October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

असारे सडक

  • गिरीप्रसाद बुढा

कालोपत्रे गरेको मुख्य सडकबाट हाँगो फाटेर दायाँबाट अगाडि तर्फ गएको सडकलाई मान्छेहरूले असारे सडक भन्ने गर्दछन् । वास्तवमा असारे सडक माया गाउँ छाया भञ्ज्याङ नाम भएको सडक खण्डको उपनाम थियो ।

माया गाउँ छाया भञ्ज्याङ सडक जिल्लाकै सबै भन्दा पुरानो र जेठो सडक थियो । सुरुमा मान्छेहरूले हिँड्डाहिँड्दै गोरेटो बनेको बाटोलाई माया गाउँका गाउँलेहरूले श्रमदान गरेर घोडेटो बनाएका रहेछन् । यसरी आफ्नो गाउँको बाटोलाई श्रमदान गरेर घोडेटो बनाउँदा माया गाउँका मान्छेहरू सबै भन्दा खुशी थिए । एकताबद्ध भएर सामाजिक काम गर्न पाउँदा गर्वले सबैको छाती चौडा हुन्थ्यो । माया गाउँदेखि छाया भञ्ज्याङसम्म करिब पैतिस किलोमिटर लामो बाटोमा बीच बीचमा चिनो बिसौनी र चौपारीहरू निर्माण गरेर बाटोलाई शोभायमान बनाउँथे । यसरी हेर्दा मायागाउँ छायाभञ्ज्याङ सडकको निकै सुन्दर र गर्विलो इतिहास देख्न सकिन्छ ।

२०५२ साल देखि शुरु भएको माओवादी युद्धको समयमा बन्दुक बोकेका माओवादी जनसेनाहरू लाम लागेर हिँडेको यो बाटोमा त्यसबेलाका शाही सेनाहरू पनि त्यसरी नै लाइन लागेर कयौं चोटी ओहोर दोहोर गरेको बाटो हो । त्यस बेला त्यै बाटोमा माओवादी छापामारहरूले एम्बुस थाप्थे । एम्बुस पड्केर कैयाँै शाहीसेनाहरु त्यै बाटोबाट उछट्टिएर तल खोलामा क्षतविक्षत हुन पुग्दथे । त्यै बाटोका चिनो चौपारी र बिसौनीहरूबाट पक्राउ परेर कैयौं माओबादीहरू जेलको चिस्यानमा संकलित हुन पुग्दथे । २०६२÷०६३ सालको आन्दोलन ताका काँग्रेस, कम्युनिष्टहरूले आफ्ना आन्दोलनकारीहरूलाई यै बाटोमा कैयौं पटक ओहोर दोहोर गराई राख्थे ।

राणाकाल हटेर पञ्चायत शुरु हनेबेला माया गाउँका गाउँलेहरूले श्रमदान गरी घोडेटो बनाएको पचासौं बर्षसम्म पनि यो बाटो घोडेटो नै रहिरह्यो । इन्डीयको सिमानाबाट दोकोमा नुनको भारी बोकेर तराई र पहाड पुरै छिचोल्दै नाङ्गो पाइलाले यो बाटोमा स्पर्श गर्ने अनगिन्ती हतारुहरू मुर्दा बनेर यै बाटोबाट घाटतिर कति गए–गए । यो बाटोमा कति जन्तिहरू खुशियालीमा हिडें । कति मलामीहरू दुःखी हुँदै हिंडे । जे  होस यो बाटोले युगौ देखिको थुप्रै कथा व्याथाहरू एक एक गरेर देख्दै र भोग्दै आएको छ । समग्र इतिहासको जिउँदो साक्षी हो यो बाटो ।

पचासौं वर्षसम्म फेरिन नसकेको यो बाटोको जुनी २०७४ सालतिर आउँदा फेरिन्छ कि जस्तो लाग्न थाल्यो । कालो पत्रे गरेको मुख्य सडकबाट कर्मराजको नेतृत्वमा एउटा डोजर यो बाटोको प्रबेश द्वारतिर सोझियो । सडकको विकास सबैलाई चाहिएको थियो । माया गाउँका मानिसहरूमा खुशी छायो ।

सडकको चौडाई करिब दुई मिटर जति थियो । गाडि मोटर एकहोरो हिड्नलाई कम्तिमा पनि पाँच मिटर त चाहिन्थ्यो । यसरी त्यो सडकलाइ पाँच मिटरमा विस्तार गर्दा कैयौँको घर आँगनलाई असर पुग्ने देखियो । अब मानिसहरूले त्यो बाटोमा डोजर ल्याउने कुरामा विरोध गर्न थाले । आफ्नो आँगन जोगाउनलाई सडक नै चाहिन्न भन्न थाले । कतिपय त डोजरको अगाडि आएर उत्तानो परेर समेत सुत्न थाले ।

