February 8, 2025, Saturday
२०८१ माघ २७

खोप लगाउने धोको

  • मनलाल ओली

“माया बैगुनी नभई नहुनी” भन्दाइनी खोप्दाखेरी दुखेता पनि नलगााई नहुँने । त्यो लगाउने सुन्दाखेरी हजुरका आङ्ले सिरिङ्ग गर्या पनि के लाग्दो र ? हुन ता हजुरको ज्यान उस्तै माफियो लोतीचाम्रे हुँदो र ? सारो सट्कालै थियो हेर्ने । उइछारी, आफ्नै सजातको धाक–धम्की, मुद्धा–मामिला, चुटाइ–पिटाइ, जेल–नेल, गोली–बोली, बम–बारुद मात्रै होला र ? मौसमी रोगव्याधी अन्तर्गत औलो–अगनी, चिसो–तातो, हिउँ–तुषारो, असिना–पसिना, इत–शीत, हुरी–बताँस, भल–पहिरो, भुइचालो, चिर्को–बजङ्ङो, लाग्ने–भाग्ने, छेर्ने–छाद्ने, खेद्ने–खाँद्ने, काँरो–झ्याँक्रो, चिलाउने, कोक्याउने लगायत जमै पचाइकन आखटी बनेको जिउ प हो क्यारै ।

“बाठा टाठा मान्सले पैलै लाल्चन् । भाइरनु जत्ताततै डुल्ने मान्स । त्यखा कान पच्चकै फुट्जाउन । नसाँप्नो त्यो स¥यो भन्या हाम्लाई पनि डरै हो क्यारै । अइल ता जस्तोरी पनि नछुटाइकन लाल्नुपर्च होई लख्या बाई ?” जैलै त्यो आउने हल्ला चल्ने ताक्नु लख्याई आमाले सुनाइरन्थिन् ।

Advertisement

“हो बावा, आमाले ठिकै भन्छिन् । यस पटक ता जस्तोरी भए पनि लगालौला होई ? तमी ता जताबाट लगाए पनि ता भयो क्यारै ? शिक्षक, पत्रकार, साहित्यकार, कलाकार, समाजसेवी जुन क्षेत्रबाट पनि ता लगाउन पाइन्छ गरे । नि ?” स्यानी बच्चीले फुरुङै पार्छिन ।

“हो बाबा हो, त्यो ता सही कुरा हो । बहिनीले ठिकै भन्छे । तमीले चाहनेबित्तिकै जत्ताबाट पनि लगाउन पाल्छौ ।” ठूली बच्चीले पनि बहिनीको समर्थन गर्दै मैलाई सुर्याउँछिन् । “क्या साँच्चै मैले त्यो लाएपछि सपरिवार शुरक्षित हुन्छ त ? यदि त्यसो हो भने त्यो लगाउन किन पछि पर्ने ?” म यस्तै यस्तै सोचमग्न हुन्छु ।

“त्यख्खा सुइले फाँर्यो । नि बाबै ? कि हो र हाम्रा बाबा रोगी, दग्दी भया भन्नु ? फिरी बाबा स्वास्थ्यलाई हाँनी पु¥याउने चिजवस्तुका नजिक पनि त पर्दैनन् नि ? आमा र दिदीहरूले क्यार्न कर लाउचौ केउ ? बरु इम्यूनिटि पावर बराउने पोषिला, ताकतिला फलपूmल ख्वाउनु पर्यो हेर । कसरत गर्नुपर्यो, योग गर्नुपर्यो, ध्यायन गर्नुपर्यो । हाम्रो स्वास्थ्य कस्तो बनाउने भन्ने कुरा ता हाम्रै हातमा छ क्यारै । नि तो बाबै ?” लख्याले भने मेरो पक्षबाट वहस गर्न थाल्छ । क्यार्न कुरा गर्दान र ? बच्चाबच्चिको स्कुलिङबाट तत्काल साँच्चैको हिष्टपुष्ट र निरोगी बन्न पाउँदा हजुरका खुट्टा भुँइमै हुदैनन् ।

खोप आउने र लगाउने हौकान सुन्नुभन्दा साताबार अघि घरपरेलसित चलेका गफहरू हुन यिनी । कत्राकत्रा हुलमूलबाट जोग्एिका आँटिला, अठिला, अरिला, दरिला, नातागोता, इष्टमित्र, सङ्सात्यालाई कोरोना नाउको असत्तीले हेर्दाहेर्दै खोसेको घटनाले सबैलाई तर्साउँछ । त्यो डर, त्रास र आतंकले गर्दा एक मनले भन्थ्यो- “हे दात्ता परमेश्वर, त्यो भ्याक्सिन कहिल आउँदो र कोरोनालाई भत्तक्कै पार्ने गरी आङैभरी सुई घोचाउँदाऊ लाई ?”

