October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

स्मृतिको गर्भमा बिलाइसकेका बालगीतहरु

पूर्वकथन

आजका बालबालिका भविष्यका कर्णधार हुन् । यी बालबालिकाका काँधमै नै देशको भविष्यको घरेट अड़ेको हुन्छ । बालबालिकाहरू राष्ट्रका धरोहर हुन् । निष्कपट, छलकपटविहीन यी बालबालिकाको सर्वाङ्गीण विकासले नै कुनै पनि राष्ट्रको विकास सम्भव हुन्छ  किनभने यिनै बालबालिका भन्नु नै राष्ट्रको सबैभन्दा ठूलो पूञ्जी हो । यी बालबालिकाको सर्वाङ्गीण विकासमा ध्यान दिन सके पछि गएर यिनै  बालबालिका देशका शिक्षाविद, डाक्टर, वैज्ञानिक, नेता तथा ख्यातिप्राप्त रचनाकार बनिन सक्छन् ।

विद्यालयमा विद्यार्थी भित्र लुकेर बसेको प्रतिभालाई निखारेर सोही प्रकारले प्रोत्साहित गर्नु आवश्यक देखिन्छ । किताबी ज्ञान बाहेक पनि विद्यार्थीगणलाई बाल साहित्यप्रति चासो बढ़ाउन सके ती विद्यार्थीको साहित्यप्रतिको रुचि, पुस्तक,पत्र-पत्रिका पढ़्ने तथा किन्ने बानी झाङिएर जानुका साथै प्रतिभा पनि झाङिएर जाने सोह्रै आना सम्भावना देखिन्छ  ।

जुन भाषामा बालसाहित्य सिर्जना भएको हुँदैन वा सोबारे चासो राखिँदैन भने त्यो साहित्य आमा बिनाकी टुहुरो बालकझैँ नै हुन्छ । बाल स्वभावबारे पर्याप्त ज्ञान नभइञ्जेल श्रेष्ठ बालसाहित्य लेख्न सकिँदैन । नानीहरूको उमेर जति जति बढ्छ तिनको स्वभावमा  परिस्थिति र वातावरणको प्रभावको स्वरुप निखारिँदै जाने गर्दछ । कहिले ऊ भित्र विद्रोह अनि सङ्घर्षले लिङ्गेपिङ् खेलेको देखिन्छ भने बालक बालिकासित अनि बालिका बालिकासित आकर्षित हुन थाल्दछ । मेरो यस लेखौटमा बालगीतमाथि मात्र चर्चा गर्ने योजना भएको अन्य बालसाहित्यको प्रसङ्ग यहीँ टुङ्ग्याइऩ्छ ।

हामीसित मिठाइला, रमाइला, ठुङमार्दा बालगीतहरू कति छन् कति  । ती बालगीतहरू मौखिक रुपमै पाठशाला सुनाउने, सुन्ने मात्र भएकोले लिखित रुपमा जोहो गर्न नसकेकाले कतिपय बालगीतहरू स्मृतिको गर्भमा बिलाइसकेका छन् । हुन ता बालगीतका पुस्तकहरू हिजोआज प्रकाशित नभएको होइन । तर आजभन्दा पचास-साठी वर्ष अघि पाठशालामा भनिने, सुनाउने वा सनिने बालगीतहरूले छलकपटविहीन बालबालिकामा जुन प्रकारको जोश, उत्साह, उर्जा , आँट, बल प्रदान गर्दथ्यो ती आज लेखिने, सुनाइने वा सुन्ने बालगीतले प्रदान गर्न सक्दैन भन्ने मेरो दाबी छ । केही बालगीतहरू पुस्तकमा समावेश गरिएको भए पनि ती पुस्तकहरूको अभावमा  ती बालगीतहरू पाउन दुर्लभप्रायः छ ।