कर्मराज माया गाउँको एक हिम्मतिलो समाज सेवी थियो । उसले कसैलाइ सम्झाएर र कसैलाइ थर्र्काएर त्यो घोडेटो बाटोमा डोजर छिराएरै छाड्यो । घोडेटो बाटोमा यसरी मोटरबाटोको ट्रेक खोलियो । बाटोको चौडाई दुइबाट बढेर पाँच मिटर हुन पुग्यो । यसरी मायागाउँ छाया भञ्ज्याङ सडक खण्डको करिब २० किलोमिटर जति दुरीमा साना जिप ट्रेक्टर र मोटर साइकलहरू गुड्न सक्ने भयो । शुरुमा कर्मराजलाई सरकारी रकम हजम गर्नलाई डोजर लिएको भन्दै विरोध गरेको भएपनि पछि मान्छेहरूले उसलाई राम्रै गरेको रहेछ भन्दै प्रसंसा गरे । कर्मराजको यो प्रसंसनिय कामले उसको बुबा रामनारायणको त झन खुशीको सिमानै थिएन । उ यति खुशी थियो कि गाउँमा कुनै मानिस भेटीयो भने आफ्नै छोराको गुनगान गाउथ्यो ।

“अब अर्काे बर्ष योजना पारेर यो सडकको ट्रेक खोल्ने काम सम्पन्न गर्नु पर्छ । र पाँच बर्ष भित्र माया गाउँ छाया भञ्ज्याङ सडक खण्डलाई कालो पत्रे सडक बनाउनु पर्छ ।” भन्दै समाजसेवी कर्मराजले गाउँलेहरूसँग आफ्नो कुरा राख्दै आएको थियो । तर आफ्नो गाउँको विकासको लागि यति ठूलो चासो राख्ने कर्मराज जनताको बीचमा धेरै दिन रहन सकेन । के कारण हो कुन्नी ऊ माया भञ्ज्याङमा रहेको राकुलीको बोटमा झुन्डीएर मरेको भेटियो । माया गाउँ ठूलो शोकमा दुब्यो । कर्मराजको बुवा रामनारायण त झन छोराको मृत्युले तीन दिनसम्म मुर्छित भएको थियो । तीन दिन पछि मात्र बल्ल बल्ल उ होशमा आएका थियो ।

“सतीले सरापेको देश त भैगो । हाम्रो देशमा राम्रा मान्छेहरू कहाँ धेरै बाँच्छन् र ? यस्तो राम्रो मान्छे खेरै गयो…।” कर्मराजको मृत्युप्रति गाउँका बूढाबढीहरूले तिप्पणी गरे ।

“कसैले मारेर झुन्डाएको पनि हुन सक्छ ।” यस्तो शंकापनि धेरैमा उब्जियो ।

“मेरो छोरा यसरी आफै मर्ने मान्छे नै होइन । मेरो छोरा मार्नेलाई पत्ता लाउन पर्छ ।” रामनारायणले प्रहरी प्रशासनमा निकै नै हार गुहार ग¥यो । तर प्रहरी मुचुल्का, पोष्टमार्टम सबैबाट कर्मराजले आत्महत्य नै गरेको रिपोर्ट तयार भएपछि मानिसहरूको ठूलो उपस्थितिमा कर्मराजको दाहसंस्कार गर्ने कार्य सम्पन्न भयो । यसपछिका दिनहरूमा रामनाराण निकै कम बोल्न थाल्यो । छोराको याद आउछ भनेर उ छायाँ भञ्ज्याङको बाटो पनि निकै कम हिँड्ने गर्दथ्यो ।

कर्मराजले शुरु गरेको यो सडक दश बर्षसम्म जस्ताको तस्तै अवस्थामा ब्रेक लागिरह्यो । अर्थात चौसठ्ठी सालमा खन्न शुरु गरिएको यो बाटो चौहत्तर सालसम्म जस्ताको तस्तै रहिरह्यो । चौहत्तर सालपछि भने माया गाउँ छाया भञ्ज्याङ सडक खण्डमा बर्षेनी योजना पर्न थाल्यो । कहिले गाउँपालिकाको त कहिले प्रदेशको । तर सबै योजनाले केवल कर्मराजले खोलेर छाडेको बाटोलाई खोसर खासर मात्र पार्न भ्याउँथ्यो ।

असारको शुरुमा बजेट स्विकृत हुन्थ्यो । दश पन्ध्र दिन भित्रै कागजमा काम सम्पन्न भएको देखिन्थ्यो । तर कर्मराजले डोजर लगाएको बाटोमा स्तरउन्नति देखिदैनथ्यो । यसरी हरेक असारमा बजेट आउने र असारमा नै बजेट सकिने भएकाले मायागाउँ छाया भञ्ज्याङ सडकको उपनाम असारे सडक रहन गएको थियो । यो असारे सडकले ठेकेदार अनि जिल्लाका ताठाबाठा र पहुँचवालाहरूलाई राम्रै उपज दिँदै आएको थियो । ठेकेदार मात्रै होइन आफुलाई समाजसेवी र राजनीतिक नेता भन्नेहरूले समेत यसै असारे सडकको माध्यमबाट गाडि किन्ने र शहरमा गगनचुम्बी दरबार उठाउँदै आएका थिए । यसरी यो असारे सडकले कैयौं भ्रष्टाचारी उत्पादन गर्दै आएका थियो ।

धैझैँ यो बर्ष पनि असारको मुखमा आएर प्रदेस सरकारबाट पन्चानब्बे लाखको योजना माया गाउँमा भित्रियो ।

