कथाः सम्बन्धको घाउ


केहीदिनका लागि मेरो यात्रा पश्चिम दार्चुलासम्म हुने भयो । गर्मीको समय भएकाले हल्का सजिला कपडाहरू छनोट गर्दै झोला मिलाएँ । झोला भित्र केही सजिला खानेकुरा र पानीको बोत्तल राखेँ । घरमा ट्याक्सी आइपुग्यो । म बिदा भएँ । ट्याक्सी आफ्नो गन्तव्य कलंकीतिर हान्नियो ।
बिहानको लगभग ९ बजे । पाठशाला र कार्यालय जाने समय । त्यसैले ट्राफिक-जाममा परियो । गाडी छुट्नै लाग्यो भनेर चालकको फोन आउन थाल्यो । “आउँदै छु” भन्दै चालकलाई ट्याक्सी छिटो कुदाउन अनुरोध गरेँ । केही समय कुर्नु पर्दा सबै यात्री रिसाउन थालेका रहेछन् । केही नभनी गाडीभित्र छिरेँ । आफ्नो सिट खोजे र बसेँ ।
सँगैको सिटमा पनि महिला नै परिछिन् । खुशी लाग्यो र उनलाई भनेँ, “ल, हामी अपरिचित भए पनि दुवै महिला भएकाले कुरा गर्दै लामो बाटो काट्न सजिलो हुने भयो ।” उसले कुनै प्रतिक्रिया जनाइन । सेतो कुर्ता सुरुवालमा रातो सल ओढेकी उसले काँधमा सानो हाते ब्याग भिरेकी थिई । उसको सिटछेउमा कपडाको ठूलो ब्याग थियो । उसले आँखा छोपेर सुतेको अभिनय गरी । झट्ट हेर्दा मिलेको खिरिलो जिउडालकी, पढेलेखेकी र भद्र स्वभावकी लाग्ने ऊ उमेरले पचासको हाराहारीमा होली भन्ने अनुमान लगाएँ ।
गाडी अघि बढ्यो । म बाहिरको दृश्यमा आँखा डुलाउँदै रमिता हेर्दै थिएँ । बाहिर भर्खरै कालोपत्रे गरेको नयाँ सडकमा गाडी कुदेको दृश्य रमाइलो देखिन्थ्यो ।
गाडी रोकियो । खलासी भाइ गाडीबाट झर्दै बोल्दै थिए –
“ल है, खाजा खाने समय भयो । अब चिया-खाजा खाऊँ । बाथरुम जाने हो भने बाटो यता छ ।”
मलाई शौचालय जान निक्कै हतार परेको थियो । बाहिर निस्किन खोजेँ । उसले पनि निद्राबाट ब्युँझिएझैँ गरेर जिउ तन्काई ।
“ट्वाइलेट यता, हातमुख धुने उता । तातो–तातो चिया, मिठो–मिठो नास्ता ।” होटलका कारिन्दाहरू गाडीको ढोका नजिक आएर यात्रुहरूलाई होटलतिर आकृष्ट गर्दै थिए ।
म गाडीबाट झरेर हात धुँदै थिएँ । ऊ पनि नजिकै आई । अँध्यारो मुखलाई पानी छम्केर उज्यालो बनाउन खोजी । कालो पोतिएको भए पो पानीले सफा पारेपछि अनुहार उज्यालो हुने थियो, तर पीडाले भरिएको अनुहार धुँदैमा कसरी उज्यालो हुनु र ? सेतो रङको छाला भए पनि अनुहार ग्रहणले ढाकेको देखिन्थ्यो ।
“आउनुहोस् !” – मैले उनलाई बोलाएँ ।
“बस्नुहोस् !” – मैले उसलाई आफू बस्न लागेको कुर्सीसँगैको नजिकैको कुर्सीमा बस्न इसारा गरेँ । अनि “चिया-खाजा के खाने ?” भनेर सोधेँ । अहँ, उसले अझै मुख खोलिन । ऊ कुर्सीमा बसी । मैले चना र चिया मगाएँ । उसका लागि “के मगाऊँ ?” भनेर फेरि सोधेँ ।
