काठमाडौं जाँदाको अनुभूति
म जन्मेर हुर्केको घर पुरानो छानो थियो । फुसको छानो भएको घर । करिव चार पाँच वर्षको अन्तरालमा नयाँ छानो फेर्नु पथ्र्यो । वि स २०५७ साल वैशाख महिनाको समय । बुबाले घरको छाना छाउने भनेर दशबाह्र जना बाहुरे बोलाउनु भएको थियो । त्यसवेला मलाई पनि छाना छाउन रहर लागेकाले अलीअली सिक्न पनि थालेको थिँए । छाना छाउनका लागि अरु दक्ष व्यक्तिहरु थिए तर पुरानो छानो फयाँक्नका लागि म पनि छानामा चढेर पुरानो ध्वाँसो सहितको खर फ्याँके ।
पुरानो जमानाको घर त्यसमा पनि हल भएकाले भान्सा गर्दा दाउरा बालेको धुवाँले गर्दा छाना रङ्गिएको हुन्थ्यो जसले गर्दा धुलो नाकमा पसेर रुघाखोकी लाग्ने प्रबल सम्भावना रहन्थ्यो । धुलोले गर्दा मलाई रुघा लाग्यो । उपचारको लागि घरेलु उपचार गरेँ तर निको हुन सकेन । स्थानीय स्वास्थ्य चौकी चुन्वाङ गैरीगाउँ गएर स्वास्थ्य जाँच गरी औषधी सेवन गरेँ । रुघा निको भएपनि घाँटी भने दुखिरह्यो ।
करिब पाँच छ महिना पछि उपचारको लागि रुकुमकोट अस्पताल गएँ । रुकुमकोटमा स्वास्थ्य जाँच गरेर औषधी लिएर सेवन गरेँ । औषधी सेवन गरेको अवधिमा केही सञ्चो होलाजस्तो भयो तर बल्झिरह्यो । केही महिनापछि रुकुम मुसिकोटको सल्य अस्पतालमा स्वास्थ्य शिविर बस्ने भयो । केन्द्रबाट विशेषज्ञ डक्टरहरु आउने सुनियो । सदरमुकाम पुग्न झन्डै एकदिनको समय लाग्थ्यो । स्वास्थ्य उपचारको लागि हिँडेर मुसिकोट सल्य पुगियो ।
त्यसवेलाको समयमा स्वास्थ्य शिविर बस्ने भनेपछि रुकुमका दुर्गम गाउँबाट उपचार गर्न मानिसहसहरुको भीड लाग्थ्यो । उपचार गर्ने मानिस धेरै हुने भएकाले नाम दर्ता गरेर लाइनमा उभिनु पर्दथ्यो । करिब एक घन्टापछि पालो आउँथ्यो । उपचारपछि एक महिनाको औषधी लिएर घर फर्किएँ । एक महिनासम्म औषधी सेवन गरे तर सुधार भएन । केही महिनापछि उपचार गर्न भनेर नेपालगञ्ज पुगेर नाक, कान घाँटी रोग विशेषज्ञलाई जचाएर औषधी लिएर आएँ । औषधी करिव एक महिनाभन्दा बढी सेवन गरियो तर सुधार हुन सकेन । औषधी सेवन गरुञ्जेल केही सुधार होला जस्तो हुने तर पछि उस्तै भयो ।
यसरी घाँटीको उपचारको लागि यहाँसम्म गरियो कि लगातार दुई वर्षसम्म तातोपानी पनि सेवन गरियो । थर्मसमै राखेर त पिइएन तर बटलमा राखेर उमालेर सेलाएको पानी भने सेवन गरियो । लामो समय घरबाहिर रहँदा भने निकै समस्या पथ्र्यौ । कहिलेकाहीँ त तातोपानी नपाउने अवस्थामा पानी नपिएरै बस्नुपर्ने बाध्यता रहन्थ्यो । घरजस्तो बाहिर कहाँ पो हुन्छ र? नेपालगञ्जको उपचार पश्चात् केही महिनापछि फेरि उपचारको सिलसिलामा दाङ हुँदै काठमाडोँ सम्म पुग्ने योजना बनाएँ ।
