August 20, 2026, Thursday
२०८३ भाद्र ४ बिहीबार

विसौनीमा बस रोक्न र जथाभावी हर्न नबजाउन चेतावनी

Advertisement

भैरहवा – बुटवल–बेलहिया व्यापारिक मार्ग अन्तर्गत सञ्चालन भइरहेका बसको मनपरि नियन्त्रणका लागि तिलोत्तमा नगरपालिकाले कडाई थालेको छ । नगरपालिकाले सूचना प्रकाशित गरेर विसौंनीमा मात्र बस रोक्न र जथाभावी हर्न नबजाउन जानकारी गराएको छ । नगरपालिकाको सूचना पालना नगरे कारबाही हुने जनाएको छ ।

Advertisement

नगरपालिकाले पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवल र सिद्धार्थनगर सार्वजनिक यातायात प्रालि भैरहवालाई सम्बोधन गरेर सूचना पालना गर्न जानकारी गराएको छ । सूचनामा तिलोत्तमा नगरपालिका क्षेत्रभित्र पर्ने सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडकखण्डमा सञ्चालित सार्वजनिक सवारी साधनले तोकिएको बस बिसौनी बाहेक मुख्य चोक, चौबाटो र अत्यधिक भिडभाड हुने स्थानमा जथाभावी रोकेर यात्रु ओराल्ने–चढाउने गरेको गुनासो प्राप्त भएको जनाएको छ । साथैं त्यस्ता स्थलमा चर्को आवाजमा हर्न बजाउने गरेको जनाएको छ ।

‘यसरी जथाभावी बस रोक्दा दुर्घटनाको जोखिम बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा गम्भीर असर परेको छ,’ नगरपालिकाद्वारा सार्वजनिक सूचनामा उल्लेख छ, ‘अनावश्यक हर्नको प्रयोगले नगर क्षेत्रमा ध्वनि प्रदूषण भई सर्वसाधारण, विद्यार्थी, तथा बिरामीलाई प्रत्यक्ष मर्का परेको छ ।’ बुटवल–बेलहिया खण्डमा सञ्चालन हुने बसले जहाँ पायो त्यहीँ रोक्दा साना सवार चालक मर्कामा परेका छन् । हुँइकिएर आउने बस कहाँ रोकिन्छ भन्ने ठेगान हुँदैन । जसले गर्दा आफैं जोगिएर हिंड्नु पर्ने अवस्था छ । दुबै समितिका बसबीच अस्वस्थ्य प्रतिस्पर्धाका कारण बुटवल–भैरहवा खण्ड असुरक्षित बनेको स्थानीय बासिन्दाको गुनासो छ ।

नगरको यातायात व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनका लागि निर्देशनहरू पालना गराई सहयोग पुर्याउन नगरपालिकाले अनुरोध गरेको छ । साथै तीन बुँदे निर्देशन समेत दिएको छ । पहिलो नम्बरमा तिलोत्तमा नगरपालिका क्षेत्रभित्र तोकिएका बस बिसौनीमा मात्र अनिवार्य रूपमा सवारी साधन रोक्ने व्यवस्था मिलाउनु हुन भनिएको छ । दोस्रो नम्बरमा भिडभाड हुने स्थानमा सवारी साधन रोक्न निषेधः मुख्य चोक, मोड, तथा अति भिडभाड हुने सडक खण्डमा सवारी साधन रोकी यात्रु चढाउन वा ओराल्न पाइने छैन भनिएको छ ।

त्यस्तै तेस्रो नम्बरमा नगरपालिका क्षेत्रभित्र अनावश्यक रूपमा तीव्र आक्रन आउने हर्न बजाउन पूर्ण रूपमा निषेध गरिएको छ । नगरपालिकाले उक्त सूचनाको बोधार्थ जिल्ला ट्राफिक प्रहरी कार्यालय, भैरहवा र अस्थायी प्रहरी पोस्ट मंगलापुरलाई पनि पठाएको छ । स्थानीय राजमार्गमा सञ्चालन हुने यस्ता लापरबाहीबारे ध्यानाकर्षण हुने तिलोत्तमा पहिलो नगरपालिका हो । बुटवल र सिद्धार्थनगरमा झन लापरबाही भए पनि व्यवस्थापनमा लागि पहल गरिएको छैन । गाडी चालकले गर्ने लापरबाही छानबिन गरेर कारबाही गर्नुको साटो ट्राफिक प्रहरीको टाउकोमा दोष थुपारेर उम्किने गरिएको छ ।