March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

स्वतन्त्रता

  • सुरेन उप्रेती

स्वतन्त्रता शब्द सामान्यतया कुनै राष्ट्र वा व्यक्तिले कुनै पनि दवावमा नपरी, स्वतन्त्र ढंगले निर्णय गर्ने उपभोग गर्ने नीतिनियम बनाउने र लाग गर्न पाउने अधिकार हो ।

Advertisement

स्वतन्त्रता भन्ने शब्दको प्रयोग हुन थालेको जहिले भए पनि मानव सभ्यताको विकाशसँगै मानिसले स्वतन्त्रताका लागि संघर्षहरू गर्न थालेको पाइन्छ । मानिसको चेतना विकाशसँगै आफ्नो बसोवासको क्षेत्रका लागि संघर्ष सुरू भए । अरूले सङकलन गरेर राखेका खानेकुरा लुट्ने र लुट्न नदिनेका बिचमा संघर्ष भए । अरूले मारेर ल्याएका जंगली जनवारहरूको मासुमा संघर्ष भए । पालेका जनवारहरू लुट्ने र जोगाउनेहरूका बिचमा संषर्ष भए । अरूले जंगल फाँडेर आवाद गरेको जमिन हडप्ने र जोगाउनेहरूका बिचमा संघर्ष भए ।

Advertisement

अरू समुदायका मानिसहरूलाई लुटेर दास बनाउने र लुटिन नमान्नेहरू बिचमा संघर्षहरू भए । यसै क्रममा समूह समूह हुँदै गाउँ र देशहरू बन्दै गए । प्राकृतिक संसाधन लुट्ने र जोगाउनेहरूका बिचमा संघर्ष भए । बलियाहरूले निर्धाहरूलाई लुटे । राजा महाराजा बने । अझ बलियाहरू आएर उनीहरूलाई पनि आफ्नो वसमा राखे । यसरी नै नेपालका बाइसे चौविसे राज्यहरू हुँदै सिंगो नेपाल बनेको हो ।

भारतका बिभिन्न राज्यहरू लिँदै अंग्रेजले सिंगो भारत लियो । बेलायतले सन्सारका दुईसय देशहरू मध्य एकसय एकहत्तर देशहरूमा आफ्ना सैनिकहरूलाई परेड खेलाएको थियो । भारतमा रहँदा वेलायतले नेपालप्रति बक्रदृष्ट्रि मात्र लगाएन, सैन्य आक्रमण समेत गरेको थियो । तर साहसी नेपालीहरूले नालापानी, किल्लाकाङगडाका साहसी युद्धहरू लडेर अंग्रेजलाई बहादुरीताको साहसिक परिचय दिए । यसरी नेपालको स्वतन्त्रतालाई जोगाई राख्न सफल भयौँ ।

नेपालले अरू देशझैँ परायको गुलाम बन्नु परेन । फ्रान्सले त्रिसट्ठीवटा देशलाई उपनिवेस बनाएर स्वतन्त्रता हरण गरेको थियो । त्यस्तै स्पेनले पैँतिस देशको स्वतन्त्रता लुटेको थियो । जर्मनीले बाइसवटा देशहरूलाई आफ्नो कव्जामा लिएर पराधिन बनाएको थियो ।

संसारभरि स्वाधिनताका युद्धहरू भए । स्वतन्त्रताका संघर्षहरू भए । आज संसारका धेरै देशहरू आजाद बनिसकेका छन् । स्वतन्त्रता प्राप्त गरी सकेका छन् । समयकाल र परिस्थिति अनुरूप मानिसले पनि स्वतन्त्रताको परिभाषा परिवर्तन गर्दैलान्छ । मानिस धार्मिक आस्थाको स्वतन्त्रता चाहन्छ । राजनैतिक विचारमा अभिव्यक्ति स्वतन्त्रता चाहन्छ । लैंगिक स्वतन्त्रता चाहन्छ । जात, धर्म, बर्ण र लिंगका आधारमा हुने विभेदका विरूद्धमा आवाज उठाउँछ । विभेदरहित समाजको परिकल्पना चाहन्छ ।

कति शासकहरू, धार्मिक र राजनैतिक ठेक्केदारहरू अझै पनि धार्मिक आस्थाको ढाल लगाएर चेतनालाई रोक्न प्रयासरत देखिन्छन् । अदृश्य दैविक त्रास र भय हुर्काएर आफ्नो प्रभुसत्ता कायम गर्न उद्दतछन् । परंपरा र सनातनको बर्को भित्र गुम्स्याएर कज्याई राख्न चाहन्छन् ।

