August 3, 2021, Tuesday
१९ श्रावण २०७८, मंगलवार

आवैको सम्झना

  • हरिप्रसाद भण्डारी

साठी वसन्त पार गरिसकेपछि बालवयका कुरा सम्झिँदा पनि सपनाजस्तै लाग्दो रहेछ ।

कैयौँ घटनाहरू स्मृतिबाट बिस्तारै बिलाउँदै गए । सम्झिएका घटनाहरू पनि सपनाजस्तै भए । केही घटनाहरू श्यामश्वेत चलचित्रजस्तै अहिले पनि आँखा अगाडि घुमिरहन्छन् । तिनै सम्झनामा रहेका छायाँचित्रहरूलाई यहाँ शब्दचित्रमा उतार्ने प्रयास गरेको छु । यी सम्झनाहरू लिपिवद्ध गर्न खोज्दा अहिले पनि म बाल अवस्थामै छु कि भन्ने भान परिरहेको छ । प्यारी हजुरआमाको हात समातेर वरपर कुँदिरहेको अनुभूति भइरहेको छ ।

हिन्दी शब्द सापटी लिएँ, ‘कास !’ बालवय पुनः दोहोरिने भए कति मजा हुँदो हो !

उत्तरतिर आकाश छुन तम्सिएका चाँदीका मुनाजस्ता धौलागिरि, अन्नपूर्ण र माछापुच्छ«े हिमालयको ताँती, अलितल हरिया पहाड, झन् तल कलकल गर्दै बग्ने छल्दी र रोदी; दक्षिणमा पूर्वदेखि पश्चिमसम्म लम्पसार परेर बसेको बर्बोटको डाँडो; पूर्वमा ऋष्यश्रृङ्ग ऋषिले तपस्या गरेको रमणीय रेसुङ्गा गिरि र पश्चिममा ऐतिहासिक चौबिसे राज्यमध्येको एक धुर्कोट राज्यको अवशेष रहेको र हाल कोटको रूपमा रूपान्तरण भएको धुरकोटको चुली । यति चार किल्लाभित्र समथर भूभाग भएकोले वस्तु नामाकरण भएको सुन्दर गाउँ, यसै गाउँको केन्द्रविन्दु कालिका मन्दिर र श्री हिमालय उच्च माध्यमिक विद्यालयदेखि थोरै उत्तरतिर उच्च स्थानमा रहेको सानो घरमा मेरो जन्म भएको कुरा म जान्ने भएपछि मेरी आमा र बुवाबाट थाहा पाएको हुँ ।

मैले थाहा पाउँदा म जन्मेको घर सानो, पुरानो र जीर्ण थियो । खरको छानो भएको उक्त घर पूर्वबाट पश्चिम फर्केको थियो र घरको अगाडि र दायाँतिर खरकै सानो पाली थियो । घर भित्रको भाग साँगुरो र अँध्यारो थियो । सानो घरभित्र बिचमा अँगेनो, कुनामा चुल्हो, अर्को कुनामा आँटीमा जाने काठको लिस्नो र अँगेनाको डिलमा ओछ्यान थियो । दुई जनासम्म सुत्न मिल्ने उक्त ओछ्यानलाई ठुलो ओछ्यान वा मूल ओछ्यान भनिन्थ्यो ।

अँगेनोसँगै सानो मजेरी र मजेरीसँगै पानीका गाग्री राख्ने गग्रेटो थियो । गग्रेटोसँगै सानो ढोका थियो । बुवा र म ठूलो ओछ्यानमा सुत्थ्यौँ । हजुरआमा चुल्हातिर कुनामा सुत्नुहुन्थ्यो । आमाको सुत्ने ठाउँ ढोकानिरको कुनो थियो । त्यो बेला अहिलेजस्तो सबैका लागि अलग अलग कोठा थिएनन् । खाटमा सुत्ने चलन पनि थिएन । भुइँमा गुन्द्री ओछ्याउने र गुन्द्रीमाथि डसेना वा पाखी ओछ्याएर सुत्ने चलन थियो ।