यस लेखौटमा एकताका अत्यन्तै लोकप्रिय, सम्पूर्ण बालबालिकाका जिब्रामा भिजेका बालगीतहरू अहिले लुप्तप्रायः भइसकेको देखिन्छ । स्मृतिको गर्भमा बिलाउन आँटेका बालगीतहरूबारे यहाँ चर्चा गर्ने निधो गरिएको छ ।

बालगीत

बाल-बालिकाले गाउने गीतलाई ‘बालगीत’ भनिन्छ । बालबालिका मात्र होइन ठूला-बड़ाका मुख-मुखमा उच्चारित हुने झङ्कृत काव्य हो बालगीत । आरम्भमा साहित्य मुखमुखैमा रचिन्थ्यो अनि सो श्रुतिको रुपमा सुनाइन्थ्यो । सुनेकै भरमा ती बालगतीहरू विद्यार्थीहरूले कण्ठस्थ पनि गर्थे । बालगीत नै साहित्यको पहिलो शाखा वा सृष्टि हो भन्ने विद्वानहरूको मत देखिन्छ । गद्य साहित्यभन्दा पनि पहिल्यै आरम्भ भएको यो बालगीतलाई कतिपय विद्वानहरूले लौकिक साहित्यको आख्या दिएको पाइन्छ । लोकसमाजमा बालगीत नै भाव प्रकाश गर्ने प्रमुख माध्यम थियो । बालबालिकाका निम्ति खुल्लम खुल्ला काव्य प्रेषण नै बालगीत हो ।

बालगीतले भुरा-भुरीलाई मनोरञ्जन प्रदान गर्नु मात्र होइन बालगीतको सरल तुकबन्दीको रुपमा आवृति गरिँदा मन प्रफुल्ल हुनुमात्र होइन उनीहरूभित्र अदम्य जोश, उत्साह प्रदान पलाएर आउँदछ । हाम्रो बालसाहित्यमा बालगीतको भँड़ार विशाल भए पनि तिनका रचनाकार अज्ञात हुनाका साथै, तिनका रचनाकालबारे  हामी अनभिज्ञ नै छौं । धेरैवटा बालगीत अलिखित नभएर मौखिक रुपमा आवृत्ति गरिने हुनाले ती बालगीत कण्ठस्थ भए पनि कतिपय बालगीतहरू स्मृतिको गर्भमा विलाइसकेका छन् । पाठशालाको श्रेणीकोठाभित्र शिक्षक-शिक्षिकाले मौखिक रुपमै विद्यार्थीलाई रोचक मनोरञ्जनपूर्ण बालगीतहरू सुनाएर वा कण्ठस्थ गराए पनि हिजोआज ती बालगीतहरू लुप्त भइसकेका छन् । हामीले सानामा शिक्षिकाको मुखारविन्दबाटड गाइएका बालगीत कण्ठस्थ गरे पनि हिजोआज ती बालगीतहरू न ता पाठशालामै गाइन्छ न ता ती बालगीत लिखित रुपमै नै संरक्षण-संवर्द्धन गर्ने काम भएको छ । एकताकाको लोकप्रिय तर अचेल स्मृतिको गर्भमा बिलाइसकेको प्रसिद्ध बालगीत –

“हेर झिङा भित्तामा

चढ़्दै चढ़दै लड़्दैन

पखेटा कस्तो छ ?

इन्द्रेणी रंगको छ ।

त्यसका ६ वटा खुट्टामा

केशको जुत्ता लाउँदछ

औंलीले हिँड़्दैछ

नानीका ओठमा ।

सुन, झिङा ! माकुरी-

तँलाई प्यारो गर्दिनँ

उड़िजा भागिजा

फेरि ता नआइज ।”

पहिले-पहिले पाठशालाहरू तिर विद्यार्थीहरूले बड़ो जोश र स्फूर्तिका साथ गाए पनि अचेल बालगीतलाई हिजोआजका विद्यार्थीहरूले सुन्नै छोड़िसकेका छन् र ती बालगीत पनि स्मृतिको गर्भमा बिलाइसकेको देखिन्छ  –

“दुगुर दुगुर कुइरा !

