आधुनिक मर्चवार बनाउने एमाले उम्मेदवार प्रमोदको अठोट


मर्चवार– रुपन्देही–४, मा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रमोदकुमार यादवले मर्चवारको विकासका लागि महत्वपूर्ण योजना अघि सारेका छन् । यसअघि त्यही क्षेत्रमा २०७४ सालमा नेपाली कांग्रेसबाट सांसद निर्वाचित यादव यसपटक एमालेबाट उम्मेदवार बनेका छन् । यसपाली पार्टी परिवर्तन गरे पनि मर्चवारको विकासका लागि आफू पहिल्यैंदेखि प्रतिवद्ध रहेको उनले बताए ।
वर्षौदेखि मर्चवारका समस्यासित परिचित रहेको र समस्या समाधानका लागि निरन्तर क्रियाशील रहेको उनको भनाई छ । ‘राजनीतिक दलभन्दा पनि ग्रामीण क्षेत्रको बिकासका लागि समर्पण जरुरी छ,’ उनले भने, ‘मर्चवारका बासिन्दाको सेवा गर्न उम्मेदवार बनेको हुँ । मर्चवारको आधुनिक विकास लागि प्रतिवद्ध छुु ।’
उम्मेदवारी दर्तासँगै यादव निरन्तर मतदातासित भेटघाट र चुनावी रणनीति बनाउन व्यस्त छन् । घरदैलो र वडा–वडामा कार्यकर्तासित अन्तरक्रिया गरिरहेका छन् । यसक्रममा आफ्ना योजना सुनाउँदै कार्यान्वयन गरिने प्रत्याभूति दिइरहेका छन् । उनले मतदाता समक्ष प्रस्तुत गरेका योजनामा यसअघि लागू भइसकेकालाई स्तरबृद्धि गर्ने र नयाँ बहुउपयोगी योजना निर्माण गर्ने छन् । समयानुकुल मर्चवार बनाउन कटिबद्ध रहेको बताए ।
उनले प्रस्तुत गरेको घोषणापत्रको पहिलो बुँदामा मर्चवारमा रिङरोड निर्माणका लागि पहल गरिने उल्लेख छ । कृषिका लागि उर्वरभूमि मर्चवारको उक्त आकर्षण कायम राख्दैं स्थानीय बासिन्दालाई सुविधा पुर्याउन रिङरोड निर्माण गरिने उनले बताए । मर्चवारमै प्राविधिक शिक्षालय (टेक्निकल कलेज) स्थापना गर्ने उनले जनाएका छन् । वर्षौदेखि किसाले भोग्दैं आएको सिंचाईंको समस्या हल गर्न नहर प्रणाली व्यवस्थित गर्ने उल्लेख गरेका छन् ।
यादवले गाउँ–गाउँमा सामुदायिक भवन निर्माण गरिने जनाएका छन् । यसबाट आपत–विपतमा गाउँलेलाई राहत मिल्नेछ । यातायात सुविधा सहज नहुँदासम्म विद्यालयमा अध्ययनरत छात्राहरुलाई साइकल प्रदान गरिने उनले घोषणापत्रमा उल्लेख गरेका छन् । साथै १० देखि १२ कक्षासम्म अध्ययनरत छात्र–छात्रालाई ट्याबलेट उपलब्ध गराउने पनि उल्लेख गरेका छन् ।
यादवले स्वरोजगारीलाई पनि ध्यान दिएका छन् । घोषणापत्रमा मर्चवारका युवा र महिलाहरुलाई स्वरोजगार तुल्याउन सिलाई मेसिन हस्तान्तरण गरिने उल्लेख गरेका छन् । यसका साथै बृद्धबृद्धालाई प्रत्येक वर्ष सम्मान र तीर्थयात्राका कार्यक्रम सञ्चालन गरिने जनाएका छन् । सबैभन्दा विकराल रुपमा रहेको राससायनिक मलको समस्या तत्काल समाधानका लागि पहल गरिने उल्लेख छ ।
‘मर्चवारमा विदेशी पर्यटक भित्र्याउन आकर्षक योजना सञ्चालन गरिनेछ,’ यादवको घोषणापत्रमा उल्लेख छ, ‘सड़क किनारमा स्ट्रिट लाइट जड़ान गरिनेछ ।’ आफूलाई विजयी बनाए मर्चवारका बासिन्दालाई निःशुल्क स्वास्थ्य बीमा गराइने जनाएका छन् । यसका साथैं शवदाह गृह निर्माण गरिने पनि उल्लेख छ । छठ पूजाका लागि पक्की घाट निर्माण गरिने घोषणापत्रमा उल्लेख छ ।
‘सीमा नाकामा रहेका छोठी भन्सार सञ्चालनका लागि तत्काल पहल गरिने छ,’ उनले भनेका छन्, ‘मर्चवारका बासिन्दाका लागि सर्पदंश उपचार अस्पताल निर्माण गरिनेछ ।’ घोषणा पत्रमा उल्लेख योजना सञ्चालन गर्ने जिम्मेवारी आफ्नो भएको यादवले जनाएका छन् । ‘घोषणा पत्रमा उल्लेख योजना पूरा गर्न प्रतिबद्ध छु,’ उनले भने, ‘सबै काम पूरा गराउने वाचा पनि गर्दछु ।’ आफू हरेक पल मर्चवारका देवतासरी जनताको साथमै हुने उनले बताए ।








प्रतिकृया दिनुहोस्