साउनमा रूपन्देही प्रहरीको सक्रियताः १८८ मुद्दा दर्तादेखि २ करोड २५ लाख बढीका अवैध सामान बरामदसम्म


भैरहवा– जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले साउन महिनामा अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा, सडक दुर्घटना न्यूनीकरण, राजस्व चुहावट नियन्त्रण, विपद् व्यवस्थापन तथा समुदाय केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट साउन महिनामा विभिन्न प्रकृतिका १८८ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीको विवरणअनुसार ज्यानसम्बन्धी ३५, आत्महत्या २६, चोरी ६, संगठित तथा आर्थिक अपराध ८१, सामाजिक अपराध १२, महिला तथा बालबालिकासम्बन्धी अपराध १०, सवारीसम्बन्धी ६ र विविधतर्फ १२ वटा मुद्दा दर्ता भएका छन् ।
त्यसैगरी चालु मुद्दाका १५९ जना प्रतिवादी पक्राउ परेका छन् । फैसला कार्यान्वयनतर्फ फरार रहेका ४९ जना प्रतिवादी पक्राउ परेका छन् । उनीहरूबाट १७ लाख ९१ हजार ३५० जरिवाना र १२ वर्ष ६ महिना ११ दिन कैद तथा सजाय कार्यान्वयन भएको रुपन्देही प्रहरी प्रमुख जनकबहादुर शाहीले जनाए ।
महिला तथा बालबालिका र घरेलु हिंसामा ८५ उजुरी
साउनमा घरेलु हिंसासम्बन्धी ८५ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ५० वटा मिलापत्र गराइएको र ३५ वटा बाँकी रहेको प्रहरीले जनाएको । घरेलु हिंसाका उजुरीमध्ये घरायसी झै–झगडाका ६०, घरमा खान–बस्न नदिएको ८, कुटपिट तथा घाउ जाँच केस फारम १२, विवाह दर्ता तथा नागरिकता नबनाइदिएको १ र मादक पदार्थ सेवन गरी गालीगलौज गरेको ४ वटा रहेका छन् ।
यस अवधिमा हराएका महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकको संख्या ११७ छ । तीमध्ये ५८ जना फेला परेका छन् भने अघिल्लो आर्थिक वर्षको असार महिनामा हराई फलोअपमार्फत फेला परेका संख्या १६ छन् ।
प्रहरी कार्यालयमा प्रत्यक्ष रूपमा ६८४ वटा उजुरी दर्ता भएकामा ६६२ वटा फछ्र्यौट भएका छन् भने २२ वटा बाँकी छन् । जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा आएका ५१ उजुरीमध्ये ४६ वटा फछ्र्यौट भएका छन् भने ५ वटा बाँकी छन् ।
लागुऔषधसहित २५ जना पक्राउ
लागुऔषध नियन्त्रणतर्फ साउन महिनामा प्रहरी ठूलो सफलता हात पारेको छ । प्रहरीका अनुसार १८ वटा मुद्दा दर्ता गरी २५ जना पक्राउ परेका छन् । प्रहरीले १४ किलो ३६८ ग्राम गाँजा, ३३ ग्राम २५८ मिलिग्राम ब्राउन सुगर, डाइपाजाम इन्जेक्सन १८८ एम्पुल, बुप्रिनोर्फिन इन्जेक्सन १८४ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन १८४ एम्पुल, २१० ग्राम चरेश, ३४५ ट्याब्लेट, लागूऔषक ७ बोतल तथा अन्य ५० ट्याब्लेट बरामद गरेको छ ।
२६ जनाले गरे आत्महत्या
रुपन्देही प्रहरीका अनुसार साउन महिनामा रुपन्देहीमा २६ वटा आत्महत्याका घटना भएका छन् । तीमध्ये झुण्डिएर २३ र विषादी सेवन गरी ३ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा १८ पुरुष र ८ महिला रहेका छन् । उमेर समूहअनुसार १८ वर्षमुनिका ३, १९–२५ वर्षका ९, २६–३५ वर्षका ४, ३६–४५ वर्षका ७, ४६–६० वर्षका २ र ६० वर्षभन्दा माथिका १ जना रहेको प्रहरी तथ्यांक छ ।
हतियार, सुनको सिक्री र नक्कली नोटसहित पक्राउ
साउन महिनामा प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्दै हतियार, लागुऔषध, चोरीको सामान, नक्कली नोट तथा कल बाइपासमा प्रयोग हुने उपकरण बरामद गरेको छ ।
साउन ५ गते रिभल्भरको गोलीसहित पक्राउ परेका व्यक्तिको स्थायी ठेगानाबाट थप रिभल्भर १ थान र गोली ५ थान बरामद गरिएको प्रहरीले जनाएको छ । साउन ८ गते नक्कली रिभल्भरसहित पक्राउ परेका व्यक्तिबाट नक्कली रिभल्भर १ थान, गाँजा ५०० ग्राम, मोबाइल १ थान र नगद २ हजार ६ सय बरामद भएको छ ।
सुनको सिक्री ‘स्न्याचिङ’ गर्ने गिरोहका ५ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट सुनजस्तो देखिने सिक्री १ थान, मोबाइल ४ थान र बा १९ च ४३७७ नम्बरको स्कार्पियो गाडी १ थान बरामद भएको छ ।