दोमनले भन्थ्यो : “त्यो कोर्नाेसोर्नो केई पनि होइन । मन भित्रौं त्रास मात्रै हो । मान्स जर्मिकन मर्ने ता श्रृष्ठियौं नियमै भइगो । यस्ता माहामारीहरू पैला आइनान र ? उइछारी औलो, अगनी, उखाल्या, ओराल्या, सोखाल्या, ठेउल्या, दादुर्य, कुष्ट्या, भिरिङ्या–उरिङ्या, एड्स्या–उड्स्या, हात्तिपाइल्या, किम्लापाइल्या आदिइत्यादि नआएका हुन र ? ह्याँ, धेरै डराउने काम छैनन् । आत्मा बल्यो र अठिलो बनाउने हो भन्या सप्पैलाई जित्न सकिन्छ ।” आफ्नै मनभित्रका यस्तै भावनारुपी मथिङ्गलमा दलामली गर्दागर्दै भ्याक्सिन टुप्लुक्कै आइपुइगो छ हेर्ने ।

साउन तेह्र गतेदेखि कोरोना बिरुद्धको खोप लगाउने सूचना पाउँदा पातापाखुरीमा आधासुई गोव्यास्तो भइगो भन्नुहुन्छ । तत्काल मेरो अस्थायी बसार्इँ जिल्लाको अड्डाभित्र हुन्छ । “एउटा खोपको के हर्जा भयो र ? मलाई ता पाउनामुर जस्ले पनि खोप्पेलान क्यारै । त्यो जाबो खोपलाउन पनि त्यत्ता जाने धमाली क्यार्न गर्ने हो र ?” आफ्नो स्थायी बस्तितिर जाने टन्टा लाइगो हेर्नोई । अर्कोे दिन पेशागत संगठनको बैठमा उपस्थित हुने ट्याक्कै अवसर मिलिगो ।

“नेपाल शिक्षक महासंघले शिक्षकलाई अनिवार्य खोपको व्यवस्था गर ! भनिकन गरेको चरणवद्ध आन्दोलनको उपज हो अहिलेको खोप । त्यसैले खोप नलगाएका शिक्षक साथीहरूले तत्काल खोप लगाइहाल्नुहोला ।” शिक्षकका अगुवा नेताबाट आएको निर्देशनले झन जिउँमा पुरै सुई गोव्यास्तो भइगो भन्नुहुन्छ ।

“म ले अर्नी अघिनै पकाल्तेँ । खाइकन चाँरी जानुपर्च होई ?” खिर चाख्ने तिहारका छकाल साँझ बज्ने रेडियो साहित्य माला कार्यक्रम बनाइकन घरको मुल ढोकाभित्र नपस्दै नानीकी ज्याले अह्रालिन । घरभित्र पाइलो नटेक्दै “चाँरी जानुपर्च” भन्ने शब्द सुन्दाखेरी हजुरको रिस उठ्या जस्तो न झोक चल्या जस्तो भइगो भन्नुहुन्छ ।

“काँ जाने चाँरी ? आँफै गया हुन्च काँ जानु पर्ने हो ?” मेरो पालो आँखाकान चिम्लिकन उनीमाथि बम्किन थाल्छु ।

“अइला जुग्नु अर्काउ भलाई हुने कुरा सुनाउँदारी पनि वीखलास्तो मान्छन् । क्या कुरा गर्दाउ र केराकेटियौं ?” आरनमा पाकेको फलाम जस्तो मेरो रिसको पारो चाल पाइकन उनीले छोराछोरीहरूलाई चाल्चालो सुनाउँछिन ।

एकघरी मेरो रिसको बिष झर्यापछि स्वभाविक अवसथामा फर्किकन सोध्न पुग्छु । “काँ पठाउने मानेई छेउ र मलाई हँ लख्याई जेई ?” गास निल्दै जिज्ञासा तेर्साउछु ।

“काँ जान्चन् सुई लाउनए । मान्सहरू पैलै गइग्यान । अइल फिरी ह्याँ ढिलो गरिकन ह्वाँ, लइन लागिकन सुई सक्केला र लाज्जिनुपर्ला आँनी ? चाँच्चारी गइकन लइन लाग्या प होला क्यारै ।” अब कर्रिने पालो उनीको थियो । पहिले म कट्किदाको आधा पैचो फर्कालिन ।