यसैसिललिामा रुकुमजस्तो दुर्गम जिल्लाको चुन्वाङ लाखरबाट यात्राको थालनी गरेँ । २०६४ साल माघ २५ गते घरबाट निस्केर आफूसहित तीन जना माडीखोला पार गर्दै घर्तीगाउँको बेङखोला भन्ने ठाउँमा बास बस्न पुग्यौँ । दोस्रोदिन त्यहाँबाट हिँडेर तिलाको नौँ वजे बिहानको दोस्रोगाडी चढ्यौँ । त्यो वेलाको समयमा सडक यातायात रोल्पाको गैरीगाउँ गाविसको तिला भन्ने बजारसम्ममात्र सुचारु थियो । बिहान नौँ बजे हिँडेको दिउँसो तीन बजे घोराही पुग्यौँ । दाङ पुगेपछि ३ जना अलग अलग स्थानमा बस्यौँ ।
त्यसवेला मैले महेन्द्र संस्कृत विश्वविद्यालय अन्तर्गत वेलझुल्ढी दाङबाट एक वर्षे बी एड गरेकाले स्नातकोत्तर तह भर्ना हुन माइग्रेसनको आवश्यक पर्ने भएकाले माइगे्रसन लिन भोलिपल्ट वेल्झुन्डी गएँ । विजौरी क्याम्पसबाट माइगे्रसनका लागि सिफारिस त बनाएँ तर मसविको परीक्षा नियन्त्रण कार्यालय विदा रहेछ । विदा परेकाले कार्यालयका एकजना कर्मचारीलाई भेटी कागजातहरु दिई फर्किएँ । मैले मसविबाट बी एड गरेको तर त्रिविबाट स्नातकोत्तर तह उत्तीणर््ा गर्नु पर्ने भएकाले माइगे्रसन चाहिएको हो । बिचबिचमा रोकिदै पढ्ने क्रम जारी थियो । महेन्द्र ंसंस्कृत विश्व विद्यालय बिजौरी , बेलझुन्डी दाङबाट एक वर्षे बी एड गरेकाले फेरि त्रिभुवन विश्वविद्यालयबाट एम एड गर्न लागिएकाले यी दुवै विश्वविद्यालय फरक फरक भएको स्जातकोत्तर तह भर्ना हुन माइग्रेसन चाहिने भएको कारण माइग्रेसन लिन विजौरी जानुपर्ने भएको हो ।
यतिबेला दाङको घोराही बजारमा डा. नरेन्द्रध्वज कार्की एक चिकित्सक थिए । अन्यत्र जचाएर निको नभएका बिरामीहरु उनीकहाँ जान्थे । .उनले बिरामीको राम्रोसँग जाँच गर्नुका साथै विरामीहरुलाई मनोवैज्ञानिक परामर्श दिन्थे । यसैक्रममा म पनि उनैलाई जचाउने भनेर त्यहाँ पुगेँ । मेरो घाँटीको जाँच गर्ने सिलसिलामा उहाँले घाँटीमा खासै समस्या नदेखिएको तर यसको सही निदानका लागि एकपटक काठमाडौंको महाराजगञ्ज स्थित टिचिङ हस्पिटल जानुपर्ने सल्लाह दिनु भयो ।
२०६४ साल माघ २६ गतेको दिन डा नरेन्द्रध्वज कार्कीको सल्लाह अनुसार काठमाडौंको महाराजगञ्ज स्थित टिचिङ् हस्पिटलमा उपचारमा जानका लागि दाङबाट साँझ पाँच वजेको रात्रि सेवाको गाडी चढियो । काठमाडौं जाने क्रममा मेरो गाउँका छिमेकी साइनोले ज्वाइँ पर्ने साउनेपानीका चन्द्र वहादुर पुन पनि काठमाडौँ जाने संयोग परेकाले सँगै गाडीमा चढयौँ ।
