July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

पहिलो पटक भारतले जित्यो महिला विश्वकपको उपाधि

Advertisement

भारतीय महिला टोलीले ४७ वर्षको इतिहासमा पहिलो पटक महिला विश्वकपको उपाधि जितेको छ। आइतबार राति भएको फायनलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै उपाधि जितेको हो।

Advertisement

महिला विश्वकपको सुरुवात ५२ वर्षअघि सन् १९७३ मा भएको थियो। त्यो बेला भारतले सहभागिता जनाएको थिएन्। सन् १९७८ मा डायना एडल्जीको कप्तानीमा भारतीय महिला टोलीले पहिलोपटक प्रतियोगितामा भाग लियो। त्यसयता पहिलो उपाधि जित्न टोलीलाई ४७ वर्ष लागेको छ।

सन् २००५ मा भारत पहिलोपटक फाइनलमा पुगेको थियो तर अस्ट्रेलियासँग पराजित भयो। त्यस्तै सन् २०१७ मा भारतले सेमीफाइनलमा अस्ट्रेलियालाई हराउँदै फाइनलमा प्रवेश गर्यो , तर फाइनलमा इंग्ल्यान्डसँग पराजित भयो। तर यो पटक भारतले सेमीफाइनलमा अस्ट्रेलियालाई हराउँदा फाइनलमा दक्षिण अफ्रीकालाई पराजित गर्दै ट्रफी हात पार्योल।

भारतीय महिला सिनियर टोलीको कुनै पनि प्रारूपमा जितेको यो पहिलो आइसीसी उपाधि हो। यसअघि टोली एकपटक टी-२० विश्वकपको फाइनलमा पनि हारिसकेको छ। २५ वर्षपछि महिला एकदिवसीय विश्वकपले नयाँ च्याम्पियन पाएको हो। सन् २००० मा अन्तिमपटक न्यूजिल्यान्डले यो उपाधि जितेको थियो। यसअघि अस्ट्रेलियाले ७ पटक र इंग्ल्यान्डले ४ पटक उपाधि जितेका थिए। दक्षिण अफ्रिका भने पहिलो पटक फाइनल पुगेको थियो।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ सय ९८ रन बनाएको थियो। उसका लागि ओपनर सफाली वर्माले ८७ रनको इनिङ खेल्दा दिप्ती शर्माले ५८ रन तथा स्मृती मन्धनाले ५ रन बनाएकी थिइन्। त्यस्तै जेममा रोड्रिग्वेजले २४ रन बनाउँदा हर्मनप्रित कउरले २० तथा रिचा घोषले ३४ रन बनाइन्।

जवाफमा दक्षिण अफ्रिका २ सय ४६ रनमा समेटियो। उसका लागि कप्तान तथा ओपनर लउरा वल्भर्टले १ सय १ रनको इनिङ खेल्दा उनले अर्को छेउबाट गतिलो साथ पाउन सकिन्न। उसका लागि दिप्ती शर्माले ५ विकेट लिंदा सफाली वर्माले २ र श्री चरानीले १ विकेट लिइन्।