हाम्रो सानो घर दुई तले थियो । माथिल्लो तलालाई आँटी भनिन्थ्यो ।आँटीमा जानका लागि एकसरो लिस्नो थियो । आँटीमा झ्याल, ढोका केही पनि थिएनन् । होचो थियो र दिउँसो पनि अँध्यारो हुन्थ्यो । आँटीमा फाँक, घैँटा, भकारी र अन्य थोत्रामोत्रा सामान हुन्थे । फाँक, घैँटा र भकारीमा अनाज हुन्थ्यो । कहिलेकाहीँ हजुरआमासँगै म पनि आँटीमा जान्थेँ । त्यहाँ मलाई निकै डर लाग्थ्यो ।

आँटीमा मुसा दगुर्थे । मुसाको सिकार गर्न कहिलेकाहीँ बिरालो आउँथ्यो । बिरालाले मुसा मार्न नसकेको दिन कुँडेको दूध चोरेर खान्थ्यो । बिरालाले दूध खाएको दिन हजुरआमा निकैबेर गनगन गर्नुहुन्थ्यो । बिरालालाई गाली गर्नुहुन्थ्यो र नजिक देखे झटारोले हान्नुहुन्थ्यो ।

पछि बुवाले पुरानो घर भत्काएर त्यसैको अगाडि तीन तले घर बनाउनुभयो । नयाँ घर ठुलो र फराकिलो थियो । त्यसमा सरेपछि हामीलाई धेरै सजिलो भयो ।

हजुरआमालाई हामी आवै भन्थ्यौँ, बुवालाई बाउ र आमालाई आमा ।

हजुरआमा होची र पुड्को कदकी हुनुहुन्थ्यो । धेरै मोटी र हेर्दै टिठलाग्ने खालकी दुब्ली पनि हुनुुहुन्नथ्यो । बृद्ध भइकन पनि कपाल खासै फुलेको थिएन । आँखामा कुनै समस्या थिएन । मुखमा दाँत भने एउटा पनि थिएनन् । कुप्री परेर र पछाडि हात बाँधेर हिँड्नुहुन्थ्यो । लौरो टेकेर हिँडेको भने देखिनँ । घरभित्रको सबै काम गर्नुहुन्थ्यो ।

मलाई चौपट्टै माया गर्नुहुन्थ्यो । नानी भनेर बोलाउनुहुन्थ्यो । बुवा र आमाले पनि मलाई नानी नै भन्नुहुन्थ्यो । पछिसम्म पनि मेरो घरायसी नाम नानी नै रह्यो । बुवाले अन्तिम अवस्थासम्म पनि मलाई नानी नै भन्नुभयो र आमाले अहिले पनि नानी नै भनेर बोलाउनुहुन्छ । बुवाआमाले मलाई कहिले पनि मेरो नाम पुकारेर बोलाउनु भएन ।

आवैले मलाई सधैँ घिउ राखेको भात खुवाउनु हुन्थ्यो । घिउ खाँदा खाँदा वाक्क भएर मैले मार्सीको भात पकाउनु न आवै भन्थेँ । किनकि मार्सीको भातमा घिउ हालेर पकाउने चलन थिएन । उहाँले हुन्छ भन्नुहुन्थ्यो तर पकाउने बेला घिउ हालेकै भात पकाउनुहुन्थ्यो ।

घरको बाहिर सानो आँगन र आँगनसँगै जोडिएको गोठ थियो । आँगनको पूर्वतिर तुलसीको मठ थियो । मठमा सधैँजसो तुलसीको बिरुवा हुन्थ्यो । घरसँगै दायाँतिर नास्पातीको बोट र त्यो भन्दा पूर्व बाँसको झ्याङ थियो । बारीका ढिकमा दबदबे, किम्बु, खैन्यू र बेडुलाका रुख पनि थिए । समग्रमा भन्नुपर्दा घर वरिपरिको वातावरण हरियालीपूर्ण थियो ।

चैत वैशाखको समयमा मध्यान्हपछि पश्चिमतिरबाट तेज हावाआउँथ्यो । हावाले नास्पाती, बाँस र अरु रुखबिरुवाहरूलाई खुबै हल्लाउँथ्यो । जोडले हावा चल्दा स्वाँस्वाँको आवाज आउँथ्यो । कहिलेकाहीँ घर र पालीको खर समेत उडाएर लैजान्थ्यो । ठूलो हावा चल्दा म निकै डराउँथेँ ।