“यो कस्तो योजना हो ? काम सकिने बेलामा काम गर भन्दै आउने ? असारे सडकको लागि आएको यो बेमौसमी योजनामा बिर्जमान दमाईले असन्तोष ब्यक्त गर्यो । विर्जमान दमाईको यो असन्तोषमा माया गाउँका अरु मानिसहरूले पनि होमा हो मिलाए । कतिपयले योजना फिर्ता गरिदिने बिचार पनि राखे । तर असारे सडकको नामबाट खान पल्केका मानिसहरूले भने “गाउँमा आएको विकास फिर्ता गर्नु हुन्न भन्ने तर्क राखे । “सरकारले नै खाउ भनेर पठाएको रकम किन खेर फाल्ने !” खाइपल्केका केही ब्यक्तिहरूले छुट्टै कानेखुशी गरे ।

“खालि बजेट हजम पार्नको लागि मात्रै हो भने काम गर्नु बेकार छ । यदी काम नै गर्ने हो भने यो योजनाको नेतृत्वमा इमान्दार र स्वच्छ छवी भएको मान्छेलाई उपभोक्ता समितिको अध्यक्ष बनाउनु पर्छ ।” योजनाबारे छलफल गर्न बोलाइएको गाउँ भेलामा माया गाउँका जनताले दह्रो कुरा राखे ।

“त्यस्तो इमान्दार र स्वच्छ छवीको मान्छे को हो ? अगाडि ल्याउनु प¥यो नि ! त्यतिकै किचकिच गरेर हुन्छ ? पाखुरा सुर्कदै खाइ पल्केका केही ठेकेदार र नेता भनाउँदाहरू जंगिए ।

“विर्जमानलाई बनाउनु पर्छ अध्यक्ष…।” गाउँभेलामा सहभागी एकजना बृद्ध मानिसले प्रस्ताब अगाडि सा¥यो । त्यो बृद्ध मानिस उहि कर्मराजको बुबा रामनारायण थियो । उसलाई आफ्नो छोरा कर्मराजले देखेको अधुरो सपना केवल विर्जमान दमाइको नेतृत्वमा मात्रै पुरा हुन्छ भन्ने कुरामा दृढ विश्वास रहेको थियो ।

“अरु कसैलाई बनाउनु प¥यो मैले भ्याउँदैन ।” विर्जमान दमाइले आफ्नो कुरा राख्यो ।

“विर्जमानबाट पनि नभ्याउँने कुरा आयो । शंकरदेवलाई बनाउ अध्यक्ष ।” त्यहाँ उपस्थित एक जना नेताले आफ्नो अनुकुलको मान्छेको नाम प्रस्तावित ग¥यो ।

“त्यो हुन्न । अध्यक्षमा त विर्जमान नै हुनु पर्छ ।”

“हो हो विर्जमान नै हुनु पर्छ ।” गाउँभेलामा सहभागी बहुसंख्याक मानिसले विर्जमानकै नाम लिए पछि जनमतको कदर गर्नै प¥यो भन्ने सम्झेर यसपटक आफु अध्यक्ष बन्ने कुरालाई विर्जमान दमाईले स्विकार ग¥यो ।

आज भन्दा दश बर्ष पहिले कर्मराजले डोजर छिराउँदै गर्दा यो सडक आसपासमा दुई चार ओटा मात्रै घरहरू थिए । ति पनि कच्चि थिए । पछि यो सडकमा टेक्टरहरू गुड्न थालेपछि सडकको सुबिधा लिन यो सडकको दायाँ बाँया थुप्रै घरहरू बनिसकेका थिए । ति पनि ठूला र पक्कि घरहरू ! घरहरू बनाउँदा भविष्य नसोचेर बनाइएका थिए । घारितिरका घरहरूले ढिकतिरको र ढिकतिरका घरहरूले घारितिर सक्दो जमिन मिच्दै आएका थिए । यसको कारणले सडक निकै कुरुप भइसकेको थियो । यस्तो कुरुप सडकको निर्माण कार्यलाई अगाडि बढाउन यसपटक बिर्जमान दमाईलाई अध्यक्ष र शंकरदेवलाई सचिव बनाएर सडक निर्माण उपभोक्ता समिति बनाउने सहमति जुट्यो ।

सिंगो समाजले यो सडक निर्माणको नेतृत्वदायी जिम्मेवारी काँधमा राखिदिएपछि विर्जमान दमाईले यो जिम्मेवारीलाई इमान्दारपुर्वक पूरा गर्ने संकल्प मनमा लियो । अब उसले तिब्र गतिमा कार्य शुरु गरेर मायागाउँ छाया भञ्ज्याङ सडकलाई फराकिलो र सुन्दर बनाउने र कर्मराजले छाडेर गएको अधुरो सपना पुरा गरेरै छाडेने नयाँ संकल्प बोक्यो । तर समितिको सचिव यसको ठिक विपरित धुर्वको ब्यक्ति थियो । उ नामी फताहा र शोषक पनि थियो । कर्मराजको मृत्युपछि शंकरदेवले नै लगातार यो सडक निर्माणको नेतृत्व लिँदै आएको थियो । यसरी यो सडकलाई दुहुनो भैँसी बनाउन पल्केको शंकरदेवले फेरी पनि मायागाउँ छाया भञ्ज्याङ सडकलाई पुनः असारे सडक नै बनाउने सोचमा थियो ।