“जे भए पनि … ” उसले छोटो उत्तर दिई । उसका लागि उसिनेको अण्डा र चिया मगाइदिएँ । खाइसकेपछि काउन्टरमा गएर मैले नै दुवैजनाको चिया र खाजाको रकम भुक्तानी गरेँ ।
“सम्झनाका लागि फोटो लिऊँ न है !” पसल बाहिर निस्केपछि मैले नै चासो दिएर दुवैको सेल्फी लिएँ । तर फोटोको पोज दिँदै मैले ङिच्च दाँत देखाएर हाँस्दा पनि ऊ चाहिँ चिन्तित मुद्रामै यथावत् रही ।
एकछिनमा गाडी गुड्यो । चालकले आधुनिक गीतको क्यासेट बजायो । स्वरसम्राट नारायण गोपालको गीत – “यो सम्झिने मन छ, म बिर्सूँ कसरी, तिमी नै भनिदेऊ ए जाने निठुरी…। “
“आहा ! क्या मिठो गीत !” मैले ऊतिर हेरेर गीतको तारिफ गरेँ । तर ऊ त अझै कालो अनुहार बनाउदै घोप्टो पो परी ।
घोप्टो परेको अनुहार साइडबाट प्रष्ट देखियो । ऊ आँशु झार्दै रहिछ ।
“तपाईंलाई के भयो ? मैले अघि नै भनिसकेको छु, हामी साथी भयौँ भनेर । मनमा कुनै चोट छ भने भन्नुहोस् । एउटा भनाइ छ – कसैलाई आफ्नो मनको पीडा सुनाउँदा मन हल्का हुन्छ रे ।” मैले सकेसम्मको मायालु स्वरले उसलाई सुम्सुम्याएँ ।
हामीभन्दा पछाडिका सिटका यात्रीले हाम्रो कुरा सुनिरहेका थिए । मैले उनीहरूलाई पुलुक्क हेरेँ, उनीहरूले हाम्रा कुरा नसुनेझैँ गरे ।
उसले आफ्ना भिजेका आँखाले मेरो आँखामा हेरी र बिस्तारै भनी – “दिदी, यो गाडी कहाँसम्म जान्छ ?”
मैले भनेँ, “दार्चुलासम्म जान्छ । तपाईं कहाँ जाने ?”
“खोइ कहाँ जान्छु, केही ठेगाना छैन दिदी । भाग्यले मलाई जता लैजान्छ, म त्यतै जान्छु ।”- उसले मलिनो स्वरमा जवाफ फर्काई ।
“हो र !” – अप्रत्यासित उत्तरबाट अचम्मित हुँदै म ट्वाल्ल परेँ । मनमा उसकै बारेमा अनेक थरी प्रश्न सल्बलाए पनि थप केही बोल्न मन लागेन । उसले कोही नभएका अनाथ वा अवसादग्रस्त वा विक्षिप्तले गर्नेजस्तो कुरा गरेपछि मेरो मनमा पनि करुणाको आँशु छचल्किरहेको थियो ।
यही बेला कन्डक्टर नजिकै आयो र सोध्न थाल्यो – “कहाँसम्म जाने ? टिकट छ ? भए टिकट देखाउनुस् ।”
उसको आवाजले मलाई भावुकताको तहबाट यथार्थ धरातलमा अवतरित गरायो । ब्यागबाट टिकट झिकेर कन्डक्टरलाई देखाएँ । उसले पनि “म नेपालगन्ज जाने हो” भनेर पैसा दिई ।
“तपाईंको घर कहाँ हो ?”- कन्डक्टरलाई पैसा दिएपछि उसले मलाई लक्षित गरेर गरेको प्रश्न थियो यो ।
मैले “काठमाडौं” भनेर छोटै उत्तर दिएँ । अनि थपें “तपाईंको नि ?”