मैले माथि पनि भनिसकेको छु— हाम्रो घर पुरानो र जीर्ण थियो । घरको उत्तरतिरको गाह्रो अलिकति भत्किएको थियो । एक दिन त्यही भत्किएको ठाउँमा कताबाट एउटा सर्प पुगेछ । लुतपुताएको देखियो । त्यो बेला घरमा आवै र म मात्रै थियौँ । एक्कासि सर्प देखेपछि हामी दुवै जना डरायौँ । आवैभन्दा पनि म बढी डराएँ र रुँन थालेँ ।

“लौ न नि सर्पले मेरो नातिलाई खाने भयो !” यसो भन्दै आवै आत्तिनुभयो ।

नजिकमा गुहार गर्ने मान्छे कोही थिएनन् । जे गर्नुपथ्र्यो आवै एक्लैले गर्नुपथ्र्यो ।

आवै डराई डराई घरभित्र पस्नुभयो र कपडाका पुराना टाला अँगेनामा हालेर घरै ढाक्ने गरी धुवाँको मुस्लो निकाल्नुभयो ।

म डरले आँगनको एउटा छेउँमा उभिएको थिएँ । आवै बाहिर निस्कनुभयो । भत्केको गाह्रोको नजिक जानुभयो र “गडुल आयो, गडुल आयो” भन्दै चिच्याउनुभयो । त्यो बेला आवैले के भन्नु भएको हो, मलाई थाहा भएन । पछि थाहा पाएँ । उहाँले गरुड (एक प्रकारको चील) आयो । तँ भागिहाल् । भागिनस् भने तलाई गरुडले खान्छ । यस्तै यस्तै भन्नुभएको रहेछ ।

सर्पले आवैको कुरा कति सुन्यो, कति बुझ्यो मलाई थाहा भएन तर बिस्तारै बाहिर निस्कियो र तल बाँसघारीतिर गयो । सर्प भागेपछि मेरो मन अलि शीतल भयो । आवै पनि स्वभाविक गतिमा आउनुभयो । त्यो दिन सर्प गए पनि धेरै दिनसम्म सर्पको डर मेरा मनमा रहिरह्यो । सपनामा पनि तर्साइरह्यो ।

बाआमा सधैँ काममा जानुहुन्थ्यो । मेरी पालनकर्ता आवै नै हुनुहुन्थ्यो । कहिले बोकेर त कहिले हातको औँलामा समाएर डो¥याउँदै वरपर गराउनुहुन्थ्यो । मलाई कतिबेला भोक लाग्छ, कतिबेला तिर्खा लाग्छ, कतिबेला सुताउनुपर्छ, यी सबै कुरा उहाँलाई थाहा थियो । उहाँले मेरो निकै ख्याल गर्नुहुन्थ्यो ।

समय समयमा आवै र मेरी आमाका बिचमा समान्य कचकच भइरहन्थ्यो । उहाँहरू झगडा गरेको सुनेर मलाई नमज्जा लाग्थ्यो । त्यस्तोखाले झगडा बुवा घरमा नभएको बेलामा बढी हुन्थ्यो । केही समय झगडा गर्थे र पछि आफै मिल्थे ।

मलाई अहिले पनि एउटा घटनाको सम्झना छ । एक दिनआवै र आमाका बिचमा भिषण झगडा भयो । झगडाको विषय के थियो मलाई सम्झना भएन तर झगडा अरु दिनको भन्दा चर्को थियो ।

जाडो सुरु हुने महिना थियो । भर्खर खाना खाएका थियौँ । आमाले बाहिर आँगनको डिलमा बसेर भाँडा माझ्दै हुुनुहुन्थ्यो । आवै दलानमा बसेर बत्ति कात्दै हुनुहुन्थ्यो । यस्तैमा झगडा सुरु भएको थियो । एकैछिन् चर्काचर्की भएपछि आवैले “यो घरमा तैँ बस, तैँ खा, हामी नाति बजै जान्छौँ” भन्नुभयो । अनि मतिर फर्केर “हिँड् नानी जाम्” भन्दै लुगाको सानो पोको समाएर घरबाट निस्किनुभयो ।

म हजुरआमाको प्यारो नाति भएकोले उहाँको कुरा काट्न सक्दिनथेँ, लागेँ अघि । सुरुमा हामी कहाँ जाँदैछौँ भन्ने कुरा मलाई थाहा भएन । तैपनि आवैको भनाइ मानेर उहाँसँगै घरबाट हिँडेँ ।

