दैव जानून्


दिल खोलेर अब नाच्न नपाइने भो
मस्तसँग कोही हाँस्न नपाइने भो
न्यास्रो लागे पनि यो जीवनमा कसैले
रमाइलो गरी अब बाँच्न नपाइने भो
अन्धकार छाए छाओस् यो देशमा
घर उज्यालो अब राख्न नपाइने भो
कमिसनका रूपमा घुस लिन छुट रे !
यसको सीमा मात्र नाघ्न नपाइने भो
लेनिन, माओ र चे ग्वेभाराहरू पढे हुन्छ
इष्टदेवताचाहिँ भाक्न नपाइने भो
आन्दोलन तोडफोड जे गरे’नि हुने रैछ
हाम्रा यी जनता भने जाग्न नपाइने भो
हाम्रो यो देशको कानुन दैवले नै जानून्
जिन्दगी आफ्नो ढंगले बाँच्न नपाइने भो !
-baahrakhari








प्रतिकृया दिनुहोस्