उसले लामै उत्तर दिई मलाई – “मेरो घर छैन । आफन्त, साथीभाइ छन् । उनीहरूलाई भेट्न जाँदैछु ।”
“माइती जान लाग्नुभएको हो कि ?” मैले थप जिज्ञासा राखेँ ।
“माइती जान्नँ । बुढी आमा त हुनुहुन्छ तर आमासँग दाजुभाउजू पनि छन् ।”
“कहिलेकाहीँ त जान मन लाग्छ होला नि माइत ? किन नजाने ? आफ्नो जन्मघर, आफू हुर्केको, खेलेको घर । आफ्नो प्राणभन्दा प्यारो जन्मभूमिलाई कसरी बिर्सन सकिन्छ र ! आमाको न्यास्रो पनि लाग्छ होला नि ?” मैले सम्झाउने तरिकामा भनेँ ।
“त्यो त हो । तर मलाई दुःख भयो भनेर दाजुभाउजूलाई सुनाउनुभन्दा त बरु बाटोमा बसेर मागेर खान्छु । म आफ्नै खुट्टामा उभिएको र सरकारी जागिर खाएको मान्छे हुँ । भविष्यको फैसला मैले गर्ने हो । जिन्दगी बिताउने सवाल छ । मलाई एक वचन नसोधी, ढाँटेर, जेठो दाजुभन्दा पनि उमेरले जेठो केटासँग मेरो विवाह गरिदिए । त्यो मागी विवाह थियो । मभन्दा साना उमेरका केटीले उमेर मिल्दा केटासँग भागी विवाह गरेका थिए । तर मलाई भने … !” उसले आँखाबाट बरबर आँशु झारी ।
उसका आँखाबाट झरेका आँशु उसका हातमा खसे । त्यो आँशुलाई हातको औँलाले खेलाउँदै र सुँक्क–सुँक्क गर्दै ऊ आफ्नो मनको पिर मेरासामु ओकल्न थाली – “विवाहपछि पहिलो पटक माइती जाँदा बुढी आमाले ‘ज्वाइँ कस्ता छन् ? माया गर्छन् कि गर्दैनन् ?’ भनेर सोधिन् । मैले आँखाबाट आँशु झार्दै ‘आमा ! तपाईंका ज्वाइँ उमेरले दाजुभन्दा जेठा छन् । हाम्रो उमेरको लामो अन्तर छ । हाम्रो कुरै मिल्दैन’ भनेर सुनाएँ । मनमा अरू पनि थुप्रै दुःखका कुरा थिए । माइतीमा गएर आमालाई गुनासो पोखौँला अँगालो हालेर पिरहरूलाई मज्जाले पखालौँला भन्ने इच्छा लाग्थ्यो तर दुर्भाग्य, उल्टै पो भनिन् – ‘उमेरले ज्वाइँ जेठा छन् भनेर पिर नमान्, मन नदुखा; भाग्यमानी रहिछस् तँ, आफूभन्दा बुढाले झन् धेरै माया गर्छन् ।’ त्यसैले माइत जान मनै लाग्दैन । बरु परचक्री नै आफ्ना लाग्छन् । मेरो मनमा पिरको गह्रुङ्गो भारी छ, तर बिसाउने ठाउँ कहीँ छैन, दिदी ! झन् एक्लो ज्यान हुँदा यो रुढीवादी समाजमा जसले पनि कुरा काट्ने ! जिउनै गाह्रो । त्यसमाथि दुई जना…”
ऊ एकछिन रोकिएर फेरि बोल्न थाली – लोग्नेस्वास्नीको उमेर नमिलेको देखेपछि उमेरदार मानिससँग बोल्दा पनि समाजले नराम्रो मान्दो रहेछ । ‘कसले के भन्ला, उसलाई कसरी चित्त बुझाऊँ’ भन्दा–भन्दै मलाई आफ्नो उमेर गएको पत्तै भएन । आफ्नो भविष्य बिर्सेर, आफूलाई बिर्सेर आफ्नाहरूसँग राम्रो सम्बन्ध राखिरहन मरिहत्ते गरेँ । तर नाताले आफ्ना भएका मानिसहरूले मलाई ‘राम्रो गरिस्’ भनेर कहिल्यै भनेनन् । आज तपाईंले माया गरेको आभास पाएँ, त्यसैले आँशु थाम्न सकिनँ । आँखाबाट कतिबेला आँशु झरे, थाहै पाइनँ ।” यसो भनिरहँदा ऊ आँशु पुछिरहेकी थिई।