प्राबिधिक स्टिमेट पश्चात सडक निर्माणको कार्य शुरु हुन थाल्यो । मायागाउँका थुप्रै युवा युवतिहरू सडक निर्माणको कार्यमा खटिए । निर्माण कार्यको सिलसिलामा शंकरदेवले जसरी हुन्छ नाफा हुने गरी कामको योजना बनाउथ्यो । पर्खालको जग कम्जोर बनाएर, सिमेन्त कम प्रयोग गरेर, खराब सामाग्री प्रयोग गरेर वा कागज मिलाएर सडक निर्माणको कार्य पुरा गरेको देखाउन चाहान्थ्यो । तर यसपटक बिर्जमान दमाईले यस्तो हुन नदिन पुरै सतर्कता अपनाइरहेको थियो । बिर्जमान दमाईलाई नाफासँग कुनै लालचा थिएन ।

उसको आँखामा केवल गुणस्तरिय सडकको सपना मात्रै आइरहन्थ्यो । त्यसैले उसले शंकरदेवको कुकार्यलाई पूर्ण रुपमा नियन्त्रण गर्दै अगाडि बढिरहेको थियो । विर्जमान दमाईको यो कार्यशैलीबाट शंकरदेव भित्रभित्रै रिसले आगो बन्दै गइरहेको थियो । उसले विर्जमान दमाइलाई दुःख दिन वा यो कार्यबाट कसरी पन्छाउने भन्ने कुरामा अनेक तानाबाना बुन्न थाल्यो ।

कालोपत्रे सडकबाट हाँगो फाटेको करिब दुइसय मिटर जति सडकको निर्माण कार्य निकै उत्साहपूर्ण रुपमा सम्पन्न भै सकेको थियो । जब सडक निर्माणको कार्य शम्भुसिंहको घर नजिक आइपुग्यो तब शम्भुसिंहले निर्माण कार्यलाई रोक्न धम्कि दिन थाल्यो । शम्भुसिंह एक नामि ठेकेदार थियो । उ अथाह धनपैसा र जमिनको मालिक थियो । उसले निर्माण कार्यलाई रोक्न खोज्नुको कारण सडक निर्माणको क्रममा उसको घर अगाडिको एक फिट जग्गा सडकमा पर्न गएको रहेछ ।

“मेरो जग्गा विलकुल च्याप्न पाइँदैन । त्यसै च्याप्न पाइन्छ नीजि जग्गा ?” आफ्नो घर अगाडि सडक बन्दै गर्दा शम्भुसिंहले अनावश्याक किचलो उठाइरह्यो ।

“विर्जमानले सडकको पैसा मिलाएर खाने जाल रच्दैछ । समितिको अध्यक्ष उ आफै छ । हामीले विचार नगर्ने हो भने भ्रष्टाचार गरेर यसले लाखौं रुपैया एक्लै कुम्ल्याउन बेर छैन ।” शंकरदेवले विर्जमान दमाईको विरुद्धमा गुण्डा लफङ्गाहरूलाई गोप्यरुपमा संगठित गर्न थाल्यो ।

उता कर्मराजको बृद्ध बुबा रामनारायणलाई शंकरदेवको कुनियतप्रति शंका लागिरहेको थियो । तसर्थ उसको सम्पूर्ण गतिबिधिको निगरानीको लागि रामनारायणले शंकरदेवको ग्रुपमा एकजना आफ्नो मान्छे घुसाइसकेको थियो । यो कुरा केवल रामनारायण बाहेक अरु कसैलाई थाहा थिएन ।

“राम्ररी होस गरेर काम गरेस है कान्छा ! यो शंकरे फटाहा छ । तँ जस्तो इमान्दार मान्छेलाई यसले फसाउन सक्छ । शहरका गुण्डादेखि ठूला मन्त्रीहरूसम्म यसको पहुँच छ ।” त्यो बृद्ध रामनारायणले विर्जमानलाई बेलाबेलामा सजग बनाइरहन्थ्यो ।

ठेकेदार सम्भुसिंहले जस्तै अनावश्याक किचलो उठाएर सडकको निर्माण कार्यलाई रोक्न खोज्ने अरु पनि थुप्रै मानिसहरू थिए । एउटा उमेश नाम गरेको हेडमास्तरले समेत उसको घर अगाडिको एक इन्च जग्गा छोड्न नसकि कचकच गरिरहन्थ्यो । मालपोत कार्यालयका सुब्बा हिरेन्द्रले आफ्नो घरको पेटी जोगाउन विर्जमानसँग पाँच पटकसम्म झगडा गरिसकेको थियो । सडक खन्दा आफ्नो खुर्सानीबारीमा माटो पर्न गएकाले हिरादेवीले बारम्बार मुद्धा दिने कुरा सुनाइरहन्थी ।

