June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

एउटै जुनी पर्याप्त छ

Advertisement

मान्छे हेर्दा बलियो नै थियो । तर, बज्रस्वाँठ भन्ने खालको होइन । बज्रस्वाँठ भनेर नामकरण गर्दा मूर्खजस्तो लाग्न सक्छ र ऊ जससँग पनि भिडिहाल्ने खालको हुन जान्छ । तर, हरि त्यस्तो होइन ।

Advertisement

सज्जन र व्यवहारकुशल । हँसिलो पनि । मलाई मन पर्ने पफ्र्युम छर्केर आएको हुन्छ । मलाई फसाउन होइन होला । कसरी उसले थाहा पायो, मलाई यही बास्ना भएको पफ्र्युम मन पर्छ भनेर ?

तर, उसको नजिक पर्नासाथ मेरो मन खल्बलिने गर्छ । जीउमा सुनामी चल्न थाल्छ । यो अनुभूतिका लागि म उसको नजिक पर्ने गरेको छु ।

हरि मेरो नजिक आउन त धकाइरहेको हुन्छ । बडो सज्जन व्यवहार गर्छ बा ! तर, केही छैन, लोग्नेमान्छेलाई एकपटक ट्र्यापमा पार्न सकेपछि जे पनि गराउन सकिन्छ । यो मेरो विश्वास हो, अनुभव पनि । तर, साह्रै व्यापक अनुभव होइन नि ।

तर, शंका गर्नुपर्ने कुरो एउटा यो छ, म कतिजना लोग्नेमान्छेसँग सुतेकी छु । किनभने, मैले दाबी गर्न भनेकी छु– जस्तोसुकै आत्मसंयम भएको लोग्नेमान्छेलाई एकपटक मात्र शय्यामा पुर्‍याउन सकियो भने उसलाई वशमा गर्न सकिन्छ र चाहेजस्तो काम गराउन सकिन्छ, कठपुतली झैँ नचाउन सकिन्छ ।

हनी ट्र्याप नभनूँ यसलाई, भनिहाले पनि केही छैन । स्त्रीसँग भएको हनी पुरुषलाई चटाउन सकियो भने ऊ होस गुमाएर सर्वस्व त्याग्न तयार हुन्छ । एक किसिमले हनी चटाएर आफ्नो अधीनमा गराउनु नै हो । बाँकी काम त… ।

मेरो सोच त्यही थियो– यो व्यक्ति जो थियो र जसको नाम हरिप्रसाद थियो, उसलाई म अधीनमा लिन सक्छु । मात्र कति भने, एउटा अवसर यस्तो जुरोस्m जसको फाइदा उठाएर म उसलाई ओछ्यानसम्म पुर्‍याएर कर्‍यापझ्याप पार्न सकूँ ।

मेरो यस्तो अश्लील सोचको पछाडि के स्वार्थ छ त्यो तपाईंहरू जान्न चाहनुहुन्छ होला । मैले एकपटक हरिलाई सँगै शय्यासीन गराउन पाए म उसलाई वशकम लिने थिएँ भनेर भन्नु अश्लीलता नै हो ।

लोग्नेमानिसलाई वशमा लिने स्त्रीका अझ युवतीका अनेक उपाय हुन सक्छन् । अश्लीलता मात्रै सोच्नुपर्दैन ।मेरो सोच भने अहिले अश्लीलताको पराकाष्ठामा पुगेको छ, हरिप्रसादलाई वशमा गर्न । यो त मेरो सधैँको सोच हो । म कसैको सामु सर्वाङ्ग नग्न भएको छैन अहिलेसम्म, जसलाई आधार बनाएर भन्न सकियोस् यो महिला अत्यन्त बाइफाले छे वा स्वार्थी छे । सन्दर्भमा यो छ, कामुक हुनु अश्लीलताकै पर्याय मानिन्छ ।

