November 28, 2023, Tuesday
१२ मंसिर २०८०, मंगलवार

लिभरपुलले जित्यो सेमिफाइनल, शीर्ष चारको सम्भावना बलियो

शीर्ष चारमा अटाएर आउँदो सिजन च्याम्पियन्स लिग फुटबल स्थान बनाउने प्रयासमा रहेको लिभरपुलले त्यसमा महत्वपूर्ण सफलता हाँसिल गरेको छ ।

Advertisement

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बर्नलीमाथि ३–० को जित निकालेर चौथो स्थानमा उक्लिएको लिभरपुलले अन्तिम त्यहिँ अडिरहने सम्भावना कायम राखेको हो ।

Advertisement

अवे मैदानमा भएको खेलमा लिभरपुलका लाग ४३ औँ मिनेटमा रोबर्टो फिरमिनो, ५२ औँ मिनेटमा फिलिप्स र ८८ औँ मिनेटमा ओक्सलेड–चेम्बरलेनले गोल गरेका हुन् ।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्पले बुधबारको जितलाई सेमिफाइनलको जित जस्तै रहेको बताएका छन् । उसले शीर्ष चारमा अटाउनका लागि आउँदो आइतबार लिगको अन्तिम खेलमा क्रिष्टल प्यालेससँग प्रतिस्पर्धा गर्ने छ ।

बुधबारको जितपछि शीर्ष चारमा पुगेको लिभरपुलको ३७ खेलबाट ६६ अंक भएको छ । समान अंक भएको लेस्टर सिटी पाँचौँ स्थानमा झरेको छ ।

बुधबार राति नै भएको खेलमा एस्टन भिल्लासँग २–१ ले पराजित भएको टोटनह्यामको युरोपा लिगमा पर्ने सम्भावना कम भएको छ ।

पराजित टोटनह्याम ३७ खेलबाट ५९ अंकसहित सातौँ स्थानमा छ । वेष्ट ब्रोममाथि ३–१ को जित दर्ता गरेको वेष्ट ह्यामले भने युरोपा लिगको सम्भावना बलियो बनाएको छ । उ ६२ अंकसहित छैटौँ स्थानमा छ ।

बुधबार राति भएका अरु खेलमा एभर्टनले वुल्भ्स तथा न्यूक्यासलले शेफिल्ड युनाइटेडलाई समान १–० तथा आर्सनलले क्रिष्टल प्यालेसलाई ३–१ ले पराजित गरेका छन् ।