यौनकथा : लाससँग सम्भोग


अँधेरी रात थियो । बिजुलीका पिलपिले बत्तीहरू कनीकनी बल्दै थिए । एकाएक ती पिलपिले बत्ती झ्याप्प निभे । यही मौकामा आर्यघाटको वेटिङ कक्षबाट नागरिक अभियन्ता हिराको लास एकाएक हरायो । लास हराएकोमा निकै ठूलो हल्लीखल्ली भयो । चैतको हुरीजस्तै चारैतर्फ खबर फैलियो । पुलिस बोलाइयो । नागरिक समाज ओइरिए । किनकि लास आदर्श व्यक्तित्वको थियो । सङ्घर्षशील महिलाको थियो ।
कसैगरै पनि लास फेला परेन । कस्तो अचम्म भयो ! कसरी घाटबाटै लास बेपत्ता हुनसक्छ ! लासलाई चोर्ने मानिस कस्तो हुन सक्छ ! कि मसान जागेर पो लासलाई चोर्यो कि ! वा लास बिउँतिएर भाग्यो कि ! नानाथरी अड्कल काटिँदै थिए । यस्तै अड्कलमा रात छर्लङ्ग भयो । बिहानीको उषासँगै फेरि ओल्लापल्ला घाटमा लासहरू जल्न थाले ।
बागमती सदाबहार उसैगरी बगिरहेको थियो । वरपरका फोहोरलाई बगाउँदै, लासका खरानी बगाउँदै, धर्मभीरुहरूलाई धर्म दिँदै, भाग्यवादीलाई भाग्य बनाइदिँदै धमिलो धमिलो बग्दै थियो बागमती । त्यही बागमती किनारमा कोकोहोलो पनि थियो । हाँसो पनि थियो । नीरव शान्ति पनि थियो । मसाने वैराग्य पनि थियो । बागमतीका किनारमा रहेको वृद्धवृद्धाका आर्तनाद आवाज पनि सुनिन्थ्यो ।
यसो गर्दागर्दै पूर्वतिर सूर्यको लालिमा देखियो तर लास भने भेटिएन । पुलिस हैरान भए । आफन्त शुभेच्छुक पनि चिन्तित भए । सूर्योदयसँगै शुभेच्छुक मानिसहरू ओइरिए । पत्रकार, युट्युबर तथा अस्पतालका कर्मचारी पनि आइसकेका थिए । पत्रकारलाई समाचार चाहिएको थियो । युट्युबरलाई अचम्मको समाचारको भिडियो बनाएर धेरै भिउज चाहिएको थियो । अस्पताललाई त्यो लासको आँखा र कङ्काल चाहिएको थियो । वास्तवमा त्यहाँ उनलाई खोज्ने मानिस कोही थिएन । सबैलाई उनी होइन उनको लास चाहिएको थियो ।
यत्तिकैमा गौरीघाटतिरबाट आउँदै गरेको एउटा वयस्क मानिसले लथ्रक लथ्रक पार्दै लास बोकेको देखियो । मान्छे त्यतातिर कुदे । त्यो खोजिएकै लास थियो । लास चोरेको अभियोगमा मलामीले उसलाई कुट्न थाले । बल्लबल्ल पुलिसले त्यो लास बोकेको मानिसलाई घेरा हालेर जोगायो । नत्र त ऊ पनि त्यहीँ लास हुने थियो । वास्तवमा मलामी यति रिसाएका थिए कि कुरा बुझ्न छोडेर लास चोर्ने व्यक्तिलाई पनि लास नै बनाएर तुष्टि लिने वाला थिए ।
घेराकै बिचबाट पुलिसले उनलाई सोध्न थाले —
“तिम्रो नाम के हो ?”
“कहाँ बस्छौ ?”
“किन लास चोर्यौ ?”
