June 12, 2026, Friday
२०८३ जेष्ठ ३० शनिबार

लुम्बिनीमा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली स्वीकृत

Advertisement

दाङ– लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उक्त नियमावली स्वीकृत गरेको हो ।

Advertisement

सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको हो ।

नयाँ नियमावली लागू भएसँगै बजेट कार्यान्वयन तथा वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी, सहज र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ । यसअघि आन्तरिक रकमान्तरका लागि सम्बन्धित मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था रहेकामा अब सो प्रक्रिया थप सहज बनाइएको छ ।

त्यसैगरी योजना संशोधनको अधिकार सम्बन्धित मन्त्रालयलाई नै प्रदान गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । यसले योजना कार्यान्वयनमा देखिने ढिलासुस्ती न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

अघिल्लो नियमावलीमा योजनाको नाम संशोधन गर्ने अवधि पुस मसान्तसम्म मात्र कायम रहेकामा नयाँ नियमावलीले उक्त समयसीमा चैत मसान्तसम्म पुर्याएको छ । यस व्यवस्थाले कार्यान्वयनका क्रममा आवश्यक देखिएका योजनाहरूको नाम तथा विवरण संशोधन गर्न थप समय उपलब्ध हुने भएको छ ।

प्रदेश सरकारका अनुसार नयाँ नियमावलीले बजेट कार्यान्वयनलाई परिणाममुखी, पारदर्शी तथा उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।