“लाइन लाग्ने म क्या विध्यार्थी हुला र ? मलाई ता शिक्षक (गुरु) जस्तो मानिकन आँफै लाइदेल्लान क्यारै सुई ? म क्यार्न लाइन लाग्ने धाँमाधमाली ग¥याउ ?” जोइछोराछोरीका सामुन्ने घमण्डको दाइँ हाल्न पुग्छु ।

“उस्सै तो पैलास्तो ता होलाए ? जुगजमाना काँबाट काँ पुगिसक्यो । सबै छारी सुइलाउने ठाउँनु गर्लानए मास्टरलाई मानसम्मान ? सक्या ता घरै ल्याइकन लाइदिनन् । ह्याँतिर, प्वारा नलाया पनि हुँदो मेरा टिम्केउमर्नु । बरु चाँरो गइकन खुरुक्क सुइलाई माङ्कन आउँने ?” छेउघारी कतै पनि नराखिकन लिर्को लगाए जस्तै उनीले सम्याउँछिन् ।

चाँच्चाँरी अर्नीपर्नी खाइकन ओठमुख पुच्दै लाइग्या उकालापाई । बिहानको दस नबज्दै खोप केन्द्रमा प्रवेश गर्नपुग्छु । चार पर्खालभित्राको हरियाली चौरमा स्यानो डिग्रयाका जस्ता मान्छेहरू देखिन्थ्या । एकाध बाहेक परिचत अनुहार कोही पनि देखिन्थ्या । महिलाहरूको चारपाँच ओटा र पुरुषहरूका पनि त्यत्तिकै अनुपातमा लाइनमा मान्छे उभिएका देन्छिन् । मैले तुरुन्तै कसैलाई पनि नछुटाइकन र कसैको पनि आत्मा नदुखाइकन एकाछेउबाट सबैको चेहरा शिरदेखि पाउसम्म नियाली सकेँ । घरमा जोई छोराछोरीसित घमण्ड गरे जस्तो त्यहाँ क्यार्न हुँदो गरे ?

थोरै संख्या भएको पङ्तिका पछारी गइकन ठिङ्ङ उभिन पुग्छु । “चाँर्रै पालो आयापची परिवारसँग गरेको मेरो घमण्डको विराशत जोगाउन पाइन्थ्यो कि ?” मनमनै सोचिरहन्थ्याँ । मास्कको खापबाट नियाल्दा एक दुईजना चिनेका र बिर्सिदै गएका मुहार आम्नेसम्ने हुन्थे । अगाडि मञ्चमा कोही हातमा कागजका लिष्ट समातेका नेता जस्ता, कोही नाम लेख्ने जस्ता त कोही दर्ता गर्ने जस्ता, कोही लाइन मिलाउने जस्ता र कोही अनियमितलाई भित्राउने र नियमितलाई धपाउने जस्ता देखिन्छन् ।

“कुरै गर्ने हो भन्या ह्याँ जेठापाठा बुराबुरियौं, शिक्षक, कर्माचारियौं र व्यापारीयौं छुटाछुट्टै लइन हुनुपर्ने हो ।” एकजना बोलकड व्यक्तिले मुख खोल्छन् । उनले टारेटोप्रे गर्दै नजरलाई गस्तिमा कुदाइरहन्छन् ।

“ह्याँ, खोप दुई सय मात्रै छ गरे । त्यत्ति जाबो ता अल्लै आदी घण्टामै चुक्ता होइन्च । फिरी खोप लाउने मान्स पनि आइपुग्या छैनन् । बलै ह्याँनु ठार्रिकन क्यार्ने मान्या छौं । म ता गइयाँ परपाई । जानेभ्या आइजौं ?”  सुनाउदै उनी लाइनबाट फुत्त निस्किकन कलावाङ गर्दै हिड्छन् ।

क्रमशः त्यो लाइन भेरफाटेको मौरी जस्तो झुण्डझुण्डमा बदलिन्छ । ज्येष्ठ नागरिक, शिक्षक, कर्मचारी र व्यापारीको छुटाछुटै लाइन बनाउनुहोस् है ? केही बेरमै अगाडि उभिदै अर्काले मञ्चबाट कासन गर्न थाल्छन् । विभिन्न समूहको झुण्ड दर्जन बढी लाइन बन्नथाल्छ । औपचारिकता बिना आँफै अतिथि बनेकाहरू बाटो बिराएका किम्ला जस्ता देखिन्छन् । कतिपय साप–साप्नी जस्ता त कातिपय उरिङ्या–निरिङ्या जस्ता, केही सुरासुन्दरी प्रतियोगितामा सामेल हुने जस्ता, केही सुर्ती चपाउने जस्ता र केही रोगव्यधी  धपाउने जस्ता देखिन्थे ।

