October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

समुन्द्र

समीक्षाका विषयहरु धेरै छन् र हुन सक्छन् मलाई एउटा शसक्त साहित्यिक कृतिको समीक्षा गर्न मन लागेको थियो । समीक्षाका लागि उपर्युक्तमध्ये पनि सर्बाेपयुक्त कृतिको गन्तीगर्दा–गर्दै एउटा कृतिलाई छाडेर अरु कृतिलाई अन्याय गर्न मन लागेन । फेरि समीक्षाका अनेकौँ हजारौँ विषयहरु छन् भने अहिलेलाई अन्य विषय नै किन नरोजुँ भन्ने लाग्यो । मैले निबन्ध लेख्न पनि खोजिरहेको छैन र वस्तुपरक समीक्षा लेख्न पनि खोजिरहेको छैन । मेरो समीक्षाको विषय हो समुन्द्र अर्थात नेपाली साहित्यको समुन्द्र जो राजधानीमा छ वा राजधानीमा जमेर, थिगुरेर बसिरहेको छ ।

अलिकति राजनीतिकै कुरा पनि गर्नु पर्छ किनभने हाम्रो परम्परागत राज्यसत्ताको स्वरुप एकात्मक र केन्द्रिकृत छ । अर्थात सबै थोक राजधानी हो, काठमाडौं शहर नै सबै हो । जे बन्न मन लाग्छ राजधानी पुगेर त्यसै भइन्छ वा ठूलो भइन्छ, केन्द्रको मान्छे भइन्छ वा नेतृत्व गर्ने हैसियतमा वा स्थानमा पुगिन्छ भन्ने सोचको सिकार भइन्छ । या भनौँ राजनीतिको खेल राजधानीमै सिकिन्छ । ठूला–ठूला नेताका ठूला–ठूला कुरा त्यहीँ हुन्छन् । नजिकै बसेर सुनेपछि थुकको छिटा सहित श्रवण हुन्छ र महापवित्र भइन्छ भन्ने सोचले हाज केन्द्र अर्थात राजधानी सबैको ठूलो धाम नै बन्न पुगेको छ ।

राजनीति त हाम्रो टाउको हो, अझै गहिरिने हो भने मुटु हो । मुटु चल्न छाडे टाउकोले काम गर्न छाडे किस्सै खतम हुन्छ भन्ने कुरा नबुझ्ने कोही पनि छैन । त्यसैले यसो भन्न सकिन्छ हामिलाई जता लैजान्छौ लैजाऊ, राजनीति जसरी खान्छौ खाऊ, नेताज्यू जसरी मार्छाै मार, नेताज्यू तर राजधानी बसेर देश बर्बाद गर्ने षड्यन्त्र नबुन्नोस, दुर्गन्धित खेल नखेल्नुस, अझै सबै क्षेत्र राजधानीमुखी बनाउनुस, राजधानी नै सबैथोक हो, सबै थोक यही हुन्छ र यहीबाट हुन्छ भन्ने सोचको झाडी नझङ्गाउनुस् ।

शीर्षकमा मैले समुन्द्रको कुरा गरे । समुन्द्र विशाल हुन्छ । समुन्द्रको नापतौल केही हुदैन । पवित्र मन गरेर सोचेपछि समुन्द्र पवित्र हुन्छ भने मन धमिलो गरेपछि संसार पखालेको दुर्गन्ध समुन्द्रमा नै मिसिएको हुन्छ । अहिले मलाई समुन्द्रप्रति अति श्रद्धा भएपनि हाम्रो काठमाडौंरुपी समुन्द्रको बारेमा सोच्न खोज्दा कता–कता पेटभित्रको सडल खाद्यन्न बाटो बिराउँछ कि भन्ने लाग्छ, जेहोस साहित्यको कुरा गर्दागर्दै मन बहकिएजस्तो पनि मलाई लाग्न थालेको छ । अहिले हाम्रो सम्पूर्ण परिपाटीले बाटो बिराएको छ, किनभने बाटो देखाउने अगुवा नै अज्ञानी भएपछि सही गन्तव्य पहिल्याउने कुरामा आशा गर्नु मुर्खता नै हो ।

