April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

भानु जयन्ती मनाउनुको सार्थकता

भैरहवा- भर जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भैकन आज यस्तो

Advertisement

मेरा इनार न त सत्तल पाटी नै छन्
जे धन चीजहरु छन् घर भित्र नै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु नराखी कीर्ति

Advertisement

नेपाली भाषाका प्रथम कवि भानुभक्त आचार्यको मंगलबार २०८ औं जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कोरोना महामारीका कारण सीमितको उपस्थितिमा कार्यक्रम गरिँदै छ ।

भानुभक्तले लोकको भावना र मर्मलाई अभिव्यक्त गरेका छन् । भानुभक्तलाई आदिकवि भनिन्छ । उतिबेला संस्कृत भाषामा साहित्यको रचना हुनेगर्दथ्योे । उनले नेपालीमा लेखे । सामान्य लोकले समेत उनलाई बुझे । उनी लोकप्रिय बने । त्यसैले पनि भानु अझै सबैको मनमनमा छन् ।

यस वर्ष भानु जयन्तीको अवसरमा नेपाल र नेपाली भाषालाई माया गर्ने विभिन्न संघसंस्थाले भानु जयन्ती मनाउँदै छन् । वि.सं. १८७१ मा तनँहु जिल्लाको चुँदी रम्घामा भानुभक्त आचार्यको जन्म भएको हो ।

ब्राह्मण परिवारमा जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालनपालन धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो । भानुभक्तले उतिबेला रामायणलाई संस्कृतबाट सरल नेपालीमा लिपिबद्ध गरिदिए । अचम्मको कुरा त के छ भने अनुवाद भए तापनि यसमा मौलिकता र नेपालीपन पनि छ ।

अझ फराकिलो हिसाबले सोच्ने हो भने त भानुभक्तले अध्ययन र ज्ञानलाई भाषामार्फत् सरलीकृत गरेर सबै नेपालीहरूको सरल पहुँचमा ल्याइदिएका हुन् । यी नै उनका विशेषता हुन् । भानुभक्तले आफ्नो समाज र परिवेशबाटै सिकेका हुन् । तसर्थ यिनका रचनामा समाज र व्यावहारिकताको संगम पाइन्छ ।

भानुभक्तको जीवनमा एकजना घाँसीले उनलाई प्रेरणा दिएको हो, घाँसी दरिद्र भए तापनि घाँस काटेर पाएको पैसाले समाजका लागि पानी खाने कुवा खन्दछ ।

‘भानुभक्तलाई आफू घाँसीभन्दा धनी भए तापनि समाजका लागि केही गरुँ भन्ने भाव नभएको महससुस भएर ग्लानि हुन्छ । अनि उनी सिर्जनामा लागे । तर सबैको देन आआफ्नै हुन्छ, भानुभक्तका शब्द र अभिव्यक्तिले कथेका काव्यहरू अझै पनि नेपाली जनमनमा सुरक्षित छन्’, भानुका अध्येता प्राध्यापक डा. कपिलदेव लामिछानेले भने ।

रामायणभित्र रहेका बालकाण्ड, अरण्यकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड आदि काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारित्रिक शिक्षा प्रदान गरेको छ । भानुभक्तले रामायणका अतिरिक्त अन्य थुप्रै कृति सृजना गरे पनि उनी रामायणमा बाँचेका छन् ।

रुचि भएका पाठकहरूले रामायणका श्लोकहरू याद गर्नु अहिले पनि नेपाली समाजमा छ भने रोचक प्रसंग त सामान्य नेपाली भाषामा छन्द र श्लोकहरू पाएपछि बिहे, ब्रतबन्ध आदिमा दोहोरी या सिलोक खेल्ने चलन पनि छ । भानुभक्तका रचनामा लोकको प्रभाव छ भने उनीपछिका लोकका केही रचनामा भानुभक्तका रचनाको प्रभाव पाइने प्राध्यापक लामिछानेले बताए ।

एउटा कुरा स्पष्ट छ, हामीले सायद महान् भानुभक्तको जीवनीबारे अझै र उनका कृतिबारे अझ थप अध्ययन र अन्वेषण गर्नु जरुरी छ । मोतीराम भट्ट र भानुभक्त जोडिएर आउने नामहरू हुन् । युवाकवि मोतीरामले भानुभक्तका कृतिहरू प्रकाशमा ल्याएका हुन् भने कतिले त भानुभक्तका केही कृतिहरू मोतीरामले लेखेका हुन् भन्ने मान्यता राखेका छन् ।

‘भानुभक्तबाट अहिलेका पुस्ताले आफ्नो भाषाप्रति माया गर्न सिक्न जरुरी छ । उनलाई वर्षमा एकपटक मात्रै होइन, पटक–पटक सम्झिन पर्छ । नेपाली भाषाको अध्ययन, अनुसन्धान अनि विकास नै भानुप्रतिको सच्चा श्रद्धा हुनेछ । यही नै भानु जयन्ती मनाउनुको सार्थकता हुनेछ’, प्राध्यापक लामिछानेले भने ।

‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए, ‘भोलि भोलि भन्दैमा सब घर बिति गो बक्सियोस् आज झोली ।’

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ । त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् ।