तेरा घरमा चोर पस्यो

मानु पाथी लुकायो

थोत्रा नाङ्ला ठट्टायो

बूढ़ो भैंसी फुकायो

ठूलो लौरो लिएर

दुगुर कुइरा दुगुर ।”

यस्ता बालगीतहरू लिखित रुपमा नभएकोले र सो मौखिक रुपमै आवृत्ति गरिने हुनाले एउटै जस्तो बालगीतको शब्द प्रयोगमा पनि भिन्नता देखिन्छ । जस्तो –

“दुगुर दुगुर कुहिरो

तेरा घरमा चोर पस्यो ।

मानु पीठो लुकायो

थोत्रे नाङ्लो ठटायो ।”

एकताका पाठ्यपुस्तकमा गाभिए पनि पाठ्यक्रम परिवर्तन भएकोले यो बालगीत पनि हराइसकेको छ –

“हरे मुरारे वासुदेवको छोरो

म जान्छु दरवार किनिदेउ न घोड़ो ।

आन्द्रा लाग्यो छुत्ती खेल्न तिघ्रा लाग्यो काम्न

सक्तिनँ महाराज पत्थर कला थाम्न ।”

एउटै बालगीतका शब्दप्रयोको पनि भिन्न्ता नदेखिने –

“हरे मुरारे वासुदेउको छोरो,

म जान्छु दरबार किनिदेउ न घोड़ो ।

घोड़ाको मोल तीन सय साठी,

घोड़ा चढ्नुभन्दा पैदल हिँड़्नु जाती ।।”

यी बालगीतहरू कहिले कुन अवस्थामा भनिन वा सुनाउन थालिएको हो यसबारे भन्नु गाह्रो भए पनि, भावको कुनै तारतम्य नभए पनि यस्ता बालगीतले नानीहरूलाई यति मनोरञ्जन प्रदान गर्छ सो अन्य गीतले गर्न सक्दैन ।

“नाच भालू उफ्री उफ्री

मान्छे हेर्छ थुप्री – थुप्री ।

ढोग गर् भालू सेरोफेरो

दिएको पैसा तेरो मेरो ।।

कतिपय बालगीतहरू लिखित रुपमा नपाइए पनि गाउँ-बस्तीतिरका पुराना बूढ़ा-पाकाहरूका मुखारविन्दबाट निस्केका बालगीतहरू सुरक्षित छन् । पूर्व नेपालको पहाड़तिर प्रजलित बालगीत –

“ताराबाजी  लै लै,

मामा आए घोड़ा,

माइज्यू आइन् डोली,

पापा ल्याइन् सोली,

खान दिन्छिन् भोली,

बुबु माम सुपुक्क,

आलीमुनि   घुप्लुक्क,

काफल गेड़ी कुटुक्क,

बिरालो भन्छ ङ्याउँ-ङ्याउँ,

अगुल्टो भन्छ उछिल्ट्याउँ ।”

यसै बालगीतलाई यसरी पनि भनिएको सुनिन्छ –

“ताराबाजी  लै लै,

ताराबाजी लै लै

मामा आए घोड़ी,

माइज्यू आइन् डोली,

पापा ल्याइन् सोली,

बाँड़ी खाउला भोली ।”

यस्ता बालगीतले नानीहरूलाई मनोरञ्जनका साथै अक्षर-ज्ञान गराउनमा ठूलो सहयोग गरिन्छ । बाल-बालिका लुकीचोरी (hide and seek) खेल्ने मतो मिलेपछि थुप्रेका जति वृत्ताकारमा उभी एकजना अर्घेलाले एकेक जनाको छातीमा चोर औंलीले घोच्दै निम्न पङ्क्ति आवृत्ति गर्छन् । ‘पदुवा’ शब्द आएर जसको छात्तीमा अड़िन्छ उनी नै चोर हुन्छन् र अरु नदेख्ने ठाउँमा लुक्न पुग्छन् । एकजनालाई आफ्ना लुकेको साथी धुइँपत्ताल लाएर  खोज्ने बनाउनलाई यसरी पनि भनिएको सुनिएको छ –

