August 5, 2026, Wednesday
२०८३ श्रावण २१ बिहीबार

साउन १५, १६ र १७ गते ‘भैरहवा कार्निभल-२०८२’ हुँदै

Advertisement

भैरहवा– साउनको दोस्रो हप्ता भैरहवामा बृहत् नृत्य प्रतियोगिता र खाना महोत्सवका लागि ‘भैरहवा कार्निभल–२०८२’ को आयोजना हुने भएको छ । आउँदो १५, १६ र १७ गते भैरहवास्थित महेन्द्र सभागृहको खुल्ला परिसरमा संचालन हुने ‘भैरहवा कार्निभल–२०८२’ प्लाटिनम इभेन्ट्स प्रालि र गृहलक्ष्मी समूहको संयुक्त आयोजनामा हुन लागेको हो । भैरहवा कार्निभल–२०८२ को पहिलो अडिसन भने आजदेखि नै सुरु भएको छ ।

Advertisement

‘भैरहवा कार्निभल–२०८२’ का वारेमा आयोजकले पत्रकार सम्मेलन गर्दै सांगितिक नृत्य प्रतियोगितामा भैरहवा र आसपास क्षेत्रका करिव २ सय जना प्रतिष्पर्धी सहभागी रहने र विभिन्न परिकारका ३० वटा खानाका परिकारका स्टलहरु रहने जानकारी दिएका छन् ।

नृत्य प्रतियोगिता र खाना महोत्सवलाई समेट्दै भैरहवा कार्निभल–२०८२ को आयोजना गर्नुको कारण भने अनाथ तथा बिपन्न बालबालिकाको सहयोगार्थ आर्थिक सहयोग जुटाउनु मुख्य उद्देश्य भएको जनाइएको छ । ‘यस कार्यक्रमको मुख्य उद्देश्य आर्थिक अभावले विभिन्न समस्यासँग जुझ्दै गरेका बालवालिकालाई सहयोगका लागि आर्थिक स्रोत जुटाउनु नै हो’, आयोजकमध्येका प्लाटिनम इभेन्ट्सका संचालक ओजश शर्माले भने, ‘यस कार्यक्रमबाट बचेको रकम हामीले त्यस खालका वालवालिकाको आवश्यकता अनुरुप सहयोग उपलब्ध गराउने छौं ।’

नृत्य प्रतियोगितामा भैरहवा र आसपास क्षेत्रका विभिन्न विद्यालय र कलेजका विद्यार्थीलाई केन्द्रित गरिएको छ । प्रतियोगिताको जुनियर तहमा ५ देखि १५ वर्ष उमेर समूहका र सिनियर तहमा १६ वर्षदेखि माथि उमेरका विद्यार्थीहरु सहभागी हुन पाउने छन् । अडिसनको क्वार्टर फाइनल साउन १५, सेमिफाइनल १६ गते र फाइनल १७ गते सम्पन्न गरिने छ ।

महेन्द्र सभागृहको बाहिर खुल्ला स्थानको दाँयाबायाँ किनार १५–१५ वटा खानाको स्टल रहने गरि बिचमा यो प्रतियोगिता संचालन गरिने छ । प्रतिष्पर्धीको छनोटलाई भोटिङ प्रणालीलाई समावेश नगरि पुरै छनोटको अधिकार निर्णायकलाई दिइएको छ ।

कार्यक्रम तीन दिन नै दिउँसो साढे ४ बजेदेखि राती १० बजेसम्म हुने जनाइएको छ । तीन दिनका लागि नै मान्य हुने गरि प्रतिदर्शक टिकट ५ सय रुपैयाँ राखिएको छ । कार्यक्रम आयोजक गृह लक्ष्मी समूहकी अध्यक्ष मञ्जु रेग्मी शर्माले निर्णायकमा कलाकारहरु शुभम शुक्ला, बीरेन्द्र कँुवर, पुनम थापा तथा फाइनलमा सुजन मार्फा रहने जनाइन् । उनका अनुसार, नृत्य प्रतियोगितामा करिव २ सय जना प्रतियोगी रहने र दर्शक प्रत्येक दिन ७ सय देखि ८ सयजना हुने अनुमान छ ।

प्रतियोगितामा जुनियर समूहतर्फ प्रथम हुनेले २५, दोस्रोले १५ र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै, सिनियरतर्फ प्रथम हुनेले ३०, दोस्रोले २० र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेले छन् । नृत्यसहितको सांगितिक कार्यक्रम र खाना महोत्सव समेत एकैठाउँमा आयोजना गरिएकाले दर्शकको सहभागिता उल्लेख्यरुपमा हुने आयोजकको विश्वास छ ।