June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

तौफिकको योजनाः ‘स्वस्थ क्षेत्र नम्बर ५, खुसी नागरिक’ अभियान

Advertisement

लुम्बिनी– स्वास्थ्य क्षेत्रमा रूपान्तरण गरी ‘स्वस्थ क्षेत्र नम्बर ५, खुसी नागरिक’ अभियान चलाउने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही क्षेत्र नम्बर ५ का उम्मेदवार तौफिक अहमद खाँले योजना अघि सारेका छन् । रुपन्देही–५ का नागरिकहरू सामान्य उपचारका लागि पनि बुटवल वा भैरहवा जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै आफ्नै क्षेत्रमा विशेषज्ञ सेवा सुनिश्चित गर्न उक्त योजना अघि सारेको उनले बताए ।

Advertisement

यसका लागि ५० शय्याको सुविधासम्पन्न अस्पताल बनाउनुपर्नेमा उनको जोड छ । ‘क्षेत्र नं. ५ को मध्यभाग (रुद्रपुर वा गजेडी क्षेत्र) मा एउटा सुविधासम्पन्न सरकारी अस्पताल स्थापनालाई मैले पहलकदमी गर्ने छ’, उनले भने, ‘यो सरकारले चाहेमा नहुने कुरा होइन्, तर अहिलेसम्म कहीकतैबाट पहल भएन ।’

उनले त्यस्तो अस्पतालमा प्रसूति, बालरोग, र हाडजोर्नी जस्ता विशेषज्ञ सेवा २४सै घण्टा उपलब्ध गराउनुपर्नेमा जोड दिए । ‘हुलाकी राजमार्ग र अन्य व्यस्त सडकमा हुने दुर्घटनालाई लक्षित गरी आधुनिक ट्रमा सेन्टर र आकस्मिक कक्षको समेत व्यवस्था गर्न जरुरी छ’, उनले भने, ‘म उम्मेदवार बनेर क्षेत्रमा घुमिरहँदा, आमनागरिकको कुरा सुन्दा पनि यस्ता माग आएका छन् । त्यसैले मैले यी योजना अघि सारेको हुँ ।’

उनले आमनागरिकको स्वास्थ्य महत्वपूर्ण रहेकाले प्रत्येक वडाका स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी ‘डिजिटल क्लिनिक’ बनाउने आफ्नो योजना गरेको बताए । ‘गाउँका स्वास्थ्य चौकीबाटै शहरका विशेषज्ञ डाक्टरसँग भिडियो परामर्श लिन सकिने गरी टेलिमेडिसिन प्रणाली जडान गर्ने गरी काम गर्नुपर्छ’, उनले भने, ‘सरकारले तोकेका ९८ प्रकारका आधारभूत औषधिहरू कुनै पनि समयमा अभाव हुन नदिने गरी ‘अटोमेटेड स्टक सिस्टम’ लागू गरिनुपर्छ । यसका लागि मैले काम गर्नेछु ।’

रास्वपा उम्मेददवार खाँनले आमा र बच्चाको सुरक्षाका लागि ‘सुरक्षित मातृत्व कार्यक्रम’लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । ‘जटिल अवस्थाका सुत्केरी महिलालाई तत्काल अस्पताल पुर्याउन एम्बुलेन्स सेवा निःशुल्क हुनुपर्छ, यसमा रास्वपाले काम गर्नेछ’, उनले भने, ‘सरकारी अस्पतालमा बच्चा जन्माउने आमाहरूका लागि थप ‘पोषण भत्ता’ को व्यवस्था जरुरी छ । प्रत्येक वडामा शिशुहरूको नियमित स्वास्थ्य जाँच र पोषण पुनस्र्थापना केन्द्र स्थापना गर्ने उनले जनाए ।

आफूले अघि सारेका योजना हरेक क्षेत्रमा जरुरी रहेको उनको भनाई छ । ‘मानिसको स्वास्थ्य भन्दा अरु केही कुरा ठूलो हुँदैन’, उनले भने, ‘क्षेत्र नम्बर पाँचमा राम्रो अस्पताल नहुँदा यहाँका नागरिक टाढा धाउनु पर्ने बाध्यता छ । यसलाई समाधान गर्न मैले सहजै कार्यान्वयन गर्न सकिने योजना मात्रै अघि सारेको छु ।’ खाँनले चुनावका बेला गरिने बाचा व्यवहारमा लागू हुनुपर्ने जनाउँदै रास्वपाले सही र गर्न सकिने मात्रै योजना जनतामाझ लगिरहेको दावी गरे ।

चुनावी रफ्तार बढाउँदै उम्मेदवार

कृषि रूपान्तरणका लागि तौफिकले बुनेका योजना