गाडी गुडिरहेको थियो । आ-आफ्ना सिटमा सबै निदाइरहेका थिए । चर्को आवाजमा स्वर्गीय नारायण गोपालको गीत गुन्जिरहेको थियो — “दुइटा फूल देउरालीमा साथै राखूँ जस्तो लाग्छ…।”
मलाई उसको बारेमा थप जान्न मन लाग्यो र प्रश्न सोधेँ, “तपाइँको श्रीमान् अनि छोरा छोरी … ?”
मेरो प्रश्न पूरा नहुँदै ऊ आफ्नो कहानी यसरी सुनाउन लागी —“म पढ्दै गर्दा मेरा बा बितेका थिए । बापछि मेरा दाजुले मलाई पढाउन चाहेनन् । त्यो समय सबैका छोरा–छोरी शहर पढ्न जान्थे । मैले पनि शहरबाटै बढो कठिनाइ साथ आई.ए. सम्मको पढाइ सकेकी थिएँ । बाको मृत्युपछि गाँस र बासको पनि कठिनाइ भयो । हुन त शहरमा पनि घर थियो, तर घर भए पनि पेटभरि खान मुश्किल भयो र खानकै लागि गाउँ फर्किन बाध्य भएँ । गाउँमा पेटभरि खान पाइन्थ्यो तर काम गर्नुपर्थ्यो । बा नभएपछि आमाको हुकुम चल्न छोडेको थियो ।
एक दिन दाजुले घरमा अगेनाको आगो ताप्दै गर्दा आमासँग कुरा गरे — “आमा ! बहिनीको लागि केटा खोजेर आएको छु । पढेलेखेका केटा छन् । जति पढे पनि के काम ? अर्काको घरमा जाने त हो । उमेर छिप्पिँदै छ, बुढीकन्या भइसकी । एक–दुई वर्षपछि कसैले विवाह गर्दैनन् । त्यही केटालाई दिऊँ ।”
आमाले अरू कुरा केही सोधिनन् । मलाई पनि दाजुले एक शब्द सोधेनन् । दाजुभन्दा उमेरले केही जेठा केटा केही दिनपछि मलाई हेर्न आए । कुन–कुन बहाना गरेर मलाई देखाएछन् । केटी हेरिसकेपछि ‘हामीलाई नानी मन पर्यो । नानीलाई पनि सोध्नुस् । कुरा मिलेमा आजै विवाह गरौँ, लिएर जान्छौँ’ भनेछन् । मलाई नसोधी ‘बहिनीले मन पराइन्’ भनेर विवाहको कुरा छिनियो । भोलि बिहान विवाह गर्ने भनेर टुंगो लगाएछन् । भोलिका लागि विवाहका सामान जुटाउन लागे ।
भाउजूले ‘साडी किन्न मलाई बजार जाऊँ’ भनिन् । केही नसोधी पछि–पछि लागेँ । ‘दाजुले सस्तो सामान किन्न भन्नुभएको छ । अलि सस्तो साडीहरू देखाउनू साहुजी’ भन्दै अर्डर गरिन् र केही थान सस्ता साडी किनिन् ।