आवैले मलाई घरमुनिको साँगुरो ड्वा (डगर) को बाटोब्यारेघर पु¥याउनुभयो । ब्यारेघरबाट मूल बाटो सुरु हुन्थ्यो । घर पनि बाक्ला थिए । मानिसहरूको आवतजावत पनि बढी नै हुन्थ्यो । सधैँ घरमा एक्लै बसेको म खुला ठाउँ देखेपछि खुसी भएँ । हामी ब्यारेघर हुँदै पौँडीतिर लाग्यौँ । त्यसपछि मैले हामी तल खर्कतिर जाँदै छौँ भन्ने अनुमान लगाएँ ।

वयस्क व्यक्तिलाई हाम्रो घरबाट खर्क पुग्न आधा घण्टाजति लाग्छ तर हामीलाई धेरै समय लाग्यो । एक त हामी छिटोछिटो हिँड्न सक्दैनथ्यौँ । अर्कोतिर आवैले बाटामा भेटिने मानिससँग गुनासो गर्नुहुन्थ्यो, “बुहारीले हेला गरी, खान लाउन दिइन, घरमा बस्न पनि दिइन, घरबाट निकाला गरी त्यसैले हामी खर्कतिर जाँदै छौँ ।”

गुनासो सुन्नेहरूले के कस्तो प्रतिक्रिया दिए, मैले ख्याल गरिनँ ।

हामी पौँडीदेखि चिल्लाट, किटनी, बजारमारे, चिसापानी, खगेठाँटी हुँदै केहीबेरमा खर्क पुग्यौँ ।

खर्कमा सानो गोठ थियो । बर्खा खेती लगाउने र हिउँदमा खेती भित्राउने समयमा हामी त्यसैमा बस्थ्यौँ । गोठको तल भैँसी, गोरु बाँधिन्थ्यो र हामी माथि बस्थ्यौँ । चुल्हो पनि माथिल्लो तलामै थियो ।

खर्क पुगेको केही समयसम्म निकै रमाइलो भयो । हामी दुवै जना मिलेर सुत्ने ठाउँ र चुल्हो सफा गर्यौ। आवैले कुचोले पुरै आँटी बढार्नुभयो । सफा त ग¥यौँ तर सुत्नका लागि लुगा र खाना पकाउनका लागि अनाज तथा भाँडाकुँडा भने हामीसँग थिएनन् । अरु कुरा छोडौँ पिउने पानी पनि थिएन ।

केहीबेरमा बिहान खाएको खाना पच्दै गयो । भोक र प्यासले अत्याउन थाल्यो । त्यसपछि म ‘भोक लाग्यो’ भन्दै आवैसँग गनगन गर्न थालेँ ।

“के खान्चस् तो खै ? तेरी आमाले अघ्घोरै हेला गरी । मेरा सम्पतिमा रजाइ गरेर पनि मलाई स्यार गरिन ।” आवै एक्लै गनगन गर्न थाल्नुभयो ।

“आवै भोक लाग्यो ।” मेरो रोँतरोँत बढ्दै गयो ।

“हिँन् तो घरै जाम् । आफ्ना घराँ नगएर काँ जानी तो ।” केही समयपछि आवैले निर्णय सुनाउनु भयो । मेरो मन पनि घरतिरै जान लालायित थियो । आवैका कुरा सुनेपछि खुशी भएँ ।

त्यसपछि हामी जसरी आएका थियौँ, उसरी नै घरतिर फर्किने भयौँ । फर्कने बाटो भने फरक भयो । बिहान हामी मुलबाटो आएका थियौँ । बेलुकी आवैले मलाई कसैले नदेख्ने गरी गैरापाटाको खर्यान हुँदै काफलपानीको बाटो हिँडाउनुभयो । साँझ नपर्दै हामी घर पुग्यौँ ।

आमाले हामी फर्केको देख्नुभएको रहेछ । खाजा बनाएर राख्नुभएको थियो । घर पुगेपछि केही नबोली दिनुभयो । हामीले पनि केही नबोली खायौँ । मैले देखेँ, हामीलाई देखेर आमा मुसुमुसु हाँसिरहनुभएको थियो ।

त्यो बेलासम्म बहिनी जमुना जम्निसकेकी थिइन् । भाइ विष्णु भने पछि जन्मेका हुन् । बहिनी कहिले र कहाँ जन्मिन मलाई थाहा भएन तर भाइ जन्मेको भने मलाई अलिअलि सम्झना छ ।

