प्रिय ‘मनु’ दाइ, तपाईंलाई बिर्सौं कसरी ?


म भर्खरै प्यूठानबाट स्नातक अध्ययन गर्न भैरहवा झरेको थिएँ । भैरहवाबाट प्रकाशित हुने लुम्बिनीखबर साप्ताहिक पत्रिकामा २०६८ को मंसिरदेखि टाइपिष्टको रुपमा काम सुरु गरेँ । मलाई राम्रोसँग याद छ– २०६८ को पुसको जाडो महिनामा पत्रकार मनोरंजन शर्मा दाइसँग भेट भयो । लुम्बिनीखबरमा भएको हाम्रो पहिलो भेटमै दाइसँग परिचय गर्यौं, लगत्तै दाइले हिंड प्यूठानी कान्छा मितिलाई मैले मःम खुवाउँछु भन्नुभयो । त्यतिबेला भैरहवा–बुटवलको व्यापारिक मार्ग बनेको थिएन । आवारोडको चोकमा रहेको मःम पसलमा गएर दुईभाइले मःम खायौं ।
त्यतिखेर चिनेको मनोरंजन शर्मासँग मैले संगत बढाउँदै गएँ । हामी दुईभाइबीच सुमधुर सम्बन्ध रह्यो । विस्तारै मैले पत्रकारिता सिकेँ । दाईसँग सयौंपटक रुपन्देहीका विभिन्न ठाउँमा रिपोर्टिङका लागि गएको छु । कयौं रात हामी भैरहवा बाहिर गएर रमाइलो गर्दै बास बसेका छौं । खैर, ती दिन अब कल्यिै फर्किएर आउँदैनन् ।
नेपाली पत्रकारिताको क्षेत्रमा दुई दशकभन्दा लामो समयसम्म निरन्तर सक्रिय रहेर काम गर्नुभएका मेरा अग्रज पत्रकार (मैले दाई सम्बोधन गर्थें) मनोरञ्जन शर्माको निधनले जति क्षति पुग्यो, त्यो कल्पना गर्नै सकिँदैन । रुपन्देहीसहित समग्र सञ्चार जगतलाई स्तब्ध बनाएको, त्यो २०८२ को भदौं ४ कहिल्यै नआओस् भन्ने मलाई लाग्छ । लामो समय क्यान्सर जस्तो प्राणघातक रोगसँग लड्दा लड्दै दाइले हामीलाई छाडेर जानुभयो । त्यो पीडा मलाई त यती धेरै छ भने, दाइको जीवनसंगीनी सरिता सापकोटा (मैले भाउजु सम्बोधन गर्छु), छोरी अभिलाषा, छोरा आगमनलाई कति होला, त्यो हामीले नापेर नाप्न सक्दैनौं, सम्झिएर सम्झन सक्दैनौं । जीवनको उत्तराद्र्ध पुग्नु भएका बुवाआमाको घाउ अझ कसैले मेटाउन सक्दैन ।
सरल स्वभाव, मृदुभाषी व्यवहार, इमानदार कार्यशैली र समाजप्रतिको उत्तरदायित्वबोधका कारण दाइ धेरैका मनमा बस्न सफल पत्रकारका रुपमा परिचित हुनुहुन्थ्यो । विशेषगरी आर्थिक र खेलकुद पत्रकारितामा उहाँले पुर्याएको योगदान सधैं सम्झनायोग्य रहनेछ । पत्रकारिता केवल समाचार लेख्ने काम मात्र होइन, समाजलाई सही दिशामा डोर्याउने जिम्मेवारी पनि हो भन्ने मान्यतालाई मनोरञ्जन दाइले आफ्नो जीवनभर आत्मसात् गर्नुभयो । उहाँले पत्रकारितालाई पेशा मात्र नभई सामाजिक सेवाको माध्यमका रुपमा बुझ्नु भएको थियो । न कहिल्यै पैसाको पछी दौडिनुभयो, न बदनियत राखेर समाचारका माध्यमले कसैमाथि जाइलाग्नुभयो, उहाँ सधैं असल कर्ममै रहनुभयो । यही सोंच र इमानदार पैरवीका कारण दाई सधैं सत्य, निष्पक्षता र जनपक्षीय विषयवस्तुको वकालतमा रहनु भयो । आज जहाँ रहे पनि उहाँको सत्मार्ग हाम्रा लागि प्रेरणादायी छ ।