भोलि बिहान सात बजे घरमा सामान्य जग्गे–मण्डपमा बस्यौँ । सबै विवाहको रमझममा सजिएका थिए । मैले कुर्ता सरवाल फेरेर रातो साडी र ब्लाउज लगाएँ । न गहना थिए न कुनै सृङ्गारपटार । तर भाउजू सुनका गहनाले पुरै छोपिएकी ! बेहुली सामान्य तर पाहुना र घरका अरू महिला सदस्य बेहुलीजस्ता देखिने ! यी दृश्यहरूले मनमा भालाले रोपेझैँ गहिरो पीडा भयो । आँशुले आँखा छोपिएका थिए, ओठतिर सिँगान पोतिएको थियो । विवाहको रमझममा बेहुलीको रुवाइले जन्ती होइन मरेको लास निकाल्दै छन् भनेजस्तै वातावरण भएको थियो । म धेरै रोएँ, चिच्याएँ, कराएँ । मुटु फुट्लाझैँ भयो । तर अहँ ! कति रोइस्, के भयो ? कसैले सोधेन । मेरो मनका इच्छाहरू त्यतिबेलै मरिसकेका थिए । सबै आफन्तले मसँगको साइनो मेटिसकेका थिए । लाग्थ्यो, अन्तिम बिदाइ गर्दै छन् । रुवाइको हिक्क–हिक्क आवाज र आँशुका सहस्र भेलबीच आफन्तहरूबाट बिदा भएँ । लाग्छ, मेरा रुवाइका शहरका गल्ली–गल्लीसम्म पुगेर गुञ्जिए । आकाशमा मेघ गर्जेझैँ गर्जियो पनि, तर तिनै आवाजलाई बेहुलीका माइती घरले सुनेन ।”
उनको कुरा सुनेर म पनि दुःखी भएँ । हाम्रा सम्बन्धहरू जति नजिक भए पनि दोबाटोमा भेटिएका दुई यात्री थियौँ ।
बस महेन्द्रनगरमा पुग्यो । अब मेरो यात्रा डडेलधुरातर्फ मोडियो । “दृशी मेडम” भनेर पछाडिबाट चिनेको आवाज आयो । फर्केर हेरेँ, मेरा अत्यन्तै मिलनसार सहयोगी मित्र रिदम पुडासैनी हुनुहुँदो रहेछ । “आउनुस्, बसौँ” भन्दै आतिथ्यता दर्शाए र नमस्कारको हात जोडे ।
यतिकैमा मेरा यात्रा–अवधिका साथी रोजिनाले उठ्दै गाडीबाट ओर्लिने प्रयास गरी । मैले रिदमलाई परिचय गराएँ । उसले अँध्यारो मुख बनाई । रिदम पनि अक्क न बक्क पर्यो । “अ… अ…” भनिरह्यो, अरू कुनै प्रतिक्रिया दिएन ।
ऊ गाडीबाट झरी । मैले नमस्कार र धन्यवाद भन्न बिर्सिइनँ ।
रिदम पुडासैनीलाई मैले चिनेको समय ऊ चालीस वर्षको अविवाहित पुरुष थियो । विद्युत् प्राधिकरणको असल कर्मचारी हो । सम्पन्न परिवारको जेठो छोरो । ऊ पनि सुन्दर थियो । पछि कलेजको अध्ययन सकेर जागिरतिर लागे । उसले मलाई राम्रो व्यवहार गर्थ्यो । मलाई पनि खुशी लाग्थ्यो ।
छोरी मान्छेलाई समाजले औँलो ठड्याएको दिन परिवारको इज्जतमा दाग लाग्छ भन्ने सुन्दै हुर्केकी म । मभन्दा बढी उमेरका मेरा भदैनीहरू पनि अविवाहित नै थिए । मैले गलत गरेँ भने उनीहरूलाई पनि नराम्रो दृष्टिले हेर्छन् भन्ने सोचाइ आउँथ्यो । त्यसैले, कहिलेकाहीँ बढेको जवानीको अन्धवेग पनि त्यही कारणले पछाडि सर्थ्यो । अनि उसले पनि कुरा बुझेझैँ गर्थ्यो । यसरी हामी असल साथी मात्रै भयौं ।
केही महिनापछि उसले विवाह गर्ने भएछ । एकदिन त्यो कुरा सुनायो । उसले मलाई विवाहको प्रस्ताव कहिल्यै राखेन; राखेको भए शायद …..
