July 1, 2026, Wednesday
२०८३ असार १७ बुधबार

नेपालगन्ज कारागारमा क्षयरोग र एचआइभी परीक्षण शिविर

Advertisement

नेपालगन्ज–क्षयरोगको खोजपड्ताल गर्नका लागि नेपालगन्जस्थित जिल्ला कारागार मा रहेका कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारीहरूको क्षयरोग (टीबी) परीक्षण सुरु गरिएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्रकुमार शाहका अनुसार एआई (कृत्रिम बुद्धिमत्ता) आधारित एक्स–रे प्रविधिबाट उक्त कारागारमा विशेष शिविर सञ्चालन गरी क्षयरोगको खोजपड्ताल तथा पहिचान सुरु गरिएको हो ।

एआई एक्स–रे, छातीको एक्स–रे विश्लेषण गरी फोक्सोमा देखिने असामान्य दाग तथा संक्रमणका आधारमा क्षयरोगको सम्भावना पहिचान गर्ने आधुनिक प्रविधि हो । एआई प्रणालीले सम्भावित क्षयरोग संकेतहरूको विश्लेषण गरी जोखिमबारे रिपोर्ट प्रदान गर्छ । यस विधिबाट छिटो र प्रभावकारी रूपमा क्षयरोग पहिचान गर्न सकिने शाहले बताए ।

कारागार व्यवस्थापन विभाग, जिल्ला कारागार बाँके र विराट नेपाल मेडिकल ट्रस्टको समन्वयमा सञ्चालन गरिएको यो शिविर तीन दिनसम्म चल्नेछ । शिविरमा कारागारका ८ सय ४७ जना कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारी गरी करिब ९ सय जनाको क्षयरोगसँगै एचआईभी परीक्षणसमेत गरिने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।