August 3, 2021, Tuesday
१९ श्रावण २०७८, मंगलवार

भन्ज्याङको चौतारो

म त्यो बाटो नहिँडेको वर्षौं भएको थियो । जीप चल्ने सम्भावना कम रहेको अनुमान गरेर नै मैले बिहान उज्यालो नखस्दै घर छोडेको थिएँ । हिउँदमा जीपहरू राम्रैसँग चल्न थालेका थिए । यद्यपि अहिले बर्खाको समय, केही दिन पहिलेको झरीका कारण ठाउँठाउँमा पहिरो गएकाले जीप चलेका थिएनन् र पैदल हिँड्न बाध्य भएको थिएँ ।

राजमार्गबाट लगातार तिन घन्टाको पैदल यात्रापछि भन्ज्याङको एउटा चौतारामा विश्राम गर्न पुगेँ । शरीरभरि पसिनैपसिना र जिउ पनि थकित भएकाले केहीबेर म सुस्ताउनै पर्ने अवस्थामा थिएँ । चौतारामा वर र पीपलका रुख थिए । पीपलको रुख केही सानो थियो भने वरको रुख ठुलो थियो । वरका हाँगाहरू तेर्सो परेर फैलिएका थिए । केही हाँगाबाट पलाएका नयाँ जराहरू जमिनतिर झरेका थिए । मूल हाँगामा कुर्सिम्लो फैलिएको थियो । म चौतारामा बिच्छ्याएको एउटा ढुङ्गामा बसेको थिएँ ।

चौतारामा ठडिएका यी दुई रुखपछि क्रमशः मेरा आँखा वरिपरिको पहाडी परिवेशमा पुगे । चौतारोभन्दा तलतिर भिरालो परेको पाखो जमिन थियो । कतै पखेरो बारी र कतै झाडी–बुट्यान देखिन्थ्यो । निकै तलपट्टि एउटा खोलो बगेको थियो । खोलो उत्तर–पश्चिमबाट दक्षिण–पूर्वतर्फ बगेको थियो । खोलाको छेउछाउमा केही टारी खेत थियो । पारिपट्टि टारीभन्दा माथि जङ्गल र त्यसभन्दा माथि एउटा बस्ती देखियो ।

घाम अस्ताउने बेला हुन लागेको थियो । म आफ्नै धुनमा थिएँ । ठिक यसै समयमा बन्सो घाँसको ठुलै भारी बोकेर एक जना वृद्ध चौतारैतिर आए । उनले चौताराको आडैमा भारी बिसाए । मभन्दा केही परको छपनीमा बसे । आसकोटको गोजीबाट चुरोटको बट्टा निकाले । एउटा खिल्ली झिकेर त्यसलाई बराबर हुने गरी बिचबाट भाँचे । आधा ठुन्को चौताराको ढुङ्गामा राखे र आधा चाहिँ चुरोटकै बट्टामा राखे । चुरोटको बट्टा गोजीमै राखेर त्यही गोजीबाट लाइटर र कुल्फी झिके । कुल्फी बाँसको थियो । सायद् उनी आफैले बनाएका थिए त्यो । अघि भाँचेर ढुङ्गामा राखेको चुरोट त्यही कुल्फीमा राखेर सल्काए । एकपटक लामो सर्को तानी पारिपट्टिको पाखातिर हेरेर टोलाउन थाले ।

यतिन्जेलसम्म उनी मसँग बोलेका थिएनन् र म पनि उनीसँग बोलेको थिइन । मैले उनको अनुहारतिर दृृष्टि पुर्याएँ । बुढेसकालका चिन्हहरू प्रष्ट देखिएका थिए । अनुहारको छालामा मुजा परिसकेको थियो अर्थात् उनलाई बुढेसकालले गाँजिसकेको थियो । निकै थकित, गलित देखिएका थिए । जिन्दगीको ठुलै भारी लतारिसकेको शरीर दुब्लो, पातलो पनि थियो । घाँसको भारीले उनलाई थकाएको थियो । यसै अर्थमा उनी केही बेर सुस्ताएपछि बोल्ने विचारमा थिए सायद् !

पहिरनमा कालो रङको, रङ पनि खुइलिँदै गरेको आसकोटबाहेक शिरमा पुरानो खालको ढाका टोपी थियो । कम्मरभन्दा तल सेतो कछाड बेरेका थिए । खुट्टामा सामान्य पायल चपपल ।

सुरुमा त केही बेरसम्म मैले उनको एकाग्रतालाई भङ्ग गर्न चाहिन । तर जब उनले सल्काएको ठुटो चुरोट सकिँदै गयो त्यसपछि भने मैले मुख खोलेँ,

‘बुबाको घर कहाँ पर्छ नि ?’