काठमाडौँ जाने क्रममा गाडीले केही ढिलो गर्न थाल्यो । घोराहीबाट ठिक पाँच वजे हिँड्नुपर्ने गाडी छ वज्दा सम्म पनि एक घन्टासम्म त घोराही बजारमै घुमायो । बल्ल छ वजे घोराहीबाट काठमाडौँको गाडी चल्यो । लमही पुगेपछि फेरि करिव दुई घन्टाजति गाडी रोकियो । गाडीमा डिजेल सिद्धिएकाले तेल राख्नुपर्ने भयो ।कस्तो दुर्भाग्य पेट्रोल ट्याङकमा पनि तेलको भण्डार सिद्धिएको कारण डिजेल पश्चिमबाट आएपछि वल्ल नौँ वजे राति त्यहाँबाट हिँड्यो । भालुवाङ पार गरेर गाडी शिवपुरमा चन्द्रौता हुँदै इमिलिया भन्ने ठाँउँमा खाना खुवाउन पुर्यायो । बिचमा गाडी रोकिएका कारण खाना खुवाउन निीश्चत स्थानमा पुर्याउन सकेन । खाना खाएपछि पनि करिव एक घन्टा ढिलो भयो ।
यति ढिलो हुदै जानुको कारण के रहेछ भने याितवेला नेपालमा देशमा दश वर्षे जनयुद्धको अन्त्य भई सङ्क्रमणकालीन अवस्थामा नेपालभर ढिजेलको अभाव थियो । तेल अभावका कारण यातायातका साधन सञ्चालन गर्न समस्या भइरहेको थियो । गाडीचालकले काठमाडौँ पुगेपछि फर्कर्ने क्रममा जगेडाको लागि तेल खोज्न गएकाले ढिला भएको भन्ने सुनिएको थियो । गोरुसिङे, बुटवल हुँदै बर्दघाट पार गरेर जङ्गलको बिचमा प्रवेश गर्दा म अर्धनिद्राको अवस्थामा रहेछु । यतिवेला चालकले गाडीलाई असाध्यै गतिमा कुदाएका रहेछन् किनभने यतिवेला चितवन पार गर्ने गाडी तेल अभावका कारण केही ढिलो भएको थियो । भोलि बिहान समयमै गन्तव्यमा पुर्याउन चालक तत्पर देखिन्थे ।
मलाई बसमा चढ्दा निकै सकस हुन्थ्यो । बसमा चढेपछि रिङ्टा लाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने, गाडी चड्दा सधै बिरामी जस्तो भइरहने र शरीर कमजोर हुने लगायतका समस्याहरु ह्ुन्थ्यो र भइरहन्थ्यो । यस्तो अवस्थामा निद्रा त लाग्दैन तर आँखा बन्द गरेर बाहिरको दृश्य नहेर्ने हो भने अली बान्ता कम हुन्थ्यो तर शारीर अस्वस्थ जस्तो भइरहन्थ्यो । के गर्ने मलाई गाडी चढ्दा मलाई कहिल्यै फ्रेस भएन । बर्दघाट पार गर्दासम्म म खासै निदाएको थिएनँ, पछि म निदाएछु । गाढी एक्कासि माथि उर्लिएको र, पल्टन खोजेको भान भयो । म पनि ब्युँझिएर बाहिरतिर हेरेँ । मलाई असाध्यै डर लाग्यो । बाहिरको दृश्य हेर्दा सढकको किनारमा केही मान्छेहरु थिए भने भैँसीहरु प्नि थिए । रातिको समय हुस्सु पनि लागेकाले केही देखिदैन्थ्यो ।
