मिर्गौला र क्यान्सरपीडितलाई चक्रेश्वर यातायातको निःशुल्क सेवा


गुल्मी—चक्रेश्वर यातायात प्रालिले मिर्गौला तथा क्यान्सरपीडित बिरामीका लागि निःशुल्क यातायात सेवा सुरु गरेको छ । उक्त प्रालिले ‘सेवा नै धर्म हो, सहयोग नै मानवता हो’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै भदौ ३ गतेदेखि यस्तो सेवा सुरु गरेको हो ।
प्रालिका अध्यक्ष बैकुण्ठ श्रेष्ठले संस्थाका गाडीको अन्तिम गन्तव्यमा रहेका अस्पतालसम्म उपचारका लागि जाने तथा उपचारपछि फर्किने मिर्गौला र क्यान्सरपीडित बिरामीले निःशुल्क यातायात सेवा पाउने बताए ।
उनका अनुसार, मानवीय सेवामा योगदान पु¥याउने उद्देश्यले सेवा सुरु गर्न लागिएको बताए । ‘यो निर्णय संस्थाको सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धता हो’ उनले भने, ‘सकेसम्म अझै धेरै सुविधा थपेर काम गर्छौं ।’
क्यान्सर उपचार तथा मिर्गौलाको नियमित डायलासिसका लागि ठूलो रकम खर्च हुने भएकाले आर्थिक भारमा रहेका बिरामी तथा उनीहरूका परिवारलाई राहत पु¥याउने उद्देश्यले सेवा विस्तार गरिएको उक्त प्रालिले जनाएको छ ।
चक्रेश्वर यातायात प्रालि २०८२ सालमा गुल्मीमा स्थापना भएको हो । प्रालिका सञ्चालक नागेन्द्र अधिकारीका अनुसार सँस्थामा हाल ४० वटा गाडी सञ्चालनमा छन् । प्रालिले बुटवल, पाल्पा हुँदै काठमाडौंसम्म तथा गुल्मीका प्रमुख बजार क्षेत्रमा नियमित यातायात सेवा दिँदै आएको छ ।
नियमित उपचारका लागि अस्पताल आवतजावत गर्नुपर्ने मिर्गौला र क्यान्सरपीडित बिरामी तथा परिवारलाई यस खालको निःशुल्क यातायात सेवाले आर्थिक तथा व्यावहारिक रूपमा राहत पुग्ने अपेक्षा गरिएको छ ।
मिर्गौला तथा क्यान्सरपीडित बिरामीलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउन प्रालिले आफ्ना सवै चालक तथा कर्मचारीलाई सहयोग गरिदिन अनुरोध समेत गरेको छ ।








प्रतिकृया दिनुहोस्