चिल्ला, चुपिल्ला र चुकिला जस्ताले हुक्रिदै लाइनलाई तर्साउदै एक मिनेटमै खोप कार्ड प्राप्त गरिकन थुतुरि खेल्दै बाहिरिन्छन् । संजोग हो या अवसर । म उभिएको लाइन अरुको भन्दा पातलो हुन्छ । अनि मेरो लाइनका अरु भन्दा म झनै पात्लो हुन्छु । बड्डो कछुवाको गतिमा सर्दै–सर्दै हाम्रो लाइन चार घण्टापछि नाम लेख्ने अखडा छुन थाल्छ । त्यहाँ मान्छेमा मान्छे अटाउ खटाउ देखिन्थे । खोप केन्द्र त्यो पनि कोरोना बिरुद्धको । त्यहाँ संक्रमणको डर लाग्ने कुरै भएन । लामो समयदेखि टार्रिकन मायाप्रीति साट्फेर गर्न नपाएकालाई यो एउटा महत्वपूर्ण अवसर झै लाग्छ । त्यहाँ भौतिक दूरी तथा स्वास्थ्य मापदण्ड अपनाउन कुनै वाध्यता हुँदैन । त्यहाँको फराकिलो चहुरले भने गिज्याइरहन्छ । मलाई खोप कार्ड प्राप्त गर्नु भन्दा पनि जात्रा (मेला) को रौनकतामा रम्ने रहर तथा ध्यायन बर्ता हुन्छ ।

“दिनबार सक्किया यिनीहरूले ता नलाया पनि होइजाँदो अब । हाम्लाई पालो द्या हँन्नो । नि ज्वाँनौं ?” जेठाजेठी नागरिकलाई इङ्गित गर्दै केही अद्बैंसेहरू दाँतका जरा देखाउँदै खित्किन्छन् ।

“हुन ता सास छँदासम्म केई गरौला भन्ने मान्दान बिचराहरूले । नि ज्वानौं ?” आँफैले उत्तर दिदै ग्याँस्स गर्दा अर्को लाइनका ज्येष्ठ नागरिकबाट “तमीहरू ता कैलै बुर्रिने होओइनौ तो ?” व्यक्त वाणीले मुखबुजो लगाइदिन्छ । ज्येष्ठ नागरिक तथा शिक्षक कर्मचारीको लाइन हलचल नगरी टस्कोमस हुँदैन ।

“सबै भन्दा बढी हामी अशुरक्षित छौं ? हामी त डाइबर हौ डाइबर । हामीलाई छिटो खोपकार्ड दिनुपर्छ ।” त्यो आवाज सान्र्दभिक र जायज थियो । त्यहाँ जुरो ढक्काउदै हुक्रिने जमात मन्चतिर प्रवेश गर्छ अनि तत्काल कार्य सिद्धि गरिकन फर्किन्छ पनि ।

“ह्याँ, अइचेल तन्नेरी तन्नेर्नीहरू लइनमा उभिनु नपर्ने नइयाँ रिवाजा चल्याउ ह्रच । होइन्तो ?” पसिनाले निथ्रुक्कै भिजेका र ओठमुख सुकेका साठी माथिका एक बृद्ध मुख खोल्छन् ।

“खैर, तिनीहरूको नैतिक कर्तव्य तेई हुनुपर्च । तर आफ्नो मात्रै बनाया क्या मान्दाउ ? हात्नु मुठाकामुठा लिष्ट समात्या हुन्चन् तो ? तिनीहरू कैल सकिन्चन् र हाम्रो पालो आउने हो ? सित्ति रिस उठ्दैन क्यार्ने हो र ? यो बिथिति कइल माँस्सिने होला ?” अर्का उत्तिकै उमेरकाले दारा चुँइक्याउदै सुनाउँछन् ।

“ह्याँ, जस्को शक्ति उस्को भक्ति चल्याउछ क्यारै । क्या हाम्रो पालो अइलै आउला भन्ने मान्या छौ र बगालौं ? हाम्रो लइन सर्दैसर्दैन । यो चाल्ले हाम्रो पालो कैल आउँला ?” अर्का जेठाले थकित आवाज ओकल्छन् ।