तर, म त्यस्तो होइन । आफ्नो रुचिको एउटा चयन हुन्छ । मन र शरीरको कामेच्छा पनि महत्त्वपूर्ण गणनामा आउँछ । तर, यो सन्दर्भ जुन छ, हरिप्रसादलाई मन पराउनु भनेको म ऊसँग प्रेमप्रणय गर्न चाहेको होइन । यो विशुद्ध शारीरिक आकर्षण हो । तर, प्रेमको परिणति पनि अन्त्यमा नरनारीको सहवास वा सम्मिलन त हो । यति बुझ्नैपर्ने हुन्छ ।

तर, हरिप्रसादको प्रसंग लम्बिएजस्तो छ, स्वाभाविक छ, उसको माध्यमबाट म आफ्नैबारे केही भनिरहेछु । हरिलाई मैले पहिलोचोटि कहाँ देखेँ भन्ने प्रसङ्ग त्यत्ति उल्लेख्य नहोला । मैले उसलाई देखेको त अफिसमै हो । म काम गर्ने अफिसमा । यसमा दुई राय नहोला, मेरो पनि अफिसमा एउटा पोजिसन छ । मतलब म हाकिम त होइन । तर, हाकिमको सोभैm सम्पर्कमा बस्ने असिस्टेन्ट हुँ ।

हाकिम भन्नाले जो हाकिम भएको छ ऊ पनि रसिक नै छ । हेर्दा पचासतिरको ठाडै बुझिन्छ । कपाल अझै कालै छ । पूरै कालो त होइन, काला कपालले जितेको । हेर्दा पिक्चरको हिरोझैं लाग्छ ।

हिरो भन्नाले नेपाली सिनेजगत्का हिरोमध्येको एक हिरोसँग तुलना गरिनु ऊप्रति अन्याय हुनेछ । हिन्दी सिनेमाको हिरोको नाम मलाई लिन मन लागेन । तर, छ ऊ त्यतैको एउटा पपुलर र हिट हिरोसँग तुलनीय । उसको हाउभाउ पनि उस्तै छ । साला, ऐनाको अगाडि उभिएर नक्कल गरिरहन्छ कि कसो !

तर, ‘पिक्चर’मा हिरोमा लिइए पनि उसलाई अभिनय भने आउने होइन । त्यस्तो भन्नु ज्यादती गरिएको ठहर्दैन । उसबारे मिडियामा कति हो कति भ्रष्टाचारका खबर आउने गर्छन्, आइरहेका पनि छन् । तर, उसलाई कसैले उखेलेर फाल्न सकेको होइन ।

भनाइ यो छ, उसलाई एकजना शीर्ष नेताको आशीर्वाद प्राप्त छ । शीर्ष नेता उसको ससुरोको अतिनिकट मित्र हो । नेताले उसको ससुराको जरियाबाट पैसा सोहोर्छ– घुसमा ।

त, त्यो मेरो हाकिमले पनि मलाई दिउँसो खाजा सँगै ख्वाउँछ र कहिलेकाहीँ डिनरमा पनि लैजान्छ । खास उद्देश्य के हुन सक्छ, महँगो रेस्त्राँमा लगेर डिनर खुवाउनुको ? यो त लुकाइराख्नुपर्ने छैन ।

तर, म जसले पायो उसले ‘टेस्ट ड्राइभिङ’ गर्ने नामुद कम्पनीको सो रुमको ‘कार’ होइन । पुरुष समाजमा एउटा कुप्रथा छ, राम्री केटी देख्दा टेस्ट ड्राइभिङका लागि राखिएको कार ठान्न थालिहाल्छन् ।

यो विकृति छ सबै पुरुषमा । प्राचीनकालदेखिकै चलन हो रहेछ यो पुरुषहरूको । यदाकदा स्त्रीहरूले पनि ड्राइभिङमा लगियोस् भन्ने लालसा वा आकाङ्क्षा राखेको पाइन्छ ।

निचोडमा यसरी नै समाज चलिरहन्छ र यस्ता नरनारीका प्रवृत्तिले नै समाजको मनोविज्ञान बनेको हुन्छ र बनिरहेको हुन्छ । अर्थात्… ल छाडूँ यी गन्थन ।

