April 22, 2025, Tuesday
२०८२ बैशाख ९

‘भन्सार सेवा सरलीकृत हुँदै गयो, राजस्व चुहावट रोक्न सामूहिक पहल गरौं’

भैरहवा– सरोकारवालाहरुले पछिल्ला वर्षहरुमा भन्सार सेवा सरलीकृत, छिटोछरितो हुँदै गएको बताएका छन् । उनीहरुले प्रविधिको प्रयोगले सेवा सहज हुँदै जाँदा अझै सेवाप्रवाहलाई परिस्कृत गर्नुपर्नेमा समेत जोड दिए । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भैरहवा भन्सार कार्यालयको आयोजना र लुम्बिनी प्रेस क्लबको सहकार्यमा आइतबार बेलहियामा आयोजित कार्यक्रममा बोल्ने सरोकारवालाले सेवा छिटो भएमा आयात–निर्यातकर्तालाई सहजता हुने र अन्ततः यसले उपभोक्तालाई समेत फाइदा हुने जनाए ।

Advertisement

वक्ताहरुले पछिल्लो समय भन्सार सेवा सरलीकृत भए पनि राजस्व चुहावट रोक्न भने सबै पक्षले सामूहिक पहल गर्नुपर्नेमा जोड दिए । चोरीतस्करी हुँदा राजस्व गिरावट आउनुका साथै स्वदेशी व्यवसायी मर्कामा पर्ने उनीहरुको भनाई छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भन्सार सेवालाई उद्योगी–व्यवसायी र जनमैत्री बनाउनुपर्नेमा जोड दिए । ‘हामीले दिने सेवा सहज, सरल र जनमुखी हुनुपर्छ’, उनले भने, ‘जिम्मेवारीमा बसेपछि कुनै पनि बहानामा काममा विलम्ब गर्ने, दुःख दिने र हैरानी गर्नुहुँदैन ।’

घिमिरेले रुपन्देहीका सीमा नाकामा कडाई गरिएको जनाउँदै चुहावट रोक्न सबै निकाय लागेको बताए । ‘चोरीतस्करी गराउन सहयोग गर्ने, लाइन मिलाउने जस्ता काम गैरकानूनी हुन्’, उनले भने, ‘मैले सुरक्षा निकाय र भन्सारलाई प्रष्ट भनेकको छु, कुनै बहानामा भन्सार छली हुनुहुँदैन । यस्तो भएमा सैह्य हुँदैन ।’ जिल्ला स्तरीय राजस्व चुहावट नियन्त्रण समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी घिमिरेले स्वदेशी उद्योगी व्यवसायीलाई टेवा पुग्ने, भन्सार राजस्व बृद्धि हुने र बैध कारोबारीलाई प्रसय हुने गरी भन्सार सेवालाई चुस्त राख्नुपर्नेमा जोड दिए । उनले सबैले सामूहिक पहल गरेर चुहावट नियन्त्रण गर्न सकिने जनाए ।

भैरहवा भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले चालु आर्थिक वर्ष २०८१–०८२ को ६ महिनामा भैरहवा भन्सार कार्यालयले ४६ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भन्सारको राजस्व संकलन बढी भएको उनले बताए । भन्सार विभागले दिएको लक्ष्य भेट्टाउन नसके पनि निराश हुने गरी राजस्व संकलन नघटेको भन्सार प्रमुख रेग्मीले बताए । उनले नेपालको भन्सार सेवा विश्वस्तरको रहेको जनाए । ‘हामीले दिने सेवा प्रभावकारी छ, यसलाई अझै सरलीकृत गर्दै लगेका छौं’, उनले भने, ‘राजस्व संकलन दर पनि विगतमा भन्दा बढीरहेको छ ।’

उनले सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न नियमित गस्ती र निगरानी बढाइएको बताए । ‘सुरक्षा निकायको सहकार्यमा हामीले काम गरिरहेका छौं’, उनले भने, ‘अवैध काम निस्तेज पार्न सबै प्रयास भएका छन् । यसका लागि नागरिकस्तर र आम उद्योगी–व्यवसायीको सहयोग र सहकार्य जरुरी छ ।’

भारतीय भन्सार कार्यालयका प्रमुख बैभवकुमार सिंहले दुबै देशका भन्सार कार्यालयले सहकार्य गरी सेवाप्रवाहलाई छिटोछरितो बनाउँदै लगेको बताए । ‘हाम्रो तर्फबाट हुने सबै काममा सहकार्य गरेका छौं’, उनले भने, ‘भोलिका दिनहरुमा पनि सहयोग र सहकार्य निरन्तर रहनेछ ।’ उनले दुबै पक्षको सहकार्यले गैरभन्सार क्रियाकलाप रोक्न सहयोग पुगेको जनाए । राजस्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख विवेक घिमिरेले भन्सार सेवा प्रविधिमैत्री हुँदै गएकाले सेवा सहज हुँदै गएको बताए । ‘राजस्व चुहाट रोक्न सबैले प्रयास गर्यौ भने सफल भइन्छ’, उनले भने, ‘विस्तारै सेवा प्रवाह राम्रो हुँदै गएको छ । भन्सार बाहिरका गतिविधि रोक्न सबै मिलौं । राजस्व पनि बढ्छ, स्वदेशी उद्योगी–व्यवसायी पनि लाभान्वित हुन्छन् ।’

सशस्त्र प्रहरी बल नं. २७ गण हे.क्वा. रुपन्देही प्रमुख एसपी आनन्द थापा मगरले सबैको सामूहिक प्रयासले गैरभन्सार गतिविधि कम हुँदै गएको बताए । उनले भन्सार, राजस्व, अन्य सुरक्षा निकायसँग सहकार्यमा आफूहरुले काम गरिरहेको बताए । नेपाल भन्सार एजेन्ट महासंघका अध्यक्ष प्राचिन थैबले भन्सार सेवा सरल हुँदै गए पनि अझै आयात–निर्यातका केही झन्झटहरु रहेको जनाउँदै यसलाई समाधान गर्नुपर्ने बताए । चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपाने, नेपाल भन्सार एजेन्ट संघ, सिद्धार्थनगर अध्यक्ष मधुप्रसाद पन्थीलगायतले बोल्दै कुनै पनि देशमा भन्सार छलेर सामान या सेवाको आपूर्ति गर्नुलाई गैरकानूनी मानिने जनाउँदै यसलाई रोक्नुपर्ने बताए ।

गैरकानुनी रूपमा अवैध सामान आयात गर्दा मुलुकको अर्थतन्त्रमा मात्र नभई सुशासन, विकास तथा मानव सुरक्षामा समेत समस्या हुने भएकाले सुरक्षित व्यावसायिक वातावरण निर्माण गर्नका निमित्त विश्व भन्सार दिवसले सहयोग पुग्ने जनाए । उनीहरुले भन्सारको सेवा प्रभावकारी भएको जनाउँदै यसलाई अझै परिस्कृत गर्न जरुरी रहेको औल्याए । उनीहरु अहिले पनि भन्सार छली भइरहेको भन्दै तत्काल यसलाई रोक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा भन्सार दिवसका अवसरमा आयोजित खुल्ला डबल पुरुष ब्याडमिन्टन, सप्ताहब्यापी कार्यक्रम सफल पार्न सहयोग गर्ने सहयोगीहरु, आयात–निर्यातकर्ता उत्कृष्ट व्यवसायी, उत्कृष्ट कर्मचारी, पत्रकार लगायतलाई सम्मान गरिएको थियो ।