आमा बेथा लागेर छटपटाइरहनु भएको रहेछ । हामी केटाकेटी मात्रै थियौँ घरमा । हामीलाई केही भन्नुभएन । भित्र र बाहिर गरिरहनु भएको थियो । मलाई डर लाग्यो अनि आत्तिँदै पल्लाघर गएँ र पल्लाघरकी आवैलाई बोलाएर ल्याएँ । आमा पिडाले छटपटाउँदै बारीमा पुग्नुभएछ । भाइलाई त्यहीँ बारीमै जन्माउनुभयो । एकैछिन्पछि अरु महिलाहरू पनि जम्मा भए र आमाको उद्धार गरे ।

त्यो बेला अहिलेजस्तो अस्पतालमा बच्चा जन्माउने चलन थिएन । मलाई लाग्छ आमाले काम गर्दागर्दै भाइलाई जन्मानु भएको हो । नत्र बारीमा किन जन्माउनु पथ्र्यो र ? कतिपय आमाहरूले घाँस काट्न वा खोतवारीमा काम गर्न गएको बेला नानी जन्माएर सँगै ल्याएको कुरा पनि गर्थे । त्यो बेलाको चलनै त्यस्तै थियो ।

हामी साना छँदा गाउँमा अस्पताल थिएनन्, चिकित्सक त झन् हुने कुरै भएन । निमोनिया, झाडापखाला, आउँ जस्ता सानातिना बिमारीले पनि बालबच्चा अकालमा मर्थे । जन्मेका दर्जनौँ बच्चा मध्ये थोरै मात्रै बाँच्थे । कोही बच्चा अकालमा म¥यो भने देवताका प्यारा भए भन्ने चलन थियो । मलाई लाग्छ हामीले प्रकृतिलाई जितेर ‘देउताका प्यारा’ भएनौं । मेरा दुईटी दिदीहरू उपचार नपाएर सानैमा ‘देवताका प्यारा’ भए ।

आमा भन्नुहुन्छ— “त्यो बेला चिसो लाग्छ भनेर आगोमा सेक्ने, तेलले मालिस गर्ने, घाममा सुकाउने, पुराना भए पनि बाक्ला लुगा ओडाइदिने र पूरापूर आमाको दूध चुसाउने चलन थियो । बालबालिकाहरू आँगन र पिडीमा लोटेनन् वा धुलो हिलोमा लडीबुडी खेलेनन् भने बलिया हुँदैनन् भन्ने चलन थियो ।”

यो सबै चक्र हामीले पार ग¥यौँ । आफ्नै सिगान, माटो र फोहोर त कति खायौँ कुन्नि । नजानेर आची पनि खायौँ कि !

मैले माथि पनि भनिसकेको छु, हजुरआमाको ढाड कुप्री परेको थियो । दुवै हात पछाडी समाएर बिस्तारै हिँड्नुहुन्थ्यो । लौरो टेकेको भने मलाई सम्झना छैन । मुखमा एउटा पनि दाँत थिएनन् । दाँत नभएको हुनाले उहाँ हरदम मुख चलाइरहनुहुन्थ्यो । मुख चलाउँदा केही खाएको जस्तो देखिन्थ्यो ।

बहिनी जमुना सानै थिइन् । आवैले मुख चलाएको देखेपछि झगडा गर्न थाल्थिन् । उनको आसय ‘आवैले के खानुभयो, मलाई दिनुभएन’ भन्ने थियो । जमुनाको गनगन देखेपछि आवैले घाँटीको प्वाल देखिने गरी आँ गर्नुहुन्थ्यो र मुखमा केही नभएको प्रमाण पेश गर्नुहुन्थ्यो । दाँतविहिन आवैको मुख ओडारजस्तो डरलाग्दो देखिन्थ्यो ।

म घरको जेठो सन्तान भएको हुनाले भाइबहिनीहरूको धरालो गर्ने जिम्मा मेरो काँधमा आउन थाल्यो । त्यो बेलाका मेरा छिमेकी साथीहरू काली दिदी, रुमा भाइ, पल्लाघरकी माइली दिदी र कान्छी बहिनी, पुजेरीका घरमा बस्ने अधिकारीका छोरी लाटी र लुरी आदि थिए । हामी दिनभरि गाउँघरे खेल खेलेर समय बिताउँथ्यौँ ।