म समाजशास्त्री होइन । तर, एउटा बहकिहाल्ने स्वभाव पनि मान्छेको जातमा हुन्छ, चाहे त्यो पुरुषमा होस् वा महिलामा । र, त्यसैको अभिव्यक्ति हो यो । यस्ता कुराले मेरो मनमा एउटा उद्वेलन उत्पन्न गरिदिन्छ, ड्राइभिङमा जाने रहरले भनूँ न । ड्राइभर सिटमा हरिप्रसाद बसोस् र ड्राइभिङमा लगिएको कार म होऊँ ।

नारीमनको असन्तुष्ट वासना वा गोप्य इच्छा म मेरै व्यक्तित्वको साक्ष्यमा भनिरहेछु । यसले अरू कसैको असम्मान वा अपमान हुँदैन । आफैँलाई उदाहरण दिएर । कुरा गर्न सक्नु पनि साहसिक काम हो, म यो ठान्छु ।

तर, हरिप्रसाद कहाँ छ मेरो जीवनमा ? छैन नि अब त । मेरो जीवनमा त प्रत्यक्षतः हाकिम छ । उसको प्रयास सफल होलाहोला जस्तो भइरहेछ । तर, उसलाई एउटा बाधाले सीमापारि नै राखेको छ ।

त्यो बाधा हो उसकी श्रीमती अथवा पत्नी राधा । राधा हाकिमकी श्रीमती हो र हाकिम राधाको एक अधीनस्थ कर्मचारीसरह छ । हाकिम हुनै सक्दैन ऊ राधाका अगाडि, आजीवन राधाको निजी सचिवजस्तो छ ।

राधाले उठ् भने उठ्ने बस् भने बस्ने । यो उठबसको क्रममा राधा सदा सफल हुने गर्छे । मतलब हाकिम जो छ ऊ हिरो हुनहुनबाट वञ्चित छ । मेरा लागि हाकिमलाई सघाउनु जरुरी छैन । हाकिम चाहेमा साङ्लोले डोर्‍याउने पाल्तु कुकुरसमान छ । तर, कहिलेकाहीँ हाकिमको तुलना म हरिप्रसादसँग गर्छु र सोच्छु– हरिप्रसाद किन हाकिम हुन सकेन ?

म त हरिलाई जीउज्यानले मन पराउँछु । उसको एक इसारामा म ऊसँग एक्लैएक्लै जस्तोसुकै ठाउँमा जान तयार छु, हरिकै इच्छाअनुसार जेसुकै गर्न पनि तयार छु ।

बाधा त त्यहाँ पनि छ । हरिप्रसाद हाकिम हुन नसक्नु वा हाकिम हरिप्रसाद हुन नसक्नुमा होइन, कताकता यस्तो सुनिएको छ हरि बिहे गर्दै छ र वा उसको बिहे भइसक्यो । उसकी श्रीमती हाकिमकी साली हो । यो संजोग परेको छ । मेरो इच्छाको घाँटी निमोठिएको छ, हरिको बिहेले ।

हाकिमकी सालीलाई अंकशायिनी बनाउँदैमा हरि के मबाट टाढियो वा मेरा लागि अप्राप्य भयो ? मैले सोचेँ, पुरुषहरू अरूका छोरीबुहारीसँग खेलबाड गर्न त चाहन्छन् । तर, बिहे भने साध्वीसती नारीसँग मात्र गर्न चाहन्छन् ।

यो एउटा अत्यन्त मन नपर्ने कुरो हो । यसप्रति मेरो घोर विरोध छ । विरोधको स्वरूप प्रस्ट छ । पुरुष नारीका लागि सदासदा सदाचारी रहोस् । तर, यस्तो हुनेवाला छैन ।

अरूका छोरीबुहारीलाई खेलबाडका पुतली सम्झिने पुरुषले आफ्नी पत्नी सतीसावित्री होस् भन्ने चाहना राख्नु एउटा विरोधाभासै त हो । त, हरिले बिहे गरिसक्यो भने उसले के मसँग खेल्नेसुत्ने चाहना नगर्ला ? के मलाई ऊ जुन नजरले हेर्छ, त्यो नजरले उसकी श्रीमतीलाई हेर्दो हो ?