म भने यतिलामो जात्राको अवलोकन गर्न पाउँदा मख्खै हुन्छु । नामलेख्नेलाई मौरीले राँनो मोरे जस्तै मोरेका हुन्छन् । उताको खैलाबैला र काउलोबाउलोले यताको लाइनमा उभिनेका कानका जाली च्यात्तेलान जस्तो हुन्छ । बल्लतल्ल पाँच घण्टापछि सिढी पार गरिकन मेरा पाउ मञ्चमा पुगेका हुन्छन् । ठूलै सफलता प्राप्त भए झै छाती गर्वले चौडा हुनपुग्छ । एउटा खैरोखैरो वस्त्रले जन्मेदेखिको बल लगाउदै मलाई धकेल्छन् । उनको धक्काले म मात्रै नभइकन हाम्रो लाइन नै दसहात पछाडि हुत्तिन पुग्छ । मलाई यतिबेला मौले पिङ खेले झै अनुभुती हुन्छ । तिनी तन्नेरी ता नहुँनै बलबान पो रहेछन् । यदि म लाइनमा हुन्नथेँ भने उनको हुत्याइले मलाई घरमै पु¥याउँथ्यो होला । जामाँजा हुनाए नि, मलाई हो र सित्ति सल लाग्दैन्थ्यो ।

“तमाँइसित तिनको केई रिसइबी थ्यो र ? त्यस्तोरी धकेल्दारी पनि तमाँई ता केई बोल्नु भइनए ? म भ्या ता क्यार्न सँदाउ र ?” छिमेकी लाइनबाट कसैले मलाई उचाल्ने र सु¥याउने प्रयासले हुनुपर्छ सुनाउँछन् ।

“होइन हजुर छैन, कोई कसैसित पनि मेरो रिसइबी छैन । उनीसित भएता म क्या जानु ? मेरो नजरमा सबै मानवजाति बराबरी हुन्छन् ।” म निर्धक्कसँग उनलाई सुनाउन पुग्छु ।

पल्लो लाइनबाट एक जना तन्नेरीले मेरो चर्तिकला खुबसँग नियालिरहेका रहेछन् । उनी त्यहाँबाट फुत्त निक्लिदै मेरो दाँया पाखुरो च्याप्प समातीकन मलाई त जुर्याले चल्लो टिप्यास्तै जुरुक्कै उच्चाइकन लगेल्या ।

“यिनी तन्नेरीहरू आज मैमाँती क्यार्न खन्या छन् ? यिन्खो मैले क्या बिराइद्याउ हुँला दात्तौं ? यिनीहरूले मलाई आज यतै जिलाल्छन् क्या हो ? कोर्नो भन्दा पनि मान्सौ प बर्ता डर हुने ठर्यो ह्याँ ।” डराइडराइकन भित्रभित्रै यस्तै सोच्न पुग्छु ।

“तपाई यी हिँतिर मेरा अगाडि लाइन लाग्नुहोस् सर ।” मिठो मुस्कान सहित कत्नाम्रो मलाई आफ्नो अगाडी उभिन लगाउँछन् । म तीन छक नपर्ने कुरै भएन । तिनी ता उनै चिरपरिचित हितैषी चिनारु संकल्पजी प रहेछन्् । अब भन्या मेरो खुशीको सिमै रहँदैन र खुट्टा पनि भुइँमा हुँदेनन् ।

मध्यान्नको समय घर्किनै लागेको हुन्छ । चोरबाटो हुँदै मुठाकामुठा कागत सहित मञ्चमा पुगेका तरुणतरुणीले लेखनदारलाई घेरेका हुन्थे । एकातिर खैरा वस्त्रले उनीहरूलाई घुसाउन सहजिकरण गरेको र अर्कोतिर अपरिचित, अशक्त र र्निबलियाको छायलसम्म त्यहाँ पर्न नदिने तिनीहरूको व्यवहारले विशेषगरी तिनै बुढापाका र र्निबल्यालाई निरास तुल्याउँछ । निला वस्त्रहरू रमिते भैकन तैचुपमैचुप बन्दा अनियमित र विथिति झाँगिन नपाउने कुरै भएन ।

“ए सरकारी मान्छेहरू हो ! तिमीहरूको दायित्व, जिम्मेवारी र कर्तव्य तेई हो ? तिनी चोरदेलाबाट आएका कागजपत्रलाई तुरुन्त हटाऊ । ल, ल तत्काल हटाऊ ? अल्लै हटाऊ ?” संकल्पजीको हुँकार सुन्दा सिफारिसवाला कागजपत्रहरूले बैकल्पिक मार्ग प्रयोग गर्न वाध्य हुन्छन् ।

