July 17, 2026, Friday
२०८३ श्रावण २ शनिबार

अधिराज्यव्यापी तीन महिने ‘डेंगु सचेतना अभियान’ सुरु

Advertisement

भैरहवा–स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि साउन, भदौ र असोज महिनाभर सञ्चालन हुने गरी शुक्रवारदेखि देशव्यापी ‘डेंगु सचेतना तीन महिने अभियान’ सुरु गरेको छ । स्वास्थ्य सेवा विभागले आफ्नै परिसरबाट यो अभियानको औपचारिक सुरुवात गरेको हो ।

Advertisement

गत आर्थिक वर्षमा सञ्चालित अभियानले डेंगु रोकथाम तथा नियन्त्रणमा जनचेतना अभिवृद्धि गर्नुका साथै समुदायको सक्रिय सहभागितामार्फत सङ्क्रमण न्यूनीकरणमा सकारात्मक प्रभाव पारेकाले यस वर्ष पनि अभियानलाई निरन्तरता दिइएको मन्त्रालयको प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखाले जनाएको छ । अभियानलाई मुलुकभर प्रभावकारी बनाउन मन्त्रालयले सबै ७५३ स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

अभियानअन्तर्गत प्रत्येक हप्ताको शुक्रबार ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गरिनेछ । यस दिन सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थाहरूमा लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गर्ने र सरसफाइ गर्ने कार्य गरिनेछ ।

स्थानीय तहहरूले वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज र अन्य सरोकारवाला निकायसँग समन्वय गरी समुदायकै सक्रिय सहभागितामा लामखुट्टेको बासस्थान खोजेर नष्ट गर्ने अभियान चलाउनुपर्ने व्यवस्था गरिएको छ । डेंगु नियन्त्रणका लागि स्वास्थ्य तथा गैरस्वास्थ्य क्षेत्रबीच बहुपक्षीय समन्वय र नियमित अन्तरक्रियालाई पनि प्राथमिकता दिइएको छ ।

मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र पर्ने उच्च जोखिमयुक्त स्थानहरूको व्यवस्थापनमा विशेष जोड दिएको छ । स्थानीय तहहरूलाई अटो वर्कसप, टायर तथा कवाडी सामग्री व्यवस्थापन स्थल, निर्माणाधीन भवन, पानी जम्ने अन्य सम्भावित स्थानहरूको नियमित अनुगमन गरी पानीको निकास र व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।

अभियानलाई तल्लो तहसम्म पुर्याउन स्वास्थ्य आमा समूह, युवा क्लब, शिक्षक, स्वयंसेवक तथा कलेज र विश्वविद्यालयका विद्यार्थीहरूलाई समुदायमा स्वयंसेवकका रूपमा परिचालन गरिनेछ । विद्यालयहरूमा साथी शिक्षा कार्यक्रम, सरसफाइ अभियान, विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन, वक्तृत्वकला, हाजिरीजबाफ तथा चित्रकला प्रतियोगिताजस्ता सचेतनामूलक गतिविधि गरिनेछ ।