“आदे पादे नुनु छादे

तामाङ गाग्री हुस् ।

आदले गुड़िया

नकदले ठुस् ।

जो पहिले बोल्छ

जो पहिले हाँस्छ

उही पदुवा ।”

दसैंको कल्पना गर्दै भनिने बालगीत

,”दशैं तिहार आयो,

नयाँ नाना लाउँला,

चिची माम खाउँला

बजार घुम्न जाउँला ।”

यसै गीतको अर्को रुप –

“दशैं आयो खाउँला पिउँला,

के खाउँला बरै चोर्न  जाउँला ।

चोर्न चाइँ त बरु, चोर्न चाइँ त बरू ।

छुट्टिई बसौंला, छुट्टिई बसौंला ।।

बजार घुम्न जाउँला ।”

यसै गीतको पाठान्तर –

“दशैं आयो

खाउँला पिउँला

कहाँ पाउँला

चोरी ल्याउँला

हट्ट पापी म ता

पर गई बस्छु ।”

बजार घुम्न जाउँला ।”

उहिले दार्जिलिङमा बोर्डिङमा पढ्ने बाबा-मिसहरूले डुमरा खेल्दा भनिने बालगीत –

” इंकी, पिंकी पोंकी

फादर ह्याड अ डंकी

डंकी डाइड, फादर क्राइड

“इंकी, पिंकी पोंकी ।”

बालबालिकाहरू खेल्न रुचाउँछन् । थुप्रै साथीहरूमाझ दुइजना उभिएर माथि हात माथि उज्याएर बसी निम्न बालगीत गाउँछन् । पङ्क्तिवद् भएर उभिएकाहरू ती हातबाट छिर्छन् अनि गीतको अन्तिम पङ्क्ति “टिङ्लिङ…लिङ….लिङ झ्याप्प” शब्द आउने बित्तिकै कुनै पनि एकजनालाई हातले थुन्छन् । थुनिने आफ्नो साथी उभिएको ठाउँमा आई पुनः गीत दोहोऱ्याउँछन् ।  दार्जिलिङमै नेपाली पाठशाला अध्ययन गर्ने बालबालिकाहरूले सोही गीतलाई अपभ्रंश रुपमा यसरी गाएको पनि सुनिन्थ्यो –

“इञ्चु, पिञ्चु डाकबाबु

मेरो बाबु लण्डनमा

तिम्रो बाबु पल्टनमा

इस्टेसनको गार्डबाबू

घण्टी बजाइदेऊ

टिङ्लिङ…लिङ….लिङ झ्याप्प ।”

बालबालिकालाई यसै पनि पुतली, मौरी, भ्रमरा मनपर्छ । मौरीको चाकाबाट मह काढ़िन्छ भन्ने उत्सुकताका साथ यिनीहरू मौरीलाई बोलाउने निहुँमा आफ्नो उदगार बालगीत मार्फत यसरी आवृत्ति गर्छन् –

“बस बस मौरी भोलि बुधबार ।

फलफूल दिउँला देऊ मह धार ।।”

पाठान्तर –

“बस बस मौरी

बुधबार जाउली ।”

फलफूल दिउँला देऊ मह धार ।।”

बाल-बालिकाहरूका कल्पनाको गति अत्यन्तै तीव्र  हुँदछ । उनीहरूले अपरिचित कल्पनामा ग्रहण गर्दछन् । राक्षस, भूत, चुँड़ेल, परीहरूलाई वास्तविक रुपमा नदेखे पनि प्राचीनकालदेखिनै उनीहरूको कल्पनामा बसिसकेको हुन्छ । आफूले गरेको कल्पना असङ्गत तथा निराधार हुँदा हुँदै पनि कल्पनाकै आधारमा मनोरञ्जन उपलब्ध गर्न सक्छ । भूतको प्रसङ्गमा –