उनीहरूको गतिविधिले “तँ हाँन्यास्तो गर म रोया जस्तो गर्छु ।” उखानलाई प्रयोगात्मक  विधिबाट पुष्टि गराउँथ्यो ।

“तिनी लौरा समात्ने मान्सौ कामै छैन । झन तिनी खैर्याउ केई कामै छैन ।” दिनभरी लाइनमा खङ्ग्याहरूको थकित बोली सुनिन्छ ।

“गर्नसम्म तिन्ले ता ग¥या छन् तो । ह्याँ हाम्लाई हो र  लइनमा उभ्याइरहने ? जोजो आफ्ना छन् उइखो मात्रै लेख्ने ? तिनी लेखन्दारले पनि हाम्लाई उइबेलादेखि खङ्ग्याउ देख्या होओइनन तो ? माँज्जा आँखायौं नि ?” अर्का वृद्ध दारामुरा कस्तै तुथाउँछन् ।

मेरा हो र रिस उठ्नेको कुरै छैन । मेरो रिस पनि अल्तै गुणी हुँदो र ? सित्तिमित्ति उठ्दै नउठ्ने कदंकदाचित उठिग्या पनि केही नफाँर्ने भन्नुहुन्छ । रमच्याई लाग्दो मात्र नभई रमाइलाग्दो जात्राको कलावाङ सुन्दा अल्तै सल लाग्दैन्थ्यो ।

“तिनी लेखन्दारले पनि ढिलो गरिराछन् । म सहयोग गर्न जान्छु है सर ?” संकल्पजीले मलाई सुनाउँछन् ।

“हो हो ऽऽऽ हो जानोई हजुर जानोई । तमाँई त्याँ गया ता हाम्लाई नहेरी छार्नुहोला । हो कि होइन तो ?” म पनि उनलाई प्रस्ताव र समर्थन गर्न पुग्छु । उनी त्यहाँ पुगेको पनि मस्तै समय भइसक्छ । तिनी मान्छेले पनि नेताले भोट हाल्ने जनता बिस्र्या जस्तो व्यवहार गरेल्छन् क्या हो ? मनमा बढी शंका, उपसंका र थोरै मात्र विश्वास लाग्छ ।

“तमी बड्डा अघारी उभिकन क्यार्न मुर्तियास्तो केई चाल गर्दैनौ हँ ? कस्तो अच्चम हो बिधातौं ? हाम्रो लइन ता एक इन्चै सर्दैन तो । यस्तो पनि हुन्छ काँई ?” मेरा निकटवर्ती छिमेकीले पनि मैलाई उधिन्छन् । अनि घरि–घरि मैसित सिङ्गौरी खेल्छन् ।

“नै ह्याँ आउ तो तमी, क्या फार्ने ह्रचौ ? दाजुमा नसकिकन भाउज्यूमा लाग्ने भन्दाइन तम्ले मैसित व्यानैदेखि किन निहुँ खोज्या छौं हँ ? आज तम्ले मलाई मस्तै हेलाँ ग¥या छौं । छट्टा बड्डायौ नि ?” मेरा पनि छुल्याहा रिस जराकजुरुक उठ्न लाइग्या भन्नुहुन्छ ।

म रिसको करक मार्न स्थान परिवर्तन गर्न पुग्छु । व्यवस्थापन कस्तो हुनुपर्च ? भन्ने बारेमा  विद्यालयको वाह्य वातावरणले छर्लङै दर्पण देखाइरहेको हुन्छ । त्यसलाई अनुसरण गर्नुको सट्टा विधि र पद्धतिलाई चुनौती दिदै आफ्नो पहुच प्रदर्शन गर्नमा महानता देखिन्छ । मेरो करामत देख्नेहरूले क्या भन्दान ? नयाँ पुस्ताले के सिक्लान भन्नेपाई कसैको ध्यान गए पो भन्नु ? सवा आठ घण्टाको अध्ययनले आफ्न्त, नातागोता र नालनेस बाहेकलाई झारपात र कसरभसर झै देखेको ठहर गर्दै अब उपरान्त कोही कसैले पनि त्यसो नगर्न नगराउन आदेश गर्दछ । योे प्रवृतिलाई हेर्दा कोरोना बिरुद्ध भन्दा पहिले सबैलाई समान नजरले चियाउने, रीतिथिति, नीतिनियम, विधिविधान, पद्धति र सिस्टम चलाउने खोपको बर्ता आवश्यकता देखाउँछ । तत्काल त्यसको परिपन्ज गर्नुपर्ने अवस्था देखिएता पनि कस्ले कहिले गर्ने ? हाम्रोमा नियम, कानुन र रीतिथिति मिच्नेलाई बहादुरी मान्ने गरिन्छ । जस्ले नियम र पद्धति मिचेर काम गर्छ उसैले मान, सम्मान, बकस र स्याबासी पाउँछ ।