मेरो प्रश्नको आधार यो हो, हरि मलाई अनेक उपायले नजिक्याउन खोज्छ । तर, मसँग बिहे गरेन । किन ? के म मत्स्यगन्धा हुँ ? मेरो शरीरबाट माछाको गन्ध आउँछ, जुन अप्रिय हुन्छ ।

लोग्नेमान्छे सबै त एकैनासका त हुँदैनन् होला । कसैलाई त माछाको गन्ध मन पर्नुपर्ने हो– म मत्स्यगन्धासँगको सहवास !

हाकिमसँग मेरो लसपस बढेर गएको छ । तर, म उसलाई हरिको ठाउँमा राखेर हेर्न चाहन्नँ । हरि भनेको हरि नै हो । यद्यपि, उसलाई मैले प्राप्त गर्न सकिरहेको छैन, प्राप्त गर्ने खण्ड पनि छैन ।

बाटा सबै बन्द छन्, ऊ विवाहको बन्धनमा बाँधिइसकेको छ । उसको ससुरो पनि तगडै छ । र, साथै ऊ हाकिमको साढुभाइ पनि हुन पुगेको छ । एक मट्याङ्ग्राले दुई सिकार गरेको छ ।

ससुरोले भनेको छ– “कुनै उपयुक्त संस्थानको हाकिम पदमा नियुक्ति दिलाइदिनेछु ।” उपयुक्त भनेको फोकटको आम्दानी हुने पद, जसबाट ब्रिफकेसका ब्रिफकेस नगद कमाउन सकियोस् र जेनजी आन्दोलनको दौरानमा त्यो रकम जलाइयोस् । त्यति अकुत रकम !

म राम्री छु र यौनाकर्षक छु । तर, मसँग पावर छैन । मेरा बा अभैm पनि गाउँमै बस्छन् । म र मेरा बाले न हरिलाई संस्थानको हाकिम पदमा नियुक्त गराउने खेल आयोजित गर्न सकौँ, न हरि, न हाकिम । मेरो यौवन यसै सुकेर जाने भो । हरिप्रति मेरो तृष्णा अभैm पनि प्रचण्ड जीवित छ । रात सिरानी भिजाएर अनिदोमै बिताउँछु, बिछोडको शोक पनि छैन । मात्र कति भने अनिद्राको रोग लाग्ने डर लागिरहेछ । हरि कुनै अप्राप्य वस्तुझैँ टाढिँदैटाढिँदै गइरहेछ– एउटा मृगतृष्णा बनेर ।

मृगतृष्णा नै प्रेम हो ?

प्रश्नहरूको घेरामा बस्ने मन छैन । म चाहन्छु, मेरो पनि केही निकास होस् । एउटै कोठाको भए पनि एउटा घर, एकदुईवटा सन्तान र एउटा पोइ, जसले मलाई अगाध माया गरोस् । यस्तो नहोस्, विवाहेतर, सम्बन्धमा मेरो भावी पोइ रमाउँदै हिँडोस् । परस्त्रीगमन पुरुषहरूलाई प्रिय छ ।

मेरो यो विचार थाहा पाएर कतै नभनियोस्– सय मुसा खाएपछि बिराली हिँडी काशीवास गर्न ! अचेल मलाई उन्माद चढिरहन्छ, जसको पहिचान मै आफैँ गर्न सक्दिनँ । मुसा मार्ने उन्मादले हो कि जस्तो पनि लाग्छ ।

लाग्ने कुरो त भन्न पाइन्छ । तर, यो एकातिर, छ भने अर्कातिर । अचेल मलाई हाकिमको युवक चालकले गहिरिएर हेर्ने गर्छ । उसको नजर सफा छैन । तर, त्यसमा प्रणयभाव पनि छचल्किएको देख्छु म ।

मेरो गृहस्थीको परिच्छेदमा यही ड्राइभर त लेखिएको छैन । उसलाई हामिकले भर्ना गरेको हो, प्रलोभन दिएको छ– “तिमीलाई स्थायी गरिदिन्छु ।” सरकारी कामको आकषर्णमा फसेको छ ऊ ।

घाम तापेरै खान पाइन्छ– सरकारको काम कहिले जाला घाम ! पछि थाहा पाएँ उसले स्नातक पढ्दापढ्दै ‘ड्रप आउट’ गरेको हो ।

हाकिमको आदेशानुसार कार्यालयको कामले मलाई कारमा लिएर ऊ सिंहदरबारभित्र छिर्छ बेलाबेला । मेरो काम नै यस्तो छ । हाकिम आपूmले गराउन र गर्न नसकेको कामका लागि मलाई फकाएर खटाउँछ– “यति त जसरी भए पनि मन्त्रालयबाट निकासा गराएर ल्याऊ है । बाँकी म हेरूँला !”