अरुको कुरा छोडौं । हाम्रो साहित्यले पनि बाटो बिराएको छ भन्नमा हिचकिचाउनु पर्दैन । साहित्य काठमाडौमा मात्रै लेखिन्न । काठमाडौको साहित्य अब्बल र मोफसलको साहित्य दुर्लभ वा असाहित्यिक हुन्छ भन्ने सोच काठमाडौका महान् साहित्यकारहरुमा छ, थियो । मोफसलमा बसेर जति स्तरीय साहित्य लेखे पनि त्यो अछुत हुन्छ वा तल्लो दर्जाको हुन्छ ।

त्यसले न आँगन पाउँछ न पिँडी पाउँछ, भित्र प्रवेश गर्नु त धेरै टाढाको कुरा हो । सरकारी प्रशासनलाई आफन्तीकरण गरेर टिपन–टापन गरेर प्रकाशन गरेपछि उहाँ महान् केन्द्रको साहित्यकार भनी दरिन्छ÷मोटिन्छ तर मोफसलमा आफ्नो टाउको घोटेर हृदय निचोरेर गुदी भएको साहित्य सिर्जना गर्दा त्यो रद्धी टोकरीमा गएर थन्किन्छ । जे थियो त्यहि छ जसले त्यहाँ बसेर लेखेको थियो । त्यही छ महान् साहित्यकार अरु सब थाङ्नामा सुतुन ।

साहित्यिक पुरस्कार यहीँकाले वा बसेर लेख्नेले पाउँछन् । सरकारी प्रशासन यिनीहरुले नै कब्जामा पारेका छन् । नाम र शान तिनीहरुको नै छ । बिचरो मोफसलको साहित्यकार आफूले लेखेको कुरा साहित्य भयो भएन सोच्दै ठिक्क छ । अहिलेसम्म नेपाली साहित्यमा कालिदास किन जन्मेनन्, वाल्मीकि किन देखिएनन्, रविन्द्रनाथ किन निस्किएनन् ? महाकवि किन दोहोरीएनन्, अब अलिकती भएपनि सोच्न पर्छ कि ? कसले सोचोस् ?  राजधानीले अरुको बारेमा किन सोचिदियोस् ? मोफसलले सोचेर पनि के हुन्छ र मोफसलको आवाज राजधानीसम्म कहाँ पुग्छ र ।

हरे मिडिया तिम्रो कमाल क्या छ । कसलाई चडाउने ? कसलाई झराल्ने, कसले कतिदिन सक्छ ? कसले कति रिझाउन सक्छ ? उनीहरुकै पछि पछिपछि ….। अब त टाउको झुकाएर खुट्टाको बुढीआंैला हेर्ने टाउको उठाएर परपरसम्म हेर्ने कि ? किन खोक्रो कुरालाई टम्म बनाउने । किन फाइदाको पछि लाग्ने ? कालिदास खोज गाउँगाउँमा महाकविलाई खोजेर लैजाउ समुन्द्रमा । खारेर, माझेर, तारेर झिक मणि समुन्द्रबाट ।

नेपाली साहित्यको समुन्द्र राजधानी हो भने थोपाथोपा, सानासाना झरना खोलाहरुको कलकलता र पवित्रतालाई पनि उचित स्थान दिनुपर्छ । चिन्नुपर्छ तिनीहरुलाई साहित्यको विषय मोफसल बन्नसक्छ भने मोफसलको साहित्य किन समुन्द्रम मिसिन नहुने । कथनी र करनीमा फरक पर्छ हजुर मोफसललाई समेटेर हेर्नुस् कति कालिदास यहाँ जन्मिने छन् ।

(नेपालगञ्ज) By nepalisahityaghar