पाल्पामा जन्मिएर युवाकालमा भैरहवा झरेर भैरहवालाई आफ्नो कर्मथलो बनाउनुभएको मनोरंजन दाइले लामो समयदेखि यही क्षेत्रका सामाजिक, आर्थिक, राजनीतिक तथा खेलकुद गतिविधिलाई नजिकबाट नियाल्नुभयो । स्थानीय समस्यादेखि विकास निर्माणका मुद्दासम्म उहाँले निरन्तर कलम चलाउनुभयो । विशेषगरी आर्थिक क्षेत्रका गतिविधि, व्यापार–व्यवसाय, उद्योग, बजार अवस्था र सीमावर्ती क्षेत्र, शिक्षा, स्वास्थ्य, रोजगारी लगायत अन्य आर्थिक गतिविधिबारे उहाँका समाचार तथा विश्लेषण पाठकमाझ लोकप्रिय मानिन्थे । उहाँ आर्थिक पत्रकारितामा तथ्य र यथार्थलाई प्राथमिकता दिने पत्रकारका रुपमा सधैं परिचित रहनुभयो । यही कारण दाइको निधनमा निजी क्षेत्र स्तब्ध भयो, अहिले पनि दाइलाई जनजनले सम्झिरहन्छ ।
स्थानीय स्तरका खेल प्रतियोगिता, युवा खेलाडीको संघर्ष, खेल पूर्वाधार र खेलकुद विकाससँग सम्बन्धित विषयमा पनि निरन्तर कलम चलाउनुभयो । उहाँले खेललाई मनोरञ्जन मात्र नभई युवाको भविष्य निर्माण गर्ने महत्वपूर्ण माध्यमका रुपमा बुझ्नुहुन्थ्यो, यही कारण खेलकुद क्षेत्रमा सक्रिय धेरै व्यक्तिहरु उहाँलाई सधैं सम्झिरहन्छन् ।
आफ्नो पत्रकारिताको जीवनमा दाइले धेरै संचारमाध्यममा काम गर्नुभयो । नेपाल वानबाट आफ्नो पत्रकारिता सुरु गर्नुभएको थियो । यसपछि कारोबार राष्ट्रिय दैनिक, न्युज २४ टिभी, दैनिक पत्र दैनिक, हिमालय टाइम्स लगायतमा दाइले काम गर्नुभयो । उहाँको पत्रकारिता यात्राको अर्को महत्वपूर्ण पाटो थियो– ‘न्युज ओके’ साप्ताहिक पत्रिका । यो पत्रिका निःशुल्क रुपमा वितरण हुन्थ्यो, सायद त्यो नेपालको इतिहासकै पहिलो रंगीन कलेबर पत्रिका हुनुपर्छ । पत्रिका स्थापनाका बेला मैले रिपोर्टिङ र सेटिङको काम गर्थें । करिब ४ वर्ष मैले उक्त पत्रिकामा काम गरेँ ।
दाइ पत्रिकाको सम्दापक हुनुहुन्थ्यो भने भैरहवाका युवा व्यवसायी विमल सेन्चुरी अध्यक्ष हुनुहुन्थ्यो । सीमित स्रोत र चुनौतीका बीच पनि उक्त पत्रिकालाई निरन्तर लामो समयम्म प्रकाशन गर्नुभयो । पछिल्लो समय दाइलाई रोगले च्यापेपछि पत्रिका निरन्तर हुन सकेन । निःशुल्क रुपमा पत्रिका वितरण गर्नु आफैंमा कठिन काम थियो, तर दाइले आमनागरिकलाई सूचनाको पहुँचमा राख्ने उद्देश्यलाई कहिल्यै कमजोर हुन दिनुभएन । ‘न्युज ओके’ मार्फत् स्थानीय समाचार, सामाजिक गतिविधि, आर्थिक विषय तथा जनचासोका मुद्दालाई प्राथमिकताका साथ उठाउनुभयो । स्थानीय पत्रकारितामा यो प्रयासलाई धेरैले उदाहरणीय कामका रुपमा लिने गर्छन् । हरेक हप्ता बिहीबार पत्रिका प्रकाशन हुन्थ्यो । पत्रिका प्रकाशनका दिनहरुमा हामीले मध्यराति १२ बजेसम्म काम गथ्र्यौं ।
मलाई याद छ, दाइले मलाई बढी विश्वास गर्ने । बेलाबेला ‘मेरो बाबु, मुटु’ भनेर मायाले बोलाउनुहुन्थ्यो । उहाँको धेरैसँग बोल्ने शब्दहरुमा मिठासपन नै हुन्थे । पत्रिकामा धेरै जिम्मेवारी दाइसँगै मैले पनि पूरा गर्थें । पत्रकारितामा २० वर्ष बढी समय बिताउँदा उहाँले धेरै उतारचढाव देख्नुभयो । सशस्त्र द्वन्द्व, गणतन्त्र, भूकम्प, नाकाबन्दी, कोरोनामहामारी । तर, कहिल्यै उहाँको कलम सत्यको विपक्षमा रहेन । प्रविधिको विकाससँगै सञ्चारमाध्यममा आएको परिवर्तनलाई पनि उहाँले नजिकबाट अनुभव गर्नुभयो । तर, समय परिवर्तन भए पनि उहाँको मूल मूल्य र सिद्धान्त कहिल्यै परिवर्तन भएन । सत्य समाचारप्रतिको प्रतिबद्धता, समाजप्रतिको जिम्मेवारी र पत्रकारिताप्रतिको इमानदारिता उहाँको पहिचान बनिरह्यो ।