यति सज्जन र व्यवस्थित ठाउँमा अव्यवस्थित गतिविधि सञ्चालन गर्नु जायज होइन । रीतिथिति र नियमकानुन मिच्नेले तीन हात उर्छिदै “हलाँना पार्टीले केई गरेन, फलाँना नेताले केई गरेन, कोजत्याले क्या¥याउँछ ? उजत्याले क्या हेर्याउ छ हँ ?” भन्दै अर्कालाई बाँत लाउनु वास्तबमा मुहानमा हगिकन धारो सफा गरे जस्तो होइन र ? यो प्रवृति र व्यवहार नियाल्दा जेल तथा सेना, पुलिस नभएको देशको अवस्था नियाल्न मन लाग्छ । बसिबसि संसार चियाउछुु उठ्या कस्तो होला ? ट्रिक बदलेर केही समय एक्ले बाँदर बन्न जायज ठान्छु ।

“अब त भिड घट्यो होला म मात्रै हुन्छु ।” भन्दै पुनः खोप केन्द्रमा पाउ टेक्न पुग्छु । पहिलेको लाइन खज्मज्जिकन समाल्नै नसकिने अवस्थामा पुगेको देखिन्छ । यस्तोरी कि हजुरका लाटालाटीया क्या जत्या रेल्लेइनी । मान्छे उनै हुन्छन् तर स्वभाव र चेहरा बद्लिएको देखिन्छ । जेठापाठा सबैका अनुहार सिथिल, थकित, निरास  र लखतरान देखिन्छन् । तत्काल पारिजातका साहित्यिक रसपानले मेरो थकाई, तनाव र भोक एकसाथ मेटाई दिन्छन् । आजको खोप लगाउने समय घर्किदै जान्छ । चहुरका मान्छे घटेका हुदैनन् ।

“ए, सुन्नु भो, तपाईहरूले कार्ड लेखिकन क्यार्नु हुन्छ हँ ? खोप सिद्धियो । अब पचपन्नदेखि माथिका कोही भए मात्र काट्नोस् है ?” खोप प्रमुख हुनुपर्छ कार्ड लेख्नेलाई निर्देशन सुनाउँछन् । “पचपन्न भन्दा माथिका जतिजना भएता पनि खोप पुग्ने ठर्यो ।” अब मलाई अर्को ट्रिक चाल्ने सोचाई आइगो हेर्ने । मेरो परिचय पत्रले पचपन्न वर्षमा पुर्याउन त केही समय बाँकी नै हुन्छ तर अनुहारले भने “पन्चानव्य माथियौ हुँ” भन्दा पनि फरक नपर्ने जस्तो भइसकेको हुन्छु । यही हो मौका भनिकन मेरो प्रमाणलाई पनि पच्पन्न माथिका घान्नु मिस्याइयो भन्नुहुन्छ । त्यो खबर सुन्ने मध्येका एकजना नव जवानले दुनियाका कागज प्रमाणलाई खुबसँग पैसरी नचाउदै रिसको पेटारी छताछुल्ल पार्छन् । निला, खैरा वस्त्रहरू शान्त, सभ्य र इमान्दार दर्शक बन्न पुग्छन् ।

मेरो प्रमाण संकल्पजीको वाहुमा रहेछ र मात्र । नत्र तिनी तन्नेरीको रोसिलो र जोसिलो कोसेली चाखेल्थ्यो होला । केही बेरमा गोसाँइनी, पुत्रीहरू, दिदीबैनीहरू, भाजाभान्जीहरू लगायत ठूलै जमात मेरा सामुन्ने देखापर्छ । “पक्कै पनि त्यो जमात मलाई समातिकन जबरजस्ती खोपाउन आयो होला ।” जल्किदै सोच्न पुग्छु ।

पुत्रीहरू नजिकै आइकन “अइलसम्म खोप लाछैनौ बाबै ?” सोध्न थाल्छिन् ।

“हो तो आँनी लाइद्या लाउने ? आँफै लाउनु भइन हेर लखेनियौं ?” यताउता, वरपर कतै पनि नहेरीकन प्वाक्कै भन्नेले ।

“साँच्चै खोप लाछैनौ र मामै ?” भान्जी नजिकै आएर नम्र र शिष्ट भाषामा सोध्छिन् ।

“लाउ भ्या क्यार्न उभ्याउ हुँला तो ?” बिचरी ! भान्जीलाई डाडु थुरीकन व्वारी तर्साउने भन्दाइन बिनासित्ति हप्काउन पुग्चु ।

