लघुकथा : कालयात्रा


एक जमानामा फुटेको देब्रे आँखा मिच्दै मनलाई बोलाएँ, “ए मन !”
“हजुर,” भाँचिएको मन बोल्यो ।
“कालयात्रा गर्छस् ?,” सोधेँ ।
“गरुम्,” मनलाई पनि आतुरी पो रहेछ !
मनलाई अह्राएँ, “ल… अटो पाइलट मोडमा अतीतमा जा र मनलागेसरी गर् ।”
मन हिँड्यो र अतीतको त्यो मोडमा पुग्यो जहाँ आमसभा हुँदै थियो, “वी वान्ट डेमोक्रेसी, बहुदलीय व्यवस्था जिन्दावाद !”
मनले झोलाबाट मेसिनगन निकाल्यो, आमसभाको मञ्चमा आसीन सबैलाई भुट्न ताक्यो, एक छिन रोकियो र फेरि मेसिनगन थन्क्यायो अनि आमसभाबाट फर्कियो !
मैले कुनै जुलुसमा चेपिएर लंगडो बनेको खुट्टो मुसार्दै सोधेँ, “कालयात्राबाट त्यत्तिकै फर्किइस् त मन, के भयो ?”
“बाटो बिराएर निक्कै अगाडि पुगेछु, त्यसैले फर्किएँ ।”
“अब ?”
“अब पनि कालयात्राको अनुमति मिल्छ भने अर्कै कालमा जान्छु ।”
करङमा अड्किएको र कति गर्दा पनि नझिकिएको गोलीको छर्रा कोट्ट्याउँदै मौका दिएँ, “ल जा ।”
मन फेरि कालयात्रामा गयो र यसपालि पनि आमसभामै पुग्यो, तर फरक आमसभामा ।
मञ्चभरि सपनाका व्यापारीहरू थिए र पालैपालो कराउँदै थिए, “जनताकै लागि हो लोकतन्त्र ! परिवर्तन जिन्दावाद !”
मनले ग्रिनेड निकाल्यो, दाँतले टोकेर पिन थुत्यो र मञ्चमा हुर्यायो ।
मञ्च पड्कियो, मन फर्कियो ।
“मञ्च पड्काएर फर्किस् मन, खुसी छस् ?”
“एक किसिमको सन्तोष छ, तर धित मरेको छैन ।”
“भन न, अब के चाहियो ?”
“फेरि जान पाउँ एकपटक कालयात्रामा !”
“असन्तुष्टिको बदला त लिईसकिस्, मञ्च पड्काएर पटकपटक आन्दोलनमा जानु र घाइते हुनु, तर केही नपाउनुको साटो त फेरिसकिस् । कहाँ गएर के गर्न बाँकी छ र अब ?”
घाइते मन एकोहोरियो र भन्यो, “एकपटक निकट भविष्यमा जाने रहर छ र त्यस्तै मञ्चको केन्द्रभागमा फेरि ग्रिनेड पड्काउने उत्कट इच्छा छ । जसले सबैको सुखको बाटो साँच्चिकै खोलिदिनेछ !”
हप्ता ? महिना ? साल ?
निकट भविष्य सम्झेर डर लाग्यो, मनले साटो फेरेको सत्य घटना समाचारमा कसरी पो आउला ! baahrakhari
प्रतिकृया दिनुहोस्