चुनावी रफ्तार बढाउँदै उम्मेदवार


भैरहवा– उम्मेदवारी दर्ता पछि अधिकांश दलहरुले सम्बद्ध क्षेत्र, पालिका र वडा स्तरीय छलफल तथा बैठक गरिरहेका छन् । अधिकांश उम्मेदवारले यस्ता बैठक सकिइसकेका छन् । निर्वाचन परिचालन कमिटी गठन गरेर मतदाता भेटघाटलाई तिव्रता दिइरहेका छन् ।
काँग्रेस, एमाले, रास्वाप, नेकपा, राप्रपा, जसपा नेपाल, जनमत लगायतका दलहरु आफ्ना उम्मेदवार जिताउन कम्मर कसेर लागेका छन् । क्षेत्र नम्बर ३ का उम्मेदवार यतिबेला पार्टीको निर्वाचन परिचालन तथा प्रचारप्रसार कार्यालय स्थापना गरेर मतदाता भेघघाटमा व्यस्त छन् ।
रास्वपा उम्मेदवार डा.लेखजंग थापाले प्रदेशसभा ३ (२) का अधिकांश स्थानमा भेटघाट गरेका छन् भने भैरहवा बजारमा पनि आफ्नो चुनावी अभियानलाई तिव्रता दिएका छन् । रास्वपा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार पुनमकुमारी अग्रवालले सुशासन र मुलुक निर्माणको मार्गचित्र लिएर पार्टी चुनावमा होमिएको जनाइन् ।
‘हामी रुपन्देही–३ मा मात्रै होइन्, जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा सानदार तरिकाले जित निकाल्दै छौं । यसका लागि पार्टीका कार्यकर्ता, नेताहरु, उम्मेदवार र शुभेच्छुकहरुले कम्मर कसेर लाग्नुभएको छ’, उनले भनिन्, ‘आमनागरिकका कुरा सुन्ने, क्षेत्रगत विकास र एउटा सांसदले कस्तो भूमिका खेल्न सक्छ भन्ने कुरा हामीले आमरुपमा बुझाइरहेका छौं ।’
क्षेत्र नम्बर ३ का काँग्रेस उम्मेदवार सुशील गुरुङले पनि टोलटोलमा पुगेर मतदाता भेटिरहेका छन् । उनले युवा र बदलिएको काँग्रेस मार्फत् मुलुकको विकासका लागि मत दिन आग्रह गरेका छन् । ‘क्षेत्रगत विकास र जेनजीको भावना समेट्ने पार्टी काँग्रेस हो’, उनले भने, ‘हामीले गौतमबुद्ध विमानस्थल नियमित संचालन गर्नुछ, सेमलारको बहुउद्देश्यीय कृषि बजार निर्माण होस् वा मोतिपुर औद्योगिक क्षेत्रलाई पूर्णता दिने । यी सबै कामको नेतृत्व काँग्रेसले गर्छ र गर्दै आएको छ भन्ने कुरा बुझाइरहेका छौं ।’ उनका अनुसार यी योजना विगतमा काँग्रेसले नै अघि सारेको थियो ।
यो क्षेत्रबाट एमाले उम्मेदवार बासुदेव घिमिरे, राप्रपाका उम्मेदवार गौरव बोहरा, नेकपाका फैज अहम्मद खाँन, जसपा नेपालका उम्मेदवार श्रीनिवास यादव, जनमतका उम्मेदवार विशाल गुप्ता, स्वतन्त्र उम्मेदवार गोपाल भण्डारी लगायत अन्य दल र पार्टीका उम्मेदवारहरु पनि चुनावी अभियानमा छन् । बिहान ७ बजेदेखि राति १० बजेसम्मै उम्मेदवारहरु घरदैलोमा पुगिरहेका छन् ।
क्षेत्र नम्बरका १ मा राप्रपा उम्मेदवार प्रज्वल बोहराले आफ्नो चुनावी रफ्तारलाई तिव्रता दिएका छन् । स्वर्गीय दीपक बोहराका छोरा समेत रहेका इन्जिनियर बोहराले देवदहदेखि सीमा नाकासम्म रहेका मतदातालाई भेटिरहेका छन् । यस क्षेत्रमा राप्रपाको उपस्थिति राम्रो भएको, मुलुक र क्षेत्रगत विकासका खाका स्पष्ट भएकाले मतदाताबाट राम्रो साथ पाइरहेको बोहराले बताए ।