“एउटा गोरु टाटे-पाङग्रे,

एउटा गोरु पुत्ले ।

आज मलाई मिठाई दियो,

देवीथानको भूतले ।।”

बालबालिकाहरू मनोरञ्जन पिपासु हुन्छन् । पाठशालामा खाजा खाने छुट्टीमा वा गाउँ-घरमा साथीहरू भेला भई वृत्ताकारमा बसी यो बालगीत गाउँदै खेलेको अहिले स्मृतिको गर्भमा विलाइसकेको छ । हिजोआज बाल-बालिकाहरू सबै मोबाइलमै व्यस्त र मस्त भएकाले यस्ता बालगीत गाएर खेल्ने परम्परा पूरै हराइसकेको छ –

“यति यति पानी घेघे रानी

घुँड़ासम्म पानी घेघे रानी

कम्मरसम्म पानी घेघे रानी

छात्तीसम्म पानी घेघे रानी

घाँटीसम्म पानी घेघे रानी

उड़ी जाउँ कि भागिजाऊँ ? ” “” ?

मुसलधारे पानी परिसकेर एकक्षणमा घाम लाग्नु र फेरि घाम पानी सँगै पर्दा बाल-बालिकाहरू खुशी भई यसरी गाउँथे उहिले –

“घाम-पानी, घाम-पानी स्यालको बिहे,

कुकुर जन्ती बिरालो बाहुन,

बिरालाले छोएको कसैले नखाऊऩ् ।”

शब्दान्तरमा यही बालगीत –

“घाम पानी, घाम पानी स्यालको बिहे

कुकुर जन्ती बिरालो बाहुन

काठको टुङ्ना भेड़ीको, छाला

काँल्दाज्यै गोठाला

हेइ…आ….आ….. ।”

आँप, लिची, अम्बक वा फलादि फलेको खुशीमा हर्षोदगार –

“आँप पाक्यो बम्बई,

फल्यो लटरम्म ।

एकजनाले अलग्गै खाँदा,

पेट भर्छ डम्म ।।”

पाठशालामा होस् वा गाउँ-घरमा बाल-बालिकाहरू चोर पुलिस खेल्दा पक्रा परेको चोरको उद्देश्यमा गाइने बालगीत –

“ढुकुमुकु ढुकुमुकु कसको हात ?

राजाको हात, रानीको हात ।

डोकाले छोप्दा भएन

जाँतोले थिच्दा भएन

भोटे कुकुर उम्कियो……।।”

ढुकुमुकु ढुकुमुकु के को हात?

फलामको हात ।

ढिकीले कुट्दा भएन

जाँतोलो पिँध्दा पनि भएन

छोड़्दे मेरो भोटे कुकुर ।।”

बालक्रीड़ाको रमाइलो बालगीत –

“अम्मल डम्मल खैरे पात

तसलकुटी महादेउ ।

ओरा दोरा बाँदरको छोरा

डुम डुमरा डुम ।।”

कागलाई पुकार –

“काग् दाज्यै काग्,

मुसो टिपी भाग् ।

अनिकाल धपाई

सहकाल डाक् ।।”

स-साना नानीलाई भुल्याउँदा गाइने बालगीत –

हेर, मेरी नानी कति सुन्दरी,

सुलक्षी यसको नाउँ ।

आमाकी छोरी नरो नरो मेरी नानी

नरो मेरी रानी, आमाकी छोरी ।।”

मनोरञ्जनपूर्ण बालक्रीड़ामा –

“इर्की मिर्की दूधको छिर्की

चाँप, लौरी, गोपी-गाई

इस तीस, पुग्यो कि पुगेन ?

पन्ध्रमा बीस ?”