हरेक क्षेत्रमा दाइको इमानदारिताले सधैं जित्यो, तर रोगलाई जित्न सकेन । यसैले त आज भैरहवामा म जस्ता धेरै पत्रकारहरु मनोरंजन दाइ विनाको पत्रकारिता गरिरहेका छौं । स्मृतिमा भने दाइ झल्झल्ती आइरहनु हुन्छ । कहिलेकाही लाग्छ, विर्सू कसरी ? बाध्यता भनौं या नियती प्रकृतिको नियम– जन्मपछि मृत्यु स्वभाविक हो भनेर मन बुझाउनै पर्छ ।
उहाँको निधनले परिवार मात्र होइन, पत्रकारिता क्षेत्र, खेलकुद, समुदाय, व्यवसायिक क्षेत्र र उहाँलाई चिन्ने हरेक व्यक्तिलाई ठूलो पीडा दिएको छ । उहाँ अब भौतिक रुपमा हामीबीच नरहे पनि आज ठीक एक वर्ष पुग्यो । तर, उहाँका विचार, योगदान र स्मृतिहरु सधैं जीवित रहनेछन् । मैले धेरैजसो समय ‘मनु दाइ’ भन्थेँ । मनु दाइले देखाएको सरलता, इमानदारिता र समर्पण भाव नयाँ पुस्ताका म जस्ता पत्रकारका लागि प्रेरणाको स्रोत बनेको छ र बनीरहनेछ । आज मनोरञ्जन दाइलाई सम्झँदा एउटा यस्तो पत्रकारको तस्वीर आँखाअघि आउँछ, जसले कहिल्यै चर्चाको खोजी गरेनन्, तर आफ्नो काममार्फत् सबैको मन जित्नुभयो । उहाँले आफ्नो जीवन पत्रकारितामै समर्पित गर्नुभयो, समाजका आवाजलाई शब्द दिनुभयो र सत्यलाई उजागर गर्न निरन्तर लागिरहनुभयो । जीवनको अन्तिम पलसम्म विस्तारामा लडिरहँदासम्म पनि समाचार र समाजको उत्थानलाई कर्म ठान्नुभयो ।
यति लेखिरहँदा दाइको एउटा गुण विर्सिनुहुन्न । उहाँ जति सरल हुनुहुन्थ्यो, उति छिटो रिसाउने पनि गर्नुहुन्थ्यो । हुनतः लामो समयदेखि प्रेसरको औषधि खानुहुन्थ्यो । तर, रिस भने छिटो उठ्थ्यो । जति रिस उठे पनि कसैको मन कुडिने गरी नराम्रो शब्द बोलेको मलाई याद छैन । रिस उठे धेरैको फोन रिसिभ नगर्ने उहाँको अर्को बानी थियो । तर, म त्यस्तो शौभाग्यशाली दाइको भाइ थिएँ, जस्तो परिस्थितिमा पनि मेरो फोन रिसिभ गर्नुहुन्थ्यो, मसँग लामो समय कहिल्यै रिसाउनु हुन्नथ्यो । हरेक मानिसका आ–आफ्ना गुण र दोष हुन्छन् । दाइका पनि थिए । तर, अरुको क्षति र नराम्रो हुने खालका थिएनन् । यही कारण जोसँग परिचय भयो, ती व्यक्तिको आँखामा उहाँ सधैं बसिरहनुभयो, फूल बनेर ।
उहाँको अनुपस्थितिले नेपाली पत्रकारिता अझ खास गरेर भैरहवा क्षेत्रमा ठूलो खालीपन महसुस भइरहेको छ । तर, उहाँले छोडेर गएका आदर्श, संघर्ष र योगदानले दाइलाई सधैं जीवित राखिराखेको छ । सरल र मृदुभाषी व्यक्तित्वका धनी दाइले अहिले पनि भाइ भनेर बोलाइ हाल्नुहुन्छ की भन्ने लाग्छ । तर, यो असत्य भइसक्यो । दाइले हारेर जानुभएको पनि वर्ष भइसक्यो । पत्रकारितामा प्रतिस्पर्धा र दबाबका बीच पनि उहाँले कहिल्यै आफ्नो व्यवहारमा कठोरता आउन दिनुभएन ।
भेट्ने हरेक व्यक्तिसँग नम्र व्यवहार गर्ने उहाँको शैलीले सबैलाई प्रभावित बनाउँथ्यो । सानादेखि ठूला व्यक्तिसम्म सबैलाई सम्मान गर्ने बानीले उहाँ धेरैका प्रिय पात्र बन्नुभयो । सञ्चार क्षेत्रमा लामो समय बिताउँदा पनि उहाँ विवादभन्दा टाढा रहेर आफ्नो इमानदार छवि कायम राख्न सफल हुनुभयो । यसैले त म जस्ता सयौंले आज पनि सम्झिरहन्छौं । जहाँ भए पनि दाइको मार्गदर्शन मानसपटलमा रहीरहेका छन् । प्रिय ‘मनु’ दाइ तपाईंलाई हार्दिक श्रद्धाञ्जली ।








प्रतिकृया दिनुहोस्