September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

मुख्यमन्त्री आचार्यद्वारा मन्त्रिपरिषद् विस्तारको तयारी

Advertisement

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत दिने सबै राजनीतिक दललाई सरकारमा सहभागी गराउने गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएका हुन् ।

Advertisement

मुख्यमन्त्री आचार्यले भदौ १ गते प्रदेश सभामा भएको मतदानमा ४५ मत प्राप्त गरी विश्वासको मत पाएका थिए । नेपाली कांग्रेसको समर्थनमा २०८१ साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले कांग्रेसले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिएका थिए ।

नेकपा (एमाले) र नेकपाका शीर्ष तहका नेताबीच भएको सहमतिअनुसार लुम्बिनीसहित सातै प्रदेशमा सरकारको नेतृत्व र सत्ता समीकरणमा फेरबदल भएको छ । सोही सहमतिअनुसार एमाले संसदीय दलका नेतासमेत रहेका आचार्यको नेतृत्वमा लुम्बिनी प्रदेशमा सरकार गठन भएको हो ।

मुख्यमन्त्री आचार्यलाई एमालेसँगै नेकपा, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन् । विश्वासको मत दिने सबै दललाई सरकारमा सहभागी गराउने गरी मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको जानकारी मुख्यमन्त्री आचार्यले दिएका छन् ।

उनका अनुसार लुम्बिनीमा मुख्यमन्त्रीसहित ९ सदस्यीय मन्त्रिपरिषद् बनाउने सहमति भएको छ । हाल एमालेबाट मुख्यमन्त्रीसहित पाँच जना र जनता समाजवादी पार्टी नेपालबाट २ जना मन्त्री सरकारमा सहभागी छन् ।

जसपा नेपालका भण्डारीलाल अहिरले आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी लिएका छन् । एमालेबाट तुलसीप्रसाद चौधरीले कृषि, भूमि व्यवस्था तथा सहकारी, डिल्लीराज भुसालले सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी, रामजीप्रसाद घिमिरेले स्वास्थ्य तथा रत्नबहादुर खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

बाँकी तीन मन्त्रालय नेकपालाई दिने विषयमा सहमति भएको नेकपा लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता जोखबहादुर महराले जनाएका छन् । महराका अनुसार पछिल्लो सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित चार, नेकपाले तीन तथा साना दललाई एक–एक मन्त्रालय दिने विषयमा छलफल जारी छ ।

‘अहिले यसै विषयमा छलफल भइरहेको भएपनि अहिलेसम्म टुङ्गो लागेको छैन’, महराले भने, ‘विश्वासको मत दिएका साना दललाई पनि सरकारमा सहभागी गराउने गरी छलफल जारी छ ।’
मन्त्रालयको सँख्या र बाँडफाँड टुङ्गो लागेपछि आफ्नो दलबाट मन्त्रीको नाम पठाउने उनले जनाएका छन् ।

मुख्यमन्त्री आचार्यले पनि दलहरूबीच मन्त्रिपरिषद् विस्तारका विषयमा सहमति नजिक पुगिसकेको र एक–दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको जनाएका छन् ।