बाँकी उसले के हेर्ने हो ? सबै काम त मेरै जिम्मा छाडेको छ र म ती सबै काम गरेरै ल्याउँछु ।

एउटा मुस्कान, अलि प्रदर्शन वा अलिकति केही त्यस्तैत्यस्तै आवाजमा सङ्केत ! मांसल युवतीले काम फत्ते गराउन के सङ्केत गर्न खोजेकी हो, त्यो पुरुषप्रधान समाजले नबुझ्ने चान्स नै हुँदैन ।

तर, म सिंहदरबारभित्र छिरेपछि मन्त्रालयको ढोकामा पुग्दा युवक ड्राइभरले मेरा लागि हतारहतार कारको ढोका खोल्छ । उसले त कारको ढोकासँगसँगै मनको ढोका पनि खोल्ने गरेको रहेछ ।

पछि मैले बुझ्दै आएँ र एक गहकिलो मुस्कान उसका लागि सुरक्षित राख्न थालेँ । उसले पनि यो बुझ्यो । मेरा लागि उसको काम बाहिरी संसारको चियो गर्नु र त्यसको खबर मलाई दिनु भयो ।

एकदिन तह पारेर भन्यो, “हाकिमको नजर गन्दा छ । पिठिउँपछाडि अनेकथरी कुरा गरिहिँड्छ ।” ती कुराहरू यस्ता अश्लील हुन्छन् जसलाई ऊ सुन्न सक्दैन रे ।

हरिलाई पनि चिन्दछ ऊ । हाकिमकै साढुभाइ त हो नि । कार्यालयमा आधा हाकिम भएर शासन चलाइबस्छ । पछि उसको ससुरोले कुनै संस्थानमा हाकिम बनाइदियो भने कसरी हैकम चलाउने भन्ने अभ्यास गरिरहेको होला ।

हरि र हाकिम भेट भएका बखत त्यस्ता गन्दा कुरा– गन्दा वा अश्लील कुरा भन्नाले ‘टेस्ट ड्राइभिङ’का कुरा नि !

टेस्ट ड्राइभ गर्ने उनीहरू र च्वाँक कार म । हरिले पनि त्यसो भन्छ भन्दा म खंग्रंङ भएँ । मानिस बाहिरी चमकदार र्‍यापरले सुन्दर लागे पनि भित्र त कुहिएकै रहेछ ।

त, युवक चालक मतिर, आकर्षित हुँदै गयो । कुरा संक्षेपमा ल्याऊँ ।

अति संक्षेपमा पनि होइन, अति संक्षिप्तताले सुन्नेलाई ठगिएजस्तो गराउँछ र कथनमा हुनुपर्ने ‘थ्रिल’ बेस्वादिलो बनाइदिन्छ । सुरुमै भनिहाल्दा पनि हुने थियो । तर, म यो कुरालाई एकैचोटि चपाइवरि निलिहाल्ने पक्षमा छैन । स्वाद लिईलिई शनैःशनैः च्युइगमझैँ स्वाद लिइरहन चाहन्छु ।

अर्थात्, युवक चालकले मलाई थाहा दियो, ऊ मलाई मनैदेखि चाहन्छ । सोभैm यो त भन्न सकेन, “म्याम, म तपाईंलाई प्रेम गर्छु ।” ऊ मर्यादामा बस्न दक्ष थियो ।

उसकै हाकिमकी प्रिय पात्र म हुँ भन्ने ऊ जान्दछ भलै मलाई हाकिम मेरो पिठ्युँपछाडि नानाभाँती अश्लील तरिकाले उडाउने गर्छ, त्यो पनि हरिसँग मिलेर ।

हरि, जोसँग म रोमान्टिक प्रेममय जीवनको कल्पना गर्थें, आखिर हरि पनि उही ड्याङको मुला निस्कियो– खग्रास !

