सबैको साथ मलाई छ, मेरो प्रतिस्पर्धामा कुनै दल छैनन्ः एमाले उम्मेदवार यादव


भैरहवा– रुपन्देही–४ का नेकपा एमाले उम्मेदवार प्रमोदकुमार यादवले आफूलाई चुनाव जित्नबाट रोक्न सक्ने उम्मेदवार नभएको बताएका छन् । उनका अनुसार अहिलेसम्म आफ्नो प्रतिस्पर्धामा कुनै दल नरहेको उनले बताए । मैदानमा रहेका अन्य दल दोस्रो, तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा गरिरहेको उनको दावी छ ।
अहिले रुपन्देही–४ मा एमालेबाट यादवसँगैं कांग्रेसका आशुतोष मिश्र, रास्वपाका कन्हैया बनिया, जसपा नेपालबाट सर्वेन्द्रनाथ शुक्ला, जनमत पार्टीबाट भोपेन्द्रप्रसाद यादव प्रतिस्पर्धामा छन् । ‘यसपटक अन्य दलका कार्यकर्ताले पनि एमालेलाई मतदान गर्दैछन्,’ यादवले भने, ‘अहिले देखिएका प्रतिस्पर्धी मध्ये शुक्ला दोस्रो स्थानमा रहनु भएको छ । बाँकी उम्मेदवार त निकै तल रहेका छन् ।’
यादवका अनुसार यसपटक एमाले कार्यकर्ता मात्र नभएर सबैं दलका समर्थक आफ्नो पक्षमा केन्द्रित भएको बताए । केही दिन अघिसम्म घरदैलो अभियान सञ्चालन गरिरहेका उनी अहिले गाडीमा सवार भएर ‘रोड सो’ गरिरहेका छन् । हिंडेर भन्दा गाडीमा सबैं नागरिकको घरदैलोमा पुग्न सहज हुने भएको उनले बताए । ‘म यस क्षेत्रमा परिचित व्यक्ति हुँ,’ उनले भने, ‘हरेक मतदाताले मलाई चिन्छन् । त्यसैले पनि नयाँलाई जस्तो दुःख मलाई छैन ।’
उनका चुनावी अभियानका सारथीका रुपमा सम्मरीमाई गाउँपालिकाका पूर्व अध्यक्ष जितेन्द्रनाथ शुक्ल ‘बब्लु’ रहेका छन् । निर्वाचन क्षेत्रमा प्रचारप्रसारका क्रममा दुबै जना ‘आइकन’का रुपमा एकसाथ हिंडिरहेका छन् । कोणसभामा पनि शुक्लाले मर्चवारका लागि सबैभन्दा ‘बेष्ट’ उम्मेदवार प्रमोदकुमार यादव भएकाले सूर्य चिन्हमा मतदान गरेर बिजयी बनाउन आग्रह गरिरहेका छन् । र्याली र घरदैलोमा पनि ‘बब्लु भाइ’ र प्रमोद यादव जिन्दाबादको नारा लाग्ने गरेको छ ।
यसपटक यादवले चुनाव जित्नेमा कुनै शंका नरहेको शुक्लाले बताए । यसअघि अन्य दलमा रहेका कार्यकर्ता पनि अहिले एमालेबाट प्रचारप्रसारमा हिंडिरहेको उनले बताए । यादव यसअघि नेपाली कांग्रेसमा आवद्ध थिए । कांग्रेसबाटै २०७४ सालमा संसदीय निर्वाचन जितेका थिए । २०७९ को निर्वाचनमा यही क्षेत्रबाट पराजित भएका थिए ।
यादवले यसअघि नै मर्चवारको बिकासका लागि २५ योजना प्रस्तुत गरिसकेका छन् । आफू मर्चवारकै माटोमा घुलमिल भएको र मर्चवारका समस्या बुझेको उम्मेदवार रहेकाले जनताले अवस्य बिजयी गराउनेमा आफू ढुक्क भएको उनले बताए ।
मर्चवारका बिरामीले संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य गर्छुः एमाले उम्मेदवार यादव
वाचा भन्दा जनताका समस्या सामाधान गर्ने कुरा महत्वपूर्ण हो : एमाले उम्मेदवार यादव
रुपन्देही–४ का एमाले उम्मेदवार यादवले प्रस्तुत गरे क्षेत्र विकासका २५ योजना
रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै








प्रतिकृया दिनुहोस्