ख्यालठट्टा गर्दा –

“माथिबाट आउने, काने टोपी लाउने ।

नानीलाई खेलाउने, हो है, नानीलाई खेलाउने ।।”

बाल-बालिकाहरू भेला भई एकजनाको हातमा चिमोटी खेलिने बालगीत –

“चीँ मुसी चीँ  मुसाले खायो धान

काट बिरालीका कान

तेरा दाजु मेरा दाजु माछा मार्न गए

मलाई टाउको तँलाई पुच्छर

बराबरी भए ।।”

आफूभन्दा सानाले बदमाश गर्दा गाइने बालगीत –

“अक्कलेका बारीमा

कोकलेले छेरेछ

हाम्रो भाइले देखेछ

कर्मकोटी लेखेछ ।”

नानीहरूलाई फकाउँदा –

“माथिबाट आयो

हाउगुजी, हाउगुजी

यहाँ टिकी लायो

यहाँ नाना लायो

यहाँ पापा खायो

हाउगुजी, हाङ

हाङ हाङ हाङ ।।”

खेत रोप्ने,  धान काट्ने तथा कसरी खाने भन्ने विषयक बालगीत –

“भन-भन भाइहो, खेत रोप्ने कसरी ?

सुन-सुन भाइहो, छुपु-छुपु यसरी ।

भन-भन भाइहो, धानै काट्ने कसरी ?

सुन-सुन भाइहो, सप-सप यसरी ।

भन-भन भाइहो, दूधै दुहुने कसरी ?

सुन-सुन भाइहो, ध्वार-ध्वार यसरी ।

भन-भन भाइहो, भातै खाने कसरी ?

सुन-सुन भाइहो, खपाखप यसरी ।”

प्रचण्ड ठण्डी हुँदा काम्दै –

“आछु आछु जाड़ो टुप्पी ठाड़ो

घर जाउँ भने भने घर टाड़ो

भैंसीको पाड़ोले

अँगेनामा टाउको गाड़ो ।।”

रात परेको सङ्केत बालगीतमा –

“चुप लाग नानी, चुप लाग

घाम पश्चिममा गयो ,

बिस्तार-बिस्तार गरी ।

अँध्यारो भयो,

ल नानी, ल-ल-ल-ल-ल-ल । ”

पहेलीको रुपमा बालगीत –

“कुखुरी काँ….

बासीभात खा….

खोई मेरो बासी भात…?

बिरालाले खायो ।

खोई बिरालो ?

मूसा मार्न गयो ।

खोई मूसा…?”

दूलोभित्र पस्यो ।

खोई दूलो….?

गाईले कुलच्यो ।

खोई गाई…?

खोलाले बगायो ।

खोई खोला…?”

स्याप्प सुक्यो….।”

परिचयको क्रममा बालगीत –

“यी मेरा बाबु हुन्

यी मेरी आमा हुन् ,

यी मेरा दाज्यू,

यी मेरी दिदी,

यो सानो चाहिँ प्यारो नानी हो ।

काफल पाकेपछिको हर्षोदगार –

“आक्कु पाक्कु काफल पाक्यो

जेठा दाजु

पाको पाको

तिमी खान्छौ

काँचो काँचो मलाई दिन्छौ ।”

सामान्य ख्याल ठट्टा –

“बाङ्गी, बाङ्गी खुट्टाले सिन्की खाँदौला ।

लैजाऊ बज्यै तिम्रो भोटो नाङ्गै नाँचौला ।।”

पशुपक्षीमाथि स्नेहपूर्वक उदगार –

“कट कट कैँची कुम्भै राणा

राणाले मलाई मूसा दियो

मूसा मैले चीललाई दिएँ

चीलले मलाई प्वाँख दियो

प्वाँख मैले गोठालालाई दिएँ

गोठालोले मलाई हँसिया दियो

हँसियाले मैले घाँस काँटे

घाँस मैले गाईलाई दिएँ

गाईले मलाई बुबु दियो

बुबु मैले राजालाई दिएँ

राजाले मलाई घोड़ी दिए

मैले घोड़ी कुदाएँ

घोड़ी गयो भीरै भीर

मैले खाएँ खीरै खीर ।

पाठान्तर-

“टपटप टोपी कुम्भै राजा

बघिनी सिंहिनी ऐरा गैछ

ऐराबाट मूसी मारी ल्याइछ

मूसी मैले आरन राखेँ

आरनबाट सियो पाएँ

सियो मैले दमाईलाई दिएँ

गोठालोले मलाई धान दियो

घाँस मैले गाईलाई दिएँ

गाईले मलाई दूध दियो

दूध मैले गङ्गालाई डोलेँ

गङ्गाले मलाई सहर दिइन्

सहर मैले राजालाई दिएँ

राजाले मलाई घोड़ा दिए

घोड़ा गयो छड्की

म आएँ फड्की ।।”

