तैले राम्ररी माया गरेपछि मात्रै निरजलाले बच्चा पाउँछे । …यसलाई त थाहै रहेनछ ।” पुकारले सबिस्तार सुनायो ।

मेरो दिमागले केही ठम्याएको थिएन । म अलमलमा परेको थिएँ । “यस्तो झ्याउ गर्नुपर्छ भन्ने थाह पाएको भए म दुलहा बन्ने नै थिइनँ,” मैले दिक्क मान्दै भनेँ । 
निरजला फ्याट्ट बोली, “मलाई अलिअलि थाहा छ । म सिकाउँछु, झ्याउ नमान ।” 
सबै हाँसे ।

त्यस दिनको दुलहा–दुलही खेल सम्झँदा आज पनि हाँसो लाग्छ । उसलाई भेट्ने, सम्झनेबित्तिक्कै कस्तोकस्तो भावना जागृत हुन्छ । शरीरका राैं–रौँ त्यसै ठाडा हुन्छन् ।

धेरै वर्ष भयो, उसलाई नभेटेको । म क्याम्पस पढ्न सहर पसेँ । उसको भने सानै उमेरमा बिहे भयो एकजना हङकङ आई.डी पाएकोसँग । पछि तिनीहरू अमेरिका गएछन् ।

पछि उसको लोग्ने कार एक्सिडेन्टमा परेर बितेछ । एकपटक गाउँमा आएको बेला मेरो घरमा आएकी थिई अरे । म आमालाई लिएर चारधाम गएको थिएँ ।

त्यसपछि निरजलासँग भेट भएको थिएन । भेट हुने अभिलाषा र अभीप्सा पनि मनमा जागेन ! श्रीमती बितेपछि जीवन निर्लिप्तताले रङहीन बनाएको थियो । भइरहेका संगातीहरू पनि कटौतीमा परेका थिए । कसैसँग घुल्न मन जाग्दैनथ्यो ।

अनायास आजको सपनाले मलाई उभिरहेको जमिन छाडेजस्तो लाग्छ । साँच्चै निरजलालाई भेट्न पाए कस्तो हुन्थ्यो ! सपनाले मलाई कल्पनाको संसारमा पुर्याउँछ । उनको पनि श्रीमान् बितेको, मेरो पनि स्थिति र अवस्था उस्तैउस्तै । एकार्कालाई राम्ररी बुझेका साथी । के हामी जीवनसाथीमा रूपान्तर हुन सक्दैनौँ ?

मनमा आएको गम्भीर तथा मार्मिक विचारले मलाई उद्वेलित बनाउँछ । तब म एउटा निर्णयमा पुग्छु, उसलाई सम्पर्क गर्ने । फोनमा बोलेर भए पनि छटपटी र व्याकुलता घटाउन मन लाग्छ ।

निरजला मेरो फेसबुकमा साथी भएकी थिइन्, तर स्टाटसमा लाइक र कमेन्ट गर्नमै हामी सीमित थियौँ । न त च्याटमार्पmत कुराकानी गर्थ्यौँ न त म्यासेन्जर, भाइबर, इमो र इन्स्टाग्राममार्पmत कुराकानी हुन्थ्यो !

म म्यासेन्जर खोल्छु । उनी अनलाइनमा रहिछन् । सम्पर्क गर्छु– 
“…आज पश्चिमबाट घाम उदाएजस्तो लाग्यो नि !” उनी कलात्मक शैलीमा भन्छिन् । 
“तिमी अमेरिका भएर होला नि त्यस्तो लागेको । मलाई त पूर्वबाट नै उदाएजस्तो लागेको छ ।” 
“ल भन, के छ हालखबर ? हेर मोटाएर, अनुहार पनि अरिंगालले टोकेजस्तो भएको !” 
“अँ, मोटाइएछ । तिम्ले सपनामा पनि म मोटाएको बारे कमेन्ट गरेकी थियौ ।” मेरो मुखबाट अनायास फुत्किन्छ ।

“सपनामा पनि देख्छौ मलाई ?” 
“आज देखेको थिएँ ।” 
“सपना त अनलिमिटेड हुन्छ । कतै अन्टसन्ट त देखेनौ !”

त्यति भनेर उनी खित्का छाडेर हाँसिन् । हाँसोको प्रस्फुटन मेरा लागि तीक्ष्ण व्यंग्य बन्छ । तर पनि उनको तर्क रमाइलो र स्वादिलो लाग्छ । म पनि मनमा उब्जेको असामञ्जस्यता कटान गर्दै भन्छु, “त्यति बेइमानी भएको भए त तिमी मसँगै हुन्थ्यौ क्यारे नि ।”

“अझ केही बितेको छैन । समय मात्र बितेको त हो नि,” उनी अद्भूत प्रेमभाव सहजै पोख्छिन् ! बरु, म केही बोल्न सक्दिनँ । एक प्रकारको रसबरीले मुखदेखि मनसम्मै गुलियो हुन्छ ! 
मोबाइलमा उनलाई अनिमेष हेरिरहन्छु ।

“मेरो कुरा सुनेर तिमी त पक्कै लाटो भयौ । हेरेको हे¥यै भयौ कि…!” 
“त्यस्तो केही होइन । तिम्रो रूप र लावण्यको मूकदर्शक भइदिएको ।” 
“तिमीसँग म बेलुका कुरा गरौँला । केही काम छ भने भनिहाल, मेरो डियुटी जाने टाइम भयो ।”

केहीपछि उनले फोन राखिन् । उनीसँगको कुराकानीले ममा अतिरञ्जित ऊर्जा रसाउँछ । ऐनाअगाडि उभिन्छु । साँच्चै आफूलाई मोटो मात्र नभई भद्दा शरीरको लाग्छ । भोलिदेखि मर्निङवाक जान मन लाग्छ । भोलिदेखि जिम पनि जानुपर्छ भन्ने लाग्छ ।

भित्ता लागेको जीवनले एउटा निकास पाएजस्तो अनुभव हुन्छ । वास्तवमा, सपनाले पकाएको रसबरी एकदम गुलियो लाग्छ । एकदम ऊर्जाशील बनाउँछ मलाई ! baahrakhari