ऊ बोलेन । बोल्दै बोलेन । मानिसले उसलाई सनकी होला भनी सोच्न थाले । पुलिसले उसका थाप्लामा दुई लट्ठी बजार्यो । पिटाइको दुखाइले मर्माहत भयो र उसले आर्तनाद स्वरमा रुँदै भन्यो “मेरो नाम हरिश हो । म बनारसमा बस्छु । यो लास मेरी प्रेमिकाको हो, मैले सम्भोग गर्नका लागि चोरेको हुँ । यो लाससँग मैले हिजो रातभरि वनकालीको जङ्गलमा लगेर सम्भोग गरेँ । काम सकियो अनि सद्गतको लागि लास ल्याइदिएको छु ।”
मानिसहरूले अचम्म मान्न थाले । अचम्म ! घोर कलियुग लाग्यो, लासमाथि पनि सम्भोग । उसलाई पाता फर्काइएको थियो । पुलिसले उसको खानतलासी गरिरहेको थियो । उसको खल्तीबाट नेपाल सरकारको टिकट टाँसेको एउटा पहेँलो खाम निस्क्यो । पुलिसले पहेँलो खाम फेला पार्नेबित्तिकै ऊ जोरले चिच्यायो “त्यो मेरी प्रेमिकाले मलाई लेखेको प्रेमपत्र हो, कृपया नलैजानुहोस् । त्यो मेरो हो । त्यो मेरी प्रेमिका मसँगै भएको प्रमाण हो । मेरो मुटु हो । बरु मलाई मार्नुहोस् ।”
पुलिसको आग्रहमा नागरिक अभियन्ताले त्यो पत्र पढ्न थाले —
मिति : २०८२ साल साउन १ गते
काठमाडौँ
प्रिय हरिश,
शुभ प्यार !
तिमीलाई थाहा नहुन सक्छ, म यो काठमाडौँको कोलाहलमा पनि मर्नु न बाँच्नु भएर जीवन यापन गर्दैछु । नितान्त एक्लै छु । मलाई ल्युकेमिया रोग लागेको छ । रोग लागेको मात्र होइन, यसको चौथो स्टेजमा बाँचिरहेकी छु । यो घडीमा म तिमीलाई अग्घोरै सम्झिरहेकी छु ।
जीवनका बारेमा मानिसको भविष्यवाणी कहाँ पूरा हुन्छ र ? हेर त, तिमी मलाई हठी, हकी, स्वाभीमानी, जिद्दी, संवेदनशील, विचारमा अग्रता भएकी, प्रष्ट बोल्न सक्ने, इमान्दार भन्थ्यौ । तिमीले मेरो स्वभाव तथा परिवेशको एक्सरे नै गरेका थियौ । म राजनीतिक आन्दोलनमा थिएँ । समाज परिवर्तनको लागि लडिरहेकी थिएँ । तिमी मलाई माया गरेर “आफ्नो ख्याल गर” भन्थ्यौ, तर म तिमीलाई भन्थेँ — “हरिश, तिमी व्यर्थमा चिन्ता गर्छौ । मलाई मारेछ भने मरुँला । समाजको विभेदबाट जनतालाई मुक्ति दिने काममा मर्न पाए के खोज्नु मैले ? यदि त्यस्तो भयो भने म जनताका मुक्तिका लागि शहीद हुन्छु नि । के फरक पर्छ र ?”
