August 20, 2026, Thursday
२०८३ भाद्र ४ बिहीबार

प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे साउन महिनाको उत्कृष्ट प्रहरी घोषित

Advertisement

भैरहवा– नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्णप्रसाद घिमिरे साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

Advertisement

नेपाल प्रहरीको संगठनात्मक नीति–निर्देशनअनुसार प्रदान गरिएको पेशागत जिम्मेवारी तथा पदीय दायित्वलाई उच्च व्यावसायिकताका साथ निर्वाह गर्दै उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा घिमिरेलाई साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ अर्थात् ‘पुलिस अफ द मन्थ’ छनोट गरिएको हो ।

घिमिरेले नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाअन्तर्गत केन्द्रीय अनुसन्धान इकाई, साइबर इकाई तथा दूरसञ्चार समन्वय शाखा प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै प्रभावकारी कार्यसम्पादन गरेको कार्यालयले जनाएको छ । आफूलाई तोकिएको जिम्मेवारीलाई व्यावसायिक ढंगले पूरा गर्दै अपराध अनुसन्धान तथा प्रहरी कार्यसम्पादनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलले उनलाई पुरस्कृत गरेका हुन् ।

घिमिरेले मातहतका प्रहरी इकाईहरूबाट अनुरोध भएअनुसार घटनास्थलमा पुगेर अनुसन्धान कार्यमा सहयोगी भूमिका निर्वाह गर्दै आएका छन् । साथै, दूरसञ्चार समन्वय शाखामार्फत अपराध अनुसन्धानका क्रममा आवश्यक पर्ने प्राविधिक सहायता उपलब्ध गराउने कार्यमा समेत उनले प्रभावकारी भूमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैगरी, दैनिक कार्यालयको कार्यसम्पादन, शाखाको अभिलेखीकरण तथा स्वीकृत कार्ययोजनाअनुसार निर्धारित गतिविधिहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पनि घिमिरेले सक्रियता देखाउँदै आएका थिए ।

जिम्मेवारीप्रतिको निष्ठा, व्यावसायिक कार्यशैली, अनुसन्धानमा देखाएको सक्रियता तथा प्रविधिको प्रयोगमार्फत प्रहरी कार्यलाई थप प्रभावकारी बनाउन पुर्याएको योगदानको मूल्यांकन गर्दै उनलाई साउन महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको नेपाल प्रहरी प्रदेश कार्यालय, भैरहवाले जनाएको छ ।

उत्कृष्ट प्रहरी छनोट तथा पुरस्कारले प्रहरी कर्मचारीमा जिम्मेवारीप्रति थप उत्तरदायी र व्यावसायिक बन्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको छ ।