गाडी तिव्र गतिमा कुदिरहेको र हुस्सु पनि भएका कारण सडकमा भएको भैसीलाई जोगाउन निकै कठिन भएछ । प्रयास गर्दा गर्दे भैसी किचिदा गाडी पल्टन खोजेछ । भैसी अगाडि टायरमा बेरिएपछि गाडी ब्याक गरेर दुर्घटना जोगाइ गाडी कुदाएको रहेछ । भैसी त मैले पनि देखेँको थिए । त्यहाँ भैसी र ५।६ जना मानिसको समूह रहेछ । त्यहाँ रहेको समूहले भैसीको पाडो किचिएपछि उक्त समूहले हसियाँ गाडीमा फ्याँक्दा सिसा फुटेर एउटा यात्रीलाई झन्डै चोट लाग्न पुगेछ । प्रहार गरेको हसियाँ पनि गाडीभित्रै रहेछ ।
यतिवेला सम्म यात्रु र चालकको के भनाइ थियो भने सडकको किनारमा भैसी तेस्र्याएर केही डाँकुहरुले लुटपाट गर्न खोजेको भन्ने थियो । जव हामी जङ्गलको यात्रा पार गरेर नवलपरासीको गैँडाकोट इलाका प्रहरी कार्यालय अगाडि पुग्यो तब ट्राफिक प्रहरीले गाडी रोक्यो । गाडी चालक स्टाफहरुलाई प्रहरीले कब्जामा लिई यात्रीसहितको गाडीलाई कम्पाउन्डभित्र हलिहाल्यो । खास कुरो के रहेछ भने गाडी भैसीको पाडो किचेर मारेको कारण प्रहरीले गाडी नियन्त्रणमा लिएको रहेछ । रातिको समयमा भैसी सहितका मान्छेहरु भैसीजालक थिए वा डाँकुहरु थिए त्यो भने थाह हुन सकेन । यतिवेला रातको तीन वजेको थियो ।
यसरुी उज्यालो हुँदासम्म पनि आधा बाटो पार हुन सकेको थिएन, किन कि चितवन पुगेपछि मात्र आधा बाटो पार हुन्थ्यो । यसरी गाडी प्रहरीको नियन्त्रणमा परेपछि यात्रुहरुको अवस्था बिचल्ली भयो । न त यात्रा गर्न पाइयो न त निदाउन नै । विजोग भयो । यात्रीहरुले चालकलाई छोड्न र आफूहरुलाई वैकल्पिक उपाय अबलम्वन गरेर भएपनि गन्तव्यमा पु¥याइदिन अनुरोध गरेँ तर कसैको केही लागेन, बिचरा गन्तव्यमा पुग्न आतुर यात्रुहरुको कुनै सुनुवाइ भएन । राति तीन वजेदेखि उक्त प्रहरी कार्यालयमा रहेका विभिन्न जिल्लाका यात्रीहरु विहान दस वज्दासम्म अविराम निन्याउरो मुख लगाएर टोलाइ रहे । करिब ४०।५० जना यात्रीहरुले गाडीको व्यवस्था गरिदिन दबाव दिइरहे । यात्रीहरुले अब जुन गाडी आउँछ त्यसैमा चढेर भएपनि जाने तरखरमा थिए ।
मध्यान्ह बाह्र वजेतिर भैरहवाबाट काठमाडौँको लागि हिँडेको गाडी आयो धेरैजसो त्यही गाडीमा चढे । म पनि त्यही गाडीमा चढेँ । गाडी केही खाली भएकाले अलपत्र परेकाहरु मध्ये धेरैजसोलाइै राहत मिल्यो । मलाई गाडी चढ्दा वान्ता हुने भएकाले क्याबिनमा बसेँ । दाङबाट हिडेका सबै यात्रीहरु सबैले पुनः दोहोरो भाडा तिर्यौ । साझँ छ वजेतिर काठमाडौँ पुगियो । त्यतिवेला मेरा जेठा साला भक्तपुरमा पढनुहुन्थ्यो । म काठमाडौँ गएको यो दोस्रो पटकको थियो । थानकोट, कलङ्की