एक सताभित्रै मनसुन नेपाल प्रवेश गर्दै, कम बर्षाको संभावना


भैरहवा–एक साता भित्रै नेपालमा मनसुन भित्रिने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ ।
विभागका अनुसार भारतको केरलामा जुन ४ तारिखमा मनसुनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको छ । त्याहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब १० दिन लाग्छ । बङ्गालको खाडीबाट अगाडि बढेको मनसुन केरलाबाट अगाडि बढ्ने क्रममा रहेको र उक्त मनसुन नेपालको पूर्वी भू–भागबाट प्रवेश गर्ने मौसमविद् रोजन लामिछानेको भनाइ छ ।
मनसुन प्रवेशको सुरुवाती चरणमा नेपालको पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुन फैलने सम्भावना रहेको उनले जनाए । नेपालमा वर्षभरिमा पर्ने वर्षाको ८० प्रतिशत वर्षा मनसुनकै समयमा हुने गर्छ । नेपालमा आउने मनसुनी हावाको सिर्जना सुरुवातमा पृथ्वीको दक्षिण गोलाद्र्धस्थित दक्षिण अफ्रिकी मुलुक माडागास्कर आसपासमा हुन्छ । त्यहाँको वातावरणीय परिवर्तनसँगै बङ्गालको खाडीमा पनि मनसुनी वायुको दबाब बढ्छ । त्यहाँबाट त्यो जलवाष्प मनसुनी वायु बनेर भारतको केरला, मध्यप्रदेश हुँदै नेपालको पूर्वी क्षेत्रबाट भित्रने गर्छ ।
जेठको अन्तिमतिर नेपालमा प्रवेश हुने मनसुन असोजको तेस्रो सातामा बाहिरिने गरेको छ । मौसमविद्हरुका अनुसार, नेपालको मनसुनमा वर्षा गराउने अर्को प्रणाली अरब सागरमा विकास हुन्छ । त्यहाँको जलवाष्पयुक्त वायुले नेपालको मध्य र पश्चिम भू–भागमा मनसुनी वर्षा गराउने गर्छ । नेपालमा भित्रने मनसुनी न्यूनचापीय रेखाको सरदर स्थान भारतको गङ्गा किनार आसपास हो । त्यहाँबाट त्यो रेखा जलवाष्पयुक्त वायुसहित नेपालको दक्षिण तराई नजिक सर्दा नेपालमा वर्षा बढी हुने गरेको छ ।
केही मौसमविद् भने नेपालमा मनसुन भित्रने एकिन नभएको बताउँछन् । कृषि मौसमविद् रामेश्वर रिमाल नेपालमा मनसुन भित्रिन ढिलाहुन सक्ने बताउँछन् । मनसुन भित्रेपछि पनि पानी चाहिने बेला वर्षा भएन भने धान डढ्ने र अतिवृष्टि हुँदा डुब्ने उनको भनाइ छ । विश्व मौसम सङ्गठन र क्षेत्रीय मनसुन फोरमले यस वर्षको मनसुनमा कम वर्षा हुने अनुमान गरेको छ । दक्षिण एसियाली मुलुकमा कम वर्षासँगै वर्षाको बदलिँदो प्रवृत्तिसमेत भित्राउन सक्ने संभावना औंल्याउँदै त्यसप्रति सचेत रहन सङ्गठनले आग्रह गरेको छ ।
विश्व मौसम सङ्गठनका अनुसार जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनको चक्रले दक्षिण एसियाको धेरैजसो भू–भागको जीवनलाई सिञ्चित गर्छ । यस मनसुनमा पूर्वानुमान गरिएको औसतभन्दा कम मनसुनी वर्षाले कृषी लगायत्का सवै खालका जिवनशैलीमा नकारात्मक असर पार्ने संभावना छ ।








प्रतिकृया दिनुहोस्