त्यस्तै, कल बाइपास गर्ने एक व्यक्तिलाई विभिन्न उपकरणसहित पक्राउ गरिएको छ । प्रहरीले चिनियाँ सिमकार्ड, राउटर, मोबाइल, सिमकार्डलगायतका सामग्री बरामद गरेको एसपी शाहीले बताए ।
‘साउन १४ गते भारतीय नक्कली नोटको कारोबारमा संलग्न २ जना पक्राउ परेका छन् । उनीहरूबाट भारतीय ५०० दरका नक्कली नोट १४० थान, मोबाइल २ थान र भारतीय आधार कार्ड २ थान बरामद भएको छ’, उनले भने ।
२ करोड २५ लाखभन्दा बढी राजस्व नियन्त्रण
रुपन्देही प्रहरीले साउन महिनामा राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणतर्फ २ करोड २५ लाख ४४ हजार ६५६ बराबरको अवैध भन्सार छलीको सामान नियन्त्रणमा लिएको छ । यसबाट ठूलो मात्रामा राजस्व संकलन भएको छ । यस क्रममा १० जना पक्राउ परेका छन् भने १८ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ ।
शान्ति सुरक्षा तथा प्रहरी परिचालनतर्फ साउनमा पिकेट ४९३, चेकिङ ५१०, ग्रामीण गस्ती १ हजार १४०, एलआरपी ९ र एसआरपी २ हजार ३३७ पटक सञ्चालन गरिएको छ । यी कार्यमा कुल ११ हजार १६९ जना प्रहरी जनशक्ति परिचालन भएको जिल्ला प्रहरीको विवरण छ ।
सडक दुर्घटनातर्फ साउन महिनामा १५९ वटा दुर्घटना भएका छन् । दुर्घटनामा ५ जनाको मृत्यु, २१३ जना घाइते भएका छन् भने २१५ वटा सवारीसाधन संलग्न भएका छन् । प्रहरीले २१३ जनाको उद्धार गरेको छ । चेकिङका क्रममा ३ हजार ३२६ वटा कारबाही गरी ५७ लाख ९९ हजार राजस्व संकलन भएको छ ।
विपद् व्यवस्थापनमा प्रहरी परिचालन
साउनमा १४ वटा विपद्का घटना भएका छन् । तीमध्ये आगलागीका ३ घटना रहेका छन् । करेन्ट लागेर १ जनाको मृत्यु र ६ जना घाइते भएका छन् भने आगलागीमा १ जना घाइते भएका छन् । डुबेर ३ जनाको मृत्यु र १ जना घाइते भएका छन् । विपद् व्यवस्थापनका क्रममा ८७ जना प्रहरी परिचालन गरिएको छ ।
प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ २ वटा ट्याक्टर बरामद गरी ४५ हजार जरिवाना गरिएको छ । अवैध पशुपन्छी चोरी पैठारी नियन्त्रणतर्फ १ मोटरसाइकल, १८ वटा कुखुरा, २०० वटा कुखुराका चल्ला र ७ वटा बाख्रा बरामद गरिएको छ । यसबाट २ लाख १३ हजार राजस्व संकलन भएको छ ।
१२४ वटा सचेतनामूलक कार्यक्रम
प्रहरीले विद्यालय केन्द्रित कार्यक्रमअन्तर्गत लागुऔषधविरुद्ध जनचेतना, मानव बेचबिखन तथा ओसारपसारविरुद्ध, ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरण, साइबर अपराध, बालविवाह न्यूनीकरण, सरसफाइ र युवालक्षित गरी १६ वटा कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा ८३५ जना विद्यार्थी सहभागी भएका थिए ।
समुदाय–प्रहरी साझेदारीअन्तर्गत विभिन्न विषयमा १०७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन भएका छन् । ती कार्यक्रममा २ हजार ८०७ जना सहभागी भएका थिए ।
यसैगरी नागरिकता सम्बन्धी ३२१ वटा मुचुल्का र अन्य कागजातका लागि २५ वटा मुचुल्का गरिएको छ । प्रहरी कार्यालयको हटलाइन वा डिआइजीको सम्पर्क नम्बरमा ४ हजार ७७९ वटा कल आएको र नागरिक सहायता कक्षको रजिस्टरमा ४ हजार ३२० जना सेवाग्राही दर्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरी कर्मचारीको मनोबल वृद्धि गर्ने उद्देश्यले उत्कृष्ट कार्यसम्पादन गर्ने ६ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ भने बाह्य संघसंस्थाबाट उत्कृष्ट कार्यका लागि २ जना प्रहरी कर्मचारीले प्रशंसापत्र प्राप्त गरेका छन् ।
साउन महिनामा बुटवल उपमहानगरपालिका–८ को सभाहलमा १ वटा सार्वजनिक नागरिक सुनुवाइ कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा ५२ जना सहभागी भएका थिए । कार्यक्रममा शान्ति सुरक्षा, सडक दुर्घटना न्यूनीकरण तथा साइबर अपराधसम्बन्धी विषयमा गुनासो तथा सुझाव उठेका थिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको साउन महिनाको कार्यसम्पादन विवरण हेर्दा अपराध अनुसन्धान र नियन्त्रणसँगै सडक सुरक्षा, राजस्व चुहावट नियन्त्रण, विपद् व्यवस्थापन तथा नागरिकसँग प्रत्यक्ष जोडिएका जनचेतनामूलक कार्यक्रमलाई समेत प्रहरीले प्राथमिकतामा राखेको देखिन्छ ।








प्रतिकृया दिनुहोस्