लुम्बिनीका जिम्मेवार मन्त्रिबाटै बजेटमा मनपरि


भैरहवा – लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि प्रस्तावित बजेटबारे सत्तापक्षकै सांसदले पूनर्लेखन हुनुपर्ने माग गरिरहेका छन् । सत्तापक्षीय सांसदले अवरोध सिर्जना गरिरहेका बेला सरकारका जिम्मेवार मन्त्रीले बजेटमा हालीमुहाली र मनपरि गरेको खुलेको छ । वर्तमान सरकारका जिम्मेवार मन्त्रीले आफ्नै वडा र क्षेत्रमा बजेट कन्द्रित गरेका छन् । बजेटको असमान वितरणलाई लिएर बिरोध भइरहेको छ ।
आगामी वर्षका लागि बजेट प्रस्तुत गरेका लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले नै धेरै बजेट आफ्नो वडामा केन्द्रित गरेका छन् । मन्त्री कार्कीले असार १ गते ३७ अर्ब ३८ करोड ४५ लाख रुपैंयाँको बजेट सार्वजनिक गरेका थिए । उक्त बजेटमा चालु तर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैंयाँ थियो । पूँजीगत तर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैंयाँ बिनियोजन गरिएको थियो । त्यही पूँजीगत बजेट मध्ये १ सय ४ योजनाका लागि २९ करोड ४४ लाख बजेट आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले आफ्नै पालिकाका लागि मात्र बिनियोजन गरेको वार्षिय कार्यक्रम (रातो किताव)मा देखिएको छ ।
मन्त्री कार्की गुल्मीको निर्वाचन क्षेत्र नं. १ (२ )बाट निर्वाचित हुन् । कार्कीले गुल्मी दरबार गाउँपालिकाका लागि २४ करोड २६ लाख र आफ्नै वडामा ५ करोड १८ लाख रुपैंयाँ भन्दा बढीका योजना पठाएका छन् । कार्कीको स्वकीय सचिवको रुपमा रहेका गुल्मी दरबार गाउँपालिका–१ का प्रेम पुनको वडामा पनि पर्याप्त बजेट बिनियोजन भएको छ । तर, गुल्मी दरबार गाउँपालिकाका वडा नं. २, ४ र ५ मा बजेट अति न्यून छ । आर्थिक मन्त्रीले नै आफ्नो वडा र पालिका केन्द्रित बजेट बिनियोजन गरेपछि प्रदेश सभा सदस्यहरुले त्यसको विरोध सुरु गरेका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ सबै भन्दा बढी योजना र रकम बिनियोजन गराएका छन् । उनले पूर्वाधार तर्फ आफ्नो पालिकामा ५ लाख देखि ६० लाख रुपैंयाँसम्मका ३५ भन्दा बढी योजनामा १५ करोड ८५ लाख रुपैंयाँ बिनियोजन गराएका छन् । ति अधिकांश सडक योजना हुन् । एकै खालको सडक योजनामा शिर्षकमा थोरै मात्र नाम फेरबदल गरेर बजेट विनियोजन गरिएको छ ।
उनी मात्र होइन भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले मन्त्रालयको बजेट आप्mनो निर्वाचन क्षेत्रमा पारेका छन । बाँके ३ (१)बाट निर्वाचित खत्रीले झण्डै ४० करोड पूँजीगत बजेट आफ्नो क्षेत्रमा बिनियोजन गराएका छन् । मन्त्रालयबाट दुई पालिकामा १६ करोड ३० लाख बढी बजेट पारेका छन् । बजेट ल्याउनु भन्दा ६ दिन अघि मात्र एमालेकै भूमिश्वर ढकाललाई हटाएर उनी भौतिक पूर्वाधार मन्त्री बनेका थिए । जेठ २५ गते पदभार ग्रहण गरेका मन्त्री खत्रीले यस अघिका मन्त्री ढकालले तयार गरेका योजनाहरु कटौती गर्दै बजेट र योजना आफ्नो जिल्ला र निर्वाचन क्षेत्र केन्द्रित गरेको आरोप लागेको छ ।
प्रदेश सरकारले लुम्बिनीका प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यलाई ४ करोड र समानुपातिकबाट निर्वाचत प्रदेश सभा सदस्यलाई २ करोडका दरले बजेट सिलिङ उपलब्ध गराएको थियो । त्यसरी उपलब्ध गराएको बजेट सिलिङ अनुसार योजना पेश गरेका बर्दियाका ५ प्रदेश सभा सदस्यका योजना र बजेट कटौती गर्दै आप्mनै निर्वाचन क्षेत्रमा योजना र बजेट विनियोजन गराएको आरोपसमेत प्रदेश सभा सदस्यले खत्रीलाई लगाउँदै आइरहेका छन् ।
मन्त्री खत्री बाँकेको खजुरा गाउँपालिका–२ का स्थायी बासिन्दा हुन् । उनले आप्mनो गाउँपालिका खजुरामा मात्र भौतिक पूर्वाधारबाट ३४ वटा योजनाका लागि ५ करोड ६० लाख, सहरी विकास एवं खानेपानी मन्त्रालयबाट २२ वटा योजनाका लागि ३ करोड ३९ लाख, सामाजिक विकासमा ७ विद्यालयका लागि ३ करोड, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाट ५ योजनका लागि ७८ लाख रुपैंयाँ बिनियोजन गराएका छन् ।
त्यस्तै मन्त्री खत्रीले आफ्नो निर्वाचन क्षेत्र भित्र रहेको बैजनाथ गाउँपालिकामा आफ्नै मन्त्रालय भौतिक पूर्वाधारबाट विभिन्न ३९ योजनाका लागि १२ करोड ४५ लाख, खानेपानी तथा सहरी विकास मन्त्रालयबाट १८ योजनाका लागि २ करोड ५७ लाख, सामाजिक विकासबाट ९ विद्यालयका लागि झण्डै ५ करोड, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट ११ योजनाका लागि १ करोड ५९ लाख बिनियोजन गराएका छन् । मन्त्री खत्रीले दुई पालिकामा मात्र भौतिक पूर्वाधारबाट १६ करोड ३० लाख, सहरी विकास तथा खानेपानी मन्त्रालयबाट ६ करोड १ लाख, सामाजिक विकासबाट ८ करोड १० लाख, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाट २ करोड ४० लाख गरी ३२ करोड ९१ लाख रुपैंयाँ बिनियोजन गराएका छन् । त्यस्तै उद्योग पर्यटन, कृषि, वन तथा वातावरण मन्त्रालयबाट पनि मन्त्री खत्रीको निर्वाचन क्षेत्रलाई प्राथमिकताका साथ बजेट बिनियोजन गरिएको छ ।








प्रतिकृया दिनुहोस्