तिमीलाई थाहा भएकै कुरा हो, म लैङ्गिक हिंसा वा विभेद खप्न नसक्ने केटी थिएँ । अटेरी पनि थिएँ । अनुशासन भङ्ग गर्दा र त्यसबापत दण्ड पाउँदा मलाई अपार हर्ष हुन्थ्यो । केटाले झैँ सिगरेट तान्थेँ । जाँड सुर्क्याउँथेँ । केटाको स्वतन्त्रता देखेर मलाई आहारिस हुन्थ्यो । म त्यो स्वतन्त्रता भोग्न चाहन्थेँ । मेरो केटो क्लासमेटले कोक शास्त्र पढ्थ्यो, म पनि उसैसँग मागेर लुकीलुकी पढ्थेँ । केटाले पढ्न हुने मैले किन नहुने भन्ने कुराको विद्रोह थियो त्यो । म किन यति धेरै विद्रोही भएको भन्ने कुरा तिमीलाई थाहा छ । यो पोखराका गल्लीमा, फेवातालमा, बसपार्कमा तथा अन्यत्र कानुन विपरीत ससाना दोकान थापेर बसेका महिलाहरूलाई पुलिसले समात्थ्यो । समस्या ती महिलालाई समात्नुको होइन, ती निरीह महिलामाथि पुलिसले गर्ने अमर्यादित हातपातको हो । त्यो सुकिलामुकिला पुलिसवाला सभ्यताको अथवा सुसंस्कृत भएको दावी गर्ने अँध्याराका कुकर्मीको विरुद्धको मेरो आवाज थियो । यसैले म विद्रोही थिएँ ।
तिमी मेरो जीवनको पहिलो प्रेमी हौ, जसले मलाई प्रेम गरिरह्यौ । तिमीले नै मलाई प्रेमको परिभाषा सिकायौ । मैले पनि सबैभन्दा पहिले प्रेमपत्र तिमीलाई नै लेखेको हो । त्यसपछि त मैले प्रेम पत्र लेखिनँ । केवल यौनपत्र लेखेँ । यौन आह्वानका पत्र लेखेँ । यौन उक्साहटका पत्र लेखेँ । त्यस्तै पत्र पाएँ । किनकि मलाई प्रेम गर्ने तिमी थियौ, तिमीलाई नै आफ्नै कारणले गुमाएँ, अनि कसलाई प्रेमपत्र लेख्नु ! त्यसैले पहिलो प्रेमपत्र पनि तिमीलाई नै लेखेकी थिएँ, यो अन्तिम प्रेमपत्र पनि तिमीलाई नै लेख्दैछु । आज तिम्रो असाध्य याद आएको छ । मलाई किनकिन तिम्रो अपराधी जस्तै लाग्दैछ । यही पीडाबोधले म वशीभूत भएकी छु ।
तिमी र म चिप्लेढुङ्गामा सँगै चिप्लन्थ्यौँ । सेतीका बगरमा घण्टौँ बिताउँथ्यौँ । तिमी मेरो हात समाउँथ्यौ । म तिमीसँग टाँसिन्थेँ । हामी न्युरोड घुम्थ्यौँ । काउँडाँडा पुग्थ्यौँ । फेवातालमा डुङ्गामा दिनभरि बरालिन्थ्यौँ । चमेरे गुफाभित्र चमेरा झैँ टाँसिन्थ्यौँ तर तिमीले कहिल्यै पनि मेरा प्राइभेट अङ्गतिर हात लैजाने कोसिस गरेनौ । स्तन समाउन खोजेनौ । स्तन समाउन त परै जाओस् कुइनाले पनि छोएनौ । एउटै ओछ्यानमा सुत्दा पनि तिमीले पर्खाल नाघ्ने प्रयत्न गरेनौ । मेरो समर्पणबाट फाइदा उठाउन खोजेनौ, तर म चाहन्थेँ तिमी अलिकति त बदमास होऊ यार, किनकि बदमासी बिनाको पनि के बैँस ! के प्रेम ! तर तिमी अचम्मका थियौ । तिमी कति नियन्त्रित थियौँ तर अलमस्त थियो हाम्रो जीवन । प्रेमिल थियौँ हामी ।
तिमी मात्र मलाई प्रेम गर्ने होइन, म पनि तिमीलाई असाध्य प्रेम गर्थेँ । हामी छुट्टिन नसक्ने भएका थियौँ । कसैसँगको प्रेम यति गाढा हुन्छ भन्ने कुरा मलाई थाहै थिएन । यसरी प्रेममा पसिन्छ र निस्कने कुनै बाटो नै हुन्न भन्ने मैले बुझेकै थिइनँ ।
एकदिन तिमीले बेगनासको वेगमा सयर गर्दा मसँग बिहेको प्रस्ताव राख्यौ । मैले समय मागेँ । पर्सिपल्ट मैले तिम्रो प्रस्ताव मानिनँ । तिमी रोयौ । करायौ । विक्षिप्त भयौ, तर मैले मानिनँ । तिमी अचम्ममा पर्यौ । तिमीले फकाउने काइदा सकेसम्म अपनायौ । मैले केही गरे मानिनँ । त्यसपछि तिमीले मसँग कम्तीमा एकपल्ट सम्भोग गर्ने चाहना राख्यौ । मैले त्यो पनि मानिनँ । तिमीलाई थाहा छ मैले किन त्यो कुरा मानिनँ ?