हुँदै बालाजु पुगेर म भक्तपुरको गाडी पर्खिरहेँ । भक्तपुर जाने गाडी अली ढिलो आयो । सालाले भक्तपुरको सानोठिमी क्याम्पसमा पढ्ने भएकाले त्यहीँ ओर्लिएँ र फोटोकपी पसलमा गएर सालालाई फोन गरेर नजिक आउन भनेँ । सालाले मलाई लिन आएपछि कोठामा पुगियो । सालाको कोठा सानोठिमी पुग्दा रातिको आठ वजेको थियो । खाना खाएर दाङबाट गाडी चढेदेखि काठमाडौँ पुगुञ्जेलसम्मका घटनाहरु सुनाउदै गफ गद नौँ वजे राति सुतियो ।
भोलिपल्ट बिहानको खाना खाएर घाँटीको उपचारको लागि महाराजगञ्ज शिक्षण अस्पतालमा पुगियो । स्वास्थ्य जाँच गराएपछि ढाक्टरबाट सामान्य औषधी लिएर फर्किएँ । भोलिपल्ट फाल्गुण १ गते जनयुद्ध दिवस परेकाले ने क पा माओवादीले वर्षगाँठकोे अवसरमा विशाल जनसभाको कार्यक्रम गरेकाले खुल्लामञ्चको उक्त कार्यक्रम हेरियो । खुल्लामञ्चको चारैतिरबाट राता झन्डाहरु र झाँकीसहितको जुलुस निकै रोमाञ्चक देखिन्थ्यो । अध्यक्ष प्रचण्ड लगायत वरिष्ठ नेताहरुको भाषण पनि सुनियो । जनमानस धेरै भएकाले खुल्लामञ्चमा मानिसहरु नअटेर बाहिरबाट पनि कार्यक्रम सुनिरहेका र हेरिरहेका थिए । यतिवेला माओवादीले सशस्त्र युद्ध त्यागेर विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरी संविधान सभाको चुनाव मार्फत देशमा संघीयता, समावेशीता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ अघि बढने प्रतिवद्धताका साथ जनयुद्धलाई अन्त्य गरेर शान्तिपूर्ण बाटोमा आएकाले आम नेपाली जनताहरुको आसा र भरोसा पनि भएकाले खुल्लामञ्चको सभालाई निकै चासोको रुपपा लिइएको देखिन्थ्यो ।
फाल्गुण २ गते काठमाडौँबाट फर्कने योजना बनाएको त उक्त दिन मधेसी फोरोमहरुको तराई बन्दका कारण आउने भएन । मधेसीहरुको बन्द २ गतेका लागि मात्र नभएर अनिश्चित कालीन रहेछ । भोलिपल्ट ३ गते बुटवल हुँदै पश्चिम जाने यात्रीहरु धरै भएकाले मुग्लीनबाट पोखरा , स्याङ्जा ,पाल्पा हुँदै बुटवल झरियो । बुटवलमा पुगेर त्यहाँबाट पश्चिम जानका लागि सहयोग गर्न भनेर अनुरोधका लागि इलाका प्रहरी कार्यालय बुटवल पुग्यौँ । डि एस पी लाई भेटेर साझा समस्या राख्यौँ तर केही सुनुवाइ भएन । सबै निराश भयौँ । भोलिपल्ट ४ गते गाडी चढेर गोरुसिङ्गे सम्म त आयौँ तर त्यहाँबाट कसरी अगाडि बढ्ने समस्या भयो । गाडी नचल्ने भएपछि बाध्य भएर पैदल हिडनु पर्ने भयो । गोरुसिङ्गेसम्म गाडीमा आएका सबै यात्रीहरु त्यहाँबाट पैदल हिडेर चन्द्रौता पुग्यौँ । चन्द्रौताबाट रिक्सामा चढेर शिवपुर पुग्यौँ ।