शिक्षा प्राप्त गर्नु र शिक्षित हुनु भनेको प्रमाण पत्र पाउनुमात्र हैन । व्यक्तिले प्राप्त गर्ने शिक्षा त्यस समाजको ऐना हो । व्यक्तिमा समाजको अवस्था प्रतिविम्वित हुनु पर्दछ । व्यक्तिले प्राप्त गरेको शिक्षाले समाज परिवर्तनका लागि कुनै चेतना प्रदान गर्न सक्दैन भने । समाजलाई कुनै उपयोगी बन्दैन भने त्यो शिक्षा प्रदान गर्ने संघसंस्था प्रति पनि जनआस्था स्खलित हुन थाल्दछ ।

शिक्षित मानिसले नैतिकवान हुने शिक्षा प्राप्त गर्नु पर्दछ । समाजलाई नैतिकवान बनाउने दाइत्व शिक्षित बर्गको हुनु पर्दछ । मानिस मानिसमा  हेर्ने दृष्ट्रिकोण र व्यवहारमा  समानता आउन सक्नु पर्दछ । जन्मका आधारमा हुने लैंगिक फरकताप्रतिको भेदभाव हुनु हुँदैन । पेशाका आधारमा र कामका आधारमा बनाइएका जातका विभेदकारी पर्दाहरू च्यात्न शिक्षाले सक्नु पर्दछ । अनि मात्र व्यक्तिको स्वतन्त्रता कायम हुन सक्दछ र समाजले स्वतन्त्रता प्राप्त गर्दछ ।

नेपालको छिमेकी देश भारतले अंग्रेजबाट उन्मुक्ति पाएको पनि करिब ७४ बर्ष भयो । भौतिक रूपमा स्वतन्त्र भए पनि संस्कारिक रूपमा उही मालिक र दासको प्रवृति छ । श्रमिक र श्रमजिवीहरूलाई दासको रूपमा हेर्ने र व्यवहार गर्ने प्रवृति यथावत छ । सरकारी कर्मचारी हुनु भनेको साहेब हुनु हो । ठूलो मानिस हुनु होभन्ने प्रवृति कायम छ । अंग्रेजले त्यसै गरेका थिए । खासमा कर्मचारीहरू भनेका जनताका नोकरहरू हुन ।अंग्रेजीमा Public Servant भनिन्छ । जो श्रमजिवी मानिसहरूले तिरेको करमा बाँचेका हुन्छन् । उनीहरू र राजनितिज्ञहरूले जनतालाई अन्नदाताका रूपमा सम्मान गर्नु पर्ने हो । तर अंग्रेजले सिकाएको दासमनोबृतिबाट समाज मुक्त हुन सकेको छैन । स्वतन्त्रता प्राप्त गर्न सकेको छैन । यसैको प्रभाव नेपालमा पनि पर्न गयो ।

जनताको करमा बाँचेकाहरु कामदार (Public Servant) र श्रमजिवीहरूलाई मानिस नै गन्दैनन् । उनीहरूको वोली र व्यवहार अर्कै ग्रहबाट आएको जस्तो हुन्छ । आफुले माथिल्लो तहका मानिसलाई गर्ने चाकडीझैं सबैले जी हजूरी गरून भन्ने चाहना राख्दछन् । जुनकामका लागि उनीहरूलाई राखिएको छ । त्यो काम गरेवापत् पैसामाग्ने दुस्साहस गर्दछन् । यो प्रवृति भनेको दास मनोविज्ञान प्रवृतिबाट स्वतन्त्र हुन नसक्नु नै हो ।

आजको भर्चुवल दुनियाँले संसारलाई नै एउटा ग्लोवल भिलेजबनाइ दिएको छ । हामीले पूजा गर्ने गरेका चन्द्रमा र मंगल ग्रहहरूमा मानव बस्ती बसाउने होड चल्दैछ । हामीभने जातिय भेदभावका दलदलबाट उक्सिन सकेका छैनौ । हामी कहिले रूकुको चौरझारीमा डढ्दै हुन्छौँ । कहिले पनौती र धादिङको रूखमा झुण्ड्याइन्छौँ । कहिले डेराबाट लखेटिन्छौँ । सार्वजानिक स्थलमा अपमानित हुन्छौँ । छुट्टै धारा, कुवामा सिमित पारिन्छौँ । अझै कति समाजशास्त्री, सामाजिक अभियन्ता, राजनितिज्ञ, प्राध्यापक, डाक्टर,साहित्यकार, सचेतवर्ग आदि उपमाले परिचित हुन चाहान्छौँ ।

आफुले टेकेको धरातलको स्वतन्त्रता गुमेको छ । आफु हुर्केको धरातलमा मान्छेलाई मान्छे हुँ भन्ने स्वतन्त्रता छैन । हामी मानवअधिकार कर्मीको विल्ला धडेर मन्चमा आशिन हुन पुग्छौँ । बाहिरी दूनियाँले आफ्नो मातृभूमिमा भएका भेदभावको कुरा उठाउँदा निगुरमुण्टे न भएर बस्नु पर्छ । हामीले कहिले सबै मानिसलाई स्वतन्त्रताको उपभोग गर्न पाउने सचेतसमाज बनाउन सक्छौ होला है । by nepalisahityaghar