ब्रह्माकुमारी भैरहवामा बृहत् रक्तदान कार्यक्रम हुँदै


भैरहवा– ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका पूर्व अन्तर्राष्ट्रिय प्रमुख राजयोगिनी डा.दादी प्रकाशमणिको १९औँ पुण्य स्मृति दिवस तथा विश्वबन्धुत्व दिवसको अवसरमा भैरहवामा बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।
‘रक्तदान गरौं पुण्य कमाऔं, विश्वबन्धुत्वतर्फ एक कदम बढाऔं’ भन्ने नारासहित संस्थाको समाजसेवा विभागले विश्वव्यापी रूपमा आयोजना गर्न लागेको बृहत् रक्तदान कार्यक्रमअन्तर्गत भैरहवामा पनि रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो ।
ब्रह्माकुमारीज भैरहवाको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी भैरहवाको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन हुनेछ । आयोजकका अनुसार रक्तदानमार्फत मानव सेवासँगै विश्वबन्धुत्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
विश्वविद्यालय भैरहवा प्रमुख ब्रह्माकुमारी शान्ति दिदीले कार्यक्रममा सहभागी भई रक्तदान गर्न तथा कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गरिन् । ‘रक्तदान गरौँ, पुण्य कमाऔँ, विश्व बन्धुत्वतर्फ एक कदम बढाऔँ’ भन्ने सन्देशसहित आयोजना हुने कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने आफूहरुको अपेक्षा रहेको उनको भनाई छ ।
रक्तदान कार्यक्रम भदौ ६ गते शनिबार बिहान ७ः३० बजेदेखि ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, सिद्धार्थनगर नगरपालिका–१२, भैरहवामा सञ्चालन हुनेछ । आयोजक ब्रह्माकुमारीज भैरहवाले रक्तदान जीवनदानसमेत भएकाले स्वस्थ व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न अनुरोध गरेको छ ।








प्रतिकृया दिनुहोस्