पुनः पाठान्तर –

“टपटप टोपी बेतकी दाना

परबाट आए बम्बै राणा

ऐरा गइछन्, ऐराबाट

मूसी मारी ल्याइछिन्

मूसी मैले चरीलाई दिएँ

चरीले मलाई प्वाँख दिइन्

प्वाँख मैले आरनमा हालेँ

आरनबाट सियो पाएँ

सीयो मैले दमाईलाई दिएँ

टोपी मैले गोठालालाई दिएँ

गोठालाले मलाई दूध दियो

दूध मैले गङ्गालाई दिएँ

शहर मैले राजालाई दिएँ

राजाले मलाई घोड़ा दिए

घोड़ा गयो फर्केर

म आएँ तर्केर

घोड़ा गयो भीरै भीर

मैले खाएँ खीरै खीर ।।”

ख्यालठट्टा –

“घैयाबारी घैयै छ

मकैबारी ढोड़्ढोड़्

हाम्रो झिल्के नाच्दै आयो

खोई खोई बाटो छोड़ है छोड़ ।”

आर्थिक स्थितिको कथामा बालगीत-

“नाचन झिल्के नाचन

पैसा दिउँला पाँचाना

बारुले कम्मर भाँचन ।

उहिले ता बाजेको पालामा

रुपियाँ गन्थे डालामा

अहिले हाम्रा पालामा

मकै छैन डालामा ।।”

“आलुदम दम तिते करेला,

पिँड़ालु खाँदा कोक्याउँछ

जाउँ न दिदी डिपूमा

भेनाले पैसा पठाउँछ ।”

घामको आह्वानमा –

“तिरिमिरी सेवा घाम लागीदेवा

देउताको थानमा बत्ती बालिदिउँला ।”

पाठान्तर –

“तिरिमिरी सेवा घाम लागीदेवा

देउताको थानमा बोको काटिदिउँला”

घाम र बादल सम्झेर –

“घाम दिदी वर वर

बादल भिना पर पर ।”

दार्जिलिङको सानो रेल जसलाई ‘टोय ट्रेन’ भनिन्छ । यो ‘टोय ट्रेन’ विश्वप्रसिद्घ छ । यो ‘टोय ट्रेन’लाई विश्व धरोहर रुपमा मान्यता दिएको छ । यही ‘टोय ट्रेन’ बारे प्रसिद्ध बालगीत-

“दार्जिलिङको सानो रेल

हिँड्नलाई अब त्यारी छ

सानु सानु डब्बामा

यात्रीहरू भरी छन्

गार्डले सुन भाइ सिटी बजायो

कुँ…कुँ… इञ्जिनबाट करायो

झण्डी हरियो हेर देखायो

हिँड़्न लाग्यो हाम्रो रेल

कुँ………छक…..छक…..।

बतासेमा आइपुग्यो

जमीनभित्र रेल लुक्यो

विस्तार विस्तार चढ़्दैछ

अघिल्तिर बढ़्दैछ

चिसो हावा घूम पाहाड़को

वहन लाग्यो यात्रीमा

कति राम्रो सुहाएको

सुन्दर दृश्य खरको घर ।।”

“ऐया आमै घैया पाक्यो

चिउरी कुटीदेऊ न

चिउरी खाँदा, दन्तै दुख्यो

दूधमा भिजाइदेऊ न ।”

“ऐया आमै घैया पाक्यो

चिउरी कुटीदेऊ न

पहाड़बाट बेहुला आयो

बेहुली लुकादेऊ न ।”