“यो सडक राम्रो भयो भने हामी सबैलाई राम्रो हुने त हो नि । हाम्रो गाउँको सडक राम्रो बनाउने हामी सबैको कर्तब्य हो । सडक राम्रो बन्छ भने एक दुई इन्च हाम्रो जग्गा सडकको लागि छोड्न हामी सबै तयार हुुनु पर्छ । यसमा हामी कसैले लोभ गर्नु हुँदैन । मर्दा आखिरी सब थोक छोडेर जानु पर्दछ । यसरी मर्दा सब थोक छोडेर जानु नै पर्छ भने हाम्रो गाउँको विकासको लागि सानो योगदान दिँदा के नै फरक पर्छ र ?” यसरी विर्जमान दमाईले सबै मानिसहरूलाई पालैपालो सम्झाउने गर्दथ्यो ।

समाजमा प्रायः खान लाउन प्रसस्त पुग्ने जागिरवाला मानिसहरूले नै सानासाना कुरामा पनि बढ्ता कचकच गर्दथे । नेताका आफन्तीहरू, ठूला ठूला महल र चिल्ला गाडीका मालिकहरू, थुप्रै धन सम्पती र जग्गा जमिन हुनेहरु, प्रसस्त आम्दानी हुनेहरू जसलाई साँझ के खाऊँ र बिहान के खाऊँको कुनै समस्य छैन यस्ता खाले मानिसहरू सडकको लागि आफ्नो नामको एक इन्च जग्गा छोड्नु पर्दा पनि धुरुक्कै रुन पुग्दथे ।

बरु गरिब किसानहरू, काम गरेर घर धानिरहेका ज्यामी र मजदुरहरू, साना साना झुपडीमा दिन गुजारिरहेका बेरोजगार मानिसहरूमा कुनै लोभ लालचा देखिदैनथ्यो । उनिहरूले सडकको लागि आफ्नो नाममा रहेको सिंगो बारी र कान्लाहरू समेत सहजै छोड्न तयार हुन्थे । यिनै भुइँमान्छेहरूको साथ र आँट पाएकै कारणले समितिको सचिव शंकरदेवको जस्तोसुकै असहयोग र अबरोध भए पनि विर्जमान दमाई आफ्नो कार्यलाई पुरा गरेरै छाड्ने हिम्मतका साथ लागिपरिरहेको थियो । विर्जमान दमाईको यो हिम्मत देखेर त्यो बुढो रामनारायण भित्र भित्रै प्रफुल्लित भइरहेको थियो । आज भन्दा दश बर्ष अगाडि आफ्नो छोरा कर्मराजले देखेको सपना यो केटोले पुरा गर्ने भयो भन्ने विश्वासमा त्यो बृद्ध मान्छे भित्र भित्रै मख्ख थियो ।

काम शुरु भएको पन्ध्र दिन वितिसकेको थियो । पन्ध्र दिनमा भएको कामको मुल्याङ्कन हेर्दा निर्माण कार्यमा निकै उल्लेखनिय प्रगति देखियो । यही गतिमा काम हुन सक्यो भने निर्धारित समयमा नै राम्रो परिणामको साथ काम सम्पन्न हुन सक्ने सबैले अनुमान गर्न थाले । विगतको कामको तुलनामा विर्जमान अध्यक्ष भएर चलिरहेको कामको प्रगति देखेर सबै चकित पर्न थाले । सुरुमा शंकरदेवको उक्साहतमा केहि मानिसहरूले सामान्य किचलो उठाए पनि पछि विस्तारै सबैले कुरा बुझ्न थाले । पन्ध्र दिनको छोटो अवधिमा नै विर्जमान मायागाउँको लोकप्रिय मानिस बन्न थाल्यो । विर्जमानको यो लोकप्रियता देखेर सचिव बनेको शंकरदेव र उसको पक्षका मान्छेहरूमा भित्रभित्रै औडाहा चुलिदै जान थाल्यो । अतः यिनीहरूले माया गाउँमा एउटा भयनक घटना घटाउने योजना बनाइसकेका थिए । अबको कुनै पनि दिनमा माया गाउँमा ठूलै अनिष्ट हुनेवाला थियो ।

आज अनिष्ट घटना घट्ने त्यो दिन आइसकेको थियो । रातको ठिक १२ बजे भित्र त्यो घटना घटिसक्नेवाला थियो । अरु दिनको जस्तै आज पनि सडक निर्माणको कार्य धमाधम चलि नै रहेको थियो । विर्जमान दमाइले कुशलतापुर्वक कामको नेतृत्व लिइ नै रहेको थियो । शंकरदेव पनि आज विर्जमान दमाई सँगसँगै रहेर काम गरिरहेको वहाना गरिरहेको थियो । आज विर्जमानलाई शंकरदेव र उसका मान्छेहरूले अप्रत्यक्ष रुपमा कडा निगरानी गरिरहेका थिए ।

दिउँसो विर्जमान दमाईसँग केही गोप्य कुरा गर्ने उदेश्यका साथ त्यो बूढो मान्छे रामनारायण घुम्दै सडक निर्माण स्थलमा आइपुग्यो । तर त्यहाँको फरक माहोल देखेपछि रामनारायण कसैसँग केही पनि कुरा नगरी सरासर आफ्नो बाटो लाग्यो ।

