July 23, 2026, Thursday
२०८३ श्रावण ८ शुक्रबार

लुम्बिनी प्यालेस अब पाँचतारे वेलनेस लक्जरी रिसोर्ट बन्दै

Advertisement

भैरहवा– रुपन्देहीमा नयाँ लगानीसँगै होटल व्यवसायको स्तरोन्नतीले तिव्रता पाएको छ । भैरहवा–लुम्बिनी कोरिडोरमा अहिले नयाँ स्तरीय होटल निर्माण भइरहेका छन् । यसअघि सञ्चालनमा आइसकेका होटलको स्तरोन्नती अघि बढेको छ । यसैक्रममा रुपन्देहीको सियारी गाउँपालिकास्थित लुम्बिनी प्यालेस रिसोर्टको स्तरोन्नती गरेर पाँचतारे अर्गानिक लक्जरी रिसोर्टमा परिणत गर्न लागिएको छ ।

Advertisement

वाटर रिसोर्टका रुपमा ख्याती प्राप्त लुम्बिनी प्यालेसलाई स्तरोन्नती गरेर मेरियट ब्रान्डमा सञ्चालन गर्न लागिएको हो । रोशन न्यौपाने र दीपक पाण्डेको ११ अर्ब लगानीमा पाँचतारे वाटर रिसोर्ट सञ्चालनमा आउने भएको हो । यो नेपालकै पहिलो अर्गानिक पाँचतारे वेलनेस लक्जरी रिसोर्ट हुने दावी गरिएको छ ।

अहिले लुम्बिनी प्यालेस रिसोर्टमा २० वटा कोठा, हल र रेस्टुरेन्ट छन् । रिसोर्टको मुख्य लगानीकर्तामा नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान)का पूर्वअध्यक्ष पाण्डे र एनआईसी एसिया बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा चार्टर्ड एकाउन्टेन्ट न्यौपाने छन् । रिसोर्टको स्तरोन्नतीमा १० अर्ब ९९ करोड ७० लाख रुपैयाँ थप लगानी हुने र रिसोर्टको निर्माण दुई चरणमा पूरा गर्ने बताइएको छ ।

लगानीकर्ताका अनुसार पहिलो चरण अन्तर्गत २ सय कोठा सहितको रिसोर्ट निर्माण गरिनेछ । सन् २०२७ को जनवरीदेखि पूर्णरुपमा व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । रिसोर्टले पूर्णता प्राप्त गरेपछि ४ सय ५० कोठा हुने हुनेछन् । सन् २०३० सम्म सम्पूर्ण निर्माण पूरा गरिने लगानीकर्ताले जनाएका छन् । रिसोर्टको व्यवस्थापन विश्वप्रसिद्ध होटल चेन मेरियट इन्टरनेसनलले गर्ने भएको छ । रिसोर्ट मेरियट इन्टरनेसनलकै प्रिमियम क्याटगोरी ‘मेरियट’ ब्रान्डमा सञ्चालन गर्ने गरी सम्झौता भएको छ ।

मेरियटसँगको सहकार्यबाट रिसोर्टले विश्वव्यापी रिजर्भेसन प्रणाली, अन्तर्राष्ट्रिय ब्रान्ड मापदण्ड तथा सञ्चालन सम्बन्धी विशेषज्ञताको प्रत्यक्ष लाभ पाउनेछ । रिसोर्ट मेरियट बोनभोएको विश्वव्यापी लोयल्टी नेटवर्कसँग पनि जोडिनेछ । यसले मेरियटका नियमित ग्राहक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सहज हुने अपेक्षा रिसोर्टको छ । लुम्बिनी मेरियट रिसोर्ट एन्ड स्पालाई वाटर रिसोर्टको रूपमा विकास गर्न लागिएको छ ।

रिसोर्टमा अत्याधुनिक म्युजिकल फाउन्टेन, थ्री–डी वाटर स्क्रिन, मोटर बोटिङ तथा मिनी क्रुज सेवा, विशेष वाटर रेस्टुरेन्ट र वाटर स्पा रहने छ । यी सुविधा मार्फत मनोरञ्जन, विश्राम र प्राकृतिक शान्तिलाई एकैसाथ अनुभव गराउने विशिष्ट रिसोर्ट अवधारणा बनाइएको उनीहरुले बताएका छन् । विश्वव्यापी जलवायु चुनौती र दिगोपनाका लक्ष्यलाई ध्यानमा राख्दै रिसोर्टलाई ‘ग्रीन सर्टिफाइड (गोल्ड) वेलनेस रिट्रिट तथा इको–रिसोर्ट’का रूपमा विकास गरिँदै छ ।

रिसोर्टमा प्राकृतिक उपचार (नेचुरोप्याथी), समग्र स्वास्थ्य (होलिस्टिक हिलिङ) तथा दिगो मानव स्वास्थ्य प्रवद्र्धनमा आधारित सेवा उपलब्ध गराउने गरी काम गरिरहेका एक लगानीकर्ताले बताए । रिसोर्टका सम्पूर्ण सञ्चालन तथा सेवाहरू अर्गानिक अभ्यास र वातावरणमैत्री सिद्धान्तअनुसार हुने उनले बताए ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीको आध्यात्मिक तथा सांस्कृतिक महत्वलाई सम्मान गर्दै रिसोर्ट परिसरमा विशेष बुद्ध थिम पार्क निर्माण हुनेछ । उक्त पार्कमा मिनी स्तूपहरू, मिनी बुद्ध सङ्ग्रहालय, ध्यान क्षेत्र र सांस्कृतिक तथा आध्यात्मिक केन्द्र जस्ता संरचनाहरू हुनेछन् । विश्वस्तरीय सेवा र उत्कृष्ट सञ्चालन सुनिश्चितताको लागि होटल व्यवस्थापनको अन्तर्राष्ट्रिय पहिचान बनाएका विजयनानमारन सनमुगमलाई रिसोर्टको सञ्चालन र पूर्वाधार विकास हेर्ने गरी उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।