August 20, 2026, Thursday
२०८३ भाद्र ४ बिहीबार

कोहलपुरमा अटो तथा ई–रिक्सा सञ्चालन गर्न दर्ता अनिवार्य

Advertisement

नेपालगन्ज–बाँकेको कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा सञ्चालन भइरहेका अटो तथा विद्युतीय रिक्सा (ई–रिक्सा) लाई व्यवस्थित गर्नकालागि अनिवार्य रूपमा नगरपालिकामा सूचीकृत गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।

Advertisement

निर्धारित समयभित्र सूचीकृत नभएका सवारीसाधनलाई नगर क्षेत्रमा सञ्चालन गर्न उक्त नगरपालिकाले नदिने भएको छ ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै अटो तथा ई–रिक्सा व्यवसायी तथा चालकलाई सात दिनभित्र आवश्यक कागजातसहित सूचीकरण गर्न आग्रह गरेको हो । ‘अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि, २०७९’ अनुसार नगर क्षेत्रमा सञ्चालन अनुमति लिनुअघि नगरपालिका कार्यालयमा सूचीकृत हुनुपर्ने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख पूर्णप्रसाद आचार्यले नगरपालिकामा सूचीकरण भएका अटो तथा ई–रिक्साको पहिचानका लागि नगरपालिकाले विशेष स्टिकर उपलब्ध गराउने र बिना दर्ता सञ्चालन गरिएका सवारीसाधनलाई नियन्त्रणमा लिएर प्रचलित कानुनअनुसार कारबाही गरिने बताएका छन् ।

सूचीकरणका लागि यातायात व्यवस्था कार्यालयमा दर्ता भई नवीकरण गरिएको सवारी दर्ता किताबको प्रतिलिपि, बिमा कागजात, चालक अनुमतिपत्र र सवारीधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्नेछ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले नगर क्षेत्रमा अटो तथा ई–रिक्साको संख्या बढ्दै गएकाले तिनको व्यवस्थित अभिलेख राख्न, पहिचान गर्न र प्रभावकारी नियमन गर्न सूचीकरण अनिवार्य गरिएको जनाए ।