हाम्रो घर नजिकै कालापोखराको चौर थियो । चौरको बिचमा कालिकाको मन्दिर र मन्दिर नजिकै दुईटा पोखरी र तीनोटाजति पँधेरा पनि थिए । एउटा पोखरी कालिका मन्दिरको अगाडि थियो । त्यस पोखरीमा धेरैजसो समय पानी भइरहन्थ्यो । हामी पोखरीका किनारमा बसेर ढुङ्गा फाल्थ्यौँ र पानी तरङ्गिएको हेथ्र्यौँ । त्यसो गर्दा धेरै रमाइलो हुन्थ्यो ।

पोखरीको डिलमा साना ठूला भ्यागुता बसेका हुन्थे । हामीले ढुङ्गा फाल्न थालेपछि सबै भ्यागुताहरू फत्रक फत्रक गर्दै पानीमा हाम फाल्थे । त्यो दृष्य पनि औधी रमाइलो हुन्थ्यो । कहिलेकाहीँ हामीले फालेको ढुङ्गाले लागेर भ्यागुता मथ्र्यो र सेतो भुँडी माथि देखाएर पानीमाथि तैरन्थ्यो । त्यो बेला उक्त भ्यागुतो कसले मार्यो भन्ने विषयमा हामी बिचमा विवाद हुन्थ्यो । ‘मैले फालेको ढुङ्गाले लागेर मरेको हो’ सबैले जिद्धि गथ्र्यौँ ।

पोखरीको नजिकै किनारमा एउटा ठूलो पिपलको रुख थियो । उक्त रुखमुनि रातिको समयमा बोक्सिनी नाच्छन् । मैले कतिचोटी देखेको छु भन्दै बुढापाकाहरू गफ गर्थे । हामी ट्वाल्ल परेर सुन्थ्यौँ । रातिमा बोक्सिनी नाँचे पनि दिउँसो हाम्रो खेल खेल्ने कृडास्थल बनेको थियो उक्त पिपलको छायाँ ।

अर्को सानो पोखरी मन्दिरदेखि केही दुरीमा पूर्वतिर थियो । त्यस पोखरीमा कालो र फोहर पानी हुन्थ्यो । सायद त्यही पोखरीमा कालो पानी भएको हुनाले उक्त ठाउँको नाउ कालापोखरा भएको हो कि !

तीन ठाउँमा भएका पँधेराहरूमध्ये दुई ठाउँका पँधेराहरूमा निकै राम्रो पानी उम्रन्थ्यो । पछि चौर बनाउने निहुमा सबै पोखरी र पँधेरा पुरियो । पिपलको बोट पनि जरैदेखि ढालियो । अहिले पोखरी नहँुदा पनि त्यस ठाउँको नाम कालापोखरा नै रहेको छ । उतिबेलाका विभिन्न सार्वजनिक स्थलमध्ये हाल कालिका मन्दिर र समीको वृक्षबाहेक अरु केही छैनन् ।

दिनहरू रमाइलोसँग बितिरहेका थिए । एक दिन अनर्थ भयो ।

अघिल्लो दिनसम्म सकुसल हुनु भएकी आवै एक्कासि बिरामी हुनुभयो । हनहनी जरो आयो । जिब्रो अस्वभाविक रूपमा सुन्नियो र केही खान नहुने भयो ।

आवैको घरायसी उपचार सुरु भयो । कसैले जडीबुटी कुटेर रस खान दिए । कसैले आखत हेरे । कोही धामी काम्न थाले तर आवैलाई बिसको उन्निस भएन । मानिसहरूको आवतजावत बढ्दै गयो ।

हेर्दाहेर्दै थुप्रै मानिसहरू जम्मा भए । एउटी महिलाले आँगनको किनारमा रहेको तुलसीको मठनिर लिपिन् । एक जनाले हत्तपत्त नयाँ गुन्द्री झिके र त्यही ठाउँमा लगेर ओछ्याए । अरु चार पाँच जनाले पिँडीमा सुेतकी आवैलाई उचाले र त्यहीँ लगेर गुन्द्रीमा सुताए ।

मानिसहरू आत्तिएका थिए । बहिनी जमुना दलानमा रुँदै थिइन् । म पिँडीमा बसेर यो सबै दृश्य हेरिरहेको थिएँ । मानिसहरू रुँदै गरेकी बहिनी, भाइ र मेरो पनि कुनै वास्ता गरिरहेका थिएनन् । सबै जना केके भन्दै वरपर गरिरहेका थिए ।