किनभने म तिमीसँग सम्भोग गर्न त चाहन्थेँ तर तिमी मलाई यति प्रेम गर्न थाल्यौ कि मलाई मेरो स्वतन्त्रता हनन हुने भयो भन्ने डर लाग्यो । सम्भोग मात्र गरेर तिमीले मलाई छोड्ने थिएनौ । सम्भोगपछि मै तिमीलाई छोड्ने थिइनँ । त्यसैले मैले मेरो अविच्छिन्न स्वतन्त्रता पाउन तिमीबाट सदाका लागि टाढिने विचार गरेँ र, एक दिन तिमीलाई केआई सिंह पुलका मुखमा बसेर वाचाबन्धन गराएँ । तिमी आफ्नो प्रेमका लागि सारा संसारलाई त्याग्न तयार थियौ । तिमीले वाचाबन्धन गरेपछि मैले तिमीलाई भनेकी थिएँ, “म चाहन्छु, यदि हाम्रो प्रेम साँचो हो, अमर, अजर र अजबको छ भने हाम्रो प्रेमका लागि तिमी अहिले नै मलाई छोडेर गइहाल, र मलाई पछाडि फर्केर पनि नहेर । फेरि कहिल्यै मेरो नजिक आउने प्रयत्न पनि नगर । यो तिमीले मलाई गर्ने प्रेमको परीक्षा हो । एउटी प्रेमिल प्रेमिकाको आदेश हो ।
मेरा कुरा सुनेर तिमी स्तब्ध भएका थियौ । एकछिन चुप लाग्यौ । तिम्रो अनुहारमा बादल लागेको थियो । तिमी रोएका थियौ । अनि फनक्क फर्केर केही नबोली मतिर नफर्की आफ्नो बाटो लाग्यौ । मेरो स्वतन्त्रताका लागि तिमीले आफ्नै मुटुमाथि ढुङ्गाले हिर्काउँदै गयौ । हाम्रो प्रेमको बाटोबाट यसरी हट्यौ मानौँ हामीबिच केही भएकै थिएन । तिमीमा कुनै रिस थिएन । आक्रोश थिएन । वासना थिएन, तर तिमी हुँक्क हुँक्क गरेर रोइरहेका थियौ होला सायद । मलाई त्यो बेला त्यही अनुभूति भएको थियो । मैले मेरो प्रेम र स्वतन्त्रता मध्ये एउटा छान्नु पर्दा स्वतन्त्रतालाई छानेकी थिएँ । किनकि मैले तमाम लोग्नेस्वास्नीका सम्बन्धमा हनन भएका स्वतन्त्रताहरूको अनुभव गरेकी थिएँ ।
तिमी मतिर नफर्की एकोहोरो अगाडि बढिरहेको त्यो दृश्य देखेपछि म रातभरि रोएँ । त्यतिले नपुगेर म सेती किनारमा पुगी रोइरहन्थेँ । तिमीसँगको प्रेमिल यादमा म धेरै दिनसम्म रोएकी थिएँ । विक्षिप्त भएकी थिएँ । मैले मेरो स्वतन्त्रता त प्राप्त गरेकी थिएँ, तर तिम्रो प्रेम सदाको लागि गुमाएकी थिएँ । तिम्रो त्यो त्याग मेरा लागि जिन्दगीभरि निकै तडपाउने विषय भयो । बेलाबेलामा यसैबाट विह्वल हुन्थेँ । मलाई थाहा छ, तिमी पोखरा छोडेर भारत पस्यौ । तिमीले हाम्रो प्रेमका लागि मलाई मात्र होइन; मेरो याद आउने पोखरा मात्र होइन; देश नै छोड्यौ ।