“हेर तो ? टिठौ मर्नु ! हाम्रा मामालाई कस्तो खङ्ग्याछन् नि ? तमी हिँती बस म भन्दिन्चु होई मामै ?” चुक्चुकाउदै भान्जी अगाडि बढ्छिन् । म केही पनि नबोलिकन चुपचाप उभिरहन्छु ।

“दिनभरी उभिएको मान्छेलाई एकछिन उभिन क्या कोे भारी ?” मात्र मनमनै बोल्छु ।

“अई, फलाँनीयौ, यता सुन तो ? यिनी हाम्रा मामा हुन नि ? यिनको खोपकार्ड बनाइदिन्नेउ लाई ।” दर्तावालीलाई भान्जीले सुनाउँदा ओरपरका सप्पैले मैलाई चियाउँछन् ।

“यो मान्स पनि पावरवाले, भन्सुनवाले र पौचवाले प ह्रच ज्वाँनौं ।” त्यहाँका अरुले काँने खुशी गर्न थाल्छन् ।

“त्यई जाबो लठौरो ता होला पौचवालो ? साँच्चै पौचवालो भ्या सव्यारै खोपाइकन फस्किन सक्दैनो । बराठै ! केई आपा नलागिकन हामीसित लेपास्याउँछ ।” लेब्रो तान्दै अर्कोले सुनाउँछन् । म नसुने झैँ गर्नुको बिकल्प हुँदैन ।

मेरो पक्षमा उर्लिएको समर्थन, गलबल र हौस्याइबाट नहुँनै जोस आइगोे भन्नुहुन्च । ह्वाँपछि ता क्यार्न भन्दान र ? हजुरका धुरिनु उक्लिकन भाषण थर्काउनेसम्मौं बराङ चल्लियो हेर्ने । तत्कालै बिना माइक खोप कार्ड बिरद्ध मेरो भाषण कुर्लिन लाइगो ।

“कसैलाई लाइनमा लाग्न नपर्ने ? देख्यिा होइजाने ? तैले मलाई दिनभरी खङ्याग्याउने ? कोइलाई हो र खोप लाइकन तलाई बनाइदिने । मसँग तँ हुँदा हुँदै पनि खोप नलाइदिने ? तँ पक्षपाती, तँ नातावादी, तँ भन्सुनवादी । तँलाई म हिँतिरै च्यातिकन धुज्जाधुज्जा पार्दिन्छु बुझिस् ।” भन्दै खोप कार्ड च्यात्न दुई हातका दस औलालाई आदेश गर्छु । मेरो भुकाइले कस्को रौ हल्लियोस् ? सवा आठ घण्टाको परिश्रमबाट प्राप्त खोप कार्डको भने होसहंस ठेगानमै नहुनुपर्छ । डरले हो या आक्रोसले खोप कार्डको कम्पन पनि भूकम्पको कम्पन जस्तै हुन्छ । जस्ले मेरो जिउ पनि जोर जोरसित हल्लिन्छ । मेरो गर्जनले कोलाई नाफा कोलाई लोक्सान ग¥यो ? मैले केही पनि चाल पाइन्थ्याँ । अरुले व्यक्त गरेका कुराकानी झन कस्ता थिए कस्ता ? लाइनी कुरा सुनाउने मेरो बाँनी छँदै छैन । किनकि हग्नेलाई भन्दा देख्नेलाई बर्ता लाज हुन्छ ?

यहाँ खासमा भन्नुपर्दा, न व्यवस्थाको, न व्यवस्थापकको, न सेवा दिनेको, न सेवा लिनेको, न सुरक्षा निकायको, न त भन्सुन वालाको नै दोष थियो । थियो त केवल सिस्टम र पद्धतिको । परिश्रमको फल मिठो हुन्छ भने झैं लामोे तपस्या पश्चात कोरोनाको ओक्तो (सुई) पहिलो डोज पाइयो । डर, त्रास, छटपटी, पट्यार, दिग्दारी, तनाव, थकान, भोक र प्यासलाई डम्पिङ साइट लाइयोे । मनको फोहर, मैला र लक्धरी एकसाथ मिल्काइयो । अन्ततः खोप लगाउने धोको पुरा गराइयो । जब गोधुलीमा खोपा लाइयो, तब सबेरै घर आइयो अनि मस्तै सन्तुष्टि पाइयो ।

(रुकुम पश्चिम) by nepalisahityaghar