May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

पालिकाविरुद्ध भ्रष्टाचारका मुद्दा

भैरहवा– गुल्मीका विभिन्न स्थानीय तहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साढे दुई दर्जन मुद्दा परेका छन् । जिल्लाका ८ स्थानीय तहबाट आर्थिक वर्ष २०७८–७९ मा कुल २९ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जनाएको छ ।

Advertisement

अख्तियारका अनुसार गुल्मीका पालिकाविरुद्ध सामाजिक सुरक्षा भत्तादेखि राजश्व चुहावटमा अनियमितता भएको भन्दै उजुरी अख्तियारमा परेका हुन् । अख्तियार बुटवलका प्रमुख योगेन्द्रप्रसाद पाण्डेकाअनुसार गुल्मीबाट यस आर्थिक वर्षमा परेका कुल २९ भ्रष्टाचारका उजुरी मध्ये सबैभन्दा बढी धुर्कोट गाउँपालिकाका छन् ।

धुर्कोटबाट यस आर्थिक वर्षको आठ महिनामा ११ वटा उजुरी परिसकेका छन् । आयोगकाअनुसार सार्वजनिक खरिद र निर्माण, उपभोक्ता समिति, प्रशासनिक कार्य, तालिम र क्षमता विकास, सेवा प्रवाह, सार्वजनिक जग्गाको अतिक्रमण, नक्कली प्रमाणपत्र र लाइसेन्स, विद्यालय दिवा खाजा, कृषि क्षेत्र, विषयगत क्षेत्र, सामाजिक सुरक्षा भत्ता र राजस्व चुहावट लगायतका बिषयमा भ्रष्टाचार भएको भन्दै स्थानीयबाट उजुरी परेका हुन् ।

छत्रकोट गाउँपालिकाका आठ वटा भ्रष्टाचारका उजुरी परेका छन् । मुसिकोट नगरपालिकाका तीन वटा, रेसुङ्गा नगरपालिकाका दुई वटा, रूरूक्षेत्र गाउँपालिकाका दुई वटा, मदाने गाउँपालिका, चन्द्रकोट गाउँपालिका र इस्मा गाउँपालिकाका एक–एक वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा परेका छन् ।

जिल्लाका चार स्थानीय तहबाट भने यस आर्थिक वर्षमा भ्रष्टाचारका कुनै उजुरी अख्तियारमा परेका छैनन् । कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, मालिका गाउँपालिका र गुल्मी दरबार गाउँपालिकाबाट उजुरी नपरेको अख्तियारले जनाएको छ ।

जिल्लाका स्थानीय तहबाट परेका कुल २९ उजुरी मध्ये १८ वटा उजुरी फर्छ्यौट भइसकेको आयोगले जनाएको छ । धुर्कोट गाउँपालिकाका सात वटा, छत्रकोट गाउँपालिकाका सात वटा, मुसिकोट नगरपालिकाका तीन वटा र इस्मा गाउँपालिकाका एक वटा उजुरी फर्छ्यौट भइसकेका हुन् । परेका उजुरी मध्ये अझै ११ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।