“तिमीलाई दाम्पत्य जीवनको शुभकामना” मैले बधाई दिएँ । ऊ खुशी भयो ।
“विवाहमा आउनुपर्छ” भनेको थियो । घरबाट बिदा दिने कुरै थिएन, हुन्छ चाहिँ भनेकी थिएँ ।
आज अचानक त्यही व्यक्ति मेरो सामु उभिएको थियो । सिटमा सँगै यात्रा गर्दै थियौँ । मैले यात्राका दौरानमा भेटिएकी साथी रोजिनाको विवरण सबै सुनाएँ । सँगै बसेको, खाजा खाएको र सँगै हामीले लिएको तस्बिर समेत देखाएँ ।
ऊ गम्भीर बन्यो । रुन्चे अनुहार लगाएर मलाई ग्वाम्लाङ्ङ अँगालो हाल्यो । मैले आत्तिएर “के गरेको यो ? पागल भयौ ?” भनेर जोडले घचेडिदिएँ । “सरी, माफ गर !” भन्दै ऊ अलि पर सर्यो ।
एकछिन दुवै बोलेनौं । उसलाई उकुसमुकुस भएको रहेछ र पोखिन थाल्यो – “मलाई तिमी अझै पीडा नदेऊ, भो । अब सहन सक्दिनँ म । तिम्रो प्रेममा पागल भएको म तिम्रै कारणले बर्बाद भएँ । तिमीलाई मैले अन्धो प्रेम गरिरहेँ । तिम्रो प्रेम, ऊसँगको विवाह ! इच्छा नहुँदानहुँदै स्वीकार गरिएको पारिवारिक बाध्यता । घरमा आमाबुवाले अब विवाह गर्नुपर्छ भन्न थाल्नुभयो । शुरुमा त मैले अस्वीकार गरेँ । तर बुढा आमाबुवाको अनुरोधलाई कतिन्जेलसम्म अस्वीकार गर्न सक्नु ! आमाबुवालाई बुढेसकालमा बुहारीको रहर लाग्यो; नाति नातिनाको रहर लाग्यो । ‘हाम्रो लागि भए पनि विवाह गर’ भनेर ढिपी गर्न थाल्नुभयो । बुवाले ‘संस्कार भए पुग्छ, धनसम्पत्ति केही चाहिँदैन’ भन्नुभयो र सामान्य परिवारकी केटी भएको घरमा कुरा राख्नुभयो । बुवाआमाको रोजाइमा भनेजस्तै केटीसँग बिहे भयो । समाजको साक्षी राखेर सिन्दूरले रोजिनाको सिउँदो मैले भरिदिएँ । आमाबुवाका लागि विवाह गरिदिएँ । घरमा बुहारी भएपछि भइगयो भनेर जागिरमा म तुरुन्त फर्किएँ र केही वर्ष घर फर्किनँ । तर, म घरमा नजाँदा उनका धेरै सपनाहरूलाई धुजाधुजा भएको मलाई हेक्कै रहेन ।
उनले आफ्नो पतिसँग प्राप्त गर्ने हरेक चाहनाहरूलाई मनभित्रै बन्धक राखेकी रहिछिन् र आखिर एकदिन त्यो विस्फोट भयो। मलाई माफ गर ! भर्खरै तिमीले जसको कुरा गर्यौ नी उनी अरू कोही नभएर तिनी नै हुन् । हो, तिनी नै हुन् ती अभागी महिला – मेरी विवाहित पत्नी ।” -sahityapost








प्रतिकृया दिनुहोस्