साँझ पाँच बजेतिर रामनारायण मायागाउँमा रहेको कम्युनिष्ट पार्टीको वडा कार्यलयमा पुग्यो । उसले तत्कालै गाउँमा रहेका युवा कम्युनिष्टहरूको आपतकालीन बैठक बोलायो । गाउँका प्रतिबद्ध कम्युनिष्ट सदस्यहरू पनि त्यहाँ उपस्थित भए । कम्युनिष्ट पार्टीको वडा कार्यालयमा बसेको आपतकालिन बैठकमा रामनारायणले आजको पार्टीको योजना र निर्देशन जारी ग¥यो ।

बैठकको निर्णय बमोजिम छाया भञ्ज्याङको राकुली बोट जहाँ आजभन्दा दश बर्ष अगाडि कर्मराज झुन्डीएको अवस्थामा भेटिएको थियो उक्त भूगोललाई शत्रुले थाहा नपाउने गरी माया गाउँका युवा कम्युनिष्टहरूले पौने दश बजेतिर नै घेराबन्दी गरी दुस्मनको बाटो कुरेर बस्न थाले ।

यता आज विर्जमान दमाई घरमा एक्लै थियो । उसका जहान बच्चाहरू सबै मावलो गएका थिए । साँझको खाना खाएर विर्जमान सुतिसकेको थियो । चकमन्न अँध्यारो रातमा खुकुरी, चक्कु र पेस्तोल जस्ता हतियारले सुसज्जित नकावधारीहरूको एउटा जत्ठाले विर्जमानको घर घेर्न आइपुग्यो ।

“ए विर्जमान कहाँ छस् ढोका खोल ।” एउटा अपरिचित हतियारधारीले विर्जमानको ढोका ढककाउँदै करायो ।

ढोकाको ढकढक र मानिसको आवाजले विर्जमान दमाईको निद्रा भंग भयो । यो रातको बेलामा को हो ? भन्दै विर्जमान दमाईले आँखा मिच्दै ढोका खोल्न गयो । ढोका खुल्ने वित्तिकै डरलाग्दा राक्षसरुपी गुण्डाहरू हलाहल विर्जमानको घरभित्र पसे । यो सुनसान रातको बेलामा विर्जमान दमाईको घरमा भयनक आतंक छायो । एक शब्द पनि आवाज निकाले गोलीले उडाइदिने धम्कि दिँदै एउटा नकावधारीले उसको कञ्चतमा पेस्टोल राखिदियो । विर्जमान थरथरी काप्दै मौन भयो । तत्कालै विर्जमानको आँखामा कालो पट्टि बाँधियो । त्यसपछि विर्जमानलाई घरबाट निकालेर हिँडाउन थालियो ।

“तिमीहरू को हौ ? मलाई यसरी कहाँ लग्न थालेको ?” आँखामा पट्टि बाँधिएको विर्जमानले त्रसित हुँदै भन्यो ।

“चिनिनस म शंकरदेव ! आज भन्दा दश बर्ष अगाडि कर्मराज भन्ने मान्छे झुन्डिएको राँकुली बोटमा पुग्दैछस् बुझिस् । तैले आज अन्तिम सास त्यै ठाउँमा फेर्दैछस् । त्यो पनि राँकुलीको बोटमा लट्किएर हा.हा.हा…।” शंकरदेवले हाँस्दै भन्यो ।

यहाँ बोलेका सम्पूर्ण आवाजहरू शंकरको गु्रपमा सहभागी चिराग नाम गरेको एक नकावधारीले आफ्नो मोवाइलमा एकएक गरेर रेकर्ड गरिरहेको थियो । सँगसँगै उसले कतिपय महत्वपूर्ण दृश्यहरूको भिडियो फुटेजहरू पनि तयार गरिरहेको थियो ।

“मैले के गल्टी गरेको छु र तैले मलाई यति ठूलो सजाय दिन खोज्दैछस् ? मलाई छोडी दे !” विर्जमान दमाईले शंकरदेवसँग आफ्नो जीवनको भिख माग्यो ।

“यो बर्ष मायागाउँ छायाभञ्ज्याङ सडकबाट मलाई कम्तिमा पनि पचास लाख फाइडा हुनेवाला थियो । तँ सालाले गर्दा यसपटक एक रुपैया पनि हात नपर्ने भयो । मिलेर खाऊँ भन्दा पनि तैले मानिनस् । सबैभन्दा ठूलो गल्ती तैले यहीँनेर गरिस् । आज भन्दा ठिक दश बर्ष अगाडि कर्मराजले पनि ठिक यस्तै गल्ती गरेको थियो । उसको यसै गल्तीको कारण उसलाई मर्नु परेको थियो । अब कर्मराज जसरी मरेको थियो ठिक त्यसरी नै तँ पनि मर्छस् बुझिस् ।” शंकरदेवले विर्जमान दमाईलाई धम्कि दिँदै गर्दा उसले कर्मराजको मृत्युको पोल समेत खोल्दै थियो ।