मेरै सर्तअनुसार मबाट धेरै टाढा, धेरै टाढा पुग्यौ, जहाँ म तिमीलाई भेट्न सक्तिनथेँ । मलाई पनि पोखरामा तिम्रा यादहरूले सताए । यतिसम्म सताए कि म विक्षिप्त भएँ । त्यसपछि मैले पोखरा छोडेर काठमाडौँ बसाईं सरेँ । त्यसपछि म पनि पोखरा गएकी छैन । म आजन्म पोखरा जाने पनि छैन, किनकि पोखरामा तिमी र मैले गरेको प्रेमका साक्षी बसेको त्यो पीपलको रूख, बाटाघाटा, सेतीको बगर, पृथ्वीनारायण क्याम्पसभित्रको भीमकाली ढुङ्गा तथा हाम्रो प्रेम बुझेर समर्थन वा विरोध गर्ने समाजले मसँग प्रश्न सोधिरहे । गिज्याइरहे । मसँग जवाफ थिएन । त्यसैले म अपराध बोधमा काठमाडौँ पुगेँ । बागमतीको किनारमा पुगेँ र मनलाई शान्त बनाउन मोक्ष खोजिरहेँ ।
हो, मैले मेरो आफ्नै स्वतन्त्रताका लागि आफ्नै प्रेमलाई त्यागिदिएकी थिएँ तर त्यसपछि भने मेरो शरीरका लोभी लोग्नेमानिससँग मात्र मेरो सम्पर्क भयो । ती मलाई पाउन चाहन्थे । गिजोल्न चाहन्थे । बिहे गरेर वैधानिक बलात्कार गर्न चाहन्थे । यस्ता अनेकन घटना मेरा जीवनमा आए । सायद तिम्रो प्रेम, बिहे तथा सम्भोगको प्रस्ताव मैले मानेकी भए यस्ता वासनामयी पुरुषसँग मेरो जम्काभेट हुने थिएन ।
मैले एक रात सोचेँ, अब म एक्लै स्वतन्त्रताको रक्षा गरेर बस्न सक्दिनँ । सायद बैँस पनि जब्बर भइसकेको हुनुपर्छ । मसँग बैँस समन एउटा आवश्यकता भएर उभिएको थियो भने अर्कातिर मतिर हानिरहेका स्वनामधन्य पुरुषको पनि कुनै कमी थिएन । तिमी नै भन्थ्यौ म सुन्दरी थिएँ भनेर । यसो भन्ने मानिसहरू धेरै भेटेँ । त्यसैले मैले स्वतन्त्रता नबिग्रनेगरी यौनसम्बन्धमा बस्ने सोच बनाएँ । मेरो दिमागमा यदि पुरुषले महिलालाई रखौटी बनाउन मिल्छ भने महिलाले पुरुषलाई रखौटा बनाउन किन नहुने ? भन्ने सोच पलायो । मेरो यो सोचअन्तर्गत काठमाडौँका नाम चलेका राजनीतिज्ञ, साहित्यकार, बौद्धिकवर्ग सबै मेरा खेलौना बन्न आइपुगे । तिनीहरूसँग पैसा हुन्थ्यो । समय उबार्थे र, यसरी म मेरो स्वतन्त्रतालाई जोगाउँदै बैँस समन कार्यमा लागेँ । यसैबिच एक जना सामाजिक अभियन्ताले मलाई एकलौटी भोग्ने विचार गरेर मलाई भने “तिमीले गर्दा म बिग्रिएँ । न तिमी मेरी हुन मान्यौ, न मैले तिमीलाई बिर्सन सकेँ ।”
उसका कुराबाट मलाई असाध्य रिस उठेर आयो । अनि भनेँ “बिग्रने तिमी, तर दोष चाहिँ मलाई दिने ? दोष चाहिँ महिलाले पाउनु पर्ने ? म बैँसमा मातिएर तिमीसँग सुत्न तिम्रो घर गएँ कि तिमी मसँग उखरमाउलो आवेग शान्त पार्नका लागि सुत्न मेरो ओछ्यानमा आयौ ? लु भन त, प्रश्न यो हो ।”