शिवपुरमा एउटा ट्याक्सी पाइएकाले प्रतिव्यक्ति रु १०० तिरेर भालुवाङ पुगियो । अनिश्चित कालीन तराई मधेस बन्दको समयमा ट्याक्सी चल्नु र ट्याक्सीमा चढ्रनु निकै जोखिमपूर्ण थियो । ट्रयाक्सी चालकले जोखिम मोलेर चलाइरहेको अवस्था थियो भने हामी यात्रीहरुले पनि असुरक्षित महसुस गरिरहेका थियौँ । त्यसमा पनि यात्रीहरु धेरै भएकाले राम्रोसँग सिट नपाउँदा कोही छतमा कोही झुन्डिएको अवस्था । म पनि झुन्डिएर बडो मुश्किलका साथ पार गरैँ । एकातिर खसेर लडिने हो कि भन्ने त्रास, अर्कोतिर बन्दकर्ताको आक्रमणमा परिने हो कि भन्ने त्राासै त्रास, ठुलो सङ्कटमा परिएको थियो । भालुवाङ आइपुग्दा दिउँसो ३ : ०० वजेको थियो । भालुवाङबाट करिव ४-५ किलोमिटर पैदल हिँडेर बिचबाट रु १२५ तिरेर १६ किलोमिटर रिक्सामा चढियो । सडकमा प्रहरीका भ्यान हिडेका देखिन्थे,सडकमा बन्दकर्ताहरुले ढुङ्गाहरु प्नि थुपारेका थिए । बडो दुः ख लाग्दो कुरो त के थियो भने यात्रीहरुको खर्च सिद्धिएर पश्चिमका सुर्खेत, दैलेख,कालिकोट, सल्यान, दाङ,रुकुम, रोल्पाका यात्रीहरु कोही रिक्सा र कोही पैदल निन्याउरो मुख लगाएर हिडिरहेका थिए । भालुवाङ र लमहीको बिच बाटोमा एउटा गाडी र ट्रयाक्सी जलाइएको थियो । साँझ हामी ६:३० वजे लमही बजार बस्यौँ । मलगायत तीन व्यक्तिहरु सँगै थियौँ ।
भोलिपल्ट बिहान ६ ००वजे लमहीबाट हिडेको अर्जुनखोला हुँदै,मस्कोटखोला आइपुग्यौँ । मस्कोटखोलामा आउँदै गार्दा एउटा बस भरिभराउ यात्रीहरु लिएर जोखिम मोल्दै तिव्रगतिमा आयो । हामी चढ्नका लागि सङकेत गरेर रोक्न खोज्यौँ तर रोकिएन । हामीहरु बाध्य भएर हिड्नु पर्ने भयो । चौपट्टाको उकालो पार गरेर मध्यान्ह बाह्र वजे कुइरेपानी आयौँ । लक्ष्मीपुरको गोग्लीमा आएपछि बल्ल एउटा टेम्पो भेटियो तर चढेको एक मिनेटमा बिग्रिएकाले फेरि अर्को टेम्पो चढेर घोराही बजार पुगियो । घोराही पुग्दा दिउँसो २ ०० वजेको र मलाई वेलझुन्डी जानु पर्ने भएकाले गाडी चढेर गएँ । जाँदा साविककै भाडा तिरेको थिँए भने फिर्ता हुँदा २० को दोब्बर दुईबिस भाडा तिरेर फर्किँए । यतिवेला तराई मधेसक्षेत्र पूर्णरुपमा बन्द भरुका कारण यातायातका साधन बन्द थिए भने छिमेकी राष्ट्र भारतबाट डिजेल नआउँदा नेपालभर डिजेलको अभाव भएकाले इन्धनको गाडी चलाउन पनि समस्या परिरहेको थियो ।