“तैले पनि मर्ने बेलामा कान खोलेर सुन् । त्यसबेला कर्मराज आफै मरेको थिएन । तर मान्छेहरू आजसम्म पनि उसलाई आफै मरेको भन्ने भ्रम पालेर बाँचिरहेका छन् । उसलाई हत्य गरिएको हो भन्ने कुरा यी मान्छेहरूले कहिल्यै थाहा पाउने छैनन् । किनकि उसलाई झुन्डाएर मैले नै मारिदिएको हो । आज फेरी कर्मराज पछिको अर्काे शिकार तँ हुँदैछस बुझिस् । अब यो राकुलीको हाँगोमा तुर्लुङ्ग झुन्डिने पालो तेरो हो । अनि तेरो पनि पोष्टमार्टम र प्रहरी रिपोर्टले कर्मराजको जस्तै आत्महत्या नै गरेको प्रमाणित गरिदिने छ । बरु भन् तेरो अन्तिम इच्छा के छ ?” छाया भञ्ज्याङको राँकुली बोट मुनी झुन्ड्याउने अन्तिम तयारी पछि शंकरदेवले विर्जमानलाई अन्तिम इच्छा समेत सोध्न पुग्यो ।

“मेरो अन्तिम इच्छा अरु केही छैन । केवल यत्ति मात्रै छ कि जसरी पनि मैले कर्मराजले देखेको सपना पुरा गर्न सकूँ हा….हा….हा…।” यो भयनक क्षणमा पनि विर्जमानले हाँस्दै भन्यो ।

“मृत्युको मुखमा आइपुग्दा समेत तँ त हाँस्दै पो छस् त । के तलाई डर लाग्दैन ?” शंकरदेवले अचम्म मान्दै भन्यो ।

“हेर शंकरदेव ! मैले पनि हातमा दही जमाएर बसेको छैन । तँलाई लागेको होला कि यो ठाउँमा म एक्लै छु र माया गाउँका जनता लाटा छन् । अहिलेसम्म तँ ठूलो भ्रममा छस् । नपत्याए तँ आफैसँग रहेको चिरागलाई सोध ।” विर्जमान दमाईको बोलीमा पुरै आत्मविश्वास भरिएको थियो ।

“हँ चिराग !” शंकरदेव शसंकित हुँदै चिराग तर्फ फर्कियो ।

“हो । विर्जमान दाईले एकदम ठिक भन्दैछन् । आजभन्दा केही समय अगाडि गोप्य रुपमा विर्जमान दाइको विरुद्धमा तिमीले मान्छेहरूलाई उक्साउँदै हिँड्ने बेलामा रामनारायण बाजेले मलाई तिमीहरूको गु्रपमा घुसाएका हुन् । तिमीले सजिलै मलाई विश्वास गर्यौ । तर म तिम्रो मान्छे थिएन । म त विर्जमान दाइकै मान्छे पो हुँ त !” चिरागले कुरा प्रष्ट पार्दै भन्यो ।

“साले गद्दार, धोकेवाज ! ए केटा हो सिद्धाइदेऊ यी दुवै जनालाई !!” शंकरदेव बेहोसी मै करायो ।

“शंकरदेव ! अझै तँ भ्रममा छस् । यो ठाउँमा हामी दुइजना मात्रै होइन । हाम्रो साथमा छाया गाउँका पुरै युवा कम्युनिष्ट र जनताहरू छन् । ए शंकरे नपट्याए अब हेर । हामी दुइजना होइन तिमीहरूको पुरै ग्रुप सिद्धिन्छ….।” यति भन्दै चिरागले सांकेतिक सिठ्ठी बजायो ।

चिरागको सांकेतिक सिठ्ठी बज्ने वित्तिकै रामनारायणको नेतृत्वमा छाया भञ्ज्याङ घेरेर बसेको युवा कम्युनिष्टहरूको भब्य आवाजले आकाश गुञ्जयमान हुन पुग्यो । हत्यरा शंकरदेव मुर्दावाद ! भ्रष्टाचारी शंकरदेव मुर्दावाद ! जस्ता गगनभेदी आवाज सहित चारैतिरबाट मानिसहरूको ठूलो संख्या राँकुली बोटमा जम्मा भयो । तत्कालै शंकरदेव र उसका सबै भरौतेहरू युवा कम्युनिष्टहरुको कब्जामा पर्यो ।

“अब शंकरदेवलाई यै रुखमा झुन्ड्याउनु पर्छ ।”

“हो हो हत्यको बदला हत्यले नै लिनु पर्छ ।” राँकुली बोटमा जम्मा भएका मानिसहरूबाट शंकरदेवलाई कार्वाही गर्ने सम्बन्धमा अनेक विचारहरू उठे ।