त– ‘त’को कुरो अब बाँकी रहेनजस्तो लाग्छ मलाई । जीवनमा कुनै एक साथी त चाहिन्छ, चाहिन्छ । मैले यतिन्जेल संकेतमा जेजे कुरा भनेँ त्यसले यो बुझाउँछ– म चालक युवकसँग जीवनको अन्तिम बिसौनीसम्म जाँदै छु– उसकी विवाहित श्रीमती बनेर । बन्नु के छ र ? स्वेच्छाले नै हो ।

युवक चालकले मेरो अगाडि प्रस्ताव राख्यो, बडो सोझो र सरल भाषामा– “म्याम, तपाईं स्वीकृति दिनुहुन्छ भने म तपाईंसँग विवाह गर्न तयार छु । तपाईंजस्तो सुन्दर व्यक्तित्व भएकीले यो बदनाम जिन्दगी किन बिताउने ? तपाईं मेरो जीवनसंगिनीका लागि उपयुक्त पात्र लाग्नुहन्छ । म पनि एउटी असल जीवनसंगिनीको खोजीमा छु ।”

उसले मलाई दिन कतैबाट एउटा ताजा गुलाफको पूmल पनि तयार राखेको रहेछ, कारभित्रै ।

सुरुमा त मलाई हाँसो लाग्यो । उसको विवाह प्रस्तावको शैलीबाट होइन, उसले प्रयोग गरेको भाषा सुनेर मानौँ, कुनै पौराणिक कथामा भएको पुरुष पात्रले कुनै अप्सरालाई त्यस्तो संस्कृतनिष्ठ भाषा प्रयोग गरेर प्रेमनिवेदन गरिरहेछ ।

तर, अन्त्यमा सार यो थियो, उसको ‘प्रेम निवेदन’ले मेरो मन छोयो । एउटा जीवन दर्शन पनि त्यसमा थियो– उसको प्रेम निवेदनमा किन अपूरणीय लालसा राख्दै र बदनाम जिन्दगी बिताउने ? ह्वाई ?

प्रसंगमा यो पनि छ– मेरा पतिको नाम पनि संजोगले प्रेम नै हो । ऊ युवा चालक भए पनि हो त अन्ततः मेरै पति !

सरल स्वीकृतिका साथ म एउटी गृहिणी बनेँ । दुई सन्तानकी आमा पनि भइसकेकी छु । अरू दुईचार जनाकी आमा बन्न तयार छु– भरिपूर्ण परिवारको कल्पना साकार गर्न । तर, त्यो सम्भव छैन । मेरो ‘फिगर’को मलाई चिन्ता पनि छ ।

तर, मेरो मान्यतामा भरिपूर्ण परिवार भनेको बच्चाबच्चाले घरभरि उधुम मच्चाइरहेको परिवार हो । माफ पाऊँ, आआफ्नो खाका हुन्छ परिवारको । पारिवारिक व्यस्तताले मेरो स्मृतिबाट हरि र हाकिमहरू विलुप्त भइसकेका छन् ।

म उनीहरूलाई कता हो कता पछाडि छोडेर आफ्नो परिवारको भविष्यको गतिसँगै अगाडि आइसकेकी छु ।

तर, म कहिलेकाहीँ सोच्छु– यही हो मान्छेको लागि यो जीवनको सुख !

म कायम नै छु, एक्लिएकी पनि छैन । मनमा डर पनि छैन । म कतैबाट चुँडिएकी छैन ।

पहिलेको अधुरो मलाई लाग्न थालेको छ– प्रेमले मान्छे तृप्त भयो भने उसलाई अनेक जुनीको कामना गर्नुपर्दैन, यही एउटा जुनी नै पर्याप्त छ । जब एउटै जुनीले सार्थकता र तृप्ति दिन्छ भने अनेक जुनीको कामना वा तृष्णा किन लिने ?

यस्तो सोचेर म आफैँ एक्लै हाँस्छु ।  –baahrakhari