बिहानको समय थियो । हामीले खाना खाएका थियौँ कि थिएनौँ, त्यो कुरा सम्झना भएन । धेरैबेर खैलावैला भयो । दिउँसोतिर सबै रुँन थाले । अरु रोएको देखेर म पनि रोएँ । बहिनी पहिलेदेखि नै रोइरहेकी थिईन् । धेरै हल्ला भएपछि सुतेका भाइ विष्णु पनि उठे र कोक्रोमै रुन थाले ।

यस्तैमा कसैले मलाई उठाएर आवै भएको ठाउँमा लगे । कचौरामा पानी राखेका थिए । तामाको थुम्रीले आवैलाई खुवाउन लगाए । बिहानको तुलनामा आवैको जिब्रो झन् बाक्लो र अनुहार पनि डरलाग्दो भएको थियो । डराई डराई मुखमा पानी हालिदिएँ ।

मैले खुवाएको पानी घुटुक्क निलेजस्तो लाग्छ मलाई त्यस्तैमा कसैले भन्यो, “लौ जानुभयो, केटालाई यता तान ।”

उनीहरूले भनेको कुरा मैले कत्ति पनि बुझिनँ । कसैले मलाई जुरुक्क उठाए र पहिलेकै स्थानमा ल्याएर राखे ।

“नातिको धोको रहेछ । नातिले जल ख्वाइदिएपछि जानुभो ।” रुँदै एउटी महिलाले भनिन् ।

अघिको मन्द रुवाइ चर्को हुँदै गयो ।

चार पाँच जना मिलेर नजिकै रहेको बाँस काटे । सेतो कपडा ल्याए । सबै मिलेर आवैलाई एउटा बाँसको घारोमा बाँधे, सेतो कपडाले ढाके र बोकेर घरबाट बाहिर निकाले । आवैलाई कहाँ लैजादैछन् भन्ने कुरा मैले अनुमान गर्न सकिनँ । कसैसँग सोध्न पनि सकिनँ ।

आवैलाई लगेपछि आँगनमा जम्मा भएका लोग्ने मान्छेमध्ये एक दुई जना बाहेक अरु सबै गए । महिलाहरू कोही पनि गएनन् । आवैलाई लगेपछि घरमा भएका महिलाहरू झन् चर्को स्वरमा रुन थाले । मेरी आमा पनि निकै रुनुभयो । उहाँ त्यसरी रोएको पहिलोचोटि देखेको हुँ ।

आवैलाई लगेपछि महिला र पुरुषहरू मिलेर अघि आवैलाई सुताएको ठाउँ र घर आँगन हरियो गोबरले लिपे । अरु पनि के के गरे मलाई याद भएन ।

बेलुकीपख गाउँकी एउटी महिलाले हामीलाई दुध र भात मात्रै खान दिइन् । भातमा अलिकति घिउ पनि हालिदिइन् ।

“तरकारी खै ?” मैले सोधेँ ।

“तरकारी खान हुन्न बाबु ।” रुँदै आमाले भन्नुभयो ।

तरकारी किन खानु हुन्न भन्ने कुरा मैले थाहा पाइनँ, कसैले भनेन ।

अर्को दिन बिहान म उठ्दा माइला बुवा र मेरा बुवा सेतो कपडा ओडेर पालीको कुनामा बसिरहनुभएको थियो । उहाँहरूले दाह्री कपाल खौरिनुभएको थियो । यसो हेर्दा अचम्मको मान्छेजस्ता देखिनुहुन्थ्यो । सुरुमा त मैले आफ्नै बुवालाई चिनिनँ । पछि चिनेपछि काखमा जान खोजेको थिएँ तर नजिकै बसेका एक जनाले जानै दिएनन् । “बुबालाई छुनुहुन्न” उनैले भने ।

“आवै खोइ त ?” मैले सोधेँ ।

कोही बोलेन । भोलिपल्ट कसैले भन्यो, “आवै खोलामा माछा मार्न जानुभएको छ । केही दिनपछि आउनुहुन्छ ।”

निकै दिन आवैको बाटो कुरेर बसेँ तर कहिल्यै आउनुभएन । आवैको सम्झनाले सताउन थाल्यो । अनि बल्ल आवैलाई सम्झेर रुन थालेँ ।

अहिले आवैको झिनो सम्झनाबाहेक अरु केही छैन मसँग ।

(गुल्मी) by nepalisahityaghar