“कामरेडहरू ! आज बल्ल मेरो मनमा शान्ति मिलेको छ । हामी सबैको प्रयास र एकताले आजभन्दा दश बर्ष अगाडि मारिएको मेरो छोरा कर्मराजको हत्यरा पत्ता लागेको छ । प्रत्यक्ष लडाइमा मृत्युवरण गरेका बाहेक हाम्रो कब्जामा रहेकालाई मार्नु हाम्रो मानवियता पनि होइन र हाम्रो नीति पनि त्यस्तो छैन । तसर्थ युवा कम्युनिष्टका होनहार सदस्य कामरेड चिरागले संकलन गरेको सबुत प्रमाणको आधारमा कार्वाही गर्नको लागि छाया गाउँमा रहेको कम्युनिष्ट पार्टीको वडा कार्यालयले बाटो खोज्ने छ । अब विर्जमानलाई सडक निर्माणमा अबरोध सिर्जना गर्ने कोही हुने छैन । कामरेड विर्जमानले सदाझैँ सडक निर्माणको जिम्मेवारीलाइ तदारुकताका साथ अगाडि बढाउनु पर्नेछ । शंकरदेवको कार्वाही तथा निगरानीको लागि चिरागको नेतृत्वले काम अगाडि बढाउने छ ।” छाया भञ्ज्याङको राकुली बोट मुनी मध्यरातको एक बजेतिर रामनारायणले सेतै फुलेको जुँगा हल्लाउँदै पार्टीको निर्णय सुनायो ।

यो घटना घटेको महिना दिनमा नै माया गाउँ छायाँ भञ्ज्याङ सडकको निर्माण कार्य सम्पन भयो । सरकारी रकमले नपुगेको बाँकी काम समेत विर्जमानको आव्हानमा छायागाउँका जनताले श्रमदान गरेर पुरा गरिदिए । फराकिलो, कालोपत्रे, सडकको छेउछेउमा वृक्षरोपण, ठाउँ-ठाउँमा आकर्षक पार्कहरू, मानौ स्वर्ग जाने बाटो जस्तै बनेको छ यो सडक । विर्जमान दमाईको पालादेखि असारे सडकको नाममा खान पल्केकाहरूको मुख अब पुर्ण रुपमा बुजिएको छ । यो बाटोमा आवत जावत गर्नेहरूको दुःखको दिन हटेको छ । सबैको ओठमा मुस्कान बाहेक अरु देखिदैन । कालोपत्रे भएको मुख्य सडकबाट हाँगो फाटेर छायाभञ्ज्याङतिर जानकोलागि झन राम्रो कालो पत्रे बाटो बनेको छ । हिजो आज छाया भञ्ज्याङ जाने मानिसहरूको निकै नै भिड लाग्ने गर्दछ ।

छायाभञ्ज्याङ एक स्वर्गको अनुभुति दिलाउने स्थान बनेको छ । त्यहाँबाट देखिने माया गाउँ, सेता हिमाल अनि हरिया प्राकृतिक स्थलहरूले को पो मन्त्रमुग्ध नहोला र ? माया गाउँ छाया भञ्ज्याङ सडकलाई यति सुन्दर बनाउने सपना देख्ने मान्छे कर्मराज थियो । यसैले त छायाभञ्ज्याङमा मायागाउँका मानिसहरूले कर्मराजको उच्च मुल्याङ्कन गर्दै उसको सुन्दर शालिक निर्माण गरिदिएका छन् ।

त्यहाँ पुग्ने सबैले उक्त शालिकमा श्रद्धाको पुष्प अर्पण नगरी कोही फर्किदैनन् । हिजो आज यो बाटोको नाम के हो ? भनेर सोध्यो भने कसैले पनि मायागाउँ छायाभञ्ज्याङ सडक भनेर भन्दैनन् । न त हिजो आज यसलाई असारे सडक नै भन्छन् । हिजो आज सबैले यो सडकलाई नयाँ नामले चिन्ने गर्दछन् । यो सडकको नामाकरण गर्नको लागि रामनारायण र विर्जमान दमाइको मुख्य भूमिका रहेको छ । मुख्य सडकबाट हाँगो फाटेर दायाँबाट सिदै अगाडितिर बढेको बाटोलाई संकेट गर्न चोकमा एउटा ठूलो नेम प्लेत राखिएको छ । त्यसमा बाण चिन्हले संकेट गरेर ठूला ठूला अक्षरमा लेखिएको छ, “कर्मराजमार्ग” ।

“मेरो छोरा मरेर पनि अमर भएको छ ।” रामनारायणले मानिसहरूको अगाडि गर्वका साथ छोराको बारेमा खुब फुर्ति झार्ने गर्दछ । दारी जुँगा फुलेर सेतै भएको र अनुहार चाउरिएर मुजा परेको त्यो रामनारायण सहित छायागाउँका समग्र गाउँलेहरूलाई बुढेसकालमा कर्मराजमार्गले अपार खुशी दिएको छ । यसरी कुनै बेलाको यो असारे सडक हिजोआज कर्मराज मार्ग बनेर मख्ख छ । कुनै बेला इन्डियाको सिमानाबाट खालि पैतला डोकोमा नुन बोकेर खाने मानिसहरूको जिन्दगी भोगेको यो कर्मराज मार्गले अचेल आफ्नै घरको ढोका अगाडि आएर गाडीबाट फुट्ट ओर्लने र फेरी आफ्नै घर आँगनबाट गाडीमै चढेर सरर यात्रा गर्ने आधुनिक मानिसहरूको नयाँ जीवन यात्रा एकतमासले नियालिरहेको छ ।

(रुकुम पश्चिम) by nepalisahityaghar