‘यै माथिको गाममा हो बाबु !’ बुढाले छोटो जबाफ फर्काए ।

‘यो माथिको गाउँ बाहुन गाउँ हो बुबा ?’ मेरो जिज्ञासामा उनी बोले, ‘हो बाबु ! यहाँ मास्तिर चालिस÷बयालिस जति घरहरूछन् ।  दुई घर भुजेलका बाहेक अरु सप्पै बाउनका घर हुन् । अनि, बाबु काहाँ’ट आउनुभ’ कुन्नि ! मैले त चिन्न सकिन !’

उनको प्रत्युत्तरपछिको जिज्ञासामा बोलेँ म, ‘बुटवलबाट आएको बुबा । म यस गाउँभन्दा पनि अझ माथिको गाउँमा पुग्नुपर्ने । त्यहाँ हजुरजस्तै उमेरको मेरो मामा हुनुहुन्छ । उहाँलाई भेट्न आएको ।’

‘भनेसि बाबु मामाकाँ आउनुभा’को !’

मैले बुढाप्रति सम्मति जनाउँदै सोधेँ, ‘हजुर ! बूढो उमेरको मामा अलिअलि बिरामी हुनुहुन्छ भन्ने पनि सुनेँ, त्यसैले भेट्न आएको । अनि बुबाको नाम के नि बुबा ?’

मेरो जिज्ञासामा जबाफ फर्काए उनले, ‘खगनाथ लम्साल । यस गाममा अरु सप्पै पौडेल छन् । म एक जना मत्रै लम्साल ।’

‘पौडेलहरुको गाउँमा एक जना मात्रै लम्साल ! त्यसो भए हजुरको पुख्र्यौैली थलो यो होइन होला ?’ मैले मेरो मनमा पलाएको जिज्ञासा पोखेँ ।

‘म त दस÷ग्यार वर्षजति भो बाबु ह्याँ बस्न थालेको । पैला मेरो गाम त उः त्यो पारि पैरो गाको ठाम देख्नुभो नि, हो त्यैँ थियो ।’उनले दाहिने हातको चोरी औँलाले सङ्केत गर्दै पारिपट्टिको पहाडमा देखिएको पुरानो पहिरोतिर देखाए ।

‘अनि कसरी आउनुभयो त नि यस गाउँमा ?’

मेरो प्रश्नमा उनले केही निराशामिश्रित स्वर निकाले, ‘छोरीको घरमा बसेको छु बाबु ! आफ्नो सन्तानको नाममा यै यौटा छोरी बाँचेकी थिई । अरु त सप्पै त्यै पैरामा पुरिएका !

‘यो कहिलेको कुरा हो बुबा ?’ मैले मसिनो स्वरमा सोधेँ ।

‘२०५२ सालको घटना बाबु ! सम्झेर ल्याउँदा यो मन धरक्क हुन्छ । साउन मैना थियो । लगातार चार दिनसम्म झरी पर्यो । चारै दिनसम्म घामको मुख पनि देख्न पाइएको थिएन । बर्खामासको खेती लाउने समय । झरीले गर्दा मान्छेहरू घरभित्रै थुनिएका थिए । फाटफुट गाईभैँसीलाई घाँस काट्न निस्कनेबाहेक अरु काममा निस्कन सकेका थिएनन् । पाखो बारीमा कोदो रोप्ने समय थियो । कोदाको बिउ बुढिँदै गा’को थियो । झरीको अन्तिम दिन पानी सिमसिम परे पनि केही मत्थरिएको अवस्था थियो । म ऊ त्यै पारिको माथिल्लो गाममा कोदो रोप्ने खेताला पाइन्छन् कि भनेर गएँ’, बूढाले दायाँ हातकै चोरी औँलाले पहिरो गएभन्दा केही माथिपट्टिको गाउँतिर सङ्केत गरे ।

मैले त्यतैतिर दृष्टि दिएँ, ‘पहिरो गएको ठाउँभन्दा केही माथितिर एउटा छुट्टै बस्ती देखियो । त्यहाँ केही घरहरूजस्ता पाताले र केही घरहरूखरले छाएका देखिए ।