मसँग खेलौना पुरुषको कुनै खाँचो थिएन । मेरो इच्छामुताबिक ती चल्थे । जसले बल मिच्याइँ गर्न खोज्थ्यो, त्यसलाई म किनारामा पुर्याएर छोडिदिन्थैँ तर यसै बिच मेरो मनमा एउटा कुरा आयो कि अनेक पुरुषको आकांक्षा तथा इच्छा पूरा गर्नुभन्दा बरु एउटा सुयोग्यसँग नै घोषणा गरेर सम्बन्ध बनाउनु पर्ला । यसअनुरूप मैले एउटा पुरुष ब्वाइफ्रेन्ड भएको र कालान्तरमा बिहे गर्ने कुरा घोषणा गरेँ । हामी औपचारिक रूपमा नै एकै कोठामा बस्न थाल्यौँ । उसले मलाई भोग्यो तर अब उसले मेरो स्वतन्त्रता हनन गर्न थाल्यो । ऊ ममाथि एकाधिकार जमाउन थाल्यो । मेरा इच्छालाई वास्ता गर्न छोड्यो र मलाई त यौनसाधन मात्र पो बनाउन थाल्यो । उसको कामुकतामा कुनै प्रेम थिएन । त्यसकारण मैले ऊसँग कहिल्यै यौन सुख प्राप्त गरिनँ । बरु शारीरिक र मानसिक पीडामा अभिशप्त हुन्थेँ । म उसको प्रेमविहीन कामुकतासँग डराउन थालेँ । वास्तवमा भन्ने हो भने ऊसँगको सहवास मेरा लागि विरोध गर्न नसकिने खालको बलात्कार पो बन्न पुग्यो ।
हाम्रो सम्बन्धमा सुवास आउन सकेन । कमसेकम खेलौना प्रयोग गर्दा म आफ्नो अनुकूलले गर्थेँ तर ऊ त लालमोहरिया भएर आएपछि म पो उसको खेलौना बन्न पुगेँ । बिहे र स्वतन्त्रता एक अर्काका विरोधी हुन् भन्ने मेरो पूर्वमान्यता झन् जब्बर भएर देखा पर्यो ।
तिमीलाई छोडेपछि मैले प्रेमको आस पनि कसैसँग गरिनँ । पुरुषलाई मैले भौतिक आवश्यकता पूर्ति गरिदिने साथीका रूपमा लिएँ । त्यसै पनि म यौनका विषयमा कामुक, आक्रामक, समर्पित वा प्यासिभ केही होइन । केवल म यौनसम्पर्कलाई मेरो स्वतन्त्रताका लागि बाधक बन्न दिन्न भन्ने मात्र हो । म यौनको हिसाबमा पनि निस्सारतामा पुगेकी छु । आखिर मान्छेले जीवनमा अनेक हन्डर खाएपछि पाउने वा अनुभूत गर्ने निराशा तथा निस्सारता त हो । धर्मले वा दर्शनले पनि यही कुरा त सिकाउँछन् । मैले उसलाई घरबाट निकालिदिएँ । बिहे नै गरेको भए त त्यस्तो कामुकलाई कसरी निकाल्न सकिँदो हो त !
तर हरिश ! मलाई मेरो विगतदेखि कुनै पश्चाताप छैन । त्यो मेरो जिन्दगी थियो, मैले आफैँले चाहे झैँ भोगेँ । पूर्वदक्षिण एसियाका स्वास्नीमानिसले आफ्नो जीवन यसरी भोग्न कहाँ पाएका छन् र ? यस अर्थमा म मेरो जीवनलाई धन्यवाद दिन्छु ।
यसपछि म जीवनमा प्रेमको अर्थ खोज्नतिर लागेँ । के हो प्रेम ? किन म तिमीलाई यसरी सम्झिरहेकी छु ?
