कांग्रेसले लुम्बिनी प्रदेश सरकारबाट हट्ने बारे केही समय पर्खिने


भैरहवा–लुम्बिनी प्रदेश सरकारमा सहभागी रहने वा आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने ? भन्ने विषयमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले केही समय पर्खिने भएको छ ।
नेपाली कांग्रेस दलका नेता डिल्लीबहादुर चौधरी सहित बिहीवार बसेको कांग्रेसका मन्त्री, प्रमुख सचेतक र सचेतकसहितको अनौपचारिक बैठकले तत्काल मन्त्रीहरूले राजीनामा नदिने सहमति गरेको हो ।
प्रदेशको पछिल्लो राजनीतिक अवस्थाबारे थप परामर्श आवश्यक रहेको निष्कर्ष निकाल्दै कांग्रेसले राजीनामा र समर्थन फिर्ताका लागि केही समय कुर्न उपयुक्त ठानेको बैठकले निष्कर्ष निकालेको छ ।
मन्त्रीहरू जिल्ला बाहिर भएकाले छलफल नटुंगिएको र सरकारमा सहभागी सबै मन्त्रीहरू बैठकमा उपस्थित हुन नसकेका कारण कुनै ठोस निर्णय हुन नसकेको कांग्रेस प्रमुख सचेतक जमुना ढकालले बताएकी छन् । ‘सरकारमा रहेका पाँच जना मन्त्रीमध्ये केही काठमाडौंमा हुनुहुन्छ भने केही गृह जिल्लामा हुनुहुन्छ’ ढकालले भनिन्, ‘सबै मन्त्रीहरूसँग एकैपटक छलफल गरेर मात्रै निर्णय गर्ने सहमति भएकाले एक दिन पर्खिने समझदारी भएको छ ।’
हाल लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सरोज थापा सहरी विकास तथा खानेपानी, धनेन्द्र कार्की आर्थिक मामिला तथा योजना, प्रचण्डविक्रम न्यौपाने उद्योग, पर्यटन तथा यातायात, जन्मजय तिमिल्सिना सामाजिक विकास र देवकरण प्रसाद कलवार वन तथा वातावरण मन्त्रीका रूपमा सहभागी छन् ।
नेकपा एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक यमुना रोका तामाङले भने तत्काल समीकरण बदलिने अवस्था नरहेको र सरकारको वर्तमान सत्ता समीकरण तत्काल परिवर्तन हुने अवस्था नरहेको दाबी गरेकी छन् । अन्य प्रदेशको तुलनामा लुम्बिनीमा बजेट लगायतका विषयमा कुनै असमझदारी नरहेको उनको भनाइ छ ।








प्रतिकृया दिनुहोस्