कविताः मानिस बनौँ


टुप्पोमै जन्मिएका
चिसा कुहिराहरू
आफ्नै सन्तानको
घाँटी कसिरहेका छन् ।
उनीहरूका आँखामा
फुल्न नपाएका
सपनाहरूमा
विष भरिदिन्छन् ।
फुल्न नपाउँदै
थाकेका युवा
आफ्नो भविष्य होइन
अन्तिम यात्रा रोज्दै छन्
साँझको घामझैँ
चुपचाप हराउँदै छन् ।
आज
हिमाल र पहाड,
देउराली र भञ्ज्याङ
मन्दिरमा उभिएर
भगवान् खोजिरहेका छन्
तर
घर–समाजमै
मानवता हराउँदै छ।
जरामा विश्वास
माया र संवादको
मल हाल्न सकेको भए
सायद
यो मन
भत्किने थिएन ।
तर
प्रार्थनाका बिम्बहरू
काँचझैँ फुट्छन् ।
जब
मनको मन्दिर
भत्किन्छ
आस्थाको ढोका
बन्द हुन्छ
अनि
एउटा जीवन
समाजकै
लापरवाहीले
हार्छ ।
अब
भगवान् खोज्नुअघि
मानिस बनौँ
सुन्न जानौँ
सम्झन सिकौँ
किनकि
एक शब्द
एक साथ
एक विश्वासले
कसैको जीवन
बचाउन सक्छ।
-sahityapost








प्रतिकृया दिनुहोस्