प्रिय हरिश ! मैले यो लामो चिट्ठी लेख्नुको कारण मेरा विगत तिमीलाई सुनाउनु होइन । मेरो स्वतन्त्रताको उद्घोष र पटाक्षेप पनि तिमीलाई भन्नु होइन । मेरा शून्यता तथा निस्सारताका कुरा पनि तिमीलाई सुनाउनु होइन । मानिसका रूप, बाध्यता तथा परिवेशीय झट्का पनि बताउनु होइन, किनकि सबै मानिसका आआफ्ना परिवेश, चेत, दृष्टि तथा तुष्टि हुन्छन्, त्यसमा मलाई भन्नु केही छैन ।
यति बेला म बिरामी छु । म कति बाँच्छु, थाहा छैन । सायद अब धेरै दिन छैन । मलाई जिन्दगीभरि धिक्कारिरहने क्षण भनेको तिमीसँगको प्रेमको अवहेलना नै हो । यदि संसारमा पाप हुन्छ भने त्यसको मलाई पाप लागेको हो । तिम्रो प्रेमको पाप लागेको हो । हुन त मैले तिमीलाई जिन्दगीभरि नै प्रेमीको थान्कामा राखिरहेँ । त्यसकारण प्रेमिल हृदयको आवाज थियो तिम्रो त्यो सम्भोगको प्रस्ताव । तिमीले कम्तीमा एकपल्ट मसँग सम्भोग गर्न चाहेका थियौ । त्यो बेला मैले मानिनँ । तिमीसँग सम्भोग गर्न त मलाई त्यति बेलै मन थियो तर भएन । त्यस्तै भयो । आखिरकार मेरो यौन सम्बन्ध धेरै जनासँग भयो । ती कुनै प्रेमिल थिएनन् । ती सबैले मलाई भोगे वा मैले तिनलाई भोगेँ । बैँस समन गरेँ । यो बेला मलाई तिमीसँग सम्भोग गर्न मन छ । मलाई सो कुण्ठा तथा हीनताबोधबाट मुक्ति चाहिएको छ । मलाई सो पापको प्रायश्चित्त गर्नु छ ।
तिमी बनारसमा छौ, म काठमाडौँमा छु । म अलि अशक्त भएकी छु । नत्र म, मैले तिमीलाई खुवाएको प्रेमको सपथ तोड्दै तिमीसमक्ष उपस्थित भएर “मलाई सम्भोग गर” भन्ने थिएँ । सम्भोग गर्न बाध्य पार्ने थिएँ । मलाई पनि थाहा हुन्थ्यो कि प्रेम, तथा समर्पण सहितको सम्भोग कस्तो हुन्छ भनेर तर म शारीरिक रूपले अशक्त छु । अब यो बेला एउटी प्रेमिकाको तिमीलाई आदेश छ कि मैले तिमीलाई दिएका सपथबाट तिमी मुक्त मात्र छैनौ, तिमी तुरुन्त काठमाडौँ आऊ र मलाई सम्भोग गर । तिमीले मलाई म जिउँदै छँदा सम्भोग गर । म मरेकी रहिछु भने मेरो लासलाई सम्भोग गर । लास पनि भेटेनौ भनेँ मलाई डढाएको ठाउँमा गएर सम्भोग गर । यो एउटी अतृप्त प्रेमिकाको आवाज हो । तिमी पोकोपन्तुरो बोकेर झट्टै आऊ । म तिमीलाई पर्खेर बस्छु यही ठाउँमा वा घाटमा वा धेरै पर ।
तिमीलाई माया गर्ने,
तिम्री प्रेमिका
हिरा
– sahityapost








प्रतिकृया दिनुहोस्