लुगा मूसोले काट्दा –

“यति नाना फाट्यो

मूसाले काट्यो

सिइदेऊ न दमेना ।”

परेवाप्रति –

“ग्वाइँ गुरुगुट्टु परेवाको मुटु

तेलमा भुट्ढ खाउँ कुटुकुट्ढ ।”

जुरेलीप्रतिको स्नेह –

“ले ले भाइ गुलेली

मारिदिउँला जुरेली

आन्द्रा भुँड़ी कुकुरलाई

दाहिने फिला सरकारी

आङको मासु तरकारी ।”

आफूभन्दा साना भाइ-बैनालाई फकाउँदा –

“कालो भैँसी, गोरी गाई

नक्कलीले छोरी पाई

हल्लाइदेऊ न नन्दे भाइ

हल्लाउँदिनँ गोरीलाई

त्यसो नभन छोरीलाई

भन्छु, भन्छु मोरीलाई ।”

दार्जिलिङको भौगोलिक विवरण मुखस्थ गराउने सजिलो बालगीत –

“दार्जिलिङको, दार्जिलिङको

सीमाना बताउँछु म

उत्तर-दखिन, पूर्व-पश्चिम

सीमाना बताउँछु म ।

उत्तरतिर सिक्किम भोटाङ

पूर्व भोटाङ जलपाई छ

दखिन पूर्णिया, जलपाईगड़ी

पश्चिमतिर नेपाल छ ।”

मालिङ्गो गुणबारे –

“उँभो त सैलुङ लेकैमा

मालिङ्गोको घारीमा

फेदै काटी सोतेलाई

बीचै काटी मुरली

टुप्पैमा काटी कलमी

छुट्टिने बेला भैगयो

लिनुहोस् हजूर सलामी ।”

भारतमा विशेष दार्जिलिङ जिल्लाका प्राथमिक पाठशाला पचास दशकदेखि राम्रा-राम्रा बालगीत पाठशालामा सिकान्थ्यो । राष्ट्रिय पुरस्कार प्राप्त नैनसिंह यो़ञ्जनका बालपुस्तकमा पाठ्यक्रममा गाभेदेखि तिनमा समाविष्ट बालगीत निकै प्रसिद्ध भएको थियो । तर पछि पाठ्यक्रम कमिटीकाले आफ्नो स्वार्थ र केही प्रकाशकको लहैलहैमा नैनसिंह योञ्जनको पाठ्यपुस्तकको सट्टा अरुकै बालगीत राखे पनि ती बालगीतहरू पाठशालामा पढ़िनु बाहेक उपरोक्त बालगीतलाई उछिन्न सकेन । हिजोआज भारतबाट विशेष दार्जिलिङबाट बग्रेल्तै बालगीत, बालकविताका पुस्तकहरू लेखिए पनि ती बालगीतले उपरोक्त बालगीतले झैं मान्यता पाउन सकेको छैन ।

अर्को कुरो, कतिपय प्राथमिक तहका पाठशालामा अङ्ग्रेजी माध्यमबाट राइम्स पढ़ेर  आएका शिक्षक-शिक्षिकाले पहिलेजस्तै बालगीत के  सिकाउलान् भन्ने प्रश्न छँदैछ ।

पुछारमा, हिजोआज उपरोक्त बालगीतहरू सुन्न पाइँदैन । र हाम्रा यी बालगीतहरू स्मृतिको गर्भमा बिलाउऩ थालिसकेका छन् । हाम्रा बाल-बालिकालाई अङ्ग्रेजी माध्यममा पढ़ाइने नर्सरी राइम्सका अतिक्रमणबाट जोगाउनु हो भने आफ्नै भाषाका बालगीतहरू नै कण्ठस्थ गराउनुपर्ने नितान्तै आवश्यकता देखिन्छ । नत्र पछि उहिले नै नेपाली  बालगीत भन्ने पनि थियो भनेरै  सन्तोक मान्नुपर्ला । by nepalisahityaghar