यहाँ काँग्रेसका हिराबहादुर केसी, एमालेका दधिराम न्यौपाने, रास्वपाका सुनिल लम्साल, नेकपा लगायत अन्य दलका उम्मेदवारले समेत मतदाता भेटघाटलाई प्राथमिकता राखेर अभियान चलाएका छन् । आगामी फागुन २१ मा हुने निर्वाचनमा जसरी हुन्छ चुनाव जित्ने ध्याउन्नमा उम्मेदवार र दल छन् ।
क्षेत्र नम्बर दुईमा एमाले उम्मेदवार विष्णुप्रसाद पौडेल, काँग्रेसका चुन्नप्रसाद शर्मा पौडेल, रास्वपाका सुलभ खरेलले पनि मतदाता भेटघाटलाई तिव्रता दिएका मात्रै छैनन्, उनीहरुले विकासका योजना बोकेर मत आफ्नो पोल्टामा पार्ने प्रयास गरिरहेका छन् । ‘सुशासनसहितको बुटवलको विकास, रोजगारी सिर्जना, नवउद्यमको प्रबद्र्धन र बुटवलको पूरातन शैलीलाई फर्काउन काँग्रेसले जित्नुपर्छ’, काँग्रेस उम्मेदवार चुन्नप्रसादले भने ।
यस्तौ, क्षेत्र नम्बर ४ मा एमाले उम्मेदवार प्रमोदकुमार यादव, रास्वपा उम्मेदवार कन्हैया बनिया, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्ल, काँग्रेसका आशुतोष मिश्र, जनमतका उम्मेदवार भोपेन्द्र यादवले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकासलाई आफ्नो एजेण्डा बनाएर मत मागिरहेका छन् । टोलटोलमा भेला गर्ने र मतदाताको मन जित्ने प्रयासमा उनीहरु छन् ।
यस क्षेत्रबाट एमाले उम्मेदवार बनेका प्रमोदकुमार यादवले भने, ‘मर्चवारको विकास एमालेले मात्रै गर्नसक्छ । विगतमा एमालेकै पहलमा मर्चवार जाने सडक कालोपत्रे भएको हो, यद्यपि थोरै मात्रै काम भएको छ’, उनले भने, ‘यो सडक पूरा गर्नुछ । सिंचाईका लागि थप योजना ल्याउन, राम्रो अस्पताल निर्माणका पहलकदमी गर्न पनि एमालेको जित अपरिहार्य छ ।’
क्षेत्र नम्बर पाँचमा रास्वपाका तौफिक अहमद खाँन, एमालेका खिमलाल भट्टराई, काँग्रेसका भरतकुमार शाह, नेकपाका मोहम्मद वकिल मुसलमान, जनमतका ओमप्रकाश यादवले पनि चुनावी अभियानलाई द्रुत गतिमा अगाडि बढाएका छन् । उनीहरुले एअर्काको मत आफ्नो पक्षमा पार्ने प्रयासदेखि जनजीविकाका मुद्दाहरु पनि उठाएर मतदाता भेटिरहेका छन् ।
‘लुम्बिनीलाई केन्द्रमा राखेर मात्रै यहाँको विकास हुनसक्छ भन्ने हाम्रो मान्यता हो’, रास्वपाका उम्मेदवार तौफिकले भने, ‘शिक्षामा समस्या छ, सडक संजाल अभाव छ, कालोपत्रे भएका सडक पनि टिकाउ छैनन् । यसलाई सुधार गर्न पनि रास्वपाले जित्नुपर्छ भन्ने हाम्रो बुझाई हो ।’ उनले विगतमा यहाँबाट पटक–पटक जितेका काँग्रेस–एमालेले राम्रो काम गर्न नसकेका कारण क्षेत्रले विकास र सुशासनको अनुभूति गर्न नपाएको बताए ।









लेखकको सम्वन्धमा