नेपालमा यतिवेला संविधान सभाको चुनावको तयारीमा जुटिरहेको देखिन्छ ।ने क पा माओवादीले संविधान सभाको चुनाव मार्फत सम्पूण उत्पीडित जाति, वर्ग, लिङ्ग तथा आम श्रमजीवि वर्गको हक अधिकार सुनिश्चित हुनेगरी जनसंविधान निर्माण गरी राष्ट्रलाई समृद्ध बनाउने रणनितिका साथ अगाडि बढिरहेको छ भने नेपालका सबै राजनैतिक दलहरु प्नि संविधान सभाको चुनावलाई सफल पार्न लागिरहेका छन् । आज फाल्गुण ७ गते घोराहीबाट घर फर्कन भनेर विहानै उठियो । हिजो नेै दाङबाट रोल्पाको तिला आउने गाडीको टिकट लिएको थिँए । रोल्पा हुँदै रुकुमको जाने बाटो अहिले तिलाभन्दा माथि पुगेको छैन् । गाडीमा आउनेक्रममा दहबन पार गरेर भाङगोवारी झर्दैगार्दा तिलाबाट दाङजाने गाडी उकालोमा बिग्रिएकाले साइड काट्न नपाउँदा ढिलो हुन पुग्यो । भाङ्गोबारीमा करिब ३० मिनेट डिलो भयो । यसरी बाटोमा ढिला हुँदा दिउँसो १:३० वजे तिला पुगियो । १२:०० वजे नै तिलामा पुर्याएको भए राति ९ : ०० वजेसम्म घर नै पुग्ने विचार थियो तर के गर्नु र ? यसपट्कको यात्रा निकै सकस बन्यो । आज घरबाट निस्केको १३ दिन भइरकेको थियो । हिजो राति तिलाको लेकमा हिउँ परेछ जसका कारण हिड्न पनि समस्या पर्यो तैपनि हरेश नखाएर बेङखोला, घर्तीगाउँ, चिउरागाड हुँदै माडीको तीरैतीरु सम्झदै मनका पीर साँझको ६ ३० वजे सिस्ने पुगेर वास बसियो । भोलिपल्ट बिहानै उठेर विद्यालय पुग्नेगरी हिडियो र पुगियो पनि ।
म घरबट उपचारको लागि हिडेको माघ २५ गते हो भने आज फागुन ८ गते घर फर्किदा आज २ हप्ता पूरा भयो । एक हप्तामै घर फिर्ने योजनाका साथ दाङ हुँदै काठमाडौँ उपचारमा गएको भएपनि देशमा सङ्क्रमणकालीन अवस्था , राजनैतिक अस्थिरताका कारण भइरहेका विभिन्नखाले राजनैतिक आन्दोलन र तराई मधेस बन्दका कारण जीवनमा अहिले सम्मको सङ्कट पार गरेर आइयो । हुन त जीवन भनेकै सुख दुःखको सँगालो हो भन्ने पनि गरिन्छ सायद त्यस्तै अनुभूति भयो ।
सोचेको जस्तो र कल्पना गरेको जस्तो जीवन कहाँ पो हुन्छ र ? त्यस्तै यात्रा पनि । जीवन एउटा लामो यात्रा भएकाले, कहिल्यै नटुङ्गिने, नपुगेको ठाउँमा पुग्नुपर्ने, नभोगेको दुःख भोग्नु पर्ने, नसोचेको काम हुनुपर्ने, कहिले भोकै बस्नुपर्ने, रोग लागेर उपचार गर्दा पनि निको नहुने । कस्तो दुर्भाग्य भनौँ या सौभाग्य । जन्मेपछि मर्नु पर्ने प्रकृतिको नियम । बाँचुञ्जेल यो पुगेन त्यो पुगेन, असन्तोषी बन्ने । आखिर एकदिन सबै मरेर माटोमा मिल्नुपर्ने यो जिन्दगी तर पनि बाँचिरहौँ जस्तो लाग्ने यो कस्तो जिन्दगी । घर पुगेपछि यस्तै यस्तै विचार मनमा खेलिरह्यो ।
(रुकुम पूर्व) by nepalisahityaghar
प्रतिकृया दिनुहोस्