बुढाले सल्काएको ठुटो चुरोट अघि नै सकिएको थियो । यसपटक भने उनले आसकोटको गोजीबाट सुर्तीको पोको झिके र अलिकति हत्केलामा झार्दै मिचेर ओठमा च्यापे । अनि फेरि बोल्न थाले उनी, ‘यतिका वर्ष भो, त्यति ठुलो पानी परेको त मैले त्यसबाहेक अरु बेला था’ पा’कै छैन । त्यै तलको खोलो पनि गन्डकीझैँ नै समतुल्ले थियो बाबु ! खोलाको बाढीले बिरुवा बजारका तिनोटा त घरै पनि बगा’को थियो । तलतिरको खेत त खोलाले सप्पै डुबा’को । खेत जति त जम्मै बगरै भा’को नि ! गाईभैँसी, बाख्रा त कति बगे, बगे ! तिनको त हिसापै भएन ।’

बुढाले ख्वाक्क खोके र कफै निकालेर चौताराबाट तलतिर थुके । अनि फेरि बोल्न थाले, ‘यस वरिपरिको भेकमा चौध जना त मान्छे नै मरेका थिए बाबु ! तर मलाई जस्तो ठुलो बज्रपात त कल्लाई पर्यो र ! श्रीमती र दुइटा छोराछोरी खाएको हो बाबु ! त्यो पैराले ! बिहानको समय, म त्यै माथिको गाममा थिएँ । धेरै नै बेरसम्म आकाश गर्जेजस्तै गड्याङगुडुङ गर्दै ठुलो आवाज आयो । हेर्दाहेर्दै सिङ्गो गाम नै बगायो, पुरिएका मान्छे पनि सप्पै भेटिएनन् । ठुली छोरी र मलाई बाँच्न लेख्या रैछ । त्यति बेला ठुली दस कक्षामा पढ्थी । असार–साउनको बर्खे छुट्टीमा टिउसन पढ्न भनेर मामाघर बसेकी थिई ।’

बूढाले लगातार थपिरहे,‘हामी बाँचेकाहरूत्यै माथिको गाममा बसेम् । झरी थामिएको पर्सिपल्ट एउटा हेलिकप्टर आयो । निरीक्षण कि के जाती गर्न मन्त्री आ’का रैछन् । हेलिकप्टर पैरोभन्दा माथि माथिबाट घुमेर आयो अनि यै अगाडिको चउरमा बस्यो । मैले आजसम्मको जिन्दगीमा नजिकैबाट हेलिकप्टर देख्न पाएको त्यै एकचोटि हो । त्यति बेला मान्छेहरूसप्पै यै भन्ज्याङमा जम्मा भा’का थिए । अध्यक्षले हामीलाई यहीँ नै जम्मा हुन भनेका थिए ।’

‘तपाइँहरुलाई पारिको गाउँबाट यहाँ आइपुग्नै पनि डेढ÷दुई घन्टा त लाग्यो होला है बुबा ?’ बिचैमा सोधेँ मैले ।

‘माथिबाट खोलासम्म झर्नै पर्यो अनि यतातिरको यो उकालो चढ्दा ठ्याक्कै डेढ घन्टा लाग्छ बाबु !’मेरो जिज्ञासा मेटाएपछि बुढाले विगतको उही घटनालाई निरन्तरता दिए, ‘हेलिकप्टरबाट मन्त्री झरे । खाइलाउदा थिए । हामीले भोट हालेर जिता’का सांसद् पनि मन्त्रीसँगै आ’का रैछन् । उनीहरुले उः त्यै छेउबाट दुर्पिनले पारि पाखामा मेरो घरलाई बगा’को पैरो हेरे । फोटा पनि खिचे । मैले आजसम्मको जिन्दगीमा आफ्नै अगाडि मन्त्री देखेको त्यै एकपटक हो ।’

‘त्यति बेला तपाइँहरुलाई के भनेर गए त बुबा मन्त्रीले ?’ मैले सोधेँ ।

‘मन्त्रीले पैला त रुमाल झिकेर आफ्ना आँखा पुछे अनि हामीतिर फर्केर तिनले भनेका थिए– जे हुनु भैहाल्यो, अब तपाइँहामीले चिन्ता गरेर गइसकेका मान्छेलाई फर्काउन सकिने पनि होइन । चिन्ता नलिनुस् । मैले तपाइँहरू जजसको घर बग्यो र जो जो अझै पनि जोखिममा हुनुहुन्छ, सबैका लागि मधेसतिर जग्गा खोजेर बसोबासको व्यवस्था मिलाउनेछु । म फर्केर काठमाडौँ पुग्नासाथ सुरुमा तपाइँहरुकै राहतका लागि व्यवस्था गर्नेछु । अहिले तत्कालका लागि भने दुई/तिन दिनभित्रै गाविसमार्फत तपाइँहरुलाई केही आर्थिक सहयोग हुनेछ’, बुढाले मन्त्रीको भाषा सुनाए ।

‘अनि के कति सहयोग आयो त बुबा सरकारबाट ?’ मैले प्रश्न गरेँ ।

‘केको सयोग गर्नु नि बाबु ! मुखले मत्रै सयोग गर्या’ रै’छन् । बेभारमा त त्यस्तो खासै पाइएन ।’ बूढाले आफ्नै कुरालाई पुनः निरन्तरता दिए, ‘अनि हेलिकप्टर फक्र्यो । मन्त्री फर्केको डेढ महिनापछि जिल्लामा राहात कि के जाती पाइने भो’ भनेर यै गाउँका अध्यक्षले हामी पीडितहरुलाई जिल्लामा लिएर गए । मेरो भागमा जम्मा आठ हजार रुपियाँ प¥या’थ्यो । लगभग दुई मैना त अर्कैको गोठ बारेर बसेँ । त्यसपछि भने पैला घर भएभन्दा क्यै पूर्वपट्टि आफ्नै अलिकति पखेरो बारी बाँकी थियो । त्यहीँ एउटा झुप्रो बनाएँ । आठ हजारले त केको पुग्नु नि ! त्यो आठ हजार त खानीपकाउनी भाँडाकुँडा र क्यै लुगाफाटो जोड्दैमा ठिक्क भो । माथि गाउँकाले सयोग गरेर बनाइदे’का थे’ त्यो झुप्रो पनि । विचराहरुले सयोग पनि कतिलाई गर्नु, मेरो मत्रै भए पो ! सात परिवारका त घरै बगेका थिए ।’

‘त्यसपछि अर्को बिहे गर्नुभएन बुबा ?’ मरो यस प्रश्नको जबाफ उनले यसरी दिए, ‘ईष्टमित्र र गाउँलेहरुले त बिहे गर्ने सल्लाहा पनि दिएका थिए । खोज्या भा’ उमेरसुहाम्दो आइमाई नि पाइन्थ्यो होला तर मलाई बिहा गर्न मनै लागेन बाबु ! तितिनओटा छोराछोरी पाइसक्या थेँ’ । दुइटा मरेर गए पनि एउटा बाँकी नै थिई । छोरीकै बिहा गर्ने बेला भइसक्या थ्यो । मैले कसरी बिहा गर्नु ! अलि अप्ठेरै पनि भयो । मुख्य कुरो त मेरो बिहा गर्नेतिर मनै गएन बाबु !’

‘त्यसपछि त जहानपरिवारका नाममा बाबुछोरी मात्रै हुनुभएछ हगि !’ मैले बुढासँग जिज्ञासा राख्न छोडिन ।

बूढाले पनि सम्झी सम्झी विगतलाई नै अगाडि बढाए, ‘बाबुछोरी नि कति नै बसियो र, पैराको घटना भा’को वर्ष दिन पुग्नासाथ छोरीलाई बिहा गरेर पठाइदिएँ ।’

‘छोरीको बिहे त अलि उमेरै नपुगी गरिदिनुभएछ नि !’ मैलेबिचैमा जिज्ञासा तेस्र्याएँ । बुढा फेरि अगाडि बढे, ‘पुग्याथ्यो बाबु उमेर ! सत्र वर्षकी भा’की थिई । एसएलसी पनि विषय नलाइकन पैलै वर्षमा पास गरेकी । पढ्न त सिपालु थिई । क्याम्पस पढाउन सक्नी अवस्थामा म थिइन । अनि राम्रै घरबाट माग्न आएपछि छोरी मान्छेको जात दिनै कर लाउँदो रै’छ ।’

‘त्यसो भए, छोरीको बिहेपछि त एक्लै पो हुनुभएछ !’ मेरो आश्चर्यभावमा उनी बोले, ‘काम गरेर खानी मान्छेलाई एक्लै बस्दा पनि क्यै फरक पर्दो रैनछ बाबु । इष्टमित्र, छर्छिमेकी थिए । सप्पैले माया गर्थे । गाईगोरु पालिनँ । दुईतिनओटा बाख्रा र एउटा भैँसी चाहिँ गोठमा टुटाइनँ बाबु ! भैँसी पालेपछि मल पनि हुनी, दुध पनि हुनी । भुटुन किन्न नि नपर्नी । अरु बेला त खासै पिर पर्दो रैनछ तर भात पस्केर एक्लै खान बस्दा भने सुरुसुरुमा जहानपरिवारको निकै सम्झना आउँथ्यो । पछि पछि त बानी परियो ।’

बूढाले यही बिचमा अघि गोजीमा राखेको आधा खिल्ली चुरोट झिकेर कुल्फीमा हाले । लाइटर झिकेर सल्काए । धुवाँ पनि निकै लामो सासले ताने । यस्तो वृद्ध उमेरमा त चुरोट नपिए पनि हुन्थ्यो नि ! भन्ने लागेर बोलेँ म, ‘हजुरले त चुरोट बढी पिउनुहुँदोरहेछ । मुखमा अझै सुर्ती पनि छ । दुइटा चिजको सट्टा एउटै मात्र लिए हुन्न र बुबा ?’

‘केको हुँदो हो बाबु ! मेरो बाँच्ने आधार भनेकै यै हो । नानीदेखि ला’को बानी । मैले त यो अम्मललाई छुटाम्ने कोसिस नि कैल्यै गरिनँ ।’ बूढाले निर्धक्क जबाफ दिए ।

मैले कुरालाई फेरि पुरानै मोडमा फर्काएँ, ‘अनि, अहिले कहाँ कसको घरमा बस्नुभएको छ त बुबा ?’

‘पन्ध्र–सोर वर्ष जति त आफ्नै झुप्रामा एक्लै बसेँ बाबु ! त्यसपछि भने छोरीले सुखै दिइनँ । मेरैमा बस्न आउनुस् कि आउनुस् भनेर हैरान पारी । दुःखबिमार पर्दा पानी खान दिने मान्छे पनि छैन । अब यसरी बसेर हुँदैन भनेर रातदिन कचकच कचकच गर्न थाली । ऊ आफू मास्टरी गर्छे । ज्वाइँ विदेशतिर आउजाउ गरिरहनी । ज्वाइँले पनि बोलाएको बोलायै गर्न थालेपछि लौ त नि भनेर म पनि छोरीकैमा आएर बस्न थालेँ । छोरीकोमा बस्न थालेकै दस–ग्यार वर्ष जति भयो बाबु ! दुइटा नाति केटाहरूछन् । स्कुल जान्छन् । कुँडोपानी, दुहुनबान, भकारो सप्पै मैले गर्देको छु । काम नगरी खान मनले मान्दैन । यस्तै छ बाबु ! दिन कटाउने हो कटाइएकै छ ।’ यति भनेर बूढाले अघि दोस्रोपटक सल्काएको ठुटो चुरोटको अन्तिम सर्को ताने र कुल्फीमा बाँकी रहेको कसरलाई फुकेर फाले ।

‘अहिले त मलाई हाइसुक्ख छ बाबु, त्यस्तो गारोसारो क्यै छैन । कैले कैले पुरानो कुरा सम्झिँदा भने मन भतभती पोल्छ । सम्झिन्न भन्दा पनि कैले कैले त आइहाल्दो रै’छ । अब त आफ्नै जिन्दगी पनि सकिन लायो । सक्दासम्म काम गरेरै खान्छु । नसके त कसको के लायो र !’ बूढाले मनका कुरा ओकले ।

‘अनि तपाइँहरुलाई मधेशतिर बस्ने व्यवस्था मिलाउँछु भनेका मन्त्रीले केही व्यवस्था गरेनन् त बुबा ?’ मैले अन्तिम जिज्ञासा राखेँ ।

‘केको बेबस्था गर्नु नि ! अलि समय त आस लायो र आस पनि गरियो । तर वर्ष दिन बितेपछि भने आस लाग्न नि छोड्यो । मन्त्री, नेता भनेकाले त आस मत्रै देखाउनी रै’छ । काम गर्नी हैनछ । ती मन्त्री त झन् ढाँट्नमा पनि एक नम्मरका रैछन् । अस्ति ठुलो नातिले भन्दै थियो, त्यति बेला हामीलाई मधेसतिर घरबासको बेबस्था मिलाउँछु भन्ने मन्त्री त ऐले प्रधानमन्त्री भएका छन् अरे !’

बूढाको कुरा सुनेपछि मेरो दिमाग एकाएक सिंहदरबारमा पुग्यो । क्रमशः बालुवाटारमा पनि पुग्यो । भित्रभित्रै रिस उठ्यो । रिसलाई जबरजस्ती भित्रै दबाएँ । घाम पश्चिमतिरको पहाडबाट डुब्यो । मलाई अझै डेढ घन्टा जति उकालो हिँड्नु थियो । अब भुल्नु हुँदैन भनेर चौताराबाट उठेँ र बूढासँग बिदा